» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » पवनकुमारीदेवी Pawan Kumari Devi

पवनकुमारीदेवी Pawan Kumari Devi

Pawan Kumari Devi (1912-1984). Works: Two books (novel and poem). Revolutionary woman and social reformer. Founder of Pawan High School, Nawalparashi. Mother of Prosthetist & Orthotist Gyanendra Chandra Shrestha.

पवनकुमारीदेवीले औपचारिक ढङ्गबाट शिक्षा आर्जन गर्न पाइनन् । त्यसैले त्यस अन्धकारपूर्ण युगमा पनि अरू नारीहरूले निरक्षर हुन नपरोस् भन्ने धारणा उनले राखिन् । वास्तवमा पवनकुमारीले चाहेर पनि त्यस बेला औपचारिक शिक्षा लिन पाइनन् । उनका बुबा तत्कालीन समयका आर्थिक रूपले सम्पन्न व्यक्ति थिए । तर उनी रुढिग्रस्त समाजका अर्का एक बलिया प्रतिनिधि पनि थिए । त्यसैले उनले आफ्ना छोराहरूलाई मात्र पढाए । अनि पवनकुमारीदेवीले चाहिँ आफ्ना दाजुभाइको किताब चोरीचोरी, लुकीलुकी पढेर आफूलाई कखरामा पुर्‍याइन् । त्यसपछि उनी क्रमशः प्राथमिक कक्षाहरूका पुस्तक पढ्न पनि सक्षम हुन थालिन् । त्यही किशोर वयमा उनले भीष्मप्रतिज्ञा गरेकी थिइन् “अब म नारी शिक्षाका लागि समर्पित हुन्छु ।” त्यसपछि उनले घरघरमा गएर केटीहरूलाई लुकीलुकी कखरा सिकाउन थालिन् । यही कर्मले उनी किशोरावस्थामा नै गाउँकी गुरुमा बनिसकेकी थिइन् । त्यसैले उनको त्यही बेलाको मन फक्रेर कालान्तरमा एउटा सार्थक प्रतिविम्ब बन्यो नवलपरासीको ‘पवन माध्यमिक विद्यालय’ ।

पवनकुमारीदेवीको जन्म संवत् १९६९ साउन १७ गते पाल्पास्थित मेलधारामा भएको थियो । शेषनारायण श्रेष्ठ र मुनीन्द्रकुमारीदेवी श्रेष्ठका चार छोरी र दुईछोरामा उनी माइली छोरी थिइन् ।

पवनकुमारीदेवीको बिहे सत्र वर्षको उमेरमा भएको थियो । परासीका जुलुमबहादुर श्रेष्ठले आफ्नी साली पवनकुमारीदेवीलाई भित्र्याउनु चार वर्षअघि पवनकुमारीदेवीकै दिदी बिन्दुकुमारीदेवीसँग बिहे गरेका थिए । दिदीको निधनपछि भिनाजुसँग उनको दाम्पत्य जीवन बाँधिएकोे थियो । सम्पन्न शेषनारायण श्रेष्ठले आर्थिक रूपमा विपन्न जुलुमबहादुर श्रेष्ठलाई पुनः कन्यादान गरेका थिए । जुलुमबहादुर श्रेष्ठले म्याटि्रकुलेसन पास गरेका थिए ।

पवनकुमारीदेवी एउटा गरिबको परिवारमा अकस्मात् पसे तापनि उनीभित्र केही गर्ने साहस थियो, सेवाका लागि जाँगर थियो र पत्रि्रतिको र्समर्पण थियो । त्यसैले वैवाहिक जीवनको आरम्भदेखि नै उनी हौसलाका साथ आफ्नो जीवनचर्यामा जुटिरहिन् । उनको मिलनसार स्वभाव, सक्रियता र उत्साह त्यस घडी जुलुम निवासको शक्तिमा रूपान्तर भएको थियो । त्यस घडी जुलुमबहादुर श्रेष्ठ माल कार्यालयका डिठ्ठा थिए । साथै उनी आयुर्वैदिक र होमियोप्याथिक विषयका स्थानीय चिकित्सक पनि थिए । उनले आधुनिक औषधीविधिबाट पनि उपचारको काम गर्थे । उनले आफूलाई यी तीनै थरी औषधीमूलो गर्नेमा परासीमा नाउँ चलाएका थिए ।

पवनकुमारीदेवी र जुलुमबहादुरले दुई छोरा प्रकाशचन्द्र र ज्ञानेन्द्रचन्द्र जन्माए । अनि उनीहरू मिलेर तीन छोरी अम्बिका प्रधान, विजयालक्ष्मी जोशी र इन्दिरा जोशीलाई पनि पृथ्वी देखाए । उनका छोरामध्ये जेठा प्रकाशचन्द्र श्रेष्ठचाहिँ उनका छोरालाई संयुक्त राज्य अमेरिकामा डीभीको चिट्ठा परेका कारण उतै बस्न थाले । अनि कान्छा छोरा ज्ञानेन्द्रचन्द्र श्रेष्ठ ललितपुरको कोपुन्डोलमा अर्थोपेडिक सेवामा आबद्ध भए । ज्ञानेन्द्रले कृत्रिम हातखुट्टा बनाई जडान गर्ने कामबाट नाउँ पनि चलाए । उनले आमाकै समाजसेवाको बिँडो समाएर यस मार्गमा पाइला चलाइरहेका छन् । साथै पवनजुलुमका तीनबहिनी छोरीहरू पनि सम्पन्नताका साथ आआफ्ना घरबारमा जीवन व्यतीत गरिरहेका छन् ।

पवनकुमारीदेवी सानैदेखि गीत लेख्थिन्, भजन लेख्थिन् अनि आफैभाका हालेर लोकगीत गाउने र त्यही तालमा नाच्ने पनि गर्थिन् । उनी गाउँका र्सार्वजनिक मञ्चहरूमा उभिएर पनि गीत गाउँथिन्् । साथै उनी तबला र हार्मोनियम बजाउने पनि गर्थिन् ।
पवनकुमारीदेवीको गृहप्रवेशपछिको हरेक साँझ जुलुम निवासमा भजनकीर्तन हुन्थ्यो । हरेक साँझ उनका घरमा भजन सुन्न गाउँलेको भीड लाग्थ्यो । पवनजुलुमको धार्मिक कृत्यले त्यस घडी परासी रङ्गिएको थियो । पवन बाँचुन्जेल त्यस रीतले कहिले लिक छोडेको थिएन ।

पवनकुमारीदेवी ठट्टा रमाइलो गर्नमा पनि पहिलो दर्जाकी महिला थिइन् । उनी गाउँले केटीहरूलाई कथा सुनाएर रुवाउने पनि गर्थिन् र हँसाउने पनि गर्थिन् । त्यति मात्र होइन; गाउँठाउँको झैझगडा र मुद्दामामिलामा पनि उनी पुरुषसरह अघि सरेर फैसला गर्थिन् । त्यस घडी उनले बोलेपछि त्यो वाक्य ढुङ्गाको अक्षर हुन्थ्यो किनभने उनी न्यायिक र इमानदार पनि थिइन् । त्यस ठाउँमा सबैले उनका वचनको मर्यादा राख्थे ।
पवनकुमारीदेवीको सोखको विषयचाहिँ हात्ती चढ्ने थियो । त्यसो त उनी प्रायः घोडा चढ्ने गर्थिन् । धेरैजसो घोडा चढेर नै उनी गाउँघर घुम्ने गर्थिन् । हात्तीमा पनि उनी बेलाबखत सवार गर्थिन् । अनि उनको अर्को विशेष सोखचाहिँ सिकार खेल्नु थियो । उनी काँधमा बन्दुक भिरी घोडामा चढेर सिकार खेल्न वनजङ्गल जान्थिन् ।
पवनकुमारीदेवी सानैदेखि उपकारी, दयालु र मायालु थिइन् । कुनै महिलाले दुक्ख देखाए भने उनी आफ्नै लुगा खोलेर पनि दिन्थिन् र कुनै महिलाले उनीछेउ पुगी खान पाइन भनी दुःख देखाउँदा उनी आफ्नै गाँस काटेर पनि खुवाउँथिन् । दिलैदेखि उनी समाजसेवाकी नमुना थिइन् । उनको सेवा गाउँघरमा समर्पित थियो । उनी अर्काकै हितमा निःशुल्क खट्ने गर्थिन् । गाउँघरका आइमाईले नानी पाउन सकेनन् भने उनी महिलाका बच्चादानीभित्र हात हालेर बच्चा निकाल्ने पनि गर्थिन् । स्थानीय गाउँठाउँमा उनी सुडेनी दिदी भनेर पनि चिनिन्थिन् ।
पवनकुमारीदेवी कथा, कविता र निबन्धलेखनमा रुचि राख्थिन् । आफूले स्थापना गरेको स्कुलमा आयोजित साहित्यिक गोष्ठीमा उनी आफू पनि रचना पाठ गरेर अरूलाई प्रोत्साहन दिन्थिन् । किशोरावस्थादेखि लेख्तै जाँदा उनले एउटा ‘प्रतिज्ञा’ नामको उपन्यास पनि लेखिन् । तर त्यस उपन्यासलाई प्रायः पाठकले हेर्न पाएनन्; किनभने त्यो उपन्यास ज्यादै अशुद्ध छापिएकाले जुलुमबहादुर श्रेष्ठले सो उपन्यासका पन्ना च्यातेर औषधीको पुरिया बनाएर सिद्ध्याए । यसबारे ज्ञानेन्द्रचन्द्र श्रेष्ठ भन्छन् ”आमाका एक हजारप्रति पुस्तक बुबाले औषधीको पुरिया बनाएरै सक्नुभयो ।” त्यस उपन्यासको प्रथम प्रकाशन मितिचाहिँ अहिलेसम्म कसैले फेला पार्न सकेको पनि छैन ।
संवत् २०१७ सालमा पवनकुमारीदेवीको त्यही ‘प्रतिज्ञा’ उपन्यासको अर्को संस्करण निस्क्यो । १०० पृष्ठको यो उपन्यास पहिलोपटक प्रकाशित भएको भनी बनारसको नेपाली साहित्य मण्डलमार्फ प्रकाशनमा आयो । त्यस सर्न्दर्भमा उनले २०१६ साल वैशाख ३ गते सो उपन्यासको भूमिकामा लेखेकी थिइन्: ”…उत्साहको सञ्चार बढ्दै गयो र छपाउने लोभ थाम्न सकिन । छपाई पनि हालेँ तर छपाइसकेपछि पुस्तकको रूपमाथि आफै विरक्त भएँ । पुस्तकमा भएका त्रुटिहरूको भरमार र मुद्रणदोषले यो पुस्तक नेपाली साहित्यजगत्मा उपहासस्पद ठहरिने आशङ्का हुन जाँदा त्यस संस्करणलाई छाप्ता लागेको खर्च नोक्सान सहेर पनि प्रचारित नगर्ने निश्चय गर्नुपर्‍यो । तर आफूले सिञ्चन गरी उमारेको यो फूलले नेपाली साहित्यरुपी बगैंचाको अलि पनि शोभा बढाउन पाएन भने आफ्नो परिश्रम पनि खेर जाने भएको देख्ता यसको पुनः मुद्रण गर्ने लोभ थाम्न सकिन । पुनः मुद्रण गर्न यस पुस्तकमा लेख्ता भएका अनेक त्रुटि दोषको परिमार्जन गर्न यसलाई संशोधन र परिवर्द्धन गर्नु आवश्यक थियो । यसमा पनि केही समय लाग्यो । यस कार्यमा मलाई भानिज काशीबहादुर श्रेष्ठ (सम्पादक ‘उदय’) बाट जो मद्दत मिल्यो भनिनसक्नु छ । उनले आफ्नो धेरै दिनको समय दिएर यस पुस्तकको संशोधन, परिमार्जन र परिवर्द्धन गरी शब्दालङ्कार जडेर राम्रो बनाउनमा जो मद्दत दिए त्यसका लागि भानिजलाई धन्यवाद नदिइरहन सक्तिन । भानिज काशीबहादुर श्रेष्ठकै परिश्रमको फलस्वरूप यो पुस्तकले यति राम्रो, रोचक र आफ्नो विशिष्ट स्थान राख्न सक्ने रूप लिएर मेरो आफ्नो धोको पनि पूरा गरेको छ, यसैमा मलाई खुसी लागेको छ ।यो पुस्तक सत्य घटनाको आधारमा लेखिएको छ । रोचकता बढाउन कतैकतै कल्पनाको भर लिनु परेको छ ।”
पवनकुमारीदेवी नेपालीभूमिमा बसेर उपन्यास लेख्ने प्रथम नारी हुन्् । तर नेपाली साहित्यमा उपन्यास लेखनका हिसाबले उनी दोस्रो महिलामा गनिइन् । उनले आख्यानमा मात्रै हात हालिनन्, केही गीतिकविताहरू पनि लेखिन् । उनले २०४६ सालमा भजनसङ्ग्रह ‘बिन्दुभजनमाला’ पनि प्रकाशनमा ल्याइन् । ती भजनहरू प्रायः उनी आपैFmले नै गाउने गर्थिन् ।
पवनकुमारीदेवीले नारीशिक्षामा आफ्नो सम्पूर्ण यौवन खर्च गरिन् । उनको सपना २०१९ साल पुस १६ गते साकार भएको थियो । त्यस दिन उनले परासीस्थित उनको आफ्नै जग्गामा पवन कन्या प्राथमिक पाठशाला स्थापना गरेकी थिइन् । सुरुमा त्यस स्कुलमा १२ जना कन्या विद्यार्थी थिए भने दुई जना गुरुमा सावित्री प्रधान र गायत्री उपाध्यायले सो स्कुल सञ्चालन गरेका थिए । त्यस स्कुलको स्तर क्रमशः बढ्दै जाँदा २०४५ सालदेखि त्यहाँ माध्यमिक स्तरको पढाइ पनि सञ्चालन हुन थाल्यो । त्यस स्कुलले २०५३ सालमा सरकारी मान्यता पनि प्राप्त गरेको थियो । त्यस दिन त्यस स्कुलका सम्पूर्ण शिक्षक र दुई हजार विद्यार्थी रमाएका थिए ।
पवनकुमारीदेवी गाउँठाउँमा आफ्नै सान, ढाँचा र स्तरीयतामा हिँड्ने गर्थिन् । उनको सेवाभावना जति उच्च थियो उनको व्यक्तित्व पनि त्यस्तै सादा देखिन्थ्यो । उनी औपचारिकताको पनि अगुवाइ गर्थिन् । उत्सवका बेला कसैलाई शुभकामना दिनुपर्दा उनी लिखित दिने गर्थिन् र दुक्ख र मरुमराइमा पनि लेखेर नै समवेदना प्रकट गर्ने गर्थिन् । उनको ग्रामीण व्यवहार पनि राजसी ठाँटको देखिन्थ्यो ।
पवनकुमारीदेवी हिँड्दा हाँस हिँडेझैँ ढल्कँदै हिँड्ने गर्थिन् । उनी मधुरो खानेकुरा रुचाउने गर्थिन् र लाउनमा पनि उनी विशेष सौखिन थिइन् । उनी जीउमा ढपक्कै सुनका गरगहना लगाउन रुचाउँथिन् । उनी सधैँ सुकिली भएर हिँड्ने गर्थिन् । उनका पछिपछि उनका पति पनि हिँड्ने गर्थे । वास्तवमा उनको समाजसेवामा जुलुमबहादुर श्रेष्ठले सदैव साथ दिए । तर पवनकुमारीदेवीलाई प्राप्त भएको त्यो साथ २०४१ साल कात्तिक १० गतेदेखि टुङ्यो । भनूँ; त्यस दिन उनका पतिको इहलीला समाप्त भयो ।
पवनकुमारदेवीले बिहे गरेपछि चुरोट खान थालेकी थिइन् । चुरोट पनि उनी ठाँटैले नै खान्थिन् । उनी हरेक साँझ आफैबनाएको रक्सी खान्थिन् । जीवनको उत्तरार्धमा रक्सी र चुरोटले उनको जीवनसँग मित लगाइसकेका थिए । त्यही कारणले उनलाई अल्सर पनि भयो र त्यही निहुँबाट उनको स्वर्गारोहण भयो । उनी २०४७ साल असार ६ गते बुधबार परासीमा स्वर्गीय भइन् ।
पवनकुमारीदेवी नेपाली साहित्यमा नअस्ताउने तारा बनिन् । उनको त्यस बेलाको कृतित्वले नेपाली भाषासाहित्यको भूगोलमा उनी सधैँ बाँचिन् । नारीहरूका लागि अन्धकारमय युगमा पनि उनले कलममसीसँग हृदय जोडेकाले उनी नेपाली उपन्यासका फाँटमा सधैँ जीवित बन्न पुगिन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी