» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गोपाल योञ्जन Gopal Yonjan

गोपाल योञ्जन Gopal Yonjan

देशले रगत मागे मलाई बलि चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।

गोपाल योञ्जन नै त्यस्ता महान् प्रतिभा हुन् जसले राष्ट्रिय गीत लेखेर, ती गीतको सङ्गीत गरेर र ती गीतहरूलाई आफ्नै स्वरले पृथ्वीको फेदीबाट २९००२ फिट उचाइसम्म पु¥याए । गोपाल योञ्जनका राष्ट्रिय गीतका शब्दहरू जति परिपक्व छन्, उनका गीतका भावहरू पनि त्यति नै माटोसँग टम्मै मिलेका छन् र उनीद्वारा सिर्जना भएका गीत जति स्तरीय छन् त्यति नै जीवन्त, शाश्वत र ओजिला पनि छन् । उनका राष्ट्रिय गीतमा राष्ट्रको एउटा सिङ्गो मुटु भेटिन्छ, नेपाल र नेपालीको स्वाभिमान भेटिन्छ र समस्त नेपाली जातिको नै एउटा बलियो स्तम्भ भेटिन्छ । त्यस्तै गीत लेख्ने, त्यस्तै गीतसङ्गीत गर्ने र त्यसरी आफ्नो स्वरलाई देशदेशान्तरमा पुर्याउने कलाकार नै गोपाल योञ्जन थिए । उनी मरेर पनि यस माटोमा जिउँदा भए । वास्तवमा नेपाली भाषा, नेपाली सङ्गीत र नेपाली स्वरहरूमा गोपाल योञ्जन अमर भए; उनी नअस्ताउने तारा भए र उनी नेपाली साङ्गीतिक आकाशमा अनन्तसम्म चम्किरहनेछन् । उनले आफ्नो भौतिक चोलाचाहिँ २०५४ साल जेठ ७ गतेका दिन त्यागेका थिए ।

गोपाल योञ्जन भारतको दार्जीलिङमा जन्मे । अनि यिनको जन्म संवत् २००० सालको जनै पूर्णिमाका दिन भएको थियो । डा.बुद्धिमान योञ्जन र छेकुडोल्माका एउटी छोरी प्रतिमा र एउटा छोरा गोपाल थिए । गोपाल योञ्जन सानै हुँदा उनका बुबा स्वर्गीय भएका थिए । उनी दुक्खैले लड्दै गए, बढ्दै गए र पढ्दै गए । उनीप्रति उनकी आमाको अथाह वात्सल्य गाँसिएको थियो । आफ्ना सुपुत्र गोपाललाई डाक्टर पढाउने उनकी आमाको ठूलो अभिलाषा थियो । परिणामस्वरूप गोपाल योञ्जनलाई स्थानीय सेन्ट जोसेफ कलेजमा भर्ना गरियो । तर उनी जीवविज्ञान विषय लिएर पढ्न असमर्थ भए । यस क्रममा उनले आफ्ना गुरुसँग पनि झगडा गरे । त्यसपछि उनी सरासर घरमा गएर आफ्नी आमाका खुट्टा समाएर घोप्टो परे “आमा ! मलाई मैले जानेको विषय नै पढाऊ; म कुनै हालतमा डाक्टर बन्न सक्तिनँ ।” त्यसपछि गोपाल योञ्जनको विषयमा परिवर्त न आयो । त्यसै वर्षदेखि उनी दार्जीलिङकै लोकमनोरञ्जनमा बाँसुरी वादकको पदमा जागीर खान थाले । त्यसपछि उनी सङ्गीतमा क्रमशः निर्लिप्त हुन लागे । उनका रचना, सङ्गीत र स्वरको शिल्पले दार्जीलिङ नै हराभरा हुन थाल्यो । दार्जीलिङका बासिन्दाहरूले गोपाल योञ्जन भनेको को रहेछ भनेर खोज्न थाले । सारा दार्जी लिङ उल्टेर गोपाल योञ्जनलाई स्याबासी दिन थाल्यो । त्यही प्रारम्भिक स्याबासी, घन्यवाद र बधाई खप्टिँदै जाँदा गोपाल योञ्जन भविष्यमा नेपाली साङ्गीतिक आकाशका एउटा प्रतिनिधि व्यक्तित्वमा रूपान्तरित भए । त्यसैले उनले आफ्नो सीप कञ्चनजङ्घातिर उकाल्दै हिँड् न थाले :
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरामा यो रगत मेरो
पहाडमा जन्मी टाकुरामा खेल्ने
यो झुक्तै नझुक्ने नेपालको छोरो ।

हुन त गोपाल योञ्जनलाई इन्जिनियरिङ पढ् नजलपाइगुडी पनि पुर्याइयो । तर त्यस विषयमा पनि उनको चाहना शून्य थियो । यसै बीच उनको नगेन्द्र थापासँग सङ्गत भइसकेको थियो । नगेन्द्र थापाकै प्रेरणाले उनी नेपाल पस्ने तरखरमा लागे ।

गोपाल योञ्जन आफ्नो देश खोज्दै २४ वर्षको उमेरमा नेपाल पसे । नेपाल भित्रिएको तीन वर्ष बित्ता नबित्तै अर्थात् २०२७ सालमा यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एम.ए. समुत्तीर्ण गरे । बनारसबाट यिनले भारतीय शास्त्रीय सङ्गीतमा स्नातक पनि गरेका थिए । नेपाल आएपछि चाहिँ उनको जराले नेपालकै माटो चुम्यो । उनले यहीँ बस्ने निधो गरे । उनी यहीँका नागरिक बने । उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राध्यापन पेसामा पनि संलग्न भए ।

गोपाल योञ्जन सानै देखि मुरली बजाउँथे । किशोर अवस्थामा टेकेपछि उनी बाँसुरीमा रम्न थाले । हुँदाहुँदै उनी बाँसुरीबाट जस्तो पनि गीतको भाका फुक्न सक्थे । त्यसपछि उनी अरूअरू बाजागाजामा पनि तल्लीन भए । गोपाल योञ्जन जुनजुन बाजा छुन्थे तीती बाजामा उनी पारङ्गत हुन्थे । उनले बजाएको बाजा सबैले मन पराउँथे । गीतसङ्गीत र स्वरकै कुरा गर्ने हो भने आपूm छ कक्षामा पढ्दा उनले आफैँ गीत लेखी, सङ्गीत गरी मञ्चमा उभिएर दर्श कसामु गाएका थिए ।

सङ्गीतमा गोपाल योञ्जनको आफ्नै वैयक्तिक रुचि भए तापनि उनले नानीदुलाल मुखर्जीसँग शास्त्रीय सङ्गीतको ज्ञान लिए । साथै उनले पाश्चात्य सङ्गीतको अध्ययनचाहिँ स्ट्यान्डवर्गसँग प्राप्त गरे । पछि बिस्तारै उनले अम्बर गुरुङलाई सङ्गीतका गुरु थापेका थिए । यी तीन गुरुहरूबाट साङ्गीतिक ज्ञान ग्रहण गरी उनी झनै धुरी चढे ।

आफ्नो कला, जाँगर र समर्पणका कारणले गोपाल योञ्जन नेपाली आधुनिक सङ्गीतजगत्का वीर बलभद्र भएर निस्के । उनको नेपालप्रतिको झुकाव, लगाव र चिन्तन एउटा अभूतपूर्व योगदान हुन पुग्यो । वास्तवमा उनी भारतमा जन्मे पनि उनका पुर्खा नेपाली थिए । त्यसैले नेपालप्रतिको भक्तिभावना गोपाल योञ्जनका नसानसामा बग्ने रगत थियो । उनले आफ्नो त्यही ह्दयको झर्ना गीति शब्द, साङ्गीतिक धून र गायनकलाबाट प्रस्तुत गरिरहे :
हो, धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई
होइन भने नेपाली नभन, वीरको छोरानातीमा नगन ।

गोपाल योञ्जनले आफैले लेखेका गीत, सङ्गीत गरेका धून र गाएका आवाजहरूको सङ्ख्या एक हजार नाघेको देखिन्छ । गोपाल योञ्जनका गीतहरूमा राष्ट्रिय गीतचाहिँ नेपाली परिवेशमा मौलायो । बालगीतमा पनि यिनको प्रशस्तै योगदान भेटिन्छ । यिनका आधुनिक गीतिरचना र सङ्गीत पनि उत्कृष्टताका नमुना मानिन्छन् । खासगरी नारायणगोपालले गाएका गीतहरूमा गोपाल योञ्जनका सङ्गीत र रचना उल्लेखनीय छन् । गोपाल योञ्जनले नेपाली गीतमा अत्यधिक प्रशंसा भेटे । वास्तवमा उनले नेपाली आधुनिक सङ्गीतमा विशेष ख्याति कमाएका थिए ।

गोपाल योञ्जन गीतकार मात्र थिएनन्, सङ् गीतकार मात्र थिएनन् र गायक मात्र पनि थिएनन् । उनले सङ्गीतविषयक ‘सङ्गीताञ्जलि’ र ‘गीतमञ्जरी’ नामक दुई वटा ग्रन्थ पनि नेपाली भाषासाहित्यका मन्दिरमा चढाएका थिए । साथै उनले ‘बागीना’ को पनि सम्पादन गरे ।

२०२५ सालमा गोपाल योञ्जनको विवाह कालिम्पोङकी रेन्छिनसँग भयो । यिनीहरूको बिहेचाहिँ काठमाडौँमा भएको थियो । यी दम्पतिबाट दुई भाइ छोरा निर्माण र अहिंसा तथा एउटी छोरी सृजना जन्मे । यिनका छोराछोरीहरू सङ्गीतशिक्षक, ग्राफिक डिजाइनर र सञ्चारमा आबद्ध छन् ।

नारायणगोपालले गोपाल योञ्जनको प्रसिद्धि ईश्वरवल्लभबाट सुनेका थिए । त्यसैले नारायणगोपाल गोपाल योञ्जनलाई भेट्न दार्जीलिङ पुगे । आफ्ना मनपर्ने गायकलाई आफ्ना घरमा भेट्ता त्यतिखेर गोपाल योञ्जनको छाती नेपालजत्तिकै तन्केको थियो । त्यसपछि यिनीहरूको अटुट रूपमा मिलन भइरह्यो ।

नारायणगोपाल र गोपाल योञ्जनको मित्रताले विकसित रूप लिएको ईश्वरवल्लभले देखे । परिणामस्वरूप उनले यी दुवै गोपालसमक्ष मीत लगाउने प्रस्ताव राखे । ईश्वरवल्लभको पहलमा दार्जीलिङमा गोपाल र नारायणको मितेरी गाँसियो । अनि त्यसपछि गोपाल योञ्जन आफ्ना मित्र नारायणगोपालको ढिपी र नगेन्द्र थापाको हौसलाले नेपाल आए । एकताका जुनसुकै गीतमा गोपाल योञ्जनकै शब्द र सङ्गीत हुन्थ्यो र ती गीतहरूमा नारायणगोपालकै स्वर हुनुपथ्र्यो । त्यसपछि बीचमा नगेन्द्र थापाको उपस्थितिले नेपाली गीतिआकाशमा झनै बढोत्तरी भएको थियो । त्यस बेलाका यी तीन व्यक्तित्वका रचना, सङ्गीत र स्वरले नेपाली गाउँ, बेसी, सहर, बजार हल्लाएका थिए । यी त्रिवेणीको राप, चाप र रौनकले पृथ्वीकै सेरोफेरो लाएको थियो । यिनीहरूको एकअर्का प्रति टाँस्सिएको चुम्बकीय भावनामा पनि कुनै बेला हुरी आएको थियो । नारायणगोपालको इहलीला समाप्त हुनुभन्दा केही वर्ष अघिदेखि खास गरेर दुई गोपालहरूका मनमा बादल लागेको थियो । केही वर्ष सम्म यिनीहरू केही परपरै पनि थिए ।

गोपाल योञ्जनको साङ्गीतिक यात्रा अनन्त देखिन्छ । उनी सङ्गीतका एउटा महाविद्यालय थिए । उनी आधुनिक गीतका एउटा अब्बल दर्जा का कलाकार थिए । त्यसमा पनि उनको राष्ट्रिय भावनाका एकएक शब्दहरू, धूनहरू र स्वरहरूले नेपाली राष्ट्रियताको उत्साहलाई सगरमाथाको टुप्पामा पुर्याएको पाइन्छ :
नेपाली हुन पूर्व जन्मको कमाइले पुग्दैन
पुर्खा को पौ रख, श्रम र आशिष मात्रले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
पराया मुटु दौ राको फेरले छोपेर पुग्दैन ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी