» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » ऋद्धिबहादुर मल्ल Riddhi Bahadur Malla

नइको चिनारी


ऋद्धिबहादुर मल्ल Riddhi Bahadur Malla

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि शारदा पत्रिकाले अत्यन्तै ठूलो लगानी गरेको छ । नेपाली साहित्यका महारथीहरुको आविष्कार गराउने गुरुत्तर भूमिका पनि यही पत्रिकाले खेलेको थियो । अनि त्यसका निर्माताको नाउँ हो – ऋद्धिबहादुर मल्ल ।
मल्लको जन्म १९५५ साल मंसिर २४ गते बनारसको बरुणापुल कोठीमा भएको थियो । उनी सुब्बा वीरबहादुर मल्ल र नीरकुमारीका जेठा छोरा थिए ।

मल्लका बुवा वीरबहादुर मल्ल जंगबहादुरकी कान्छी छोरी दीपकुमारीका सेवामा बाँधिएका थिए । वीरशमशेर प्रधानमन्त्री भएपछि उनले दीपकुमारीलाई देश निकाला गर्दा वीरबहादुर पनि अधिराजकुमारीसँगै बनारस पुगेका थिए । त्यही परिवेशमा ऋद्धिबहादुर मल्ल त्यहीं जन्मेका थिए । तर इतिहासको सेरोफेरो पर्गेल्दा ऋद्धिबहादुर मल्ल भक्तपुरका राजा भूपतीन्द्र मल्लका वंशज मानिन्छन् ।

ऋद्धिबहादुरको वाल्यकाल र किशोरावस्था राणाको आडभरोसामा दुक्खसुक्खमा नै वित्यो । उनले बाईस वर्ष लाग्दा म्याटि्रक पास गरे । त्यसबापत राज्यले उनलाई दोसल्ला ओडायो र हात्तीमा राखेर काठमाडौं शहर घुमायो । अनि त्यस प्रकारको सम्मान प्राप्त गर्ने उनी अन्तिम व्यक्ति भए । १९७६ सालपछि राज्यबाट यो काम बन्द भयो ।

मल्लले नेपाली साहित्यमा पाइला राखेर पाँचवटा उपन्यास लेखे र दुईवटा उपन्यास अनुवाद गरे । त्यसैले उनको लेखनको ख्याति सँधै चम्किरहृयो । मल्लले लेखेको एउटा किताबबारे निक्कै रमाइलो तर दुखद् प्रसंग पनि गाँसियो । कुरो केहो भने उनले लेखेको ‘शकुन्तला’नामक पुस्तक जुद्धशमशेरले छपाईदिनु भन्ने हुकुम गरे । अनि त्यो कितावको पाण्डुलिपी शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरका हातमा गयो । तर दुई वर्षसम्म पनि त्यस किताबको अवतरण हुन सकेन । अन्ततः मल्लको सोही किताब कर्णेल शिवप्रतापशमशेर थापालाई लेखक बनाएर प्रकाशनमा आयो । यस्तो घटनाले मल्ल चकित परे । आफ्नो किताबको लेखकमा अर्कैको नाउँ छापिएको देख्नुपर्दा मल्ल भुट्भुटिए, छट्पटाए र पिरिनसम्म पिरिए । रुनुसिवाय मल्लले त्यस्तो कालो कर्तुतका विरुद्ध गर्न सक्ने केही थिएन ।

मल्ल उत्साही थिए । त्यसैले उनको योजना भत्काउन राणाका ओरीपरीका मान्छे जागरुक थिए । तर उनले जेजस्तो चेपुवामा परेर पनि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि शारदाको एउटा विशाल वटवृक्ष बनाए । वास्तवमा नेपाली भाषासाहित्यको आधुनिक अवस्थाको महत्वपूर्ण जरा ऋद्धिबहादुर मल्ल नै पनि एक थिए । उनको तन, मन, धनले लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटासम्मले नेपालीसाहित्यमा ख्याति आर्जन गरे । त्यतिमात्र होइन शारदा पत्रिका लेखकहरुकै एउटा सङ्गठन पनि थियो । त्यस बेला त्यस पत्रिकाको कार्यालयमा स्रष्टाहरुको भीड लाग्थ्यो । त्यस घडी शारदा प्रकाशन भन्नु नेपाली साहित्यकारका लागि एउटा विशिष्ट मञ्च नै थियो ।

मल्लको शारदा प्रकाशनको श्रृंखला पनि बेग्लै छ । सरदार रुद्रराज पाण्डेले शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरलाई भनसुन गरेर सुब्बा ऋद्धिबहादुर मल्ललाई शारदा प्रकाशन गर्ने निर्णय गराएका थिए । वास्तवमा रैतीले पढेको, लेखेको र भाषण गरेको राणा शासकलाई फिटिक्कै मन पर्दैनथ्यो । यदि कसैले स्वीकृति नलिई यसो गरेमा राणाले त्यस्तालाई रुखमा झुण्ड्याएर तलबाट गोली हान्थे । त्यस्तो कालरात्रीका बेलामा पनि मल्ल पत्रिका प्रकाशन गर्न तम्से । उनले एउटा शर्तमा शारदाको सम्पादन र प्रकाशन गर्न पाउने भए, त्यो शर्त थियो शारदामा प्रकाशति गरिने लेखरचनाहरु नेपाली भाषा प्रकाशिनी समितिबाट पास गरिनु पर्ने अनि मात्र शारदामा ती लेख रचना प्रकाशन गर्न पाइने भयो । जसअनुसार त्यसबखत नेपाली भाषा प्रकाशिनी समितिमा शारदाको लेखरचना जाँच पास गर्ने मात्रै चालीसजनाको टोली थियो । ती चालीसजनामध्ये कुनैकुनै सिल्ली जाँचकीले राम्राराम्रा लेखरचना आफ्ना नाउँमा पनि छाप्थे । त्यही कोटिका एकजना लेखक थिए शिवप्रतापशमशेर थापा ।

शारदा पत्रिका १९९१ सालको माघेसंक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आउन थाल्यो । अनि यस पत्रिकालाई जसरी रुद्रराज पाण्डेले सहयोग पुर्‍याएका थिए त्यसरी नै प्रेमराज शर्माले पनि मद्धत गरेका थिए । शारदा प्रकाशनका लागि मल्लसँग होस्टेमा हैंसे गर्नेहरुमध्ये बालकृष्ण सम, जितेन्द्रबहादुर शाह, बडाकाजी मरिचीमान सिंहको अतुलनीय भूमिका थियो । तर नरेन्द्रमणि आचार्य दीक्षितले भने यस पत्रिकाको जरा उखेल्ने मात्रै काम गरे । तापनि दुक्खसुक्ख शारदा चलिरह्यो । तर क्रमशः शारदालाई बन्द गराउन धेरैको चालबाजी चल्यो । राणाकालीन युगमा विविध प्रपञ्च भोगेर पनि कहिले चल्दै र कहिले बन्द हुँदै आएको शारदा २००७ सालको प्रजातन्त्र आएपछि सट्टै सुक्यो । परिणाम स्वरुप यो पत्रिका बन्द पनि भयो । यतिहँदाहुँदै पनि यस पत्रिकाले अट्ठाइस वर्षसम्म आफ्नो अस्तित्व यस नेपाली भाषाको संसारमा देखायो । शारदा बन्दकालीन समयमा भने मल्लले आवाज दैनिक निकाल्न थाले ।

शारदाको नाउँमा गाँसिएको अर्को संस्था हो- जोरगणेश प्रेस । वास्तवमा आफ्नो पेसाका लागि मल्लले खरदार तीर्थराज सुवालसँग साझेदारीमा प्रेस खोलेका थिए । अनि त्यस प्रेसको नाउँ जोरगणेश प्रेस राखिएको थियो । तर केही समयपछि नै खरदार सुवालले प्रेसबाट हात झिके । त्यसपछि मल्ल एक्लैले जोरगणेश प्रेस सञ्चालन गरे । त्यसै पे्रसबाट शारदा पत्रिका प्रकाशित भैरहृयो ।

शारदायुग नै नेपाली साहित्यको इतिहासका लागि उपलब्धीपूर्णसमय मानिन्छ । राणा शासनको जगजगीमा नै शारदा प्रकाशित हुनु भनेको मल्लको साहस, चुनौति र चमत्कारी काम थियो । त्यही कामको संक्षिप्त चिनारी हो- ऋद्धिबहादुर मल्ल । किनभने नेपाली साहित्यको आधुनिक युगको प्रारम्भको नाउँ नै शारदाकाल हो । वास्तवमै मल्ल चतुर थिए । उनी जति चतुर थिए त्यति नै शिष्ट थिए अनि जति शिष्ट थिए त्यति नै विलक्षण पनि थिए । त्यसैले उनी आफ्नो काममा सफल भए ।
मल्लले घरको दयनीय आर्थिक अवस्थाका कारण कलेजस्तरको शिक्षा लिन सकेनन् । त्यसैले उनी जागीरमा लागे । यसै सिलसिलामा उनी सुब्बा भए ।, जुद्धशमशेरकी छोरीको नीजि सचिव भएर नै उनले आफ्नो युवा अवस्था कटाए । राणाको स्तुति र चाकरी गरेर नै उनले शारदालाई पनि सञ्चालन गरिरहे । अनि २००७ साल फागुन ७ गते प्रकाशित भएको दैनिक आवाज प्रकाशित गर्ने पनि मल्ल नै थिए । वास्तवमा उनी परिस्थिति अनुसार काम गर्थे ।
मल्लको विवाह १९७० सालमा साहू द्वारिकादास मूलकी छोरी आनन्दकुमारीसँग भएको थियो । अनि यी दम्पत्तिबाट चारजना छोरा गोविन्दबहादुर, विजयबहादुर, फत्तेबहादुर र हिक्मतबहादुर र एकजना छोरी शान्तिको जन्म भएको थियो । गोविन्द गोठाले र विजय मल्लले नेपाली भाषासाहित्यका महारथीमा आफूहरुलाई स्थापित गरे ।
ऋद्धिबहादुर मल्लको मात्रृभाषा नेवारी थियो । तर यी नेपालीभाषाप्रति अगाघ श्रद्धा राख्थे । कतिसम्म भने ऋद्धिबहादुरका छोरा गोविन्द मल्ल गोठाले र विजयबहादुर मल्लका घरमा नेपाली भाषामा नै बोलचाल गरिने परिपाटी थियो । उनीहरु राजधानीका नेवार भएर पनि नेवारी भाषा बोल्न रुचाउँदैन थिए । वास्तवमा ऋद्धिबहादुर मल्ल राष्ट्रियताका पनि धुमधाम हिमायति थिए । वर्तमान भाषिक विखण्डनका दिशामा अग्रसर नेपालका लागि ऋद्धिबहादुरको परिवार नै राष्ट्रवाद र भाषिक एकताको उदाहरणका रुपमा संपूज्य मानिन्छ ।
मल्ल २०२५ साल वैशाख ५ गते काठमाडौंमा स्वर्गीय भए । अनि सम्मानस्वरुप सरकारले २०५४ सालमा उनको मुहारचित्र अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश