फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला हे राजै ! यो जिन्दगानीमा ।
तारादेवीले नेपाली गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवनदान दिइन् । तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ हो । थुप्रै मीठामीठा गीतहरू गाएर तारादेवीले नेपाली जनमानसमा आफ्नो गायनप्रतिभाको उत्कृष्ट परिचय दिएकी थिइन् । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । वास्तवमा तारादेवीले आफ्ना स्वरहरूबाट नेपाली भाषा मात्र प्रकट गरिन्, नेपाली जनजीवनको चित्रण मात्र प्रस्तुत गरिन् र नेपाली संस्कृति मात्र प्रदर्शन गरिन् । यिनले मीठो सुर, ताल र भाकामा आफ्नो स्वर नेपालका घरदै लामा पुर्याइन् :
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्व तकी छोरी हुँ म पार्व ती हो नाउँ ।
कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रूपमा संवत् २००२ साल माघ २ गते मङ्गलबार काठमाडौँको इन्द्रचोकमा तारादेवीको जन्म भएको थियो । आफ्नो तोतेबोलीमा नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षो उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो । त्यस बेला यिनले रेडियो नेपालमा निःशुल्क नै बालगीत गाउने गर्थिन् । केही वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपियाँ पाउन थालिन् । त्यस बेला गीत गाएर पारिश्रमिक भेट्ता यिनी अत्यन्तै खुसी हुन्थिन् । क्रमशः यिनको गायनको मूल्य पनि बढ्न थाल्यो र पारिश्रमिक पनि दोब्रिन थाल्यो । यिनले आफ्नो योग्यतालाई राम्ररी परिचित गराएपछि रेडियो नेपालमा तारादेवीलाई खरदारसरहकी गायिकामा नियुक्त गरियो र यिनको तलब महिनाको एक सय रुपियाँ हुन थाल्यो । साथै केही समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा पनि भइन् । त्यस पदमा रही यिनले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र सङ्गीतमा स्नातकको योग्यता हासिल गरिन् । आफ्ना सारा योग्यतालाई बढोत्तरी गरी तीसौँ वर्षम्म सुब्बा भए पनि यिनले उत्साह, उमङ्ग र उल्लासले भरिएका गीतहरू नै गाइरहिन् :
उकाली ओरालीहरूमा, भन्ज्याङ अनि चौ तारीहरूमा
सुन्दर ती दहहरूमा, हिमालका विशाल छातीहरूमा
जहाँजहाँ जान्छौ तिमी, म पहाड बनी पछयाइरहन्छु
ती छहरा, खोला, खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।
तारादेवीको स्वर नेपालको गाउँघर, पाखापर्वत र सहरबजारमा गुनगुनाउने गर्छ । त्यति मात्र होइन स्थानीय बासिन्दाले पनि उनको स्वरमा आफ्नो स्वर दिने गर्छन्; अर्थात् उनीहरू पनि तारादेवीले गाएका गीत गुनगुनाउने गर्छन् । वास्तवमा उनका गीतमा मान्छेको मर्म, खुसी र जिन्दगानी भेटिन्छ । तारादेवीको स्वरमा त्यस्तो के जादु थियो कुन्नि ! उनले गाएको गीतले बाबरी फुलाएको हुन्थ्यो, इन्द्रकमल फक्राएको हुन्थ्यो र चाँप, बेली र चुआ मगमगाएको हुन्थ्यो । नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्याउने तारादेवी नेपाली गायनकी चम्किली तारा थिइन्; जुन तारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको, टल्केको र चम्केको पाइन्थ्यो । वास्तवमा सम्पूर्ण नेपाली जातिकी प्रतिनिधि गायिकाका रूपमा तारादेवीले नेपाली गीतलाई संसारभरि बस्ने नेपालीका कानकानमा पुर्याएकी थिइन् :
कालीपारे दाइ कति राम्रो
ढाकाटोपी काँधै मा गलबन्दी ।
