» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » लीलासिंह कर्मा Lila Singh Karma

नइको चिनारी


लीलासिंह कर्मा Lila Singh Karma

लीलासिंह कर्मा भन्थे, ‘जातलाई होइन विचारलाई सम्मान गर ।’ यही आदर्शमा बाँच्न चाँहदा उनी जीवनभरि शक्ति, पैसा र अवसरका पछि लागेनन् । त्यसैले त्यस बेला यिनको त्याग, योग्यता र निष्ठाको कदर भएको पनि थिएन । उनका साथीहरू कोही मन्त्री, कोही माननीय र कोही प्राज्ञ बनेका थिए । तर उनी हात जोड्दै कहीँ गएर कुप्रो परेनन्  । भोकले पेट दोब्रिदा पनि उनी भन्थे ‘अपमानित भएर बाँच्न हुँदैन ।’

नेपाली परिवेशमा कर्माले आफ्नो कर्तव्यलाई साक्षी राखेर एकोहोरो काम गरेका थिए । बहुआयामिक भए तापनि उनले म यो र म त्यो भनेर कहिले आफ्नो डम्फू बजाएनन् । जीवनमा जस्तै दुक्ख पर्दा पनि बरु उनी अँध्यारोमा नै बसे तर कसैसँग झोला थाप्न पुगेनन् ।

२००७ सालदेखि कर्मा नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए । राजनीतिमा उनको आफ्नो गच्छेनुसारकै वर्चस्व थियो, साहित्यमा पनि उनको आफ्नो विशिष्ट योगदान थियो र पत्रकारितामा पनि उनी अब्बलदर्जामा स्थापित भए । उनले फोहोरी राजनीति खेलबाट युवावस्थामा नै खुट्टा झकिेका थिए । अनि त्यति बेलादेखि उनी बाँचुन्जेल नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि मात्र समर्पित भइरहे । साथै उनले आफ्नो निष्ठाको पेसा पत्रकारितालाई पनि पछिपछि र निक्कै पछिसम्म पनि समातिरहेका थिए । वास्तवमा २०१७ सालदेखि उनले राजनीति सिद्धान्तको भारी फुत्त फालेर उनी स्वतन्त्र रूपले हिंडेका थिए

कर्माको जन्म १९९३ साल जेठ १७ गते सिन्धुलीगढीमा भएको थियो । यिनका बुबा भीमबहादुर कर्माचार्य र आमा महालक्ष्मी कर्माचार्यका आठ जना छोराछोरीमध्ये यी माइला थिए । त्यो घन्चमन्च परिवारभित्र यिनको पनि व्यक्तित्व विकास गर्ने ठाउँ थियो तर सानैमा रोगाएर हरेक मौकाबाट यी बन्चित हुँदै गएका थिए ।

कर्मा जन्मँदै रोगी थिए । त्यसैले जिन्दगानीको आरम्भदेखि नै उनलाई उच्च रक्तचापले समाएको थियो । साथै २०१७ सालदेखि उनलाई पक्षघात पनि भएको थियो । त्यो घातले उनको देब्रे खुट्टोमा जरा गाडेको थियो । त्यसैले जीवनमा उनले दुक्खैदुक्खको यात्रा गरेका थिए ।

बाल्यकालदेखि नै कर्माले शारीरिक परिश्रम पनि गरे । त्यति बेला यिनले आफ्नो र पर्राईको मेलापातको काम गरे, दाउराघाँस बोक्ने काम गरे र गाईबस्तु चराउने पनि काम गरे । वास्तवमा मिहेनत उनको जीवनको सग्लो प्रमाणपत्र थियो । त्यही प्रमाणपत्र बोकेर उनले आफ्नो पूरै भौतिक जुनी तुरेका थिए ।

कर्मा प्रौढ विचारले खारिएका थिए । त्यही कारणले उनले कसैप्रति पर्ूवाग्रह पनि राखेनन्, कसैसँग आशा पनि गरेनन् र कसैलाई दुक्ख दिने प्रयास पनि गरेनन् । तर उनले चाहिं पीडैपीडामा भौतारिनु परेको थियो, अभावैअभावमा रन्थनिनु परेको थियो र समस्यैसमस्यामा लुकामारी खेल्नु परेको थियो । उनका छातीमा जति हुरी चले पनि, जति आँधी आए पनि र जति असिना बर्से पनि उनले त्यो बेहोरा कसैसामु पोखेका थिएनन् ।

कर्माको जीवनको मूल सिद्धान्त मानवतावाद थियो । त्यसैले उनले जीवनमा सकेको अर्काको उपकार गरिरहे । उनी कसैको खोइरो खन्ने र जरा काट्ने प्रवृत्तिको विरोधी थिए । त्यसैले उनी नेपाली साहित्य र पत्रकारितामा मात्र एकनिष्ठ भएर लागिरहे ।

कर्माले दुक्ख सुक्खले पढेका थिए । सकेसम्म उनी आफ्नै खुट्टामा उभिन पनि खोजे र आफूलाई पार लगाउन पनि सफल भए । त्यही रीतमा डुब्दाडुब्दै उनले बनारसबाट स्नातक पनि उत्तीर्ण गरेका थिए ।

आफ्नै खुट्टामा टेक्ने हिसावमा कर्माले सिन्धुलीको खनिया खर्कको प्राथमिक स्कुलमा शिक्षण गरे । त्यसपछि २०१८ सालमा उनी राष्ट्रिय समाचार समितिमा प्रवेश भए । उनले निरन्तर त्यही संस्थामा रहेर काम गरे । अनि २०५३ सालदेखि उनले रासस छाडेका थिए ।

कर्माले लोकबहादुर बोगटीकी छोरी शारदासँग प्रेम गरेका थिए । अनि २०१८ सालमा उनीहरूले एकअर्काको घरको मञ्जुरीविनै विवाह गरे । त्यसपछि झन् यिनको जीवनम आर्थिक कष्टले रन्थन्याउनु रन्थन्याएको थियो । अनेक कसरत गरेर यिनले आफ्नो जीवनवृत्ति चलाएका थिए । त्यसैवीच यी दम्पतिले उत्तम, उषा र उमा जन्माए । यी दम्पतीले तीनै जना सन्तानलाई उच्च शिक्षा पनि दिए र क्रमशः उनीहरूले पनि आमा बुबाको सेवा गर्न थालेका थिए ।

कर्माले नेपाली भाषा साहित्यमा १२ वटा ग्रन्थहरूको प्रकाशन गरे । उनी रचित गीतसङ्ग्रह चारवटा प्रकाशनमा आए । युवावस्थासम्म उनी गायक पनि थिए । उनका केही गीत रेडयो नेपालमा रेकर्डिङ पनि भए । साथै उनले लोक साहित्यमा पनि नाउँ कमाएका थिए । त्यसबारे उनका तीन वटा कृति प्रकाशनमा आए । उनले निबन्ध विधाका ५ वटा कृति लेखेका थिए ।

कर्मा अति सादा भएर हिँड्थे । उनको पहिरन पनि सादा नै हुन्थ्यो । उनी बोल्दा पनि सादा बोल्थे । उनी अहङ्कार र घमण्डलाई मन पराउँदैन थिए । उनी आफ्नो काम लुरुलुरु गर्थे । उनको जीवनको सबैभन्दा ठूलो गुण उनी फलको आशा गर्दैन थिए ।

कर्माले आफ्नो अति नाजुक आर्थिक अवस्था सुधार्न सकेनन् । तर त्यस्तो विकट परिस्थितिसँग जुधेर पनि उनले आफ्नो लेखकीय व्यक्तित्वको नेपाली समाजमा टड्कारो परिचय दिएका थिए । वास्तवमा उनी हिँड्दैजाँदा जेजस्तो चमत्कार देख्थे त्यस्तैत्यस्तै बिम्ब समाएर निबन्ध, गीत र प्रबन्ध लेख्थे । कसैले माया गरेको छ भने उसका बारे पनि कनिकुथी केही न केही लेखिदिन्थे । वास्तवमा उनी कसैको कुनै प्रकारको ऋण थाप्लोमा बोक्न नै चाहँदैन थिए ।

कर्माले युनेस्को पुरस्कार, साझा लोकसाहित्य पुरस्कार, रासस स्वर्ण्र्ााक, सुनकोशी साधना सम्मान पनि पाएका थिए । साथै २०५५ सालमा यिनलाई देवकोटा प्रतिष्ठान (हाल त्रिमूर्ति निकेतनमा समाहित) ले आफ्नो आर्थिक गच्छे अर्पण गरेर विद्वतवृत्ति प्रदान गरेको थियो ।

उत्तरार्धमा कर्मा आफ्नो घर जनकपुरको बरमपुरीमा बस्तै आएका थिए । त्यसै बेला उनलाई हृदयघात भयो । उनी २०५८ साल फागुन २५ गते आफ्नै जन्मगृहमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश