» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » डम्बरशमशेर थापा Dambar S Thapa

डम्बरशमशेर थापा Dambar S Thapa

डम्बरशमशेर थापा आफ्ना जमानाका हिरो थिए । उन बहुआयामिक व्यक्तित्वका धनी थिए । त्यसैले नेपाली भाषासाहित्यकी शारदाकालीन स्रष्टा प्रेमराजेश्वरी थापाले समेत आफ्नो नाउँ कुमारी ड.श.थापा लेख्ने गर्थिन् । लक्ष्मीप्रसाद देवकोटाले समेत पहिलो पल्ट कुमारी थापाकै कविताको समालोचना गरेर समालोचनाका फाँटमा आफूलाई प्रस्तुत गरेका थिए ।

केशरसिंह थापा र नुतनकुमारीका पाँच छोरा र चार छोरीमध्ये डम्बरशमशेर ठाहिँला छोरा थिए । डम्बरशमशेरको जन्म १९४० साल असार १७ गते काठमाडौंमा भएको थियो ।

थापाले सत्र वर्षको उमेरमा इन्ट्रेन्स पास गरे । त्यस बेला यिनको सपलतालाई राणा सरकारले दुई सय रुपियाँसहित दोसल्ला ओडाइदिएको थियो । साथै उनले एफ.ए.अध्ययनका लागि राणा सरकारबाट अठार सय भत्ता पनि पाए । उन्नाईस वर्षको उमेरमा उनले एफ.ए. पनि द्वितीय श्रेणीमा पास गरेर यिनले तीन सय रुपियाँ सहितको अर्को पनि दोसल्ला ओड्न पाएका थिए ।

थापाले उन्नाईस वर्षका उमेरमा काजी हरिविक्रम सिंहकी चौध वर्षीय छोरी भीमकुमारीसँग लगनगाँठो कसे । विवाह उत्सवकै दिन राणा सरकारले यिनलाई कप्तानको दर्जा दियो । अनि सरकारले नै यिनलाई बी.ए. अध्ययन गर्ने चाँजो पनि मिलाई दियो ।
थापाका तीन छोरा तीलक, श्रीप्रसाद र लोचन अनि तीन छोरी डोलाराजेश्वरी, दुर्गाराजेश्वरी र प्रेमराजेश्वरी जन्मे ।

थापाले काठमाल बन्दोबस्त र जैसी कोठा या परराष्ट्रको काम पनि गरे । त्यस बेला परराष्ट्रमा राम्रो काम गरेबापत उनको मेजरमा बढुवा भयो ।

थापालाई जुन काम दियो त्यसमा उनी निपूर्ण हुन्थे । त्यसैले श्री ३ चन्द्रशमशेरले उनलाई प्रायः आफ्नै साथमा लिने गर्थे । एकपटक चन्द्रशमशेर शिकार खेल्न चितौन गएका थिए । त्यस बेला पनि यी आफ्नो बिजूलीप्रसाद नाउँको हात्तीलिएर चितौन गएका थिए । चन्द्रशमशेर सिकार खेल्ने सिलसिला थिए । त्यस बखत हात्तीको घेराभित्र बाघ पसिसकेको थियो । अनि ठीक त्यसै बेला चन्द्रशमशेर हात्तीबाट अकस्मात भूइँमा खसे । त्यस घडी एउटा बाघ राणालाई झम्टन तयार भइरहेको बेला डम्बरशमशेर थापाको हात्ती बिजुलीप्रसादले राणालाई झ्वाट्टै काँधमा बसाउन भ्यायो । अनि राणा बाघको मुखबाट उम्के । उनको काल टरेपछि उनले यो सारै इमान्दार हात्ती रहेछ भनेर आफ्नो नीजी बनाए । तर ज्यादै हर्ष भएकाले राणाले थापालाई त्यस हात्तीको पैसा दिन पनि भुले । अन्ततः त्यो बेहोरा भुलैभुलमा सकिएको थियो ।

थापाको इमान्दारीता साँच्चैको थियो । त्यसैले राणा सरकारबाट उनले जङ्गी बन्दोबस्ता र राइफल तोपखानाको हाकिमको महत्वपूर्ण जिम्मा पनि पाए ।

१९६४ सालको कुरा हो । त्यस बेला नेपालमा भरखरै मोटर आएको थियो । मोहनशमशेरले थापालाई थानकोटसम्म मोटर पु¥याएर ल्याउनु भन्ने आदेश दिए । थानकोटबाट फर्केका बेला बल्खुको पुलबाट मोटर खस्यो । थापा मोटरबाट फाल हालेर बाँचे । त्यस खालबाट बााचेकोमा यिनलाई दोसल्ला ओडाएर राणाले पुरस्कृत गरेका थिए ।

थापा आफ्नो योगदानले लेफ्टिनेन्ट कर्णेल पनि भए । त्यसै बेला उनी श्री ३ चन्द्रशमशेर बेलायतबाट फर्केका बखत यिनलाई सुरक्षाको प्रमुख बनाइएको थियो ।

१९६८ सालको कुरा हो; नेपाललाई भारतको लाहोर अदालतमा मुद्दा परेको थियो । सो मुद्दा मिलाउन राणा सरकारले थापालाई नै पठाएका थिए । अनि उनले अनेक जुक्ति ख्याएर उक्त मुद्दाको मिलापत्र गराएका थिए । नेपालका लागि यो पनि महत्वपूर्णको मानिन्थ्यो ।

थापालाई बेलायतका जर्ज पञ्चमले नेपाल आएताका शिकार खेल्ने ठाउँमा लगे । उनी प्रसन्न भएर पुरस्कृत पनि गरे । त्यति मात्र होइन १९७१ सालमा युरोपको महायुद्धमा नेपालले वृटिशलाई सहयोग ग¥यो । त्यसै प्रयोजनका लागि कालीबहादुर पल्टनको कमाण्डिङका रूपमा थापालाई हिन्दुस्थान खटाइएको थियो ।

१९७६ सालको कुरा हो; थापा धनकुटा गौंडाको बडाहाकिम भए । त्यस बेला त्यहाँ लिम्बुहरूले क्रान्ति गरिरहेका थिए । तर उनी पुगेपछि उनले त्यस ठाउँलाई शान्तिक्षेत्र कायम गरे । त्यस बखत उनलाई त्यस भेकका साराले न्यायमूर्ति माने ।

केही वषपछि नेपालमा दासत्वमोचन हुने घोषणा भयो । तर पल्लो किरात र माझ किरात मेची कोशीको भेकमा त्यस प्रथालाई कायमै गराउने अड्डि भइरह्यो । अनि त्यहाँ पनि उनी पुगे र यस कामलाई सफल पारे । त्यसै बखत उनले धनकुटामा कलधारा राखे, तमोरको मूलघाटमा पूल थापे । लिम्बूको किपट प्रथामा कायम राखिदिए, अनि ओलाङ्चूङ गोलासम्म मान्छे हिँड्ने बाटो खनिदिए । उनले त्यस बेला त्यस भेकमा गरेका कामहरु एतिहासिक भए ।

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडको थापा संस्थापक डाइरेक्टर पनि भए । उनले नेपालभरि ठाउँठाउँमा नापी हुँदा नेतृत्व पनि दिए । त्यस बेलाका रैतीलाई न्याय दिने उनी पक्का न्यायाधीश थिए । त्यसैले राणाले उनलाई कमाण्डिङ कर्णेलको पदले सुशोभित गरे । त्यस कालमा जनताका छाुरालाई त्योभन्दा ठलो पद दिन पाइदैनथ्यो । त्यसैले उर्नी कमाण्डिङ कर्णेलमा नै सिमित भए ।

पद्मशमशेरलाई नेपालमा प्रधानमन्त्रीको कुर्सीमा बस्न गाह«ो भयो । उनी रक्तचापको औषधी गर्छु भनेर भारतको राँची पुगे । अनि थापालाई नै त्यहाँबाट राणा फर्काउन या राणाको राजिनामा लिन पठाइयो । त्यति बेला राणाले थापालाई भने, “यो अवस्थाको मुलुकको काम अब मै गर्न सक्तिन बरु पद त्याग गरिदिन्छु ।” अन्ततः थापाले राणाको पदत्यागकै पत्र लिएर नेपाल आए ।

२००७ सालको प्रजातन्त्र पछि बनेको पहिलो सरकारको थापा रक्षा सचिव भए । उनले त्यस बेला पनि आफ्नो स्वच्छ छवीलाई जनमन छुने बनाएका थिए ।

थापाले आफ्नो जीवनमा महत्वपूर्ण राष्ट्रसेवा गरेबापत राणा सरकारबाटै नेपाल तारा पाएका थिए । उनी देशविदेशका झन्नै एक दर्जन विभूषण र अलङ्कारबाट विभूषित भए ।

आहारबिहार राम्रो भएकाले डम्बरशमशेर थापाको स्वास्थ्य पनि राम्रो थियो । उनी २०२७ सालको असार १७ गते स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी