» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » अनङ्गनाथ पौडेल Anagna Nath Paudel

अनङ्गनाथ पौडेल Anagna Nath Paudel

अनङ्गनाथ पौडेलको जन्म १९५२ साल मङ्सिर १५ गते काठमाडौंमा भएको थियो । उनी सुब्बा नारायणप्रसाद पौडेल र टीकाकुमारी पौडेलका तीन छोरा र पाँच छोरीमध्ये पहिलो सन्तान थिए ।

पौडेल महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन थिए । देवकोटाकी सहोदर ठूलीकान्छी दिदी देवेन्द्रकुमारीका साथ यिनको दाम्पत्य जीवन बाँधिएको थियो । पौडेल दम्पतिको बिहेपछिको दुई वर्षमा महाकवि देवकोटाको जन्म भएको थियो । त्यसैले पौडेलले नै देवकोटालाई हुर्काउने, बढाउने र पढाउने काम पनि गरेका थिए । साथै उनैले देवकोटाको भविष्य निर्माणका लागि आफ्नो मन, वचन र कर्म रोपेका थिए । देवकोटाका गणित गुरु पनि अनङ्गनाथ पौडेल नै थिए ।

१९९७ सालको कुरा हो, त्यस बेला पौडेल हैजाले मरणासन्न भएका थिए । अनि महाकवि देवकोटाले डा.भवानीभक्त श्रेष्ठ र कम्पाउन्डर हरिचरण श्रेष्ठका निर्देशनले बागमतीको पानी उमालेर सेलाएपछि पौडेललाई एक बोतलजति सलाईन चढाई दिएका थिए । त्यतिखेर त्यो शुद्ध जलले पौडेल बौरेका थिए ।

महाकवि देवकोटालाई समाजले पागल भन्न थालिसकेको प्रसङ्ग थियो । त्यसपछि पौडेलले देवकोटालाई हिँड् साइँला मसँगै भनेर गुहृयेश्वरीपारि कुमारीगालको आफ्नो घरमा लगेका थिए । उनले केही समय आफ्ना दिदीभिनाजुका घरमै बसेर स्वास्थ्य सुधार गरेका थिए । त्यसताका देवकोटाले त्यहाँ बसेर केही कृति पनि लेखेका थिए । वास्तवमा देवकोटा पौडेल भिनाजुको भक्त थिए । कतिसम्म भने हरेक दिन उनी आफ्ना दिदीभिनाजुको खुट्टा नढोगी पानी पनि खाँदैन थिए ।

भारतका प्रधानमन्त्री पं.जवहरलाल नेहरू नेपाल आउँदा देवकोटालाई अभिनन्दनपत्र लेख्न लगाइएको थियो । अनि उनी त्यस प्रकारको काम गर्न पर्‍यो भने कुमारीगाल नै पुग्थे र आफ्ना भिनाजुको सल्लाहमा आफ्नो काम गर्थे ।

पौडेलले सरकारी जागिर पनि खाए । तर उनी जागिरमा धेरै अडेनन् । त्यतिबेला उनी बहादुर शमशेर र हरिशमशेरका घरकाज अड्डाका डिठ्ठा हाकिममा कार्यरत थिए । तर यी कामका लागि मात्र राणाको मुख हेर्थे । उनी चाकरी, चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउन मन पराउँदैन थिए । उनी समाजसेवा, धर्म र साहित्यरचनामा नै केन्द्रित भए ।

पौडेलले बाल्यकालदेखि नै साहित्यमा रुचि राखे । उनको विशेष सौख कविता लेखनमा नै थियो । साथै उनले तन्त्र पढे, मन्त्र पढे र ज्योतिष पनि पढे । गणितमा पनि उनी परङ्गत थिए । पौडेलले मान्छेको चिना पल्टाएपछि दूधको दूध पानीको पानी छुटयाइदिन्थे । त्यसैले कैयौं ठूलासाना उनका घरमा चिना फुकाउन पुग्थे । उनी कसैलाई चाप्लुसी पनि लगाउँदैन थिए र कसैसँग खरो पनि बोल्दैन थिए ।

पौडेलले नेपाली भाषासाहित्यमा पनि आफ्नो वर्चस्वलाई उचाई प्रदान गरेका थिए । त्यसैले लेख्तालेख्तै उनका ६ वटा कृति पनि प्रकाशनमा आए । यी सबै काव्यकृतिमा नै आधारित थिए । उनले लेखेका कितावहरू हुन् रावण अङ्गत संवाद (१९९१), राधाकृष्ण मिलन (२००८), मीठो कथा काव्य (२०१४), परालको आत्मकथा (२०२१), अतिकावध (२०२८) साथै उनको शेषपछि देह भागवत (२०६२) प्रकाशनमा आएको थियो । पौडेलको प्रथम कृति ‘अङ्गदरावण’ खण्डकाव्य रामायणको एउटा प्रसङ्गलाई समाएर लेखिएको हो । १९९१ सालमा राणाको जनमारा पद्धतिलाई ठाडै प्रहार गर्न नसकेर यस कृतिको आडमा दानवको सत्यानास होस् भन्ने अभ्रि्रायः यिनले आफ्नो कविताको माध्याम बनाएका थिए । उनले ४० वर्ष एकोहोरो साहित्य साधनामा आफूलाई केन्द्रित गरेका थिए ।

पौडेलको बिहे १९६४ सालमा पं.तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाकी ठूलीकान्छी छोरी देवेन्द्रकुमारीसँग भएको थियो । अनि यी दम्पतिबाट ७ जना छोरा र ३ जना छोरी जन्मे ।

पौडेल शान्त स्वभावले ओतप्रोत थिए । इमान, जवानमा उनी नामी पनि थिए । टोलछिमेकका मान्छेले उनलाई आफ्ना दुक्खसुक्ख पोख्थे । उनी पनि छिमेको आँसु र हाँसोमा साथ दिन्थे ।

पौडेल धार्मिक भावनाले ओतप्रोत थिए । उनी आफ्ना घरमा हरदिन पाठपूजा गर्थे । भगवान्को स्तृति नगरी उनी अन्य काम गर्दैन थिए । साथै उनी आफ्ना घरमा प्रायः पुराण लगाउने गर्थे र आफै पनि पुराण वाचन गर्ने गर्थे । यिनी सपनामा भगवान्सँग शास्त्रार्थ पनि गर्थे । यी भन्थे ‘हरेक मान्छे देउताको स्वरूपमा हुन्छ’ । त्यसैले उनी कुनै मान्छेलाई पनि होच्याउन हुँदैन भन्थे । अनि यिनको योगी नरहरिनाथसँग प्रायः कुरा मिल्थ्यो ।

श्रीप्रसाद गौतमलाई सही मार्गमा ल्याउन पनि पौडेलले नै काम गरेका थिए । त्यतिबेला गौतमकी आमा पौडेलका घरमा भान्से थिइन् । उनले श्रीप्रसाद गौतमको व्यक्तित्व विकासका लागि आफ्नो श्रम र सीप अर्पण गरेका थिए । श्रीप्रसाद गौतम निक्कै पछि गोरखापत्रका सम्पादक पनि भएका थिए । 

पौडेल गणितका प्रकाण्ड विद्वान्का अतिरिक्त ज्योतिषि कलामा पनि उनको ठूलै अनुभव थियो । साथै उनी जरीबुटीका पनि विशेषज्ञ थिए । उनी जङ्गल पस्थे र घर आउँदा जरीबुटी काँधमा बोकेर आउँथे । उनले सकेसम्म जरीबुटी नै खाए र आफ्ना सन्तानलाई पनि त्यस्तै खुवाए । उनले प्रायः अङ्ग्रेजी अक्षर लेखिएका औषधि प्रयोग गरेका थिएनन् ।

पौडेल लोभ र पापदेखि सदैव टाढा थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका भए तापनि उनको मनोभावना उच्च वर्गीय ढाँचामा थियो । उनलाई राणाहरूले दान दिन खोजे तर उनी भन्थे ‘म दाने बाहुन होइन । म मेरो परिश्रममा बाँच्न चाहन्छु ।’ उनको स्वाभिमान राणाका लागि विषै हुन्थ्यो । त्यसैले चन्द्रशमशेरले यिनको सर्वस्व हरण पनि गरेका थिए । तर अनेक चेष्टा गरेर यिनले माफ पनि पाएका थिए ।

आफ्ना बुबा नारायणप्रसाद पौडेल सुब्बा पदबाट बाहिरिएपछि यिनीहरूको आर्थिक अवस्था सारै दुक्खदायी रूपमा बितेको थियो । यति हुँदा पनि यिनीहरूले कहीँकतै हात पसारेनन् । अनङ्गनाथ पौडेलका जेठा छोरा कोमलनाथका अनुसार यिनीहरूले आफ्नो इमान, जवान र धर्म कहिले तराजुमा राखेर व्यापार गरेनन् ।

पौडेलको लेखनाथ पौडेल, बालकृष्ण सम, बाबुराम आचार्य, सोमनाथ सिग्देल, योगीनरहरिनाथ, कुलचन्द्र गौतमसँग ज्यादै घनिष्टता थियो । जीवनको उत्तर्रार्धमा घटराज भट्टर्राईसँग उनको मन बसेको थियो ।

पौडेल गृहस्थी जीवनमा भिज्दाभिज्दै थला परे । उनी दवाईपानीविनै आर्याघाटमा १३ दिन रामराम भनेरै खालीपेट सुते । अनि उनी २०३४ सालमा त्यहीं नै स्वर्गीय भए ।

प्रस्तुति
नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी