» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » विद्यादेवी दीक्षित Vidya Devi Dixit

नइको चिनारी


विद्यादेवी दीक्षित Vidya Devi Dixit

Vidya Devi Dixit (1905-1985)
Works: Fourteen books (poem, story etc.).
One of the founder inspirations of Madan Award Trust.
Wife of Kedar Mani Acharya Dixit & Mother of Kamal Dixit.

विद्यादेवी दीक्षित बालसाहित्यकी स्रष्टा हुन् । उनले त्यस बेला बालसाहित्य लेखिन् जुन बेला बालसाहित्यलेखनमा नारीहरू देखा परेकै थिएनन् । राणाशाहीको कठोर शासनकालमा पनि शिक्षा ग्रहण गर्न पाउनु उनको सौभाग्यै थियो । उनका बुबा प्रबुद्ध व्यक्ति थिए । अनि उनका छिमेकी दीक्षितहरू पनि शिक्षाप्रेमी थिए ।

विद्यादेवी सानैदेखि औकातअनुसारको ज्ञान र गुणकी भण्डार थिइन् । नेपाली भाषासाहित्यका धेरै लेखककविहरूले विद्यादेवीका विषयमा कलम चलाए र यिनको प्रशंसा गरे ।

विद्यादेवीको जन्म संवत् १९६२ जेठ गैडूपूणिर्माका दिन काठमाडौंमा भएको हो । उनी सुब्बा शिवनारायण जोशी घिमिरेकी छोरी थिइन् । जोशीलाई त्यति बेला नानीबाबू सुब्बा भनेर चिनिन्थ्यो । जोशीकी कान्छी छोरी अर्थात् विद्यादेवीको न्वारनको नाउँचाहिँ यज्ञकुमारी थियो । उनको चलेको नाउँचाहिँ विद्यावतीदेवी थियो । साहित्यलेखनमा प्रवेश भएपछि उनले विद्यावतीदेवीलाई छोट्याएर विद्यादेवी राखेकी थिइन् ।
विद्यादेवी सानै छँदा शिवनारायणको घरमा लेखनाथ पौडयालको डेरा थियो । त्यही कारणले विद्यादेवीलाई लेखनाथ पौडयालले अक्षरारम्भ गराएका थिए । त्यसपछि शिवनारायण व्यापारको सिलसिलामा आफ्नी पत्नी र छोराछोरीलाई लिएर कोलकाता गएका थिए । त्यसै मौकामा विद्यादेवीलाई पढाउन कोलकातास्थित वेथुन स्कुलमा उनको नाम लेखाइएको थियो । तर विद्यादेवी त्यहाँ बस्न सकिनन् र शिवनारायण आफ्नी छोरी लिएर काठमाडौं आए । त्यसपछि विद्यादेवी डिल्लीबजारमा विश्वमणि आचार्य दीक्षितले स्थापना गरेको स्कुलमा भर्ना भइन् । त्यसै स्कुलमा केदारमणि आचार्य दीक्षित पनि पढ्थे । त्यसै बेला यी दुईजनाको पहिलोचोटि भेटघाट र कुराकानी भएको थियो । एक वर्षति त्यस स्कुलमा पढेपछि कलिलै उमेरमा यी दुवै जनाको लगनगाँठो कस्सिएको थियो ।
विद्यादेवी सानैदेखि मिलनसार थिइन् । आफूभन्दा सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने उनको नैर्सर्गिक गुण थियो । घरपरिवारमा पनि उनी सबैसँग समान व्यवहार गर्थिन् । उनी आमाबुबाकी अति नै आज्ञाकारी छोरी थिइन् । यति हुँदाहुँदै पनि उनी आमालाई भन्दा बुबालाई बढी मान्थिन् । त्यसैले उनी आफ्ना बुबासँगै बढी समय बिताउने गर्थिन् । उनका बुबाले उनलाई लोककथा र देशदेशान्तरका खबर सुनाउने गर्थे । त्यसैले उनले बाल्यकालमा नै धेरै कुरा जानिसकेकी थिइन् । किशोरावस्थामा पुगेपछि उनी जान्नेसुन्ने हुनाका अतिरिक्त घरपरिवारमाझ प्रिय पनि भइसकेकी थिइन् ।
विद्यादेवीको बिहे भई गृहप्रवेश गरेपछि यिनका ससुरा राममणि आचार्य दीक्षितले यिनलाई खूबै माया गर्थे । त्यसैले उनले विद्यादेवीलाई आफ्नो पुस्तकालयको साँचो दिएका थिए । विद्यादेवीको अर्को काम पुस्तकालय सफा गर्नु पनि थियो । त्यसै बेला उनले आफ्ना ससुरा राममणि आदी र सासू कुमुदिनीदेवीका माझको प्रेमप्रसङ्गका चिठीकविताको कापी पनि फेला पारिन् । त्यो कापी यिनले दोहोर्‍याएर पढिन् र तेहेर्‍याएर पनि पढिन् । यिनलाई कवितामा पनि लोग्नेस्वास्नीबीचमा चिठी लेख्न सकिने रहेछ भन्ने बेहोरा बोध भयो । त्यसैले त्यही प्रेरणा, त्यही उत्साह र त्यही रोमाञ्चकतामा यिनले पनि कोलकातामा पढिरहेका आफ्ना पतिलाई कवितामा नै एउटा चिठी लेखिन् ।
विद्यादेवीले नेपाली भाषासाहित्यमा जति लेखिन् धेरै लेखिन् । त्यस बेला यसरी साहित्यको आराधना गर्ने नारी आक्कलझुक्कल मात्र पाइन्थे । त्यो बिरलाकोटिमा विद्यादेवी दीक्षितको नाउँ पनि जोडिएको छ । यही प्रसङ्गलाई लिएर आफ्नी आमाका विषयमा कमल दीक्षित लेख्छन्( “नेपाली साहित्यमा महिला हस्ताक्षर एक हातका औँलामा गन्न पनि नपुग्ने बेलामा विद्यादेवीले कलम चलाउन थालेकी हुन्( १९८० सालतिरदेखि पतिलाई प्रेमपत्र लेख्ता ।”
विद्यादेवीले साहित्यसृजनामा मात्र आफ्नो हैसियत कायम गरिनन्; उनले साहित्यको सङ्गठनात्मक अभिवृद्धिका लागि पनि आफ्नो बलियो सीप अर्पित गरिन् । उदाहरणका लागि भन्ने हो भने श्रीमती दीक्षितकै परोक्ष सक्रियतामा ‘मदन पुरस्कार गुठी’को स्थापना भएको थियो । खास गरेर रानी जगदम्बाकुमारीदेवी राणाका प्रायः हरेक कामको श्रीगणेश विद्यादेवी दीक्षित थिइन् । नेपालमा रानी जगदम्बाकुमारीदेवी राणाद्वारा गरिने शिक्षा, स्वास्थ्य र साहित्यसम्बन्धी कार्यको थालनीमा विद्यादेवी दीक्षित पनि अग्रभागमा पुगेर ठिङ्ग उभिएकी थिइन् ।
विद्यादेवी आफ्नी मालिक्नी रानी जगदम्बाकुमारीदेवी राणा जहाँजहाँ जान्थिन् उहीँउहीँ पुग्थिन् । उनले नेपाल र भारतमा मात्र होइन रानी जगदम्बासँग विश्वभ्रमण नै गरिन् । विद्यादेवी दीक्षितचाहिँ जहाँजहाँ पुग्थिन्, एउटा एउटा साहित्यिक सृजना पनि गर्थिन् । विदेशमा हिँडिरहेका बेला पनि उनी कहिले निबन्ध लेख्थिन्, कहिले कथा लेख्थिन् र कहिले कविता लेख्थिन् । यसरी कथा, कविता र निबन्धमा कलम चलाउने विद्यादेवी दीक्षित धेरैजसो चाहिँ कविता नै लेख्थिन् । उनको सृजनात्मक शैलीबाट रानी जगदम्बाकुमारी पनि मक्ख पर्थिन् ।
विद्यादेवीका तीनभाइ छोरा जन्मे( प्रकाशमणि, कमलमणि र सुन्दरमणि । उनका सात बहिनी छोरी जन्मे( नान्नान, मिट्ठु, बिनु, मिनु, कान्छु, मैँ र बुलु । तर बीचबीचमा छोरीहरूको मृत्युले उनलाई आघात पार्दै गयो । दस वर्षो अन्तरमा उनका चार छोरी स्वर्गीय भइसकेका थिए । यस्ता घटनाले विद्यादेवीको हृदय नै चिराचिरा परेको थियो । यसै प्रसङ्गमा आफ्नी आमाका विषयमा कमलमणि दीक्षित फेरि भन्छन्( “त्यसपछि त रोगहरू एकपछि एक थपिँदै गए । ‘शरीरं व्याधिमन्दिरम्’ को उखान उनको ज्यूमा अक्षरशः चरितार्थ भएको थियो । एक जना डाक्टरले उनलाई ‘म्युजियम अफ डिजिजेज’ (रोगहरूको अजायब घर) भनेका थिए । जे रोग खोजे पनि उनका शरीरमा पाइन्थ्यो रे ।”
शरीरमा जति रोग लागे पनि विद्यादेवीले आफ्नो गन्तव्य साहित्यलाई नै बनाइन् । उनी लेख्ने कलाबाट कहिल्यै टाढा गइनन् । त्यति बेला आफू अशक्त हुँदा पनि उनले लेखिन् । आफू बिरामी भएर थला पर्दा पनि उनले आफ्नो कलम थन्क्याइनन् । उनी जीवन भोग्ने हिसाबमा नर्फकने गरी बिरामी भइन् । त्यस घडी विशेष गरेर उनका परिवारले उनको खूबै सेवा गरे । त्यति बेला विद्यादेवीको सेवा गर्ने मान्छेको ताँती देखेर उनका नजिकैकाले उनलाई अत्यन्तै भाग्यमानी भन्थे । वास्तवमा छोराछोरी, इष्टमित्रहरूबाट त्यस कालमा उनको अपार सेवा भएको थियो । तर जति सेवा पाए तापनि उनी यस धर्तीबाट अलग्गिइन् । उनी २०४१ माघ १२ गते शुक्रबार स्वर्गीय भइन् ।
नेपाली भाषासाहित्यमा विद्यादेवी दीक्षितको आफ्नो बेग्लै आयाम स्थापित छ । आफ्नो जीवनकालमा उनले अनेक काम पनि गरिन् तर उनीद्वारा लिखित कृति मात्रै सुरक्षित छन् । उनका प्रकाशित कृति हुन्( ‘विलाप’ (शोककाव्य : १९९०), ‘विरह’ (शोककाव्य : १९९३), ‘सङ्कलन’ (कवितासङ्ग्रह : २०१८), ‘नानीको आँखा’ (कवितासङ्ग्रह : २०१९), ‘पुराना कथा’ (कथासङ्ग्रह : २०२०), ‘इन्द्रधनुष’ (कवितासङ्ग्रह : २०२०), ‘पुराना र नयाँ कथा’ (कथासङ्ग्रह : २०२३), ‘तीजको दर’ (नाटिका : २०२४), ‘पाठ गर्ने पुस्तक’ (भजनहरू : २०२५), ‘सन्दूस’ (कवितासङ्ग्रह : २०२५), ‘विद्याभजन’ (भजनहरू : २०३२), ‘सपनाका कुरा’ (सपनाका टिपोटहरू : २०३४), कवितासङ्ग्रह (२०३५) र ‘विद्यागद्यसङ्ग्रह’ (कथासङ्ग्रह : २०३६) ।
विद्यादेवीले जीवनको शिशुकालदेखि क्रमशः आफ्नो वैयक्तिक चरित्रलाई घरगृहस्थी हुँदै समाज र राष्ट्रसामु पनि पुर्‍याइन् । जीवन भोग्ने क्रममा उनले आफ्नो शिष्टतालाई कहिल्यै फड्को मारिनन् । सादा जीवन खेपेर नै उनी आफन्तहरूसँग घनिष्ठ भएकी थिइन् । त्यसैले उनी आफ्नाहरूमाझ प्रायः प्रशंसाकी पात्र भइरहिन् । नेपाली भाषासाहित्यमा चाहिँ उनी दीर्घायु नै भइन् । नेपाली साहित्यमा पाइला टेकेकाले गर्दा नै उनी यस माटोमा बाँचिरहेकी छिन् ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश