विष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ धेरैलाई थाहा छैन र अझै पनि थाहै छैन । दार्जिलिङको सेन्ट जोसेफ कलेजका प्रोफेसर राजनारायण प्रधान भन्थे— ‘म आठराईमा २०१७ सालदेखि चार वर्ष बसेँस त्यति बेला मैले त्यहाँ धेरै कुराको चमत्कार देखेँ । अर्को एउटा आश्चर्य के थियो भने— एउटी लिम्बुनीले नै त्यो भेग थर्काएकी रहेछिन् । त्यहाँ धनी हुँ भनेर लामालामा नाक तेर्स्याउने कुमाईंहरुलाई पनि एक जना लिम्बुनीले नै थचक्कै बसाइकी रहेछिन् । ती लिम्बुनीलाई म महान् भन्छु र नेपाली आमा मान्छु ।’
वास्तवमा विष्णुमाया आङबुहाङको नाउँ लिन भाग्य चाहिन्छ । उनको नाउँ काढेर म पनि मेरो भाग्यप्रति थप गौरवी बोध गर्छु । छातीमा हात राखेर भन्ने हो भने उनी साँच्चैकी नेपाली आमा थिइँन् । उनी पूर्वी पहाडकै एउटी महामना नारी थिइँन् ।
विष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ मैले बाल्यकालमा नै सुनेको थिएँ । वारी हाङपाङबाट पारी चाँगेको नेशम देखाएर मेरी आमा भागीरथा प्रसाई भन्ने गर्थिन्— ‘पुल थाप्ने लिम्बुनी बडीआमाको घर त्यतै हो । पण्डित चिरञ्जीवी गौतम र माइला मुखिया धनपति चुडालको घर पनि त्यतैतिर नै हो ।’ त्यसै बेलादेखि मेरो मनमा लिम्बुनीसँग श्रद्धा पलाएको थियो । उनीप्रति मेरो कति श्रद्धा थियो भने अति थियो ।
समाजसेवी धनपति चुडाल र पं।चिरञ्जीवी गौतम भन्नु नेशुम चाँगेका प्रख्यात समाजसेवी थिए । यी दुई भाइ मिलेर त्यहाँ स्कुल पनि खोलेका थिए । त्यस भेकमा पहिलो अङ्ग्रेजी स्कुल त्यही नै थियो । त्यही गाउँकी एउटी नारीले पौरख रोपेपछि त्यस भेकमा समाजसेवाको थप लहर आएको थियो । शायद मेरी आमा भागीरथा प्रसाईले नै पनि लिम्बुनी बडीकै प्रेरणाले जिजु हाउसको गोदाम हाङपाङमा स्कुल स्थापना गरेकी थिइँन् ।
मैले मेरो जीवनमा पहिलो पल्ट समाजसेवी भनेर विष्णुमाया आङबुहाङकै मात्र नाउँ सुनेको थिएँ । त्यसपछि अहिलेसम्म मैले षडानन्द अधिकारी, तुलसीमेहर श्रेष्ठ, जनरल भूपालमानसिंह कार्की, देवीप्रसाद उप्रेती, हरिचरण सिटौला, ओमप्रसाद गौचन, छवीलाल पोख्रेल, हरिहर गौतम, खगेन्द्रबहादुर वस्नेत, बद्रीविक्रम थापा, दयावीरसिंह कन्साकार, रानी जगदम्बाकुमारीदेवी राणा, भक्तकुमारी घले, दीर्घराज कोइराला, लक्ष्मीनारायण प्रसाद, डा।रामप्रसाद पोख्रेल, डा।मृगेन्द्रराज पाण्डे आदिआदिको नाउँ पनि सुन्दै आउन थालें । यतिहुँदाहुँदै पनि नेपालको परिवेशमा विष्णुमायाले गरेको सेवा अरू कसैसँग तुलना नै हुँदैन भने पनि हुन्छ ।
समाजसेवाका फाँटमा उ विष्णुमाया आङबुहाङ नम्बरी सुन थिइँन् । तर उनको नाउँ धेरैलाई थाहै भएन । अझै पनि उनको नाउँ स्थानीय जिल्लादेखि केन्द्रसम्म समेत चल्तीमा आउन सकेन । आफ्नो कर्मका कारण धेरै समाजसेवीहरू चर्चाको शिखरमा आइरहे तर उनको सेवाको दियो देखाइदिने कुनै मोतीरामहरू अघि सरेनन् । वास्तवमा उनको सेवा जनउद्धारका लागि मनबाट नै समर्पित थियो । तर उनले नाउँ चलाउन सेवा गरेकी थिइनन् ।
कुनै पनि कुवेरको मन, वचन र कर्मले साथ नदिई रहेको अवस्थामा एउटी नारीले आफ्नो श्रीसम्पती तमोर नदीमा विश्रान्ति गराएकी थिइँन् । जुन सम्पतीको त्यस भेगका प्रत्येक प्राणीले भोग गरे । एउटा घरको भण्डारमा केन्द्रित धन जगतको हीतमा समर्पण गर्ने ती एउटै विरङ्गना थिइँन्( बिष्णुमाया आङबुहाङ लिम्बूनी ।
देशका कुनाकाप्चामा अहिले त आवश्यकता अनुसार झोलुङ्गे पुल बन्न सकिरहेको छैन । त्यस बेला देशले त्यति खर्च लगाएर फलामै फलाम र काठले सुसज्जित त्यस प्रकारको आधुनिक झोलुङ्गे पुल निर्माण गर्न नसकेको अवस्थामा विष्णुमाया आङबुहाङले आफ्नो हैसियत देखाएकी थिइन् । भनौँ २००९ सालतिरै उनले आफ्ना दुई भाइ छोराहरु भुवान्सी र रणबहादुरको सहयोगमा तमोर नदीमा अति भव्य, आकर्षक र सुरक्षित पुल थापेकी थिइन् । उनले आफ्ना दिवङ्गत पति धनहाङ आङबुहाङको मुक्तिका लागि त्यो पुल बनाएकी थिइन् । अनि त्यस पुलले ‘लिम्बुनी पुल’का नाउँबाट प्रसिद्धि कमाएको छ ।
विष्णुमाया आङबुहाङले ‘लिम्बुनी पुल’ बनाउनु १० वर्षअघि नै ताप्लेजुङ र तेह्रथुमका मुख्यमुख्य ठाउँहरुमा ढुङ्गेबाटो, घोडेबाटा, गोरेटा, चौतारा, घाट र पाटीहरु पनि बनाएकी थिइन् । त्यति विराट् मन भएकी नारीले शिक्षाका लागि पनि आफ्नो मन खोलेकी हुनुपर्छ तर उनको सेवाबारे कहीँकतै चर्चा भएन ।
लिम्बुनी पुल विष्णुमाया आङबुहाङले आफ्नै गाउँमा पनि बनाइनन् । भनौं लिम्बुनी पुलु उनको गाउँमा थिएन । लिम्बुनी पुल पुग्न उनका घरबाट चार घन्टा जति ओरालो हिँड्नु पर्थ्यो । आफ्नो गाउँदेखि पनि टाढा नै उनले पुल थाप्ने सर्वेक्षण गरेकी थिइन् । किनभने त्यस ठाउँमा त्यस पुलको सारै खाँचो थियो । त्यसैले जनचाहनामा उनले आफ्नो इच्छा साकार पारेकी थिइन् ।
पाँचथरको अमरपुर र ताप्लेजुङ निघुरादिनको फूलबारी क्षेत्रबाट वारी र पारी गरिनु पर्ने तमोर नदीमा लिम्बुनी पुलको निर्माण गरेपछि त्यो ठाउँ नै सुगममा परिणत भयो । तेह्रथुम र ताप्लेजुङ जिल्ला अन्तर्गत आठराई हाङपाङ पुगेर दोभान, ताप्लेजुङहुँदै पाँचथरसम्म पुग्ने या चुहानडाँडाको सिटौला पुलबाट पाँचथरको सुभाङ या ताप्लेजुङको पूर्वीभेक पुग्नेका लागि लिम्बुनी पुल बरदानै भएको थियो ।
दार्जिलिङ, सिक्किम र तिब्बतबाट मजदुरले थाप्लो र काँधमा बोकेर लिम्बुनी पुल निर्माणका लागि फलामे सामाग्री जुटाएका थिए । त्यस बेला त्यस भेकमा पैदल हिंड्ने फराकिलो बाटो पनि थिएन । भारी बोक्नेले पनि खेतका काँन्ला र बारीका डिलबाट हिड्नु पर्थ्यो । त्यस बेला नेपालका पहाडी ठाउँमा सवारी साधनको त प्रायस् कल्पनै पनि थिएन । यति हुँदाहुँदै पनि विष्णुमाया आङबुहाङको हिम्मत थियो । त्यसैले उनले त्यातिरका तमाम मान्छेको सपना सकार गरिदिइन् ।
त्यस बेला लिम्बुनी पुल बनाउनु अकल्पनीय नै थियो । अथवा फलामबाट बनेको त्यस्तो पुलको बेहोरा पनि एकादेशको कथै हुन्थ्यो । वास्तवमा लिम्बुनी पुल बनाउन कति खर्च लाग्थ्यो त्यो पनि अनुमानित बजेटमा आधारित थिएन । अथवा भनौं पुल निर्माण गर्दा खर्च कति लाग्छ भन्ने समेत कल्पना गर्न सकिदैन थियो । तर एउटी निरक्षर नारीले अकल्पनीय काम गरेर आफूलाई राष्ट्रकै एउटा बिम्ब बनाएकी थिइन् । तर राष्ट्रले चाहिं उनलाई कहिले चिनेन, जानेन र उनको खोजीसम्म पनि गरेन ।
विष्णुमाया आङबुहाङका नाति परशुराम आङबुहाङका अनुसार लिम्बुनी बडीको जन्मचाहिँ ताप्लेजुङकै खाम्लुङ (महादेउटार, दोभानदेखि माथि) भएको थियो । साथै बडीका नाति पोमु सेन्छेहाङ लिम्बू (प्रवीन) ले जनाए अनुसार उनी १९३४ सालमा जन्मेकी थिइन् । पुल थापेको पाँच वर्षमा लिम्बुनी बडीआमाको निधन भएको थियो । भनौँ २०१५ सालको सरस्वती पूजाका दिन आफ्नै घरमा उनी स्वर्गीय भएकी थिइन्; तर उनी ‘लिम्बुनी पुल’बाट चिरञ्जीवी भइन् ।
प्रस्तुति
नरेन्द्रराज प्रसाई