» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » अम्बिकाप्रसाद अधिकारी Ambika Prasad Adhikari

अम्बिकाप्रसाद अधिकारी Ambika Prasad Adhikari

अम्बिकाप्रसाद अधिकारी प्रष्ट बोल्थे, खरो लेख्थे र स्पष्ट रूपमा प्रस्तुत हुन्थे । उनी आडम्बरी मन पराउँदैन थिए, अहङ्कारीका छेउमा जान मान्दैन थिए र अभिमानीलाई टाढैबाट सलाम गर्थे । स्वाभिमान उनको जीवनको नैसर्गिक गुण थियो भने स्वावलम्वनमा उनी आफ्नो जीवन बाँचेका थिए । बाँचुन्जेल उनले राष्ट्रकै सेवामा आपूmलाई समाहित पनि गरिरहे ।

अधिकारी मिलनसार थिए । उनी सहयोगी पनि थिए । उनी आपैंm पनि कर्ममा विश्वास राख्थे र अरूलाई पनि त्यही पाठ सिकाउँथे । त्यही परिवेशमा उनले गीतालाई संस्कृतमा सङ्क्षिप्त अनुवाद सहित नेपालीभाषामा व्याख्या भएको श्रीमद्भगवत् ‘गीता लोकभाष्य’ लेखे । उनी संस्कृतका प्रकाण्ड विद्वान् थिए र लोकलक्ष्मी उनकी पत्नीको नाउँ थियो ।

अधिकारीले नेपाली भाषासाहित्यको समालोचना क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गरेका थिए । साथै उनले नाटक लेखनमा पनि आफूलाई परिचित गराएका थिए । उनी कथाकार पनि थिए । व्याकरण लेखनमा पनि उनले नाउँ कमाएका थिए । अनि अनुवादका विधामा पनि उनले आफ्नो नाउँलाई प्रसिद्धिको शिखर आरोहण गराएका थिए । उनी नेपालीबाट संस्कृत र संस्कृतबाट नेपालीभाषामा मात्र अनुवाद गर्थे ।

अधिकारीको जन्म १९७९ साल पुस कृष्ण एकादशीका दिन काठमाडौंमा भएको थियो । उनका बुबा रुद्रकान्त अधिकारी पण्डित थिए भने आमा पूर्णदेवी गृहिणी थिइन् । उनका बाबुबाजे पनि संस्कृतका विद्वान् थिए । बाजे देवीरमण अधिकारीचाहिं संस्कृत र अङ्ग्रेजी भाषाका बराबरी विद्वान् थिए । त्यसबेला संस्कृतका विद्वान्ले अङ्ग्रेजी भाषालाई अछुत मान्थे । तर उनी यस मामलामा सबैसँग सामना गर्दै आफ्नो लक्ष्य प्राप्तिमा दौडन्थे ।

अधिकारीलाई सात वर्षमा संस्कृत प्रधान पाठशालामा भर्ना गरिएको थियो । पढेताक उनी आफ्नो घरको काम पनि गर्थे । उनी सादा, नरम र सहृदयी थिए । उनी सानैदेखि विलक्षण प्रतिभाका धनी पनि थिए । पढाईमा उनी प्रायः दोस्रो हुँदैन थिए । अनि यिनले २५ वर्षको उमेरमा बनारसको राजकीय संस्कृत कलेजबाट दर्शनशास्त्रमा प्रथम श्रेणीमा आचार्य गरे ।

आचार्य गरेको पाँच वर्षमा अधिकारीले जागिर पाए । सुरुमा यिनले रानीपोखरीको राजकीय संस्कृत पाठशालामा पढाए । केही वर्षपछि उनले पद्म कन्या कलेजमा पढाउन थाले । झन्डै पन्ध्र वर्षको प्राध्यापनपछि उनले त्यस कलेजको प्रिन्सिपल समेतको भूमिका निर्वाह गरे । त्यसै अवधिमा उनले नेशनल कलेजमा पनि पढाएका थिए ।

अधिकारी सरकारी निकायहरूद्वारा गठन हुने शैक्षिक कार्यक्रमहरूमा सहभागी भइरहन्थे । उनी त्रिभुवन विश्वविद्यालयको एकेडेमी काउन्सिलमा पनि रहेका थिए । त्यसैले पनि विश्वविद्यालयका नीति निर्माणका काममा पनि उनैलाई अघि सारिन्थ्यो । साथै उनी पाठ्यपुस्तकका पनि विशेषज्ञ थिए । नेपाली शिक्षण संस्थाहरूको पाठ्यपुस्तक निर्माणका लागि उनको उल्लेखनीय भूमिका गाँसिएको थियो । उनी नैतिक शिक्षामा जोड दिन्थे र त्यसै मुताविकका पाठ्यपुस्तक तर्जुमा गर्न अघि सर्थे । अनि केही वर्षपछि उनलाई त्रिभुवन विश्वविद्यालयको संस्कृत अध्ययन संस्थानमा डीन बनाइएको थियो । त्यसबेला डीन कार्यालय दाङमा थियो ।

अधिकारी डीन भएर दाङ गए । रुखोसुखोमा नाउँ चलेको बेलझुण्डी पनि उनी पुगेपछि हराभरा हुन थाल्यो । त्यहाँ खानेपानीको अभाव थियो । उनैले जमिनबाटै पानी निकाल्न लगाएर जनसेवा पनि गरे । साथै त्यहीँ उनले त्रिलोकेश्वरको मन्दिर बनाए । अनि उनले मन्दिरका लागि संस्कृत अध्ययन संस्थानका प्राध्यापक र कर्मचारीले अनिवार्य मासिक एक सय एक रुपियाँ प्रदान गर्ने रीत चलाए । उनको त्यो नियम सधैं लागु पनि भइरह्यो ।

अधिकारी मौलिक सिद्धान्तका हिमायती थिए । उनी सनातनी र प्राचीन पद्धतीलाई मान्थे तर अवैज्ञानिक परम्परा मान्दैन थिए । त्यही परिवेशले उनी राजाका बडागुरू पनि भए । राजदरबारकै पुरेत बढुवा भएर बडागुरु हुने चलनको उनैका कारणले राजदरबारले अन्त्य गरिदियो । कुरा के हो भने– उनीसँग रानी ऐश्वर्यको गुरुचेलीको सम्बन्ध थियो । त्यसैले उनैको कारणले खुल्ला प्रतियोगिताबाट बडागुरु हुने विज्ञप्ति दरबारले जारी गरेको थियो । अनि त्यही विज्ञापनका आडमा उनी बडागुरू भएका थिए । त्यसपछि राजा वीरेन्द्रले उनलाई सम्माननीयको पद्वी पनि दिएका थिए ।

अधिकारी तार्किक थिए । तर्क भएका ठाउँमा उनी पुगे भने उनकै जीत प्रायः हुन्थ्यो । वास्तवमा सानैदेखि वक्तृत्वकलामा उनको सहभागिता हुन्थ्यो । उनी नेपाली र संस्कृतमा धारा प्रवाह भाषण गर्न सक्थे । साथै उनी नेवारी र हिन्दीभाषामा पनि प्रवचन दिन सक्थे । उनी वादविवाद र तर्कवितर्कमा कसैसँग हार्न जान्दैन थिए । उनी मुडे बलबाट कसैसँग राय जुधाउदैन थिए । किनभने उनी अध्ययनशील, बौद्धिक र चिन्तक थिए ।

अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिइरहन्थे । उनले बोल्ने विषय पनि हिन्दू धर्म र संस्कृतिकै विषयमा केन्द्रित हुन्थ्यो । यसैक्रममा उनी भारतका विभिन्न प्रान्त र थाइल्यान्ड पनि गएका थिए ।

नेपाली भाषासाहित्यमा बलियो समीक्षकमा अधिकारीको नाउँ उल्लेख हुन्छ । उनले २०१७ सालको रूपरेखाको आरम्भदेखि नै लेख्न थाले । उनले चार कृति अर्थात् गीता लोकभाष्य, सनातनधर्ममा नारीको स्थान, हिन्दूत्व र ध्वनी के हो ? नामक उनका कृतिले उनीमा झनै उचाई थपिइएको थियो । अनि उनका अनेकौं फुटकर लेखरचना प्रकाशित भइरहे । उनले प्रबन्ध, निबन्ध, नाटक, एकाङ्की, समीक्षा अनुवाद आदिमा कलम चलाइरहे । साहित्य रचना गरेर नै उनले रत्नश्री स्वर्णपदक र गुणराज पुरस्कार पाए । पढेर नै उनले महेन्द्र विद्याभूषण पाए । साथै उनले राष्ट्रको सेवा गरेर चार नम्बरको त्रिशक्ति पट्ट र त्यस्तै आकारको गोर्खादक्षिण बाहु पनि पाए ।

अधिकारीको १४ वर्षको उमेरमा काठमाडौंकै वेदान्ती केशवराज पौड्याल तथा श्रीमती तीर्थकुमारीकी १२ वर्षीय छोरी लोकलक्ष्मीसँग विवाह भएको थियो । यी दम्पतिबाट दुई जना छोरा अनि एउटी छोरी जन्मे । उनका जेठा छोरा जगदीश रानी ऐश्वर्यको अध्यक्षतामा गठित पशुपतिक्षेत्र विकास कोषका सदस्यसचिव र कान्छा महेश रेडियो नेपालमा महानिर्देशकसम्म भए । साथै एउटै छोरी इन्दिरा पन्त शिक्षण पेशामा आबद्ध थिइन् ।

अधिकारी दमको रोगका कारण अस्वस्थ भए । निक्कै थलिएपछि उनलाई वीर अस्पतालमा राखियो । केही वर्षसम्म उनको जीवनचक्र घरि घर र घरि अस्पतालमा भैरह्यो । अन्ततः उनी २०५१ जेठ १८ गते काठमाडौंमा स्वर्गीय भए ।

प्रस्तुति
नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी