» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » भूपालमानसिंह कार्की

नइको चिनारी


भूपालमानसिंह कार्की

जनरल भूपालमानसिंह कार्की पौरखी पुरुष थिए । जनरल मातृकाप्रसाद कोइरालाको भनाइमा ‘जनरल कार्कीको मिहेनत, त्याग र तपस्याले उनी एउटा सामान्य खरदारबाट क्रमशः उठ्तै लप्टन, बडाहाकिम, काठमाडौँ उपत्याञ्चलको कमिस्नर, मन्त्री र राजसभा स्थायी समितिको सभापतिसम्मको आसनमा पुगे ।’ त्यस बेलाको राजसभामा प्रधानमन्त्री र प्रधानन्यायाधीश पनि पदेन सदस्य हुन्थे । उनी आठ वर्षसम्म राजसभाको सम्माननीय सभापति भए । राजनीति उनको पेसा थिएन तर राजनीतिले उनलाई छाडेन । किनभने उनी इमानदार, शिष्ट र नैतिक थिए । कीर्तिनिधि विष्टले यिनलाई ‘देशभक्त, इमानदार र विकासवादी इतिहास पुरुष’ भनेरै लेखेका थिए ।

जनरल कार्की २०१४ सालमा डा।केआई सिंहको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिपरिषद्मा मन्त्री भएका थिए । जनरल कार्की मन्त्री भएकै समयको कुरा होस त्यसै फेरोमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि शिक्षामन्त्री भएका थिए । त्यसै घडी देवकोटा र कार्की मिलेर कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय रहनुपर्छ भन्ने माग राखेका थिए । अनि त्यस ठाउँमा कार्कीकै नेतृत्वमा झन्नै पाँच हजार रोपनी जग्गा अधिकरण भएको थियो । त्यसपछि कार्कीलाई राजा महेन्द्रले झनै काखी च्याप्न थाले । त्यसैले २०१५ सालमा पनि सुवर्णशमशेरको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा उनी फेरि मन्त्री भएका थिए ।

जनरल कार्की नेपाली परिवेशमा एउटा श्रद्धेय थिए । त्यसैले राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले पनि उनलाई धेरै नजिक राखे । नेपालमा प्रजातन्त्र आउनेबित्तिकै मानार्थ सैनिक मानपदवी पाउने पनि उनी प्रथम नेपाली थिए । उनी जनरलसम्म पनि भए ।
बडाकप्तान हस्तवीरसिंह कार्कीका नाति, कप्तान केशरसिंह कार्की तथा खड्ककुमारी कार्कीका सुपुत्रका रूपमा जनरल भूपालमानसिंह कार्कीको जन्म १९६६ साल असोज ८ गते काठमाडौँमा भएको थियो । केशरसिंह, खड्ककुमारीका बाइस जना सन्तानमध्ये एक्काइस जना नै अल्पायु भए । उनी चौध वर्ष हुँदासम्म यीबाहेक यिनका सबै दिदीबहिनी र दाजुभाइको निधन भइसकेको थियो । त्यसपछि यिनको संरक्षण यिनकी कान्छी काकी भक्तकुमारी कार्कीबाट भएको थियो ।

जनरल कार्कीले कर्णेल शिवप्रतापशमशेर थापाको सहयोग, सद्भावना र माया पाए । थापाले नै सुरुमा यिनलाई जागिरमा टेकाए । भीमशमशेरको प्रधानमन्त्रीत्व कालमा थापाका निर्देशनमा कार्कीले भारत गएर नेपाली फर्काएर ल्याए । फर्केर आएका ती नेपालीले जङ्गल फाँडेर बसोबास गर्ने अवसर पाएका थिए ।

जनरल कार्कीले हिरण्य, हेमकुमारी, दुर्गाकुमारी, भूमासमेत चार जनासँग बिहे गरे । पत्नीहरूको क्रमशः निधन भएपछि उनी लगनगाँठो कस्तै जान्थे । साथै यिनका चार छोरी र चार जना छोरा जन्मे । यिनका जेठा छोरा जगतबन्धु कार्की समाजसेवामा लागे । जनरल कार्कीले स्थापना गरेको मेची क्याम्पसमा यिनले संस्थापनाकालमा प्रिन्सिपल हुनुका साथै निःशुल्क चार वर्ष पढाएर छाडे । जनरल कार्कीले स्थापना गरेको झापाको पद्म पब्लिक हाईस्कुलमा पनि जगतबन्धु कार्कीले अवैतनिक सेवा गरे । माइला लोकबन्धु कार्की झापा जिल्ला पञ्चायतको सभापति भए । लोकबन्धुले चित्रकारितामा पनि आफूलाई डोर्याए । साइँला लोकमानसिंह कार्की नेपाल सरकारको सचिव, मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनी अख्तियार प्रमुख भएका बेला भ्रष्टाचारका विरुद्ध एउटा ठूलै जागरण आएको थियो । नेपालको राजनीति र प्रशासनको इतिहासमा त्यस प्रकारको कम्पन त्यसअघि कहिले पनि थिएन । जनरल कार्कीका कान्छा छोरा डा।बालमानसिंह कार्की बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष भए । साथै उनी किस्ट मेडिकल कलेजका पनि प्रिन्सिपल भए ।

जनरल कार्की राणाकालीन युगमा झापामा लप्टन भए । उनले त्यहाँ गाउँगाउँमा बाटो बनाए, पुलहरू पनि बनाए । एक वर्ष बस्ता उनले त्यहाँ चौवालिसवटा पुल बनाए । यिनले मेची र कोसीमा प्राथमिक, मिडिल र हाईस्कुलहरूको स्थापना गरे ।

जनरल कार्की सानैदेखि प्रजातन्त्रप्रेमी थिए । नेपालमा प्रजातन्त्र आएपछि नेपाली काङ्ग्रेस केन्द्रीय समितिले उनलाई झापा जिल्लाको काङ्ग्रेस सभापतिमा मनोनीत गरेको थियो । त्यसै बेला नेपाल सरकारले उनलाई पूर्वाञ्चल हेर्ने मोरङको बडाहाकिम नियुक्त गरेको थियो ।

जनरल कार्कीले आगलागीबाट ध्वस्त भएको दुहवीबजारको पुनः निर्माण गरे । यिनले मातृकाप्रसाद कोइराला र तोलाराम दुगडसँग मिलेर विराटनगरमा वीरेन्द्र सभागृह बनाए । विराटनगरको आदर्श विद्यालय स्थापना गर्न पनि उनकै पाश्र्व भूमिका थियो ।

जनरल कार्की आर्थिक रूपमा पनि अति सम्पन्न थिए । मेची र कोसी अञ्चलमा उनको पैत्रिक सम्पत्ति मात्र चार सय एक्काइस बिघा जग्गा थियो । साथै उनले पनि झन्नै त्यति नै जग्गा जोडेर उनी आठ सय बिघाका भूमालिक भए । उनले पूर्वाञ्चलका शिक्षण संस्थाहरूलाई जग्गा, पैसा दिएर अडिलो बनाए ।

जनरल कार्कीलाई मठमन्दिर, स्कुल, बाटोघाटो, पुल बनाउने साह्रै सौख थियो । उनी उपत्यकाञ्चलको कमिस्नर भएका बेला टीकाभैरवबाट हेटौँडा जाने बाटो उनैले खनाए । उनी पशुपति सुधार विकास समितिको सभापति पनि भए ।
जनरल कार्कीले भारतका विभिन्न मठमन्दिर र धर्मशालाहरूमा पनि आर्थिक सहयोग गरे । यिनैले करोडौँ रुपियाँ राशि खर्चेर विराटनगरमा अतिरुद्र याग नाउँको पुराण लगाए । त्यसभन्दाअघि पनि उनैले महारुद्र यज्ञसमेत गरेका थिए ।

जनरल कार्कीले एक करोड रुपियाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना गरे । नइ प्रकाशनको स्थापनामा पनि यिनैको पार्श्व भूमिका थियो । साथै त्रिमूर्ति निकेतनको निर्माणमा समेत उनको पनि आर्थिक सहयोग थियो । नइ प्रकाशनले पनि आफ्ना संस्थापक कार्की र उनकी साइँली पत्नी दुर्गाकुमारीको स्मृतिमा ‘नइ भूपालदुर्गा पुरस्कार’को स्थापना गरेको छ ।
जनरल कार्कीले दुई कृति लेखे, ‘सवालजबाफ’ र ‘मेरो जीवनयात्रा’ । उनको जीवनभरिको योगदानको कदरस्वरूप नेपाल राष्ट्रका विभिन्न साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संस्थाहरूबाट उनलाई छुट्टाछुट्टै गरेर झन्नै पाँच सयवटा अभिनन्दनपत्र प्रदान गरिएको थियो । साथै उनको सम्मान र स्मृतिमा नेपाल सरकारले उनको मुहार अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।

जनरल कार्की ओमराम पट्ट, ज्योर्तिमय सुविख्यात त्रिशक्तिपट्ट, सुप्रसिद्ध गोरखादक्षिणबाहुलगायत देशविदेशका थुप्रै अलङ्कारबाट विभूषित थिए । उनले नेपालका चौध अञ्चल अनि एसिया, युरोप र अमेरिकाका विभिन्न भूभाग घुमे ।
नेपाली धरामा आफूलाई समाहित गरिरहेका अवस्थामा देशभक्त जनरल भूपालमानसिंह कार्की २०६० साल माघ १ गते काठमाडौँमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश