» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » गोमा Goma

गोमा Goma

Goma (1925-2002)
Works: Fifteen books (poem, prose etc.)
Decoration: Suprabal Gorkha Dakshin Bahu, BirendraAishwarya Service Medal, Throne Ascent Silver Medal
Prize: Maina Award (Sita Ram Academy), Lok Priya Award, Asim Award, Siddhicharan Award, Baba Om Bir Singh Award, Bada Kaji Puspa Raj Award, Saraswati Award (Chaudhari Academy).
Leading Poetess of Sharada Days. Taught in high school for years.

नेपाली भाषासाहित्यमा गोमाले जति गरिन्, थुप्रै गरिन् । एउटी दुर्गम गाउँकी बालिका राजधानी पसेर अन्ततः उनी आफ्नै बुताबाट नेपाली साहित्यकी गोमा बनिन् अर्थात् उनी नेपाली साहित्यमा झल्झलाउँदी तारा बनिन् । गोमाले जहिलेदेखि कलम समाइन् त्यसपछि बाचुन्जेल समाइन् । गोमाको जीवनको खुसी र दुःख नै उनको कलम थियो । उनी रुँदा पनि लेख्थिन् र हाँस्ता पनि लेख्थिन् । लेख्तालेख्तै उनले नेपाली भाषाका विविध विधामा पन्ध्र पुस्तक लेखिन् ।

गोमाको जीवन करुणामय ढङ्गबाट व्यतीत भयो । उनी शिशुकालदेखि नै मातृविहीन भइन् । उनको दस वर्षो उमेरमा सौतामाथि बिहे भयो । घरमा सौताको पीडा र माइतमा सौतेनी आमाको कटु व्यवहारका कारण गोमा एक्ली थिइन् । उनमा त्यो एक्लोपन आफू तीन महिना पुग्दानपुग्दैदेखि सृजना भएको थियो किनभने यिनले आफ्नी आमाको दूध त्यसै बेलादेखि चुस्न पाएकी थिइनन् । एउटा डरलाग्दो काल आएर यिनकी आमालाई १९८२ सालको भदौमा नै टिपेको थियो ।
गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । गोमा सानै हुँदा यिनकी आमा दिवङ्गत भएकाले जीवन र जगत्को कारुणिक खेल यिनले आफ्नो जीवनभर देखिरहिन् ।
गोमा सानैदेखि तीक्ष्ण थिइन् । त्यसैले उनका असी वषर्ीय हजुरबुबाले उनलाई बाल्यकालमै भानुभक्तको ‘रामायण’, ‘महाभारत’, दुर्गाकवच कण्ठ गराएका थिए । गोमालाई आठ वर्षै उमेरदेखि ‘अमरकोश’ घोकाउन सुरु गरिएको थियो ।
बाल्यावस्थामा गोमाले सातआठ वर्षसौतेनी आमाका गाली, कुटाइ र यातनामा बिताइन् । त्यो दुःख देख्न नसकेर यिनलाई यिनका हजुरबुबा र फुपूले पालोपालो गरी पालेका थिए । त्यसपछि यिनी दश वर्षटेक्तानटेक्तै बिहेको बन्धनमा परिन् । कालु उपाध्यायले तीन पत्नीपछाडि गोमालाई आफ्ना घरमा भित्र्याएका थिए । बिहेपछि गोमाको दिनचर्या झन् कष्टकर हुन थाल्यो । त्यतिखेर उनका लागि माइती भन्नु एकादेशको दैत्यको घर थियो भने घर भन्नु पशुशालाजस्तै थियो । त्यो स्थिति भोग्न नसकेर उनले आत्महत्या गर्ने प्रयास गरिन् । जीवनदेखि थाकेर उनी एक दिन एउटा तारेभीरको टुप्पामा पुगिन् । किनभने त्यस गाउँमा यसभन्दा ठूलो डरलाग्दो भीर अर्को थिएन । त्यस भीरको टुप्पामा पुगेर उनले आफ्नो पछयौरीले आँखा छोपिन् र हाम्फाल्ने प्रयास गरिन् । तर उनको छैटौँ चेतनाले उनलाई हामफाल्नबाट रोक्यो । उनी घर फर्किन् । तर उनी घरमा गएर बस्न नसक्ने अवस्थामा थिइन् । त्यसपछि उनी आफ्नी हजुरआमा भए ठाउँ गइन् । त्यतिखेर यिनकी हजुरआमा काठमाडौं आउन ठिक्क परेकी थिइन् । त्यति बेला यिनले आफ्नी हजुरआमालाई भनिन् “मलाई पनि लिएर जानुहोस्; यहाँ म बस्न सक्तिनँ । यहाँ बस्ने हो भने म झुन्डिएर मर्छर्ुु” आफ्नी नातिनीको दर्दनाक स्वर सुनेपछि यिनलाई हजुरआमाले आफ्नैसाथ काठमाडौं लिएर आइन् । वास्तवमा गोमा दाम्पत्य जीवनमा गाँसिएपछि लगत्तै आफ्नो घरबाट पाइलो लोटाएर काठमाडौं आएकी थिइन् किनभने पतिका घरमा यिनी काम गर्ने पत्नीका नाउँले मात्र विभूषित थिइन् । यिनको काँधमा आफ्ना सौताहरूले लगाएका र आफूले धान्नै नसक्ने खेतीपाती अनि मेलापातका काम हुन्थे ।
गोमाकी हजुरआमा राणादरबारमा भान्से थिइन् । त्यसैले गोमालाई काठमाडौंमा टिक्न सोचेजस्तो कठिनाइ पनि थिएन । यिनकी हजुरआमाका हृदयमा दिव्यचक्षु थिए । त्यसैले गोमाको पठनपाठनका लागि वातावरण तयार हुन थाल्यो । बिस्तारै गोमा प्रेमराज शर्माका घरमा पुगिन् । शर्माकी पत्नी गुणकुमारीसँग गोमाको मित्रता पनि बढ्न थाल्यो । त्यसपछि यी दुवै जना सँगसँगै पढ्न थाले । त्यहाँ गएर यिनीहरूलाई सिद्धिचरण श्रेष्ठले पनि पढाए ।
सिद्धिचरण श्रेष्ठले गोमालाई पढाउने क्रममा उनले गोमाको जीवनी पनि पढ्न थाले । उनी गोमाको साहसलाई धन्यवाद दिन्थे । त्यति मात्र होइन; पछि उनले गोमालाई बिनापैसा नै पढाउन थाले । उनी गोमालाई शिक्षा दिनु एउटा अपरिहार्य आवश्यकता ठान्थे । वास्तवमा सिद्धिचरण श्रेष्ठ गोमालाई बिछट्टै माया गर्थे । गोमा पनि सिद्धिचरणलाई प्रेमपूर्वक आदर गर्थिन् । सिद्धिचरणले गोमाप्रति गहिरो झुकाव राखेर, माया बर्साएर र आस्था बाँधेर कविता पनि लेखे । त्यस बेला सो कविताले धुमधाम हल्ला पनि मच्चाएको थियो । त्यो कविता पढेर गोमा पनि दङ्ग परेकी थिइन्
जाऔं गोमा ! त्यस शैलमहाँ,
पीर कुनै पनि उठ्तैन जहाँ ।
गोमाले २०१७ सालमा आफ्नी छोरी गार्गीसँग एस.एल.सी. दिइन् । त्यतिखेर छोरी दोस्रो श्रेणीमा र आमा तेस्रो श्रेणीमा एसएलसी पासभएका थिए । एसएलसी पास भएपछि गोमाको संसार फेरि रङ्गीन हुन थाल्यो । अर्थात् सो परीक्षा पासभएपछि उनका जीवनपद्धतिमा नौला बाटाहरू खुल्न थाले ।
गोमाले आफूलाई २००४ सालदेखि शिक्षिका रूपमा होमेकी थिइन् । स्कुलमा पढाउन थालेको अर्को वर्षनै उनले छोरी पाएकी थिइन् । त्यसपछि पढाएर कमाएको खर्चले उनलाई छोरीसहितको जीवन धान्न महाभारत नै भएको थियो । त्यतिखेर उनी पाटनको एउटा प्राथमिक स्कुलमा पढाउँथिन् । उनले त्यहाँ छ वर्षपढाइन् । त्यसैताका उनको सर्म्पर्क अनार श्रेष्ठसँग बढयो । अनार श्रेष्ठ गोमाका विद्यार्थी थिए । त्यतिन्जेलसम्ममा गोमाको आर्थिक अवस्थाबारे पनि अनार श्रेष्ठले अवलोकन गरिसकेका थिए ।
गोमालाई अनार श्रेष्ठले अत्यन्तै श्रद्धा गर्थे । त्यसैले उनले राजदरबारमा कार्यरत आफ्ना दाजुमार्फ श्री ५ त्रिभुवनमा गोमाको बिन्तीपत्र पुर्‍याए । गोमाको बिन्तीपत्रमा जागिर पाउँ भन्नेबारे लेखिएको थियो । २०१० सालमा राजा त्रिभुवनको हुकुमप्रमाङ्गीबाट गोमा स्वास्थ्य मन्त्रालयमा पुगिन् । त्यतिखेर उनी त्यहाँ टाइपिस्टका रूपमा प्रवेश भइन् । त्यस जागिरले गोमालाई बचाउनु बचायो, पाल्नु पाल्यो र सघाउनु सघायो । खास गरेर आफ्नी छोरी गार्गीको शैक्षकि योग्यतालाई लिस्नो चढाउन उक्त जागिरले भरथेग गरेको थियो । उनी त्यहाँ २०२२ सालसम्म बसिन् र मुखिया पदबाट स्वैच्छिक अवकाश लिइन् ।
जीवन भोग्ने क्रममा गोमा केही थप राहत पाउन सक्ने सम्भावनाको खोजीमा नै लडीबुडी गरिरहिन् । परिणामस्वरूप गोमाले २०२२ सालमा पुनः आफूलाई शिक्षकिामा सरिक गराइन् । उनी त्यतिखेर रानीपोखरी संस्कृत पाठशालामा नियुक्त भइन् । पछि उनी त्यहाँबाट सहिद शुक्र हाईस्कुलमा सरुवा भइन् । २०४४ सालदेखि उनले शिक्षिकको पदबाट पनि अवकाश लिइन् ।
जतिसुकै भौतिक दुक्ख पाए पनि र जतिसुकै मानसिक कष्ट खेपे तापनि गोमा नेपाली साहित्याकाशमा अमर भइन् । ‘शारदा’ कालीन कवयित्रीका रूपमा उनले थप मर्यादा पाइरहिन् । उनको योगदानले नेपाली भाषासाहित्यको आँगन ढाकिरहृयो ।
व्यक्तिगत रूपमा गोमा अत्यन्तै असल थिइन्, सोझी पनि त्यस्तै थिइन् र नरम पनि थिइन् । उनी आँखामा हाल्दा पनि नबिझाउने लालगेडी थिइन् । उनको वैयक्तिक विनम्रताको सबैले तारिफ गर्थे । उनी जति सानी हुन खोज्थिन् त्यति नै महान् पनि थिइन् । त्यति मात्र होइन; उनी नेपाली साहित्यकी एउटी स्वनामधन्य नारीस्रष्टा थिइन् ।
एक्लो जीवन भोग्दै जाँदा २००५ सालमा गोमाका कोखबाट गार्गीको जन्म भयो । छोरी गार्गीको जन्मपछि मात्र उनले जीवन बाँच्ने साहस पाइन् । तिनै छोरीको सुख, समृद्धि र उन्नतिका लागि गोमा भित्रभित्र जति जले पनि बाहिरबाहिर हाँसीहाँसी हिँडिरहिन् ।
गोमाले नेपाली भाषासाहित्यको दीर्घसेवा गरेबापत प्रबल गोरखा दक्षिणबाहु, वीरेन्द्रऐर्श्वर्य सेवापदक, गद्दी आरोहणको रजत महोत्सव पदक, रत्नश्री स्वर्णपदक पाइन् । त्यसै गरी उनले यस फाँटमा समर्पित भएबापत मैना पुरस्कार, लोकप्रियादेवी पुरस्कार, असीम पुरस्कार, सिद्धिचरण पुरस्कार, बाबाओमवीरसिंह पुरस्कार, बडाकाजी पुष्पराज सम्मान र सरस्वती सम्मान पनि पाइन् ।
नेपाली भाषासाहित्यको सेवामा सक्रिय रूपमा समर्पित हुँदाहुँदै गोमाले पृथ्वी छाडिन् । त्यो दिन उनी दिनभरि लेखापढी गरेर बसेकी थिइन् । साँझमा पनि घरधन्दा र लेखापढीमा लागिरहेका बेला उनको अचानक हृदयगति बन्द भयो । २०५९ साल साउन १४ गते मङ्गलबार बेलुका ९.३० बजे उनी स्वर्ग गइन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी