» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गोविन्दहरि जङ्गम Gobinda Hari Jangam

गोविन्दहरि जङ्गम Gobinda Hari Jangam


गोविन्दहरि जङ्गम समाजसेवामा आबद्ध थिए । शिक्षा सेवामा पनि उनको जीवनको साक्षत लगानी थियो । साथै उनी जनस्वास्थ्यमा पनि कृयाशील थिए । त्यतिमात्र नभएर सड्गीत र साहित्यमा पनि उनको समर्पण थियो । खास गरेर भक्तपुर भेकमा उनले प्रसिद्धिको शिखर कुल्चेका थिए ।

जङ्गमको जन्म १९६६ साल असार १५ गते भक्तपुरमा भएको थियो । उनका बुबा भुवनलिङ्ग जङ्गम भक्तपुरको टौमढी जङ्गम मठका मठाधीश थिए । उनकी आमा हरिप्रिया गृहणी थिइन् । यी दम्पतिका चार सन्तानमध्ये गोविन्दहरि कान्छा छोरा थिए । भुवनलिङ्गको निधन भएपछि मठको सबै काम क्रमशः हरिप्रियाले नै गर्न थालेकी थिइँन् । गोविन्दहरि चाहिं ३४ वर्षको उमेरमा मठाधिशको गद्धीमा बसेका थिए । उनलाई स्थानीय वासीले कान्छा महन्त भन्ने गर्थेजङ्गम जनस्तरको शिक्षा उकास्न तन, मन र धनले लागेका थिए । तर उनी स्वयम्ले चाहिं साधारण शिक्षामात्र प्राप्त गरेका थिए । उनैको सक्रियतामा भक्तपुरको क्वाछेमा विद्यार्थी निकेतनको स्थापना भएको थियो । साथै उनले आफ्ना सन्तान र वरपरका नानीहरुलाई पढाउन आफ्नै मठ परिसरमा स्कूल खोलेका थिए । त्यहीं नै विद्यार्थीका लागि खानबस्नको पनि व्यवस्था गरिएको थियो । साथै उनले काभ्रेपलाञ्चोकको पनौतीमा पनि आफ्नै मठमा इन्द्रेश्वर स्कूल सञ्चालन गरेका थिए ।

जङ्गमले भक्तपुरमा आफ्नै घरमा निश्शुल्क छात्रवास खोलेर विद्यार्थीलाई खान बस्न दिन्थे । उनका स्कूलमा नपढेका विद्यार्थी पनि जेहेन्दार र गरीब भएको थाहा पाए भने उनले त्यता पुगेर पनि बेलाबखत सकेको आर्थिक सहयोग गर्थे ।

जङ्गम निक्कै रसिक थिए । उनी त्यतिकै झिल्के पनि थिए । केटीहरु पनि उनी भनेपछि भुतुक्कै हुन्थे । खास गरेर बजार लागेका बेला नाचगान गरेर उनी केटीहरूलाई मोहित पार्थे । त्यतिबेला भक्तपुरमा नाटक पनि खुबै देखाइन्थ्यो । त्यस घडी प्रायः हिन्दीभाषामा नाटक प्रस्तुत हुने गर्थे । अनि यिनैले नेपाली भाषामा नाटक लेख्थे, ती नाटकको आफैं निर्देशन गर्थे र आफैं अभिनय पनि गर्थे । उनी यसै विधामा भिज्दै पनि गए ।

जङ्गम नेपाली भाषा र नेवारी भाषामा बराबरी बोल्थे । उनी नेवार जातिसँग नेवारी भाषामा नै बोल्थे । कहिलेकाहिं उनले नाटक र अन्य साँस्कृतिक कार्यक्रमहरुलाई पनि नेवारीकरण गर्थे । उनले नेवारी भाषामा पनि गीत, भजन र नाटक लेखे । वास्तवमा २००७ सालपूर्व त्यसठाँउको साँस्कृतिक जागरणमा उनको पनि गुरुत्तर भूमिका जोडिएको थियो ।

भक्तपुरको साँस्कृतिक परम्परालाई जङ्गमले पनि शिरमा बोके । उनले आफ्नो बुताले भ्याएसम्म रड्गमञ्चको शसक्त अभियान पनि चलाए । उनी आफैं वाद्यवादनहरु बजाएर दर्शकमाझ पनि प्रस्तुत भइरहन्थे ।

जङ्गमको घर त्यसबेला सङ्गीत निकेतन थियो । उनी आफ्ना छोराछोरीहरुसँग पनि प्रायः श्लोककै पारामा बोल्थे । पाहुनाहरूसँग पनि उनी श्लोकबाटै प्रश्नउत्तर गर्थे । उनको सङ्गीतप्रतिको गहिरो झुकावका कारण उनका छोरा दीपक जङ्गमले तोतेबोलीमा नै गीत गाउन थालेका थिए । अन्ततः उनी नेपाली सगीतकै शिखर पुगे । साथै दीपक जङ्गमका कान्छा भाइ पुष्कर जङ्गमको पनि हिंड्ने बाटो सङ्गीत नै बन्यो ।

गोविन्दहरि जङ्गम सहित्य रचनामा पनि रुचि राख्थे । उनका छोरा भरत जड्गमले पनि उनको त्यही बाटो समाए । साथै समाजसेवा र राजनीतिमा पनि उनी आफ्ना बुबाको रुचिलाई बोकेर हिंडे । त्यतिमात्र नभएर जड्गमकी छोरी सावित्री थापा पनि आफ्ना बुबाको सृजना र समाजसेवाको बिंडो बोकीबोकी हिंडिरहिन् ।

जङ्गम आयुर्वेदको जानिफकार थिए । उनले त्यसबारेको दक्षता ग्रहण गरेपछि औषधालय स्थापना गर्न अग्रसर भए । अनि त्यसकाममा उनी सफल पनि भए । उनको त्यही विषयमा केन्द्रित भएर योगी नरहरिनाथले भनेका थिए ‘कान्छा महन्तले नेपालको आयुर्वेदको अनुसन्धानमा महत्वपूर्ण योगदान दिएका थिए । यसको विकासका लागि उनको पनि ठू लो हात थियो ।’

जङ्गम युवाकालमा नै समाजसेवामा आकृष्ट थिए । १९९० सालको महाभूकम्पमा पीडित जनहरुप्रति यिनले सामाजिक संस्था खोलेर सेवा गरेका थिए । त्यसभेकका भूकम्पपीडित जनताले यिनको सेवाका कारण निक्कै राहत पाएका थिए ।

२००२ सालमा भक्तपुर नगरमा हैजाको महामारी हुँदा जङ्गमले ठाँउठाँउबाटै वैद्य त्याएर रोकथाम गर्ने प्रयास गरेका थिए । त्यसपछि नै उनले दातव्य औषधालयको स्थापना गरे । अनि त्यस औषधालयलाई यिनले व्यापक पनि बनाए । यसबारे मध्यमाञ्चल र पश्चिमाञ्चलमा यिनको योगदान पुगेको थियो ।

२००३ सालमा जङ्गमले भक्तपुरमा कोटिहोमको आयोजना गरे । उनैको नेतृत्वका कारण त्यहाँ भजनमण्डलीको स्थापना भयो । वर्षेनी भक्तपुरमा सिठी नःखका दिन जात्राको थालनी उनैको समेत कारणले २०१५ सालदेखि हुन थालेको थियो ।

जङ्गमले राजनीतिमा पनि रुचि राखे । २००४ सालमा पद्मशमशेरले नगरपालिकाको चुनाव गराउँदा उनी भक्तपुर नगरको प्रमुखमा निर्वाचित भए । साथै उनी त्यसै समयमा विधाधिकाको माननीय सदस्य पनि भए । उनी राजनीतिको टेको टेकेर पनि जनहीतमा मात्रै लागिरहे । तर २०१७ सालको राजनीति परिवर्तनपछि उनी केवल दातव्य औषधालयको विस्तारका लागि मात्रै अघि सरेका थिए ।

२००७ सालमा ‘ओलओल’को पनि आतड्क थियो । जङ्गमले जनजीवनलाई शान्त पार्न त्यसबेला भक्तपुरमा टोलरक्षा संड्घको स्थापना गरेका थिए । उनले त्यसबेला जनराहतका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैले त्यता पट्टिका मान्छेहरुले भनिरहे ‘जङ्गम दुरदर्शी चेतका बिम्ब थिए ।’

जङ्गम समाजका विविध आयममा चासो राखे । २०१३ सालमा उनैको पहलमा सनातनधर्म सेवा समितिको स्थापना भएको थियो । त्यसबेला त्यस संस्थाका अध्यक्ष उनै थिए । त्यसैबेला उनले गुठी, विर्ता र सार्वजनिक जग्गाको बन्दोवस्त गर्नका लागि आवाज उठाएका थिए । उनको आवाज प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले पनि स्व्ीकारेका थिए । साथै यसबारे आचार्य सरकारले कानून पनि ल्याएको थियो । तर त्यसको कार्यान्वयन नहुँदै आचार्य पदबाट विदा भएका थिए ।

जङ्गमले पहलिोपल्ट जानुकादेवी जङ्गमसँग बिहे गरे । यी दम्पतिले पाँच सन्तान जन्माए । अनि फेरि यिनले इन्द्रकुमारी गिरीसँग प्रीति गाँसे र दाम्पत्य जीवन बाँधे । कान्छी पत्नीबाट पनि यिनका छ जना सन्तान जन्मे । त्यसपछि अनेक प्रपन्च थुप्रिनाले उनीमा आर्थिक बोझ पनि बढ्न थाल्यो । त्यसै परिवेशमा यिनका दुबै पत्नीले दुनियाँ थर्काउने गरि एकअर्कामा भ्mयाम्टा बजाउने गर्थेे । अनि त्यसपछि उनमा सिथिल हुने क्रमले जरा हाल्न थालेको थियो ।

जङ्गम नेपाली समाजमा मन, वचन र कर्मले घोरिएरै लागे । त्यही फेरोमा उनको पेटमा क्यान्सरले आक्रमण ग¥यो । अनि त्यही व्यथाले उनको २०३४ साल फागुन २७ गते काठमाडौंमा स्वर्गारोहण भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी