नइ प्रकाशनको परिचय
-
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको हो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको हो ।
-
नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु नइ प्रकाशनको लागि गौरवको कुरो हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्ने नइ प्रकाशन गैरराजनितिक संस्था हो । यो संस्था वसुधैव कुटुम्बकम्को सिद्धान्तमा आबद्ध छ ।
-
नइ प्रकाशनले नेपाली सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएको छ । यसरी परिचालित सार्वजनिक कार्यले राष्ट्रनिर्माणको महान्अ भियानमा समेत आफ्ना ठाउँबाट गच्छेअनुसार सार्थकता प्रदान गरिरहने छ भन्ने हामीलाई लागेको छ ।
नइ प्रकाशनका उद्देश्य
- नेपाली भाषासाहित्यको श्रीबृद्धिका लागि समर्पित नइ प्रकाशन आफ्नो क्षमताअनुसार नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवं सुरुचिपूर्ण ढङ्गले प्रस्तुत गर्न अग्रसर छ । स्रष्टाहरूको चाहनामा राष्ट्रको ढुकढुकी निहित हुन्छ भन्ने तथ्यलाई शिरमा राखेर नइ प्रकाशनले आफ्नो कार्य सम्पादन गर्नेछ।
- जगतमा जन्मेर जीवन चलाउन जमजमाउने हरेक जानिफकारले जन्मभूमिको जयगानमा आफूलाई समर्पित गर्नु नै उसको पुनीत कर्तव्य पनि हो । यसै सन्दर्भमा सांस्कृतिकसेवा पनि राष्ट्रसेवाको महत्त्वपूर्ण कडी हो भन्ने भावनाले नइ प्रकाशन उत्साहित छ ।
- नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि समर्पित हुनुका अतिरिक्त देशदेशान्तरका प्रतिभाको सम्मान गर्नु नइ प्रकाशनको अर्को प्रमुख उद्देश्य रहेको छ ।
- नेपाली भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायत अन्य विविध क्षेत्रका स्रष्टा वा प्रतिभाको खोजी र तिनीहरूको अर्चनामा अग्रसर नइ प्रकाशनबाट वेलामौकामा विभिन्न सांस्कृतिक कार्यहरूका अतिरिक्त विविध ग्रन्थमालाहरूको प्रकाशन भइरहने छ ।
नइ प्रकाशनबारे प्राज्ञिक मत
नइ प्रकाशन नेपाली आकाशको एक आलोक हो । त्यो आलोक निरन्तर फैलिरहेको छ र त्यसले अनन्त फैलिरहनुपर्दछ । नइबाट नेपाली भाषासाहित्यका निम्ति चमत्कारी कार्य हुँदै आइरहेको छ र यो चमत्कार नित्य उज्ज्वल भइरहनुपर्दछ
• राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे
नेपाली भाषासाहित्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय विस्तारको विकासक्रममा नइ प्रकाशनको भूमिका विशिष्ट कोटिको रहिआएको छ । नेपाली साहित्यिक सङ्घसंस्थाले गर्नुपर्ने र अरूको सोचमा नआएका धेरै नै कामहरू नइ प्रकाशनले गर्दै आएको छ । सरकारले बनाएका प्रज्ञाप्रतिष्ठानलाई समेत उछिनेर नइले नै सांस्कृतिक र साहित्यिक काम गरिरहेको छ ।
• शताब्दी पुरुष डा.सत्यमोहन जोशी
नेपाली वाङ्मयको विविध क्षेत्रमा क्रियाशील भई उच्च योगदान गर्ने नइ प्रकाशनले गौरवशाली महिमा र इतिहास बोकेको छ । स्थापनाकालदेखि नै यो प्राज्ञिक संस्था वाङ्मयका प्रायः हरेक फाँटमा समर्पित भएर निष्पक्ष र जागरूक रूपमा अग्रसर भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच पुर्याएर नइ प्रकाशनले नेपाल राष्ट्रकै प्रतिष्ठा बढाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेको छ ।
• वैरागी काइँला
नइ प्रकाशनले जिवित स्रष्टाको हित मात्र गरेको छैन; मरे, बाँचेका धेरै स्रष्टा बचाउने सञ्जीवनी संस्था पनि नइ नै देखा परेको छ । नइले छोएपछि फलाम सुन र सुन पारस बन्दो रहेछ भन्ने पनि देखियो ।
• नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरी
नइ प्रकाशनका गतिविधि मामुली ढङ्गका रहेनन्, उँभोका रहे । नइका साहित्यिक कार्यहरू नेपालबाहिर पनि फराकिला छन् र यो संस्था भारततिर पनि चम्किलो रह्यो । नइले नेपाली साहित्यको इतिहासमा प्रेरणादायी ढङ्गबाट स्मरण गर्ने ठाउँ ओगट्यो । न्याय पाएका छन् नेपाली साहित्य तथा कला क्षेत्रका कर्मीहरुले नइबाट ।
• डा.इन्द्रबहादुर राई
नइ प्रकाशन नेपाली भाषा र साहित्यका साथै साहित्येतर वाङ्मयका प्रवद्र्धनमा अविच्छिन्न साधनारत एक अग्रणी संस्था हो । यसको योगदान समकालिक नेपाली वाङ्मयको श्रीवृद्धिमा विशेष व्यापक र बहुआयामिक पनि छ । नइ प्रकाशनलाई नेपाली जीवन र जगत्को आँखाको नानीजस्तो प्रिय तुल्याई ठेट नेपाली ढङ्गले नेपालको गौरव वृद्धिका अनुष्ठानको अभिन्न अङ्गका स्वरूपमा हुर्काउन आफ्ना गाँससमेत काटी दृढ रूपमा साधनारत ‘नइ’को म सह्रनी गर्दछु ।
• महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी
यदि नइ नभएको भए कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा समाविष्ट त्रिमूर्ति निकेतनको स्थापना हुने थिएन । एउटा विशिष्ट साहित्य संयुक्तिको यो संयोजनको पुरोधा नै बनेको छ नइ, नेपाली भाषासाहित्यको इतिहासमा ।
• ईश्वरवल्लभ
नइ प्रकाशनले वाङ्मयको क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ । वास्तवमा सरकारी क्षेत्रबाट हुनुपर्ने र गरिनुपर्ने काम पनि नइ प्रकाशनले सफलताका साथ पूरा गरेर प्रेरणादायक उदाहरण प्रस्तुत गरेको छ ।
• कालीप्रसाद रिजाल
नइ प्रकाशनले नेपाली भाषासाहित्यमा आफ्ना ओजपूर्ण कार्यहरूमार्फत शिखर आरोहण गरिरहेकै छ । नइको नेपाली भाषासाहित्यप्रतिको मोह र त्याग हामी भारतवासी नेपालीहरूका लागि समेत प्रेरक रहेको छ । नेपालमा नइ प्रकाशन छ र नै त्यतापट्टि पनि हाम्रो बलियो ओत छ भनेर हामीले भरोसा गरेका छौँ ।
• लीलबहादुर क्षत्री
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्सम्म आफ्नो पूर्वाग्रहरहित पहुँच पुर्याउन सकेको सफल नइ प्रकाशनभन्दा प्राज्ञिक दृष्टिले धनी वा सम्पन्न अर्को संस्था कुनै छ ? त्यसैले यो संस्था पुरस्कार र प्राज्ञिक सेवा कार्यको सर्वोच्च हिमचुली सगरमाथा होइन ? नेपाली वाङ्मयको समग्र समुन्नतिका लागि समर्पित प्राज्ञिक सांस्कृतिक संस्था अर्को कुनै छ र ?
• प्रा.डा.दयाराम श्रेष्ठ
नइ प्रकाशन एउटा ठूलो प्रज्ञाप्रतिष्ठान हो, जहाँ दुई जना कुलपति छन्, तर ती अन्यत्रजस्तो लड्ने र झगडा गर्ने गरेको सुनिएन । न भत्ता, न चिल्ला गाडी, न दलसित नाता, न परिषद्, न सहयोगी हातहरूको चिन्ता, न अपारदर्शिताको आरोपप्रत्यारोप छ यिनलाई । नइ प्रकाशनका यी ऐतिहासिक जोडी 'नइ', घरभित्र बसेर पनि कुदिरहेछन् । रेसमा कसैले उछिन्ला भन्ने चिन्ताले हैन, यस जोडीले समयलाई उछिन्न खोजिरहेछ ।
• प्रा.डा.प्रेम खत्री
मेरो हातमा ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ आयो । मेरो समझमा थिएन, मेरो उद्देश्य पनि थिएन, मेरो सपनामा पनि थिएन । कसरी आयो त्यो अकल्पनीय भाग्य ? जर्मनेली मुखले भन्छ— ‘कुमारीमा बच्चा आएजस्तो, अचम्मको कुरा ! तर म भन्छु— नेपालीहरू जादुमा विश्वास गर्छन् र यिनीहरू जादु पनि गर्छन् ।’ पुराना, आविष्कार नभएको अवशेष र मूर्ति पनि आविष्कार भयो; तैपनि प्रशंसा पाए अर्काले । तर आँखाहरू रहेछन् सहस्र यस देशका महान् देव इन्द्रका पनि ।
• प्रा.डा.मानफ्रेद गेर्हार्द थ्रोइ
Introduction of Nai Academy
Nai Academy named after first letters of literateur Narendra Raj Prasai & Indira Prasai (Nai).
With an objective of developing Nepali literature, Nai Prakashan was established in 2052 Magh 15 (1996 Jan 29). It is based on the philosophy, Vasudhaiva Kutumbakam (Principle of Fraternity) and envisages improving the practice of the Nepali language. It has always taken cultural values and recognition into consideration. Furthermore, to felicitate the talented personalities of Nepal as well as other countries is another objective of this organization.
Besides working in the field of finding and praising the personalities who have contributed in Nepalese literature, culture, social work, science, sports and organizing cultural programs, Nai Academy has published varieties of books time and often.
Nai Academy will continue its journey with Nepalese value, recognition, and conception. Such kind of public work will continuously contribute to great campaign of nation building according to its capacity.
|