» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » कृष्णलाल अधिकारी Krishna Lal Adhikari

कृष्णलाल अधिकारी Krishna Lal Adhikari

नेपाली विषयक एमएको शोधपत्रको सिरानमै पवित्रा थापाले लेखेकी छिन्, ‘नेपाली साहित्यकाशका एक उज्वल नक्षत्र प्रथम नेपाली साहित्यिक शहीद थिए– कृष्णलाल अधिकारी ।’ वास्तवमा कृष्णलाल अधिकारी राष्ट्रका लागि मर्ने थुप्रै वीरवीरड्गनाको कोटिमा टड्कारो रुपमा देखिने नाउँ हो । उनी नेपाल र नेपालीको भलाईका लागि जेलैमा सडे र त्यहीं नै मरे । त्यसपछि उनको महानताको गाथा धेरैले गाए । त्यसैक्रममा चैतन्य अर्थात् मोहनवैद्य किरणले पनि लेखे ‘कृष्णलालले त्याग र वीरताको कीर्तिमान कायम गरे । निरड्कुश राणाका समयमा जेलमा बस्नु र माफी माग भन्दा पनि नमागेर आफ्नो विचार र प्रतिबद्धतामा दृढ रहनु आफ्नो अस्मिता र स्वाभिमानलाई बचाउनु हो ।’

लक्ष्मणराज अधिकारी र इन्द्रकुमारीका १९ जना सन्तानमध्ये कृष्णलाल अधिकारी माइला छोरा थिए । उनको जन्म १९४४ साल माघ २४ गते रामेछापमा भएको थियो ।

अधिकारी सानैदेखि तीष्ण थिए । उनी पढाईमा खुबै मन दिन्थे । तर पढिरहेकै बेला यिनको रामेछापकै लक्ष्मीभक्त सुवेदीकी छोरी धर्मकुमारीसँग बिहे भयो । त्यसबेला यी तेह« वर्ष र यिनकी पत्नी दस वर्षकी थिइँन् । यी दम्पतिबाट दुई छोरा र एक छोरी जन्मे ।

अधिकारी आफ्नै बुतामा उभिन चाहन्थे । त्यसैले उनी नोकरीको खोजीमा लागे । त्यसबेला उनले जागिर पनि राम्रै पाए । उनी काठमहाल अड्डामा नौसिन्दामा भर्ना भए । त्यतिखेर यिनको तलब तीन रुपियाँ पाँच आना पाँच दाम थियो । त्यसपछि क्रमशः उनी डिट्ठा र नायबसुब्बासम्म पनि भए ।

भोजराज काफ्लेलाई अधिकारीकी पत्नी धर्मकुमारीले भाइटीका लगाएकी थिइँन् । तर अधिकारीका तिनै काफ्ले सालाकै पोल, उजुरी र भनसुनमा नै चन्द्रशमशेरले उनलाई मकैपर्वमा नउस्कने गरी जाकेका थिए । यसको मुल कारण चाहिं के रहेछ भने कुनैबेला अधिकारी पनि राणा प्रधानमन्त्रीका विश्वासपात्र थिए । त्यसबेला काफ्लेले लप्टनको जागीर पाउँदा अधिकारीले राणाको कान भरेर त्यो जागीर हिंडाएका रहेछन् । त्यसपछि अधिकारीलाई फसाउन काफ्ले पनि हात धोएर लागेका थिए ।

अधिकारी लेखककवि थिए । उनी समाजहीतकै विषयमा कलम चाल्थे । लेख्नेक्रममा नै उनले ‘मकैको खेती’ लेखे । त्यस किताबमा उनले ‘रातो टाउके घुन र कालो टाउके घुन’ लेखेका थिए । अन्ततः त्यो लेखोट नै भोजराज काफ्लेमार्फत उनको काल भयो ।

अधिकारीको ‘मकैको खेती’ हिन्दी भाषामा रामप्रसाद सबज्जजद्वारा लेखिएको ‘मक्काकी खेती’को ठाडो प्रभावमा लेखिएको पनि भनिन्छ । तर विद्ववानहरुले यो कृति अधिकारीले नै लेखेको पुष्टि गरे । अनि यस पुस्तकको गद्यभाग कृष्णलाल अधिकारी, पद्यभाग आशुकवि शम्भुप्रसाद ढुड्ग्याल र व्याकरण पण्डित सोमनाथ सिग्द्यालको बुताबाट तयार भएको थियो ।

१९७७ साल साउन १० गते कृष्णलाल अधिकारीलाई ‘मकैको खेती’को कालो काण्ड लाग्यो र उनी थुनिए । उनी जेलमा बसेको सातौं दिनमा चन्द्रशमशेर आफैंले मुद्धा हेरे । त्यसबेला ‘ए ! यो पुस्तक कसले सिकाएर लेखिस ?’ उनका सामुन्ने चन्द्रशमशेर कड्केका थिए । ‘यो पुस्तक मैले भोजराज काफ्लेले सिकाएर लेखेको हुँ’ भनेर अधिकारीले राणासमक्ष जम्लाद गरे । फेरि अधिकारीले थप सबुत दिए ‘धेरै ठाउँ काफ्लेले आफैंले लेखेको हस्ताक्षर यही हो ।’ अनि राणाले काफ्लेलाई ढाप मार्दै सोधे, ‘हो ! तैंले सिकाएर उसले यो किताव लेखेको हो ?’ अनि काफ्ले बोलका थिए, ‘हो सरकार ! यो किताव मैले नै लेखेको हुँ । तर शड्का लागेकाले सरकारमा जाहेर पनि गरेको थिएँ ।’ त्यसपछि चन्द्रशमशेरले अधिकारीतिर फर्केर जुँगा मठारे ‘यस काफ्लेले मेरो छातीमा हिर्काए पनि मलाई दुक्खैन, बुझिस् ! तँ चाहिं राजद्रोही नै होस् ।’

मुद्धाको फैसला चन्द्रशमशेरबाटै भयो । फैसलामा रातो टाउके घुनको अर्थ महाराज चन्द्रशमशेर र कालो टाउके घुनको अर्थ कमाण्डर इनचिफ भीमशमशेरलाई सङ्केत गरेको कृष्णलाल अधिकारी समक्ष ठाडो आरोप लगाइयो । त्यसैले सिपाहीले उनको कठालो तान्दै जेल पु¥याए । नायबसुब्बाको जागीरमा रहेका अधिकारीलाई सुरुकै दिनदेखि दुबै हातमा साङ्लो र खुट्टामा ठिड्ग्रा ठोकेर राखियो ।

त्यतिमात्र होइन, अधिकारीकोे ९९९ किताब जफत गरियो र आगामा बालियो । उनलाई राष्ट्रद्रोहको मुद्धामा ६ वर्ष कैद र एक थान किताब नबुझए बापत थप ३ वर्षका समेत गरी नौ वर्षको जेल सजाय किटान भयो । त्यसबेला उनको आँतमा पहिरो गयो । अनि त्यसैवर्ष उनकी पत्नीको पनि निधन भयो ।

‘मकैकोखेती’को पर्वले १२ जनालाई दण्डित गरायो । शम्भुप्रसाद दुड्ग्याल, दुर्गानाथ अधिकारी, सुब्बा ऋषिभक्त उपाध्याय, खर्दार चूडामणि उपाध्याय, डिट्ठा उपेन्द्रबहादुर बस्नेत र गोर्खापत्रका सम्पादक कृष्णचन्द्र अर्यालको जागीर खोसियो । अनि सोमनाथ सिग्द्याललाई जागीर यथावत राखेर पचास रुपियाँ जरिमाना गरियो । साथै पशुपति प्रेसलाई पनि पचास रुपियाँ जरिमाना भयो । पोलाहा भोजराज काफ्लेलाई खर्दार, रामहरिलाई लप्टन र उनीहरुलाई दोसल्ला सहित एकएक हजार रूपियाँ राज्यबाटै बक्सिस प्रदान गरियो ।

अधिकारी जेलमा सडिन थालेको घटनाले नेपालको बौद्धिक गिदीलाई थर्कमान पा¥यो । त्यसघडी धेरै लेखककविले आफ्नो कलमको टुँडो भाँचे । धेरै अविभावकले आँत्तिएर आफ्ना छोराहरुको कापीकलम खोसे । वास्तवमा मकैपर्वले नेपालमा धेरै नै हल्लीखल्ली मच्चाएको थियो । त्यस घटनाले देशवासीलाई रोदन, पीडा र छटपटीमा डुबाएको थियो ।

अधिकारी हतकडीसहीत जेलैमा बसे । त्यहाँ बसेर पनि उनले किताबै लेखे । त्यहाँ उनले आफ्नी स्वर्गीय पत्नी धर्मकुमारी अधिकारीमा स्मृतिमा ‘धर्मकुमारी शिक्षा’ पनि लेखे । साथै उनले जागीर खाएकै बेला ‘काठमहलको हिसाब’ नामक कृति पनि लेखेका थिए । तर प्रकाशनको हिसावले यो उनको तेस्रो कृतिका रूपमा देखा पर्यो ।

अधिकारीलाई जेलभित्रै क्षयरोगले आक्रमण गर्यो । उनी दिनप्रतिदिन खिइँन थालेका थिए । मर्ने दिनको गन्ती गरिरहेकै अवस्थामा पनि उनी हातकडी र ठिङ्ग्रामा नै थिए । त्यसैबखत उनका बुवा लक्ष्मणराज अधिकारीले चन्द्रशमशेरलाई विन्तीपत्र लेखे, ‘मेरो छोरो कृष्णलाललाई घाट लैजान पाउँ ।’ त्यतिबेला राणाले प्रत्युत्तर दिएका थिए, ‘त्यसलाई जेलमा नै सडाएर मार्ने मेरो विचार छ ।’

त्यसघडी भोजराज काफ्लेदेखि चन्द्रशमशेरसम्मले भौतिक रूपमा जित्नु जिते र अधिकारीले हार्नु हारे । तर अन्ततः अधिकारी नै श्रद्धेय बने, दीघायू बने र नेपाली भाषासाहित्यका प्रथम शहीद नै बने । श्री ३ चन्द्रंशमशेरकै इच्छानुसार १९८० साल मंसीर शुक्ल तृतीयाका दिन कृष्णलाल अधिकारी सदर जेलखाना मै स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी