» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » रामनारायण श्रेष्ठ Ram Narayan Shrestha

रामनारायण श्रेष्ठ Ram Narayan Shrestha

रामनारायण श्रेष्ठको जन्म १९८५ साल कात्तिक २० गते धनकुटामा भएको थियो । शिवनारायण श्रेष्ठ र घ्यूकुमारी श्रेष्ठका छोरा रामनारायण सानैदेखि परोपकारी भावनाले पोख्त थिए । उनी बाल्यकालदेखि नै अनुशासित, भद्र र मेहनती थिए । पढाईमा पनि उनी सानैदेखि विशेष रुचि राख्थे । त्यसैले यिनलाई स्कुले शिक्षा प्रदान गर्न दार्जिलिङ पु¥याइएको थियो । यिनले स्नातक चाहिं अलाहावादबाट गरेका थिए । त्यसपछि उनी एक सुरमा समाजसेवामा घोटिन थाले र यिनले आफ्नो पढाईलाई पनि त्यतिमै बिट मारे ।

श्रेष्ठले जति आफूले पढे त्योभन्दा धेरै अरुलाई नै पढाए । उनी आपूm स्नातकबाटै ठप्प रहे । किनभने आपूmले पढ्न थाल्दा अरूले पढ्न नपाउने यिनले सम्भावना देखे । वास्तवमा उनी पढ्न र पढाउनमा मात्रै सीमित थिएनन् । उनी जनस्वतन्त्रताको रक्षा भएको पनि देख्न चाहनथे । त्यही सिलसिलामा यी विश्वेश्वरप्रसाद कोइरालासँग पनि टाँस्सिन पुगे । कोइराला र गणेशमान सिंहको आडमा यिनले नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो बुता पनि प्रयोग गरे । त्यसैले बीपी कोइरालाले यिनलाई सत्याग्रहमा सम्मिलित हुन इलाम पठाएका थिए । तर त्यसै घडी यिनलाई राणाका सेनाले पक्रे र कक्रयाक कुक्रुक पारेर जेलखाना पु¥याए । त्यस बेला यी सात दिन जेलमा बसेका थिए ।

श्रेष्ठको १९ वर्षको उमेरमा धनकुटाका डिठ्ठा शङ्करकुमार श्रेष्ठ र जानकी श्रेष्ठकी छोरी चञ्चलादेवी श्रेष्ठसँग विवाह भयो । विवाहपछि यिनीहरू नारिएर घर व्यवहारमा लागिपरे । अनि श्रीमतीले घरको पूरै अविभारा लिएपछि यी पूर्णरुपमा जनसेवामा नै केन्द्रित भएका थिए । यी दम्पत्तिले तीन छोरा लब, कुश र महेन्द्र अनि एउटी छोरी रेखा पनि जन्माए ।

श्रेष्ठ सङ्गठन गर्न पनि सिपालु थिए । भारतको इलाहावाद विश्वविद्यालयमा अध्ययन गर्दा यी नेपाल विद्यार्थी सङ्घको सांस्कृतिक सहायक सचिव थिए । त्यहाँ बसेर पनि यिनले नेपाल र नेपालीको थुप्रै प्रचार गरे ।

श्रेष्ठले विद्यार्थी जीवनमा नै धनकुटामा सार्वजनिक शिक्षा निकेतनको नाउँबाट पुस्तकालय स्थापना गरे । उनैको गुरुत्तर भूमिकाले २०१२ सालमा धनकुटामा डिग्री कलेजको पनि स्थापना भएको थियो । सो कजेल सञ्चालनका लागि यिनलाई मन, वचन र कर्मले सहयोग गर्ने अर्का वीर पुरुष थिए कर्णेल भक्तबहादुर बस्नेतल ।

क्षयरोगको प्रकोप बढेकाले श्रेष्ठले धनकुटामै त्यसबारेको सहयोगको आन्दोलन पनि चलाए । अनि जनहितका लागि यिनले त्यहीं हिमालय स्वास्थ्य मन्दिर खोले । क्षयरोगीका लागि टीबी सेनिटोरियम स्थापना त्यो भेकका लागि अति महत्वको थियो ।

श्रेष्ठको कलेज, पुस्तकालय र स्वास्थ्य संस्थाले जनजनमा राम्रो काम देखायो । यिनले धेरैलाई पढाए, र थुप्रै रोगीलाई बचाए । यो कुरा राजा महेन्द्रले पनि चाल पाए । अनि यिनैको विन्तीभाउले राजा महेन्द्र त्यस संस्थामा प्रमुख संरक्षक भए । महेन्द्रले त्यसपछि त्यो स्वास्थ्य संस्था आफ्ना आँखामा पनि हाले । अनि उनले त्यहाँ जग्गाको पनि बन्दोवस्त मिलाई दिए । त्यतिले नपुगेर राजाले नै आर्थिक अनुदान पनि दिए । साथै उनैको हुकुमले त्यहाँ भवन पनि बन्यो । त्यसपछि राजाले लगत्तै श्रेष्ठलाई बडाहाकिमको दर्जा दिए । अनि त्यस संस्थाले चाहिं हावा खायो । क्रमशः उनले स्थापना गरेका अन्य सामाजिक संस्था पनि लथालिङ्ग हुन थाले र स्वास्थ्य संस्था चाहिं गल्र्यामगुर्लम भत्कियो नै ।

श्रेष्ठको राष्ट्रप्रतिको समर्पण र कुशलताको कदर गर्दै राजा महेन्द्रले यिनलाई २०१८ सालमा मकवानपुरको बडाहाकिम नियुक्ति गरेका थिए । सो पद राष्ट्र र जनताका लागि उपयोगी भए तापनि धनकुटाका लागि त्यतिसारो फलदायी देखिएन । तर उनले बडाहाकिम भएर पनि तन, मन र धनले राष्ट्रको सेवा गरेको बेहोराले फेरि राजाको कान समाएको थियो । अनि पुनः यीप्रति राजाको मन पग्लेको थियो । त्यसैले त्यसै पदको थप बढुवामा यी झापामा पनि पुगे । यिनले त्यहाँको विकासमा आफ्नो पतलो कम्मर मर्काए । भनौं त्यहाँ पनि उनले आफ्नो पौरखी पसिना बगाए । उनैले त्यहाँका युवाहरूलाई सङ्गठित गरे । यिनीहरूलाई ग्रामीण विकासबारे ज्ञान दिन यिनले अभियानै चलाए । त्यसैबेला यिनले त्यहाँ राष्ट्रिय बहुमुखी प्रशिक्षण केन्द्र खोले । यिनको योगदानको कदरस्वरुप केही वर्षमै यी नारायणी र त्यसपछि राप्ती अञ्चलाधीशमा पनि नियुक्त भए ।

श्रेष्ठ जहाँ जान्थे पहिला बाटो बनाउँथे, दोस्रो स्वास्थ्य सेवाको स्थापना गराउँथे र तेस्रो शिक्षण संस्थाका लागि पाइला चाल्थे । तर उनी एक मिनेट पनि हात बाँधेर चाहिं बस्न सक्तैन थिए ।

श्रेष्ठकै मिहेनतमा भीमफेदी–काठमाडौँको मोटरबाटो निर्माण भयो । उनैको तपस्याले दाङ कोइलाबास अनि तुलसीपुर सल्यानको मोटरबाटो निर्माण भयो ।

श्रेष्ठ काम गराईमा इमानदार थिए । उनी मन, बचन र कर्मले आफ्नो जिम्मेवारी निर्वाह गर्थे । उनकै भावनाको कदरस्वरुप उनी गृहमन्त्रालयको तालीम प्रमुख पनि भए । अनि उनी २०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रहमा निर्वाचन आयोगको सचिवमा नियुक्त भए । त्यसपछि उनी स्थानीय विकास मन्त्रालयको गठनसँगै त्यहाँको सचिव पनि भए । उनी काम, काम र काममा नै जोत्तिरहेका बेला लोकेन्द्रबहादुर चन्दको मन्त्रीपरिषद्ले यिनको जरा उखालेर धोइपखाली गरिदियो ।

२०४० सालमा कानो सरकारले बडारेपछि श्रेष्ठ धनकुटामा गए । त्यहाँ उनले विश्रान्ति मन्दिरको स्थापना गरे । विश्रान्ति मन्दिर भन्नु जेष्ठ नागरिकको सेवामा समर्पित संस्था हो । त्यस मन्दिरमा उनले १०० जनासम्मले बस्न र खान सक्ने व्यवस्था गरे । यो मन्दिर समाजसेवाकौ फाँटको एउटा नमुना संस्थाका रुपमा रुपान्तरित भयो । धनकुटाको तमोर नदीको गडतिरमा स्थापित यस मन्दिरको यी सुरुदेखि जीवनपर्यन्त अध्यक्ष थिए । समाजिक सेवामा उनको योगदानकै कारण २०६२ सालमा सरकारद्वारा उनलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा मनोनीत गरिएको थियो । साथै श्रेष्ठ नेपाल चर्खा प्रचारक गान्धी तुलसीमेहर महागुठीका अध्यक्ष पनि थिए ।

श्रेष्ठले नेपालमा समाजमा जति गरे धेरै नै गरे । त्यसैले यिनले राजदरबार, सिंहदरबार र जनस्तरबाट विभूषण, सम्मान र पुरस्कारहरू पनि पाइरहे ।

श्रेष्ठ २०६९ साल जेठ ७ गते उपचारका क्रममा काठमाडौँमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी