» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » खनूपरुदे (रामबाबू) Khanuprude Rambabu

खनूपरुदे (रामबाबू) Khanuprude Rambabu

राजनीतिज्ञ, समाजसेवी तथा दानवीर श्री खनूपरुदे (रामबाबू) आफ्नो जीवनको यात्रामा स्वच्छ छवि कायम गरेर नेपाली समाजमा सुपरिचित भएका थिए । खासगरेर राजनीतिक, समाजिक र बौद्धिक वृत्तमा उनले आफ्नो राम्रो परिचय दिएका थिए । बसुधैव कुटुम्बकम्का हिमायती उनले आफ्नो नाउँ पछाडि थर लेख्ने काम गरेनन् ।

खनूपरुदे (रामबाबू)को जन्म संवत् १९७८ माघ १५ गते (१९२२ जनवरी २९)  मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।

रुद्रकुमारी प्रसाई र लप्टन देवीप्रसाद प्रसाईका जेठा छोरा खनूपरुदे (रामबाबू) ले भारतको बम्बै विश्वविद्यालयबाट कृषि विषयमा बी.एस्सी.को शैक्षिक उपाधि हासिल गरे । साथै उनी पटना विश्वविद्यालयबाट बी.एल. र भारतको राजकोट, गुजरातबाट एन.डी. पनि समुतीर्ण भएका थिए । उनका सहोदर भाइ सी.के. प्रसाई अर्थात् भरत बाबूले चाहिँ वनारस हिन्दू विश्वविद्यालयबाट एम.कम. समुतीर्ण गरेका थिए ।

खनूपरुदे (रामबाबू) राजनीति, समाजशास्त्र, साहित्य, स्वास्थ्य आदि विषयको स्वअध्ययनमा पोख्त मानिन्थे । साथै उनको प्रमुख अभिरुचिमा अध्ययन, लेखन, विचार आदानप्रदान, भेटघाट, भ्रमण र मनोरञ्जन रहेको पाइन्थ्यो ।

खनूपरुदे (रामबाबू) ले आफ्नो देश नेपाल कस्तो छ भनी जान्न र बुझ्न २०११ साल भदौ १५ गतेदेखि २०१२ साल असार १५ गतेसम्म (दस महिना) नेपाललाई आमाको रूपजस्तै सम्झेर सारा नेपालको पैदल भ्रमण गरेका थिए । त्यस बेला उनको भ्रमणमा साथ दिने व्यक्ति नरबहादुर डाँगी थिए ।

खनूपरुदे (रामबाबू) ले झापाको विर्तामोडमा स्कुलका निम्ति एक विघा जग्गा, विर्तामोडको बजार बसाउन एक विघा पाँच कट्ठा जति जग्गा र विर्ता सार्वजनिक संस्थाका लागि पाँच कट्ठा जग्गा प्रदान गरेका थिए । साथै उनले झापाको मेची क्याम्पसका लागि दस कट्ठा, ताप्लेजुङको हाङपाङको बरबोटेमा सार्वजनिक संस्थाका निम्ति चार रोपनी जग्गा प्रदान गरेका थिए भने ललितपुरको कुपण्डोलस्थित बागमतीमा पाटी र घाट निर्माण गरेका थिए ।

खनूपरुदे (रामबाबू) ले आफ्ना भाइबुहारी नइबाट कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि  लक्ष्मीप्रसाद देवकोटाका सम्मानमा स्थापित त्रिमूर्ति निकेतनका लागि रु. ८,००,०००।— (आठ लाख रुपियाँ) प्रदान गरेका थिए । निकेतनको कार्य आरम्भ नै उनको आर्थिक सहयोगमा भएको थियो । उनले निकेतनबाट सञ्चालित महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म शताब्दी महोत्सव मनाउने सिलसिलाको सुरुवातमा रु.१,०० ,०००।— (एक लाख रुपियाँ) प्रदान गरेर सो अभियानको आर्थिक सङ्कलन गर्ने सुरुवात गराएका थिए । साथै उनले देरुनीख सार्वजनिक हित गुठी नामक सामाजिक संस्थाको स्थापना गरी त्यस गुठीका लागि १,०१,००,०००।— (एक करोड एक लाख) अक्षयकोष छुट्याएर त्यसको उद्देश्य प्राप्तिका लागि सुरुमा यथेष्ट काम गरेका थिए ।

खनूपरुदे (रामबाबू) ले आफ्ना भाइबुहारी नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईले स्थापना गरेको नइ प्रकाशनलाई पन्चानब्बे लाख एकसठ्ठी हजार रुपियाँ प्रदान गरेका थिए । त्यसमध्येबाट पचासी लाख रुपियाँको नइ अक्षयकोष स्थापना गरिएको छ ।

खनूपरुदे (रामबाबू) नेपाली पटभूमिको राजनीतिमा पनि निक्कै चर्चित मानिन्थे । उनले १५ वर्षकै उमेरदेखि राजनीतिलाई आफ्नो कर्तव्य ठान्दै आएका थिए । उनको राजनीतिमा समर्पणका कारण उनी नेपाली काङ्ग्रेसको झापा जिल्लाको सभापति भएका थिए, नेपाली काङ्ग्रेस मेचीकोशी अञ्चलको संयोजक बनेका थिए र नेपाली काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्ष पनि भएका थिए । नेपाली काङ्ग्रेसबाटै उनले २०४८ साल र २०५१ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापाबाट उमेद्वारी पनि दिएका थिए तर उनले चुनावमा जित्न भने सकेका थिएनन् । यतिहुँदाहुँदै पनि उनी राजनीतिमा कहिल्यै नथाक्ने योद्धाका रूपमा स्थापित भए । त्यसैले खनूपरुदे (रामबाबू) का समकालीनहरूले समेत उनलाई अत्यन्तै मर्यादा गर्थे । 

खनूपरुदे (रामबाबू) ले राजनीतिक कारणले पटकपटक गरी ६ वर्षभन्दा बढी समय जेल सजाय भोगेका थिए । त्यति मात्र होइन उनी ७ वर्षजति भारतमा निर्वासित पनि भएका थिए । २०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहसँगै उनी पनि भारतबाट नेपाल फर्केका थिए । उनी जहाँ र जुन अवस्थामा रहँदा पनि नेपालवादीकै रूपमा मात्र प्रस्तुत भइरहे । उनको जीवनमा नेपाल, नेपाल र नेपाल मात्र गाँसिएको थियो । एउटा सशक्त राष्ट्रवादीका रूपमा उनले ख्याति पनि कमाएका थिए ।  

खनूपरुदे (रामबाबू) राजनीतिमा पनि आफ्नै मौलिकताले सुसज्जित थिए । उनी राष्ट्रवादलाई सधैं शिरमा बोक्नुपर्छ भन्थे । उनी आफ्नो सिद्धान्तमा कट्टर थिए । नेपाली काङ्ग्रेसले संवैधानिक राजतन्त्र र धर्म निरपेक्ष (र त्यसपछि गणतन्त्र)को नीति लिएपछि उनले नेपाली काङ्ग्रेसलाई नै छोड्न बाध्य हुनुपर्यो । त्यस बेलाको उनको भनाइमा “नेपालको स्वतन्त्रता र अखण्डता कायम राख्न प्रजातान्त्रिक संवैधानिक राजसंस्था चाहिन्छ भन्ने नेपाली काङ्ग्रेस (राष्ट्रवादी) को म अध्यक्ष रहेको हुँ ।”

साधा व्यवहार, साधा बोलीवचन र साधा लवाइखुवाइमा रमाउने खनूपरुदे (रामबाबू) सबैसँग सबैले समान व्यवहार राखेको मन पराउथे । आफ्नो र अरूको पनि हित हुने काम गर्न सकियोस् भन्ने उनको जीवनदर्शन पाइन्थ्यो । त्यति मात्र होइन ‘‘नेपाल स्वतन्त्र र अखण्डित रहिरहोस् । यस पृथ्वीका सबै मानिसहरूको कल्याण होस्, यस पृथ्वीमा सबै मानिसले लेख्ने र बुझ्ने एउटा साझा (विश्व) लिपि होस् र सबैले बोल्ने र बुझ्ने एउटा साझा (विश्व) भाषा होस् । यस पृथ्वीमा एउटा देशको मानिस अर्को देशमा सजिलैसँग आवतजावत गर्न पाओस् । विश्वबन्धुत्वको भावना प्रवल हुँदै जाओस् । मानिसमा असल गुणहरू बढ्दै जाऊन्, खराब गुणहरू घट्तै जाऊन्’’ भन्ने जीवनदर्शन बोकेर आएका खनूपरुदे (रामबाबू) अति शिष्ट, भद्र र नढाँट्ने अग्रपङ्क्तिमा उभिने व्यक्तित्वको नाउँ थियो ।

खनूपरुदे (रामबाबू) नेपाली भाषासाहित्यमा पनि प्रचलित नाउँ हो । पहिलापहिला उनका लेखरचनाहरू पनि प्रकाशित भइरहने गर्थे ।

खनूपरुदे (रामबाबू) प्रजातन्त्रका हिमायती थिए । घरपरिवारमाझ पनि उनी प्रजातान्त्रिक आचरण मन पराउने गर्थे । नेपाली समाजमा उनको जीवनपद्धति एउटा नमुनाका रूपमा नै प्रस्तुत भएको थियो । नेपाली समाजमा सत्यवादीका रूपमा उनको अलग्गै पहिचान थियो।

खनूपरुदे (रामबाबू) का पाँच जना सन्तान छन्, जसमध्ये उनकी छोरी पकिम, छोरा टोरुप, छोरा डा.डुजूप, छोरी खेचीम र छोरा डा.गीसूप आआफ्नो व्यवसाय र पारिवारिक जीवनमा आबद्ध भए ।

खनूपरुदे (रामबाबू) त्रिमूर्ति निकेतनको लेखनाथ पौड्याल काव्यसभाका संयोजक र नइ प्रकाशनका मानार्थ सदस्य थिए । उनकै संयोजकत्वमा ‘महाकवि देवकोटा शताब्दी अभिलेख’ ग्रन्थ (२०६७) पनि प्रकाशित भएको थियो । साथै त्रिमूर्ति निकेतनद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रय नेपाली भाषा साहित्य सम्मेलनका उनी पनि एउटा अर्को मेरुदण्ड मानिन्थे ।  

खनूपरुदे (रामबाबू) महाकवि देवकोटा शताब्दी सम्मान र भद्र घले पदकबाट सम्मानित थिए । साथै नेपाली भाषासाहित्यका २५ जना ख्यातिप्राप्त स्रष्टाहरूद्वारा उनलाई ससम्मान प्रदान गरिएको सामूहिक अभिनन्दनमा ‘दानवीर’को उपाधि प्रदान गरिएको थियो ।

रामबाबु प्रसाई (खनुपरूदे) को ९९ वर्षको उमेरमा २०७७ साल असोज २२ गते काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । कोरोना सङ्क्रमणका कारण उनको अन्त्येष्टि नेपाली सेनाबाट भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी