
नइ नभएका भए
यदि नइ नभएका भए यी त्रिकन्याहरू रचना सुब्बा, सङ्गीता आचार्य तथा प्रमिला विश्वकर्माले नेपाली वाङ्मय र साहित्यको इतिहास बनाउन नै पाउने थिएनन् । आज उनीहरूले अनावरण गरेका वाङ्मय स्थापत्यहरूले नेपाली साहित्य, संस्कृति कुनै विशुद्ध क्षितिज नै स्पर्श गरेको कुराको भौतिक साक्ष्य बन्ने नै थिएन ।
यदि नइ नभएको भए, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मिलित त्रिमूर्तिको स्थापना* पनि हुने थिएन ।
एउटा विशिष्ट साहित्य संयुक्तिको यो संयोजनको पुरोधा नै बनेको छ नइ, नेपाली साहित्यको इतिहासमा ।
मानिसले केही आत्मरति र भूषाचारका लागि कहिले किंवदन्तीका रूपमा र कहिले केलिका रूपमा कल्पित त्रिमूर्ति विम्बलाई प्रस्तर तथा धातुको प्रतिमामा पनि अनुवाद गरेर त्यो अधिभौतिकता तथा रहस्यलाई भौतिक प्रस्तुतिमा पनि अवतरित हुन्छ— मूर्तिले ।
त्यहाँ त झन् त्रिमूर्तिको संयुक्तिलेज् नै अभूतपूर्व, विम्बमा पनि सायद कतै नभएको एउटा अध्यात्म तयार भएको छ ।
आज पाँचछ वर्षकै शिशुवयमा यी विशेष व्यक्तित्वहरूको स्थापत्य प्रतीक अनावरण गर्ने मौका पाएको उनको यो अनुपम वर्तमान झन्झन् इतिहासका पानाहरूमा उल्लिखित, उत्कीर्णित हुँदै जानेछ । आचार्य, विश्वकर्मा वा सुब्बा अनेकौँ दिन स्मृतिसंस्कृतिमा अविस्मरणीय हुने भए ।
फेरि त्रिमूर्ति निकेतन संस्थाले, स्वयम् ती त्रिकन्याको पालनपोषण र सुश्रुषा गर्ने तथा पढाउने अभिभारा लिएको छ, त्यसका लागि दानवीर कर्णभन्दा पनि महान् व्यक्तित्व भूपालमानसिंह कार्कीका स्वनामधन्य भूमा कार्कीले नइकै संयोजनको आग्रहले अर्थ उपलब्ध तथा प्रदान गर्ने भएको छ ।
ती परिवारहरू नै प्रत्याभूतिका महाविम्बहरू बनेका छन् ।
त्यसैअनुरूप त्यही क्रममा त्रिमूर्ति निर्माण मात्रका लागि होइन, अनेकौँ तत्सम्बन्धी सांस्कृतिक साहित्यिक कार्यका लागि दायप्रदाय विधाता भएका छन्— सीताराम प्रज्ञाप्रतिष्ठान, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, देरुनिख सार्वजनिक हित गुठी तथा एकता प्रकाशनहरू ।
यहाँ पनि यी संयोजन तथा आयोजन विधि र युक्ति त भएकै हुन् नइबाट । नइलाई अनेकौँ आर्थिक, भौतिक हार्दिक सहयोगले सहायता गर्ने प्राज्ञ घटराज भट्टराईजस्ता महामना व्यक्तित्वहरू पनि छन् ।
यस प्रकार नइ स्वयम् पनि सौभाग्यशाली नै छन्— इतिहासले यो यथार्थ पक्कै स्वर्णाक्षरले लेख्नेछ ।
हुन त एकातिर संस्कृति र इतिहास निर्माणका यस्ता विशिष्ट उदाहरणहरू तयार हुँदै छन् तर अर्कापट्टि कतै यही मुलुकको र माटोको आत्मालाई कालो छायाले ग्रस्त गर्ने डर छ ।
त्रिकन्याहरू मञ्चमा फूलमालाले सुसज्जित तथा उनले भर्खरै उद्घाटन अनावरण गरेका त्रिमूर्तिको परिप्रेक्ष्यमा अर्का दुस्सम्भावना दुःखले, कल्पनाले मलाई कतै न कतै मानसमा चिसो हुँदै थियो ।
आखिर एउटा विशिष्ट तथा उदाहरणीय इतिहास रचेर सायद यी कन्याहरू सुश्रुषित हुने, पढ्ने मौका भूमा कार्कीको सहृदयता प्राप्त गरेर सुरक्षित हुनेछन् ।
हाम्रा अनेकौँ यस्तै वर्तमानहरू छन् असुरक्षित—असुश्रुषित तिनलाई कतै बेच्नेछन्— मण्डीमा लगेर भन्ने डरको परिप्रेक्ष्यकै आभासमा कुनै सुन्दर इतिहास पनि बन्दै छ भन्ने सुख अनुभवको विरोधाभास उत्पन्न भइरहन्छ ।
ती तीन जना र त्यस्तै अनेकौँले कल्पना गरेको मुलुक देशभक्ति तथा माटोको मोह— ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भन्नेजस्ता उक्तिले हामी सधैँ गर्वोन्नत हुन त सक्छौँ फेरि त्यही यस प्रकारका कालासिल कतै मुलुकको सम्पूर्ण अस्मिता र वर्चस्वहरू नै लिलाम त गर्ने होइन भन्ने भयानक भयका बीच हामीले हाम्रो संस्कृति निर्माण गरिरहेका छौँ ।
सौन्दर्य र कमनीयता पनि पण्य र क्रयविक्रय वाणिज्य भयो भने के गर्ने भन्ने डर पनि छ, सायद त्यस्तो हुँदैन भन्ने पनि आश्वस्ति छ— ती त्रिकन्या र तिनको इतिहास निर्माणकार्य संलग्नताले त्यो देखाउँछ ।
प्रत्याभूति पनि छ— आजको वर्तमान त्यो दिन्छ । ती फूलमाला लगाएर मञ्चमा आसीन त्रिकन्या र त्रिमूर्तिहरूको मानस आभासले आश्वस्त गरिरहेछ ।
हाम्रो मुलुक छिट्टै साह्रै राम्रो हुन्छ ! त्यस्तो लागिरहेछ ।
मैले कवि, लेखक, साहित्यकार नरेन्द्रराज प्रसाईले लेख्नुभएको पुस्तक ‘समाजका केही चिन्तक’ (२०४७) मा लेखेको थिएँ, पन्ध्र वर्षपहिले— ‘आफूले गरेका काम मर्दैनन् भन्न त भन्छन् मानिसहरू तर ती कामहरूबारे लेखिदिने र भनिदिने नरेन्द्रराज प्रसाईजस्ता मोतीराम भट्टहरू भइदिएनन् भने जस्तोसुकै महान् भानुभक्तहरू पनि समाजमा अपरिचित भएर बिलाउन सक्छन् ।’
अस्तिसम्म यी त्रिमूर्तिहरू मेरा समीप र आफूसित म सधैँ, यहाँ तिलगङ्गा आएर, यसले सार्वजनिक नहुन्जेल के कस्तो हुने हो सोचिरहन्थेँ, आजदेखि म मुक्त भएको छु— यो त्रिमूर्ति मेरो नेपालको भएको छ— नरेन्द्रराज प्रसाई भन्छन् ।
छोड्नुहोस् यी कुराहरू, यी सबै अब अनिर्वचनीय भइसके । अब त उनले र उनका सहयोगीले सम्पन्न गरेका कार्यहरूलाई ‘नेति नेति’ भन्नुपर्छ ।
मेरो अहम्, मेरो सुख र आनन्द भन्ने कुरा त उहिले पन्ध्र वर्ष पहिले नै नरेन्द्रराज प्रसाईमा खोजिसकेको रहेछ— यी डेढ दशकहरूका जीवनका सतत यात्राहरूमा तिनै सुख र आनन्दको र कृतकृत्यताको अतिरेक झन्झन् बढिरहेछ ।
एक जना ठूलो संस्कृति र वाङ्मयप्रेमीलाई अर्थात् नरेन्द्रराज प्रसाई भाइलाई आदर र स्नेह गरेछु मैले त !
ती त्रिमूर्तिका निहित ढलोट धातुका महावैभवहरूको भौतिक मूर्तिगत त्रिमूर्तिको मौनतासमक्ष आज यस बेला मांसल, जीवन्त तथा चेतन हुँदै पनि ती मूर्तिहरूजस्तै नरेन्द्रका अर्थात् नइका महाकार्यहरूका समक्ष म शब्दहीन मौन हुन मात्रै सक्छु । मेरो सुख भन्नु नै मेरो सार्थकता मात्रै हो, त्यो पन्ध्र वर्ष पहिलेदेखिको व्यतीत र यो अहिलेको वर्तमान समयबीच हामीले धेरै अनुभव गरिसकेका छौँ ।
मुटु दुखाइसकेका छौँ, मुटु सुमसुम्याइसकेका छौँ ।
यस्ता दुःख र सुखहरूबाट नै हो नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई तथा घटराज भट्टराईजस्ता व्यक्तित्वहरूले र उनका सहयोगीहरूले— मुलुकको माटो, हावा, पानी स्याहार्ने, सुसार्ने । त्यही गनिन्छन् यिनीहरू ।
क्रूरता र हिंसा हिंस्रकताका मिथक बन्ने क्रम र संस्कृति बन्ने क्रमकै साक्ष्य हो, ऐतिह्य हो— यो त्रिमूर्ति निर्माण८ र त्यसको सार्वजनिक प्रस्तुति पनि ।
नरेन्द्र भाइलाई त के छ र उहाँ सुधीले समृद्ध र चेतनाले वैभवशाली भइसक्नुभएको छ— उहाँ, अब त उहाँले आफ्नै हातले कमल दीक्षितजस्ता अर्का वाङ्मय व्यक्तिलाई ‘आधुनिक मोतीराम भट्ट’को पगरी सजिलै चढाउन सक्ने भइसक्नुभएको छ ।
• ‘कान्तिपुर’ दैनिक (२०६१ भदौ १९ गते)
* २०६१ भदौ ११ गते त्रिमूर्ति निकेतनको औपचारिक उद्घाटनका साथै त्रिमूर्तिका पूर्णकदका सालिकको सार्वजनिकीरण गरिएको थियो । सञ्चारग्रामस्थित त्रिमूर्तिस्थलमा नेपाली शैलीको घरको छानामा त्रिमूर्तिलाई विराजमान गराइएको छ भने घरभित्र त्रिमूर्तिविषयक कृतिहरू सङ्कलित त्रिमूर्ति पुस्तकालयको समेत सञ्चालन गरिएको छ ।
• ‘त्रिमूर्ति निकेतन : अभिलेख’, पृष्ठ ७, दसौँ संस्करण : २०८१
* नइ एकेडेमीको संयोजनमा घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको परिकल्पना, सक्रियता र समर्पणमा त्रिमूर्ति निकेतनको स्थापना र निर्माण भएको हो ।
• ‘त्रिमूर्ति निकेतन : अभिलेख’, पृष्ठ ७, दसौँ संस्करण : २०८१
* त्रिमूर्ति निकेतन नइले बनायो, नइ नभए त्रिमूर्ति निकेतन बन्ने थिएन । नइले सोचेपछि जे जस्तो काम पनि हुँदो रहेछ । नइ जोडी यस युगकै चमत्कारी दम्पती हुन् ।
• शताब्दी पुरुष डा.सत्यमोहन जोशी (‘नइ र मेरो शताब्दी’ २०७९, पृष्ठ— १७)
ईश्वरवल्लभको सङ्क्षिप्त परिचय
जन्म
१९९३ असार २८ गते, जैसीदेवल, काठमाडौं
निधन
२०६४ चैत १० गते, नर्भीक अस्पताल, थापाथली, काठमाडौं
शिक्षा
स्नातक
पत्नी
कमला भट्टराई
छोरीहरू
रेखा, रेणु, रच्चू
छोरा
आनन्द भट्टराई
प्रवर्तक
तेस्रो आयम (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभ)
कृति
१. आगोका फूलहरूहुन्, आगोका फूलहरू होइनन् (कवितासङ्ग्रहः२०२९)
२. केही भूमिकाहरू (निबन्धसङ्ग्रहः२०३१)
३. एउटा शहरको किनारमा (कवितासङ्ग्रहःसन् १९७७)
४. समानन्तर (कवितासङ्ग्रह)
५. नीलो माटो (कथाङ्ग्रह:२०४१)
६. कस्मै देवाय (कवितासङ्ग्रह)
७. प्रस्तुत (समालोचनासङ्ग्रह)
८. सोचको मायामठ (निबन्धसङ्ग्रह:२०५७)
९. धुवाको जङ्गल (कवितासङ्ग्रह:२०६०)
सम्पादन
फूल पात पतकर, तेस्रो आयम, नेपाली चलचित्र निर्माण, टुकी, प्रज्ञा
सम्मान
• सुप्रबल गोर्खादक्षिणबाहु
• रत्नश्री स्वर्णपदक
• मदन पुरस्कार
• साझा पुरस्कार
• मुक्ति पुरस्कार
• नइ सुर सम्मान
• व्यथित सिन्धु पुरस्कार
• प्रेस काउन्सिल पुरस्कार
• सर्वदा अभ्यर्चनाज्ञ
मरणोपरान्त सम्मान
नइ ईश्वरवल्लभ पुरस्कारको स्थापना (२०६५)
सस्थापक तथा अध्यक्ष
नेपाली गीतकार सङ्घ (२०४७-२०६४)
सदस्य
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०४७-२०६४)
भ्रमण
भारत, चीन, थाइल्याण्ड र हङ्ककङ्
अनुभव
रेडियो उद्घोषक, शिक्षक, जागीर, पसल, होटल, निर्माण ठेकेदारआदि

