तारादेवीले सुब्बाका कुर्सीमा बसेर ३० वर्षसम्म रेडियो नेपालमा गीत गाइन् । त्यसपछि राजा वीरेन्द्रको हुकुमप्रमाङ्गीद्वारा उनी शाखा अधिकृतस्तरीय गायिका भइन् र पछि उनी उपसचिवस्तरीय गायिकामा समेत नियुक्त भइन् । तर उनले त्यो पदको धेरै समयसम्म भोग गर्न पाइनन् । बाल्यावस्थादेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रनेबित्तिकै तारादेवीको मुटुलाई टपक्कै टिपेर फाल्यो । भनौँ रेडियो नेपालबाट तारादेवीलाई बिनाकसुर जागिरबाट हुत्याइयो ।
एउटी सरल, सौम्य र इमानदार गायिका तारादेवीमा जजसले जेजसरी अपमानको टीका लगाउन खोजे तापनि तारादेवीको योगदानको कदर र्सवत्र गरिएको छ । उनले गीत गाएर नै इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन् । त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन् ।
तारादेवीको शिवबहादुर श्रेष्ठसँग २०२२ सालमा प्रेमविवाह भएको थियो । उनका पति हवाई जहाजका चालक थिए । यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे । तारादेवीका जवान छोरा शशि २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर श्रेष्ठ पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए । चार वर्षघि जागिर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए । तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन् । त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो । उनको महान् व्यक्तित्वमा पुनः हरियाली भर्न नइ प्रकाशनले पहल गर्यो । परिणामस्वरूप उनले २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन् । उनले जागिरबाट अवकाश पाएपछि तथा उनको छोरो शशि र पतिको देहान्तपछि तारादेवीको यो पहिलो गीत थियो :
आफ्ना भन्ने कति रै’छन् बाँच्तै जाँदा थाहा भयो
बाधाहरू थुप्रै रै’छन् हिँड्दै जाँदा थाहा भयो ।
नइ प्रकाशनको अग्रसरतामा नेपाली गीतिआकाशका २८ जना ख्यातिप्राप्त गीतकारहरूद्वारा तारादेवीमा ‘नेपाली गायनकी शिखर व्यक्तित्व’को सम्मानसहित सामूहिक अभिनन्दन गरिएको थियो । त्यतिमात्र होइन नइद्वारा सम्पादित ‘उकाली ओरालीहरूमा तारादेवी’ नामक तारादेवीविषयक संस्मरणात्मक ग्रन्थ पनि उनैद्वारा र्सार्वजनिक गरिएको थियो ।
तारादेवीले आफ्नो जीवनयात्राका क्रममा नेपालका विभिन्न भूभागमा गई गीत गाएकी थिइन् । साथै विभिन्न मुलुकहरूमा गई उनले नेपाली गायनको प्रत्यक्ष प्रस्तुति पनि गरेकी थिइन् ।
तारादेवीले नेपाली भाषामा तीन हजारभन्दा बढी गीत गाइन् । उनले लोकगीत, भजन र राष्ट्रिय गीतहरू पनि थुप्रै गाइन् । उनको नाउँ आधुनिक गीतमा बलियोसँग गाँसिएको छ किनभने यिनले पच्चीस सयभन्दा बढी आधुनिक गीतहरू मात्र गाइन् । यिनका पचास प्रतिशत गीतमा नातिकाजीको सङ्गीतसंयोजन जुटेको थियो । तारादेवीले नेपाली गीतका परम्परामा चार दशकभन्दा बढी समयसम्म गीत गाइन् ।
तारादेवी धनसम्पति, पद र सम्मानभन्दा माया, प्रेम र स्नेहकी भोकी थिइन् । वास्तवमा उनलाई माया गर्नु भनेको कलालाई माया गर्नु थियो, उनलाई सम्मान गर्नु भनेको कलाको सम्मान गर्नु थियो र उनको कदर गर्नु भनेको राष्ट्रियताको कदर गर्नु नै मानिन्थ्यो किनभने उनले जीवनभर नेपाली शब्दहरूलाई संसारभरि रहेका नेपालीका कानकान, मनमन र ढुकढुकी ढुकढुकीमा पुर्याइन् । गीतसङ्गीतको भाकामा यिनले कति आँसु झारिन् र कति हाँसो उडाइन् । अन्ततः उनी पनि यस लोकबाट हिँडिन् । २०६२ साल माघ १२ गते उनको स्वर्गा रोहण भएको थियो । त्यस दिन नेपाल टेलिभिजनले उनको दाहसंस्कारको प्रत्यक्ष विवरण आफ्ना लाखौं दर्शकमाझ प्रस्तुत गरेको थियो । वास्तवमा तारादेवी आधुनिक गायनयात्राकी नेपालदेवी नै थिइन् :
गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल ।