» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » कृष्णप्रकाश श्रेष्ठ Krishna Prakash Shrestha

नइको चिनारी


कृष्णप्रकाश श्रेष्ठ Krishna Prakash Shrestha

महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीका अनुसार ‘कृष्णप्रकाश श्रेष्ठको नेपाली साहित्यको इतिहासमा गौरवशाली योगदान छ । साथै समालोचनाका क्षेत्रमा चाहिँ श्रेष्ठको अद्भुत भूमिका रहेको छ । समालोचकहरूले समालोचना लेख्नका लागि श्रेष्ठका कृतिलाई गुरु थापे हुन्छ ।’ नेपाली समालोचना फाँटमा कृष्णप्रकाश श्रेष्ठको उचाइ नै गरिमाले भरिएको थियो । किशोरावस्था सकिएपछि अर्थात् युवावस्थाको आरम्भदेखि नै उनी पढ्नका लागि रूस गए र उतै समाहित भए । यतिहुँदाहुँदै पनि उनका लागि नेपाली भाषा साहित्य नै प्यारो थियो । वास्तवमा उनी नेपाली भाषामा प्रकाशित कृति भेटेपछि त्यसैलाई ओर्काइफर्काइ गरेर सुमसुम्याइरहन्थे । अनि उनले रूसी भाषाका कृतिहरूलाई नेपाली भाषामा रुपान्तर गरिरहे । त्यसैमा नै उनले जरा हाले, त्यसैमा उनी फूले र त्यसैबाट उनी फक्रे । पछिल्ला दिनहरूमा नेपाली भाषा र रूसी भाषा उनको प्राणमा नै बसेको थियो । नेपाली भाषा साहित्यलाई रूसी भाषा मार्पmत अन्तर्राष्ट्रिय जगत्मा पु¥याउने र रूसी भाषालाई पनि नेपाली भाषामा रुपान्तर गरी नेपाली भाषाको थप लोकप्रियता बढाउने उनी एउटा तपस्वी थिए । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि रूसमा नेपाली कोही थिए भने उनी एकै जना मात्र थिए ।

कृष्णप्रकाश श्रेष्ठ रूसका लागि नेपाली साहित्यिक दूत थिए । उनी नइ प्रकाशन र त्रिमूर्ति निकेतनतर्फका संयुक्त दूत भएर पनि नेपाली भाषा साहित्यको सेवामा अझ समर्पित भए । उनी सधैँ कर्तव्यलाई महŒव दिन्थे । त्यसैले उनले गर्ने जुनसुकै काम पनि सार्थक हुन्थे । साथै उनका विविध कार्यमा उनलाई अहोरात्र साथ दिने रूसी नारी इरिना मिखाइलोभ्ना थिइन् ।

कृष्णप्रकाश श्रेष्ठ १९९४ साल मङ्सिर ६ गते काठमाडौँको चुनिखेलको थानकोटमा जन्मे । उनका बुबा रामबहादुर श्रेष्ठ जागिरे थिए र आमा तेजकुमारी श्रेष्ठ गृहिणी थिइन् । उनका बुबाको जागिर मालअड्डामा थियो । त्यसैले उनी सानैदेखि उनका बुबासँग बैतडी बसेका थिए । उनको बाल्यकाल बैतडीमा नै बितेको थियो । त्यस बेला यिनका प्रिय साथी लोकेन्द्रबहादुर चन्द थिए । उनी चौध वर्षसम्म चन्दसँग पढ्दैखेल्दै बैतडीमा नै बसेका थिए ।

कृष्णप्रकाश श्रेष्ठले स्कुले शिक्षा नेपाल र भारतबाट ग्रहण गरेका थिए । नेपालमा उनीसँग पढ्ने साथी दुर्गालाल श्रेष्ठ थिए । दुर्गालालचाहिँ नेवारी भाषामा पोख्त थिए । कृष्णप्रकाश श्रेष्ठ सानैदेखि काठमाडौँमा नबसेकाले नेवारी भाषा जाँन्दैन थिए । त्यसैले दुर्गालाल श्रेष्ठले नै कृष्णप्रकाश श्रेष्ठलाई नेवारी भाषा बोल्न र लेख्न सिकाएका थिए । यसै प्रसङ्गमा कृष्णप्रकाश श्रेष्ठले भने— ‘काठमाडौँमा कलेजको विद्यार्थी भएपछि मात्र मैले नेवारी भाषा र साहित्यको अध्ययन गर्न थालेको थिएँ । मेरा सहपाठी दुर्गालाल श्रेष्ठ नै नेवारी भाषाका मेरा गुरु पनि थिए ।’ तर पढाइलेखाइमा उनी अब्बल मानिन्थे । उनले काठमाडौँको शान्ति विधा गृहमा पनि पढेका थिए । तर काठमाडौँकै विश्व निकेतन हाइस्कुलबाट उनले एसएलसी पास गरे । उनले त्रिचन्द्र कलेजमा आइए पढे र जाँच दिन उनी भारततिर लागे । उनले पटना विश्वविद्यालयबाट आइए र बीए पास गरेका थिए । त्यसपछि उनले दुई वर्ष काठमाडौँको थानकोटस्थित भविष्यसेवा मिडिल स्कूलमा पढाएका थिए । त्यहाँ उनी प्रधानाध्यापक थिए । तर उनले त्यहाँ पढाए वापत एक सुका दाम पनि लिएनन् । त्यसपछि उनी रूस गए । अनि उनले मास्को राजकीय विश्व विद्यालयबाट पत्रकारितामा एमएको उपाधि हासिल गरेका थिए ।

२०१६ सालको कुरा हो— पढ्नेहेतु कृष्णप्रकाश श्रेष्ठ सोभियत सङ्घको मास्को पुगेका थिए । त्यस बेला उनी छात्रवृत्तिमा पत्रकारिता पढ्न त्यस ठाउँमा पुगेका थिए । पढ्ने सिलसिलामा नै उनले नेपाली र रूसी भाषामा लेख्न र बोल्न थाले । उनलाई रूसी भाषामा थप पोख्त पार्ने काम सुश्री इरिना मिखाइलोभ्नाबाट भएको थियो ।

कृष्णप्रकाश श्रेष्ठले एम्ए पास गरेको वर्ष अर्थात् सन् १९६३ को अक्टोबरमा रेडियो मास्कोबाट नेपाली भाषाको सेवा आरम्भ भएको थियो । त्यसै बेलादेखि नै कृष्णप्रकाश श्रेष्ठ रूसी रेडियोे मार्फत नेपाली बोली लिएर झुल्केका थिए । ‘यो रेडियो मास्को हो’ भनेर सुरुका दिन श्रेष्ठ त्यही रेडियोबाट बोलेका थिए । उनी पत्रकारिता विषय पढ्न गएकाले त्यसैमा लागि परेर उनले आफ्नो सुभास छरिरहे । त्यतिमात्र नभएर उनले नेपाली भाषाका यथेष्ट कृति रसियनलाई पनि पढाए । वास्तवमा रूसमा नेपाली साहित्य जतिजति धनी भयो त्यसको प्रमुख श्रेय बटुल्ने मान्छे नै कृष्णप्रकाश श्रेष्ठ थिए । उनको साहित्यिक व्यक्तित्वको सग्लो परिचय एकतिर उनी समालोचक हुन् भने अर्कातिर अनुवादक हुन् ।

कृष्णप्रकाश श्रेष्ठले रूसी भाषामा लेख्ने विश्वप्रसिद्ध साहित्यकारहरूको खोजी गरे । अनि लियो टोल्सटाय, पुस्किन, लोमोन्तोभदेखि नाउँ चलेका अन्य स्रष्टाका कृति उनले नेपाली भाषामा अनुवाद गरे । साथै उनले माक्र्स, एन्जेल्स र लेनिनकृत कृतिहरूको पनि नेपाली भाषामा अनुवाद गरेका थिए । अनुवाद गर्ने क्रममा उनले कुनै कृतिगत रूपमा प्रकाशनमा ल्याए र कुनै चाहिँ रूसी पत्रपत्रिकामा पनि छपाएका थिए । साथै उनले लैनसिंह बाङ्देलको उपन्यास ‘लङ्गडाको साथी’ पनि रूसी भाषामा अनुवाद गरेका थिए । अनि नेपाली दन्त्यकथालगायत अन्य केही नेपाली कृतिहरू पनि उनले रूसी भाषामा अनुवाद गरे । उनका मौलिक, अनुवाद र सम्पादित कृतिहरू लगभग आठ दर्जन प्रकाशित भएका थिए । उनी रूसमा झन्नै ६२ वर्ष बसे र त्यसै फेरोमा उनले नेपाली साहित्यलाई विश्वविख्यात गराउनमा आफ्नो नाउँ अभिलेखित गरे ।

कृष्णप्रकाश श्रेष्ठले रेडियो मास्कोमा पैँतालीस वर्षसम्म सेवा गरे । उनले प्रगति प्रकाशन र रादुगा प्रकाशनमा पन्ध्र वर्षसम्म अनुवादकको जिम्मा लिई कुशलता प्रस्तुत गरेका थिए । उनी रूसी विज्ञान प्रज्ञाप्रतिष्ठान प्राच्यविद्या संस्थानमा वैज्ञानिक सल्लाहकार थिए ।

कृष्णप्रकाश श्रेष्ठ सिर्जना, अनुवाद र संस्थागत काम गर्न जाँगरिला थिए । उनले लेखेका कृति, अनुवादित कृति र सामाजिक कृत्य सधैँ स्तुत्य रहे । उनैले मास्कोमा विश्वभाषा अनुवाद संस्थाको स्थापना पनि गरेका थिए । त्यो संस्था स्थापनाका लागि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पनि उनले पूर्ण रूपमा आबद्ध गराएका थिए ।

कृष्णप्रकाश श्रेष्ठले धेरै रूसी साहित्यकारलाई नेपाली साहित्यमा आकृष्ट गराए । महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरणाले नेपाली साहित्यमा प्रविष्ट महाप्राज्ञ डा.ल्यूदमिला आगनीनालाई समेत श्रेष्ठले नाम्लो लगाएर बोकेका थिए । अनि आगनीनाले पनि देवकोटा पछाडि श्रेष्ठलाई नै मानेकी थिइन् ।

कृष्णप्रकाश श्रेष्ठ नेपाली छात्र सङ्घको मुखपत्र ‘किरण’को पनि संस्थापक सम्पादक थिए । रूसबाट नेपाली भाषामा प्रकाशित हुने दर्जनौँ मुखपत्र र पत्रिकाको उनले सम्पादन गरेका थिए । उनी हरेक विषय र भाषामा चासो राख्थे । उनी संस्कृत, नेपाली, नेवारी, बैतडेली, अंग्रेजी, हिन्दी र रूसी भाषामा पोख्त थिए ।

नेपाली भाषा साहित्यको सेवा गरेबापत कृष्णप्रकाश श्रेष्ठले २०५९ सालमा एक लाख रुपियाँ राशीको ‘जगदम्बाश्री पुरस्कार’ ग्रहण गरे । साथै उनले २०६५ सालमा दुई लाख रुपियाँ राशीको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेका थिए । रूसबाट प्रदान गरिने मैत्री पदक र पुश्किन स्वर्ण पदकबाट समेत उनी सम्मानित थिए । साथै उनी नृपध्वज कार्की पुरस्कार, त्रिमूर्ति निकेतनबाट महाकवि देवकोटा शताब्दी सम्मान र सत्यमोहन जोशी शताब्दी पदकबाट पनि सम्मानित थिए ।

मास्को रेडियोमा कार्यरत भएका बेला मास्को रेडियोअन्तर्गत भारतीय विभागमा काम गर्ने रूसी नारी इरिनासँग कृष्णप्रकाश श्रेष्ठको परिचय भएको थियो । त्यसै बेलादेखि इरिनाचाहिँ श्रेष्ठसँग हुरुक्कै हुन थालेकी थिइन् । तर श्रेष्ठ आफ्नै काममा समर्पित भएका कारण कसैसँग पनि गहिरो झुकाव राख्तैन थिए । उनले सुन्दरी इरिनालाई त्यति वास्ता नगरेको बेहोराले रेडियो क्षेत्र नै चर्चित थियो । अनि इरिनाले यसबारे गुनासो गरेपछि श्रेष्ठ उनीपट्टि क्रमशः नजिक हुन थालेका थिए । परिणामस्वरुप २०२५ साल मङ्सिर २५ गते उनीहरू माझ रूसमा नै लगनगाँठो कस्सिएको थियो । श्रेष्ठकी पत्नी इरिना भने श्रेष्ठभन्दा चार वर्ष सानी थिइन् । उनको जन्म १९९८ साल फागुन १ गते मास्कोमा भएको थियो । त्यहीँबाटै उनले शिक्षादीक्षा लिएकी थिइन् । रूसी नारीसँग बिहे गर्ने श्रेष्ठचाहिँ तेस्रो नेपाली थिए । त्यसपछिचाहिँ श्रेष्ठ रूसका नागरिक पनि भए । यी दम्पतीबाट दुई छोरी जान्ना र मारिना जन्मे ।

इरिना २०७५ साल वैशाख ३ गते मास्कोमा स्वर्गीय भइन् । आफ्नी पत्नी स्वर्गीय भएको चार वर्ष लाग्दा नलाग्दै अर्थात् २०७७ साल चैत १६ गते कृष्णप्रकाश श्रेष्ठ मास्कोमा नै स्वर्गीय भए । बाँच्नका लागि उनले एक महिनासम्म कोरोनासँग युद्ध नै गरेका थिए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश