एउटा तारा झर्दा पनि आकाश सिङ्गो रित्तो लाग्छ
एउटा गल्ती भएकोथ्यो जिन्दगी नै तीतो लाग्छ ।
(स्वर : सीपी लोहनी, सङ्गीत : नातिकाजी, शब्द : राममान तृषित)
कुनै बेला सीपी लोहनीको स्वर सुन्न पाउँदा नेपाली गीतका पारखी खुसीको पिङ मच्चाउँथे । २०२० सालतिर सीपी लोहनीको स्वरले जनमन ढाकेको थियो । त्यस बेला सीपी लोहनीको स्वरले नेपाली ह्दयलाई आफन्त बनाएको थियो । वास्तवमा उनी मीठो, सुरिलो र मनमोहक स्वरका भण्डार थिए । उनको स्वरमा चाँप फुल्थ्यो, बेली फक्रन्थ्यो र जूही मगमगाउँथ्यो ।
सीपी लोहनी सानै देखि शास्त्रीय गीत गाउन सिपालु थिए । उनका गीतमा ठूला मान्छे पनि झुम्मिन्थे । रेडियो नेपालको बालकार्य क्रममा उनले पहिलो स्वर नै शास्त्रीय गीतमा समर्पण गरेका थिए । त्यस बेला उनी पन्ध्र वर्षका थिए ।
सीपी लोहनीका बाबु दुर्गानिधि लोहनी गीतका सौखिन थिए । आमा उत्तरकुमारी पनि आफ्ना छोराले गीत गाएको सुनेर मक्ख पर्थिन् । सीपी लोहनीले बाल्यकालमा नै चेतनाथ शर्मालाई शास्त्रीय सङ्गीतका गुरु पाए । गुरुको तालिम थपिँदा सीपी लोहनीको गायनयात्रा दुबोझैँ तीव्र गतिमा मौलाउँदै गयो । आफ्नै प्रतिभाले उनी सानै उमेरमा चर्चित भए । त्यस बेला उनको प्रशंसाले काठमाडौँ छोपिएको थियो ।
चाहे काठमाडौँको पद्मोदय हाइस्कुलमा पढेका बेला होस् , चाहे विराटनगरको आदर्श विद्यालयमा पढेका बेला होस् र चाहे काठमाडौँकै विजय मेमोरियल हाइस्कुलमा पढेका बेला होस् त्यस घडी नै सीपी लोहनीले आफ्नो गायन प्रभुत्वलाई निक्कै माथि पुर्याएका थिए । त्यतिमात्र होइन काठमाडौँको त्रिचन्द्र कलेजमा पढ्नेताका पनि उनी गायनकलामा खुबै चर्चामा आएका थिए ।
सीपी लोहनी सानैदेखि व्यक्तित्वशाली थिए । उनी सरल, नरम र शिष्टताका त नमुना नै मानिन्थे । २०२० सालको कुरा हो, त्यस बेला ‘माइती घर’को नायकमा सीपी लोहनीलाई निम्त्याइएको थियो । जनरल नरशमशेर जबराका अनुरोधमा उनी त्यस चलचित्रमा प्रवेश गरे । ‘माइती घर’को नायकका रूपमा प्रस्तुत हुँदै उनी नेपाली समाजमा प्रिय भए । त्यहीँ पुग्दा सबैले उनलाई चिने । त्यस चलचित्रमा नायिका चाहिँ माला सिन्हा थिइन् । ‘माइती घर’मा खेलिसकेपछि सीपी लोहनीले मालासिन्हासँग युगल गीत पनि गाए :
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
सुन्दर राम्रो भावना नयाँ छरेर दिलैमा ।
(स्वर : सीपी लोहनी र माला सिन्हा, सङ्गीत : नातिकाजी, शब्द : मवीवि शाह)
सीपी लोहनीको प्रथम भेट माला सिन्हासँग ‘माइती घर’ छायाङ्कनका सिलसिलामा भयो । त्यसै बीच ‘माइती घर’ चलचित्र कहिले काठमाडौँमा, कहिले पोखरामा र कहिले बम्बई मा छायाङ्कन हुन्थ्यो । त्यसै चलचित्रको निर्माणको सन्दर्भ मा उनीहरूका मनमनमा प्रेमको डोरी कस्सिन थालेको थियो । क्रमशः उनीहरू एकअर्काका मायाप्रीतिका आधार बन्न थाले । उनीहरूमाझ मायाका जति चुली भए तापनि एकअर्कामा मौखिक जानकारीचाहिँ थिएन ।
२०२१ सालको सुरुको कुरो हो । फोटो कन्सर्नका मालिक डीबी थापाका हातबाट सीपी लोहनीले अचानक एउटा पत्र पाए । पत्र खोलेर हेर्दा उनले त्यसका शब्दशब्दमा माला सिन्हासँग रथयात्रा गर्न लागे । उनले त्यो पत्र दोहर्याई तेह¥याई पढ्न थाले :
१९६५.२.५
८, टर्नररोड, बान्द्रा
बम्बई (भारत)
मेरो प्यारो सीपी लोहनी
मीठो माया र सुमधुर सम्झना ।
तिमीलाई छाडेर काठमाडौँबाट बम्बई आएपछि पनि मेरा आँखा र मेरो मन तिमीसँग टाँस्सिरहेकै छन् । तिमीसँगको नेपालको बसाइले तिमीप्रति मलाई निक्कै ठूलो आस्थाको जागृति भयो । तिम्रो व्यवहार र तिम्रो जीवनबाट तिमीसँग म बुहारीझारसरि लट्ठ परेँ । यी सबै कारणले मैले तिमीलाई नै जीवनसाथी छान्ने निर्णय गरेँ । सम्भवतः यो मेरो एकतर्फी धारणा होइन होला । म तिम्रो पनि औपचारिक चाहनाको पूर्ण प्रतीक्षमा छु । यस विषयमा तिमी मलाई खुला छातीले निर्धक्क चिठी लेख । तिमीले मलाई मेरो घरका ठेगानामा चिठी नपठाउनू । मसँग सधैँ रहने मेरी हेयर ड्रेसर बर्था (केश बनाउने इजरायली नागरिक) को ठेगानामा तिमीले चिठी पठायौ भने त्यो चिठी म सुरक्षितसाथ पाउनेछु ।
म तिम्रो चिठी नपाइन्जेलसम्म शान्त मनस्थितिमा हुने छैन । म एकएक पल गन्दै तिम्रा प्रिय अक्षरहरू पर्खिबसेकी छु ।
तिमीलाई माया गर्ने तिम्री
माला सिन्हा
माला सिन्हाको चिठी सीपी लोहनीको जीवनको गीता बन्यो । त्यसैले उनले चिठीको प्रत्युत्तरमा माला सिन्हाप्रतिका आफ्ना सारा चाहना पस्के । वास्तवमा त्यसपछि उनीहरूको धेरै चोटि भेटघाट भयो र यो जोडी औपचारिक प्रेमलहरीमा गासिँदै गयो । एकअर्का प्रतिको प्रेम, विश्वास र समर्पणका कारण उनीहरू एउटै प्राणमा आबद्ध भए । अन्ततः उनीहरू २०२५ साल फागुन १ गते प्रणयसूत्रमा बाँधिए । भारतीय चलचित्रकी सुविख्यात नायिकासँग सीपी लोहनीको लगनगाँठो कस्सिएकामा एकपटक नेपाल हल्लाले रन्केको थियो । प्रकृतिको प्रेमोपहारका रूपमा उनीहरूबाट एउटै छोरी प्रतिभाको जन्म भयो । प्रतिभा पनि चलचित्रप्रति नै समर्पित थिइन् । उनले पनि पाँच वटा भारतीय चलचित्रमा नायिकाको भूमिका खेलिन् ।
सीपी लोहनीले खेलेको चलचित्र एउटै ‘माइती घर’ थियो तर उनी एउटै चलचित्रबाट पनि नामी भए । उनी गायनमा चाहिँ निरन्तर लागिपरे । लोहनीको गायन थोरै भए तापनि त्यो समय उनका लागि उल्लेखनीय रह्यो । वास्तवमा उनको गायनको गुणलाई श्रोताहरूले उचित मूल्याङ्कन गरे । त्यसैले उनले गाएका गीतहरू प्रायः लोकप्रिय पनि भए :
काला कुर्थैले छ महिने जागिर खायाँ
दया मर्यो आफ्नै कालले म मरेँ सुर्तैले ।
(स्वर : सीपी लोहनी र अरुणा लामा, सङ्गीत : जयदेव, शब्द : प्रदीप रिमाल)
सीपी लोहनी संवत् १९९५ साल असोज शुक्ल परेवामा काठमाडौँमा जन्मेका थिए । उनको चिनाको नाउँ चिदम्बरप्रसाद लोहनी थियो । उनका बाबुबाजे काठमाडौँका सम्पन्न कुमाई थिए । त्यसैले उनी सानै देखि सुखसमृद्धिमा हुर्कंदै आए । बीकम पढेर उनी दिल्लीमा एमकम पढ्न गए । गर्मीले उकुसमुकुस भएपछि एक वर्षमा नै उनी काठमाडौँ फिरे । लोकसेवा आयोगको जाँच दिएर उनी शाखा अधिकृत भए । उनको नियुक्ति भन्सारमा भयो । पछि उनी रघुपति जुट मिल र विरानगर जुट मिलको महाप्रबन्धक पनि भए ।
गायनमा मात्र होइन अन्य कार्यहरूमा पनि सीपी लोहनी जाँगरिला थिए । खास गरेर उनी टेबुल टेनिसका कुशल खेलाडी थिए । खेल्दाखेल्दै उनी भारतको बम्बई पनि पुगे र चीनको बेजिङ पनि पुगे । उनले त्यही खेलमा कुशलता हासिल गर्दा राजाहरू त्रिभुवन, महेन्द्र र वीरेन्द्रबाट पुरस्कार पनि पाए ।
२०२२ सालमा सीपी लोहनीले पुरुष र नारीस्वरमा युगल गीत गाएर जनमानसलाई चकित पारेका थिए । त्यसै बेला रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा नारीपुरुष स्वरमा प्रथम भएबापत उनले राजा महेन्द्रबाट स्वर्ण पदक पनि पाएका थिए ।
राजा महेन्द्रले उनको गीत खुबै मन पराउँथे । त्यसैले राजाको फर्माइसमा उनी राजदरबारमा गीत गाउन पुग्थे । वास्तवमा सीपी लोहनी गीतगायनका एउटा सक्कली, सम्पन्न र माथिल्ला कोटिका प्रतिभा थिए । उनको जीवन एउटै यात्रामा सीमित नभएर बहुमुखी दिशातर्फ केन्द्रित थियो । त्यसैले उनी कुनै पनि क्षेत्रमा निरन्तर हिँड्न पाएनन् ।
उमेर ढल्कँदै जाँदा सीपी लोहनीले विद्युतीय सञ्चारमाध्यममा निरन्तर गीतहरू गाएनन् । विभिन्न सभा, सम्मेलन र कार्यक्रममा भने उनी गीतहरू गाइरहन्थे । उनको स्वर पछिसम्म पनि रापिलो, मीठो र उत्साहले भरिएको थियो । उनी चाहे नेपालमा होस् , चाहे भारतमा होस्, कुनै राम्रो सांस्कृतिक कार्यक्रम छ भने गीत गाउन जोसिने गर्थे । उनी प्रायः बम्बईमा बस्थे । त्यहाँ माला सिन्हा, प्रतिभा र सीपी लोहनीले सुखको जीवन भुक्तान गरिरहेका पनि थिए । बम्बईमा पनि लोहनी आफ्ना पुराना गीतहरू दोहर्याई तेहर्याई गाउने गर्थे र काठमाडौंमा पनि तिनै गीतले उनको मन समाइरहन्थ्यो ।
अशक्त हुँदा पनि सीपी लोहनीले ‘छ सलाम कसरी बोलाऊँ, हेर्न आउने पाहुनाहरूलाई’ भन्ने शब्द भुलेका थिएनन् । वेहोसीमा पनि उनी त्यही गीतको नसामा हुन्थे । अन्ततः उनी अचेत अवस्थामा नै काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा स्वर्गीय भए । अनि त्यो दिन थियो– २०८१ वैशाख १७ गते । उनकी धर्मपत्नी बलिउड अभिनेतृ माला सिन्हेले साठी वर्षको लामो प्रेमिल सम्बन्धको त्यसै दिन भौतिक रुपमा रुँदै विदा गरेकी थिइँन् । त्यस दिन नेपाली कला र सङ्गीतका आकाशमा कालो बादल लागेको थियो ।
छ सलाम कसरी बोलाऊँ
हेर्न आउने पाहुनाहरूलाई ।
(स्वर : सीपी लोहनी र गीतादत्त, सङ्गीत : जयदेव, शब्द : प्रदीप रिमाल)
लेखक—
नरेन्द्रराज प्रसाई