» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » प्रेमराजेश्वरी थापा Prem Rejeswari Thapa

नइको चिनारी


प्रेमराजेश्वरी थापा Prem Rejeswari Thapa

Prem Rejeswari Thapa (1916-2001)
Works: Two books (poem).
First famous modern poetess of love poems.
Lived in India after marriage.

प्रेमराजेश्वरीको जन्म संवत् १९७२ फागुन १७ गते सोमबार काठमाडौंको हात्तीसारमा भएको थियो । उनका बुबा कमान्डिङ कर्नेल डम्बरशमशेर थापा धनी, स्पष्ट र कडा थिए । डम्बरशमशेर भन्नु तात्कालिक समयमा धन पनि, शक्ति पनि र व्यक्तित्व पनि भएका व्यक्ति थिए । त्यस बेला डम्बरशमशेरसँग जोकोहीले फुर्ती हाँक्न गाह्रो पथ्र्यो । त्यसै परिवेशमा नै प्रमराजेश्वरी थापा हुर्केकी थिइन् ।

प्रेमराजेश्वरीले प्रेमका परिभाषामा कविता लेखिन्, प्रेमीप्रतिका र्समर्पणमा कविता लेखिन् र प्रेममय जीवनलाई नै कवितामा स्थापित गरिन् । उनको कवितालेखनको स्रोत नै माया हो, उनको काव्यरचनाको गन्तव्य नै स्नेह हो र उनको सिर्जनात्मक अभिव्यक्तिको केन्द्रीय स्वरूप नै प्रेमको प्रस्तुति हो । त्यसैले उनी ‘शारदा’ युगमा नेपाली साहित्यमा झुल्कने बित्तिकै चर्चित भइन्, पछि प्रसिद्ध भइन् अनि सुप्रसिद्ध पनि भइन् । त्यस युगमा प्रेममा डुबेर, प्रेममा भिजेर र प्रेममा नुहाएर कवितारचना गर्ने नारीस्रष्टाहरूको प्रायः अभाव नै थियो । ‘छायावाद’की प्रतिनिधि कवयित्री प्रेमराजेश्वरीले प्रेमविषयकै काव्ययात्रामा सक्रियतापर्ूवक लागेर नारीको र्सवाङ्गीण प्रतिनिधित्व गरेकी थिइन् ।

प्रेमराजेश्वरीले रचना गरेका प्रेमविषयक कविताहरूको चर्चा ‘शारदा’ कालमा र्सवत्र थियो । वास्तवमा त्यस कालमा उनले कविताका माध्यमबाट प्रेमका खुसी, पीडा र व्यथाले बेरिएका ज्वारभाटा लेखिन् । त्यसैले त्यति बेला जुनसुकै समालोचक पनि उनकै काव्यका रसास्वादनमा खप्टन्थे । उनको त्यही परिवेशकाबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाले समेत १९९८ सालमा समीक्षा लेखेर समालोचनाका क्षेत्रमा आफ्नो प्रथम पाइला टेकेका थिए । त्यसै क्रममा उनको सिर्जनात्मक व्यक्तित्वको लेखाजोखा गर्न समालोचक हृदयचन्द्रसिंह प्रधानदेखिर् इश्वर बराल पनि दोस्रो हारको अग्रपङ्क्तिमा नै उभिएका थिए ।
प्रेमराजेश्वरीले प्रेमविषयका कविता जति लेखिन् ती सबै प्रेम र प्रेमबाट पलाउने विरह, आशा, नैराश्यका छायामा उनिएर लेखिन् । उनका लेखनको प्रेरक तत्त्व नै प्रेम हो । उनी सैद्धान्तिक र व्यावहारिक जीवनमा पनि प्रेमकी दोभान नै हुन्, चौतारी नै हुन् र भन्ज्याङ नै हुन् । उनको जीवन नै प्रेम हो र उनको जगत् नै प्रेम हो । उनी प्रेमविनाको मान्छे र पानीविनाको माछालाई एउटै धारमा राख्ने कवयित्री हुन् । त्यसैले उनले आफ्ना शब्दशब्दमा प्रेमको संसार फैलाइन् ।
प्रेमराजेश्वरीले आफ्नो साहित्यिक धारामा बग्दै जाँदा प्रेमका कविता मात्र लेखिनन् । उनले आफ्ना समकालीन साहित्यकार भवानी भिक्षुसँगको दोहोरी लेखन र काव्यिक मित्रता पनि परिपक्व बनाइन् । त्यसैले त्यस बेला यिनीहरूमाझ प्रेमकाव्यको जुहारी चलिरहृयो । यिनीहरू एकअर्कामा भावनात्मक रूपमा समर्पित थिए; तर अन्तर्जातीयताका कारणले औपचारिक रूपमा यिनीहरूले प्रेमप्रकरणलाई जनमानसमा देखाउन सकेनन् । भिक्षुसँग यिनको मन, वचन र कर्म जति नै समर्पित भए तापनि तात्कालिक समाजमा यिनीहरू हात समातासमात गरेर हिँड्न सक्तैनथे; तर पनि प्रेमराजेश्वरी र भवानी भिक्षुमाझ सम्बन्ध प्रगाढ भइरहृयो । उनी भिक्षुलाई कति सम्झन्थिन् भने उनी आफ्नो घरका पक्वान्नहरूसमेत भिक्षुलाई प्रायः पठाइरहन्थिन् ।
प्रेमराजेश्वरी र भवानी भिक्षुको प्रेमप्रसङ्ग समकालीन साहित्यकारमाझ लुकेको थिएन । वास्तवमा दुवै स्रष्टाहरू प्रेम, यौवन र र्समर्पणकै कवितामा पाठकहरूलाई आफूप्रति तान्ने गर्थे ।
प्रेमराजेश्वरी तनकी पनि सुन्दरी थिइन्, मनकी पनि सुन्दरी थिइन् र धनकी पनि सुन्दरी थिइन् । तीमध्ये उनको व्यक्तित्वको रौनकले धेरैलाई लोभ्याएको थियो । उनको सुन्दरताको पारख गर्न धेरै युवाहरू उनीसँग झुम्मिने गर्थे । उनको शारीरिक चमकले त्यस बेलाका युवाहरूलाई लट्ठयाएको थियो । उनको जीउडालको विषयमा कर्नेल वीरेन्द्रविक्रम राणा भन्थे- “मेरी सानीमाको शारीरिक व्यक्तित्वको धेरैले प्रशंसा गरे ।” वास्तवमा उनी न गोरी थिइन्, न काली थिइन्, न अग्ली थिइन् र न होची थिइन् । त्यति बेला डम्बरशमशेरका घरमा विविध वर्गका मान्छे अनेक निहुँमा भेला हुने गर्थे । मान्छे त्यहाँ जाने प्रमुख आकर्षा नै सुश्री पे्रमराजेश्वरी थिइन् ।
प्रेमराजेश्वरी र भिक्षुको भावना एकअर्कामा टमक्कै बाँधिएको थियो । भीक्षुको अनुहार गोबरमा असीना परेजस्तै थियो तर प्रेमराजेश्वरीको रूप, रङ, धपधप बलेको देखिन्थ्यो । त्यसैले उनको अघिपछि लाग्ने युवाहरूको पनि भिड लाग्ने गथ्र्यो । उनको अनुहार हेरेर पारख गर्ने युवाहरूलाई पन्छाउँदै डम्बरशमशेर आफ्नी छोरीलाई सम्झाइरहन्थे । त्यसघडी उनी प्रेमराजेश्वरीलाई भन्थे- “छोरी ! म तेरो बिहे त्यस व्यक्तिसँग गरिदिन्छु जसको जात छ, इज्जत छ र व्यक्तित्व पनि छ ।”
त्यति बेला अत्यन्तै ठूलो कुलघरानमा मात्र आफ्नी छोरी दिन डम्बरशमशेर लागिपरेका थिए । उनी आफूभन्दा तलकालाई छोरी दिन त के त्यस विषयको कल्पनासम्म पनि गर्दैनथे । उनी छोरीका निम्ति भनेजस्तै वरको खोजीमा थिए । आफ्नी छोरीलाई जोडा छान्दाछान्दा डम्बरशमशेरले काठमाडौं उपत्यकामा योग्य वर भेटाउन सकेनन् । यही परिपाटीले गर्दा प्रेमराजेश्वरीको कलकलाउँदो उमेर पनि क्रमशः ढल्कदै जान थाल्यो । यो प्रकरण डम्बरशमशेरका लागि पनि अमिलो हुँदै गयो । परिणामस्वरूप डम्बरशमशेरले अनेक जुक्ति खियाएर प्रेमराजेश्वरीको बिहे भारतस्थित कानपुरका योगेन्द्रप्रताप शाहीसँग संवत् २००५ फागुनमा गरिदिए । शाही उत्तरप्रदेशस्थित सुल्तानपुरका रजौटा थिए । त्यसपछिका प्रायः सम्पूर्णदिन प्रेमराजेश्वरीले कानपुरमा नै बिताइन् । यिनले त्यहीँबाट म्याटि्रक पनि गरिन् । यिनीबाट सन्तान चाहिँ भएनन् ।
कानपुरमा बसेर पनि प्रेमराजेश्वरीले आफ्ना सबै सीपलाई निरन्तरता दिइन् । तर त्यहाँ बसेताका उनले नेपाली भाषामा कविता चाहिँ लेखिनन् । त्यहाँ रहँदा उनले हिन्दीभाषामा केही कविता लेखिन् । करिब आधा शताब्दी जीवन उनले कानपुरमा नै बिताएकी थिइन् ।
प्रेमराजेश्वरी बहुआयामिक व्यक्तित्वकी धनी थिइन् । उनी हार्मोनियम बजाउँथिन्, सितार बजाउँथिन् र गीत पनि गाउँथिन् । साथै उनी पेन्टिङ गर्थिन्, कपडामा फूलबुट्टा भर्थिन् र इम्ब्राइडरी गर्थिन् । उनी बुन्ने काममा विशेष रुचि राख्थिन् । उनको घरपरिवारका मान्छेहरूले त्यस बेला स्वीटर किन्नुपर्दैनथ्यो । सबैलाई उनी नै स्वीटर बुनेर प्रेमोपहार दिन्थिन् । त्यति मात्र होइन चिनेजानेका गण्यमान्य र मन परेका मान्छेलाई पनि उनी आफैलेबुनेको स्वीटर उपहार दिने गर्थिन् ।
प्रेमराजेश्वरीको विशेष रुचिचाहिँ तस्बिर खिच्नु र खिचाउनुमा थियो । उनी फूलबगैँचाकी सौकिन पनि थिइन् । उनी घरमा थरीथरीका फूल रोप्थिन् । रूपकी धनी, प्रतिभाकी खानी र धनीकी छोरी भएर पनि उनमा कुनै तुजुक थिएन ।
प्रेमराजेश्वरीको सबैभन्दा ठूलो गुण उनी मानवधर्मकी पक्षपाती थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काका सेवामा आफ्नो समय अर्पण गर्थिन् । घरपरिवारमा पनि पकाउने र खुवाउने काममा उनी समर्पित हुन्थिन् । उनी हरेक काम गर्दा जाँगरमा फक्रेकी हुन्थिन् ।
प्रणयले गर्दा उनी आफ्नो लेखनको एकसुरे बानीमा नै समर्पित थिइन् । उनी प्रेममा हाँसेर पनि कविता लेख्थिन् र प्रेमसँग दुःखमनाउ गरेर पनि कविता लेख्थिन् । उनी कविता लेख्तालेख्तै आफ्नो मनको गाँठो र्सलक्कै फुकाइसक्थिन् ।
प्रेमराजेश्वरीले बिहेपछि पनि कविता लेखिरहिन् । ‘शारदा’मा छापिएका उनका कविताबाहेक भारतमा पुगेपछि उनी हिन्दीमा कवितालेखनमा अग्रसर भइन् ।
प्रेमराजेश्वरी ‘शारदा’ मासिक पत्रिकाको संवत् १९९७ चैत अङ्कमा प्रकाशित ‘किन -‘ शीर्षक कविताका माध्यमबाट नेपाली भाषासाहित्यका फाँटमा उदाइन् । उनको पहिलो प्रकाशितकवितासङ्ग्रह ‘अनुभूति’ -२०३१) हो । ‘अनुभूति’को भूमिका तारानाथ शर्माद्वारा लेखिएको छ । मुद्राराक्षस (अशुद्धि)का कारणले त्यस कृतिलाई प्रचारमा ल्याइएन । उनका भदा अमृतशमशेर थापाको अर्थिक सौजन्यमा उनको अर्को कवितासङ्ग्रह ‘तिम्रो याद बर्षा’ (२०६३) प्रकाशित भयो ।
उमेर ढल्केपछि बिहे गरे तापनि प्रेमराजेश्वरीले सुखमय जीवन बिताउन सकिनन् । यिनका पति योगेन्द्रप्रताप शाही सुभाषचन्द्र बोसको दलका कार्यकर्ता थिए । त्यसैले शाहीको समय पर्ूण्ातया राजनीतिमा नै केन्द्रित थियो । एकातिर सन्तान नहुनु, अर्कातिर विदेशको वास हुनु अनि आफ्ना पतिको जीवन राजनीतिमा सक्रिय हुनु नारीका लागि कष्टकर नै हुन्छ । यसै परिस्थितिमा प्रेमराजेश्वरी पनि बाँधिएकी थिइन् ।
बुढेसकालमा पनि प्रेमराजेश्वरी नेपाल आइरहन्थिन् । माइतीघरमा नै यिनी आफ्नो जीवन घरीघरी ल्याउन चाहन्थिन् । तर त्यस बेलासम्ममा यिनको मन आफैसँग भाँचिइसकेको थियो । त्यति बेला पूर्वस्मृतिका अनेक विम्बहरू उनका आँखामा नाच्न थाले । अन्ततः उनीभित्र कुण्ठाको वास हुन थाल्यो । उनी झोक्राउन थालिन् । त्यस बेला उनी भन्थिन्- “मैले जीवनमा केही गर्न सकिनँ ।” जीवनप्रतिको नैराश्यमा नै उनी भौँतारिन थालिन् । त्यसपछि उनी अस्वस्थताले गर्दा चाहेर पनि आफ्नो माइतीघर आउन सकिनन् । यस्तै स्थितिमा उनी ड्रि्रेसनमा भास्सिदै गइन् । त्यसै रोगले उनको इहलीला समाप्त भयो । उनी २०५८ साल असार ३१ गते आफ्नै घर आर्यनगर, कानपुरमा स्वर्गीय भइन् ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश