» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » प्रजाराज्यलक्ष्मी Praja Rajya Laxmi

प्रजाराज्यलक्ष्मी Praja Rajya Laxmi

एक पटक राजा त्रिभुवनले साहेबज्यू रणविक्रम शाहसमक्ष मुख फोरेका थिए– ‘ए दाइ ! खड्गमान सिंहलाई हजुरकी छोरी दिनुपर्यो ।’ राजाका कुरा सुनेर शाह छक्कै परे । ती सम्बादले उनी कति छक्क परे भने तीन छक्क परे । जीवनमा उनले त्यस्तो उल्का कुरा सुनेको त्यही पहिलो चोटि थियो । त्यो कुरा पनि राजैबाट सुन्दा उनी छाँगाबाट खसेसरि थिए ।

प्रचण्ड गोर्खाका संस्थापक खड्गमान सिंहलाई राणाले खोरभित्रै चरा राख्नेजस्तै ठूलो पिँजडामा २० वर्ष राखेका थिए । तर २००७ सालको जनक्रान्तिले उनी पनि जेल मुक्त भएका थिए । भरखरै जेलबाट निस्केकाले हिंड्दा उनका पाइला टुङ्गामा नटेकिंदा उनी घरिघरि बतासिन्थे । अनि त्रिभुवनले विहेको कुरा चलाएताक अर्थात् २००८ साल मङ्सिर १ गते उनी मन्त्रीमा आसिन थिए ।

२० वर्ष जेलको पिंजडामा बसेर भरखरै निस्केका मान्छेको बिहेको कुरा राजाको मुखबाट एक्कैचोटि सुन्दा सुन्ने मान्छेलाई नै काउकुती लाग्थ्यो । तर पनि राजा त्रिभुवन रणविक्रम शाह समक्ष एकोहोरो बोलिरहे, ‘खड्मानलाई म जग्गा दिन्छु र घर पनि बनाइदिन्छु । हजुरले प्रजाराज्यलक्ष्मी दिनुप¥यो ।’ साहेबज्यूलाई छोरी दिन राजाबाट झनै दवाव प¥यो । अनि शाहले कन्यादान गर्ने नै निर्णय गरे ।

खड्गमान सिंहले राजा त्रिभुवन र प्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालासमक्ष सिन्दूरपोते मात्र गरेर बिहे गर्ने इच्छा जनाए । सिंहको प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले भने, ‘भरखरै राणा खत्तम भएका छन् । उनीहरूको हक जनताले पनि पाए भनी जनाउन पूरा सम्मानसाथ विवाह सम्पन्न गर्नुपर्छ ।’

प्रजाराज्यलक्ष्मीदेवी शाहको र मन्त्री खड्गमान सिंहको विहे तडकभडकका साथ सम्पन्न भयो । त्यस विहेमा १७ तोपको सलामी पनि लाग्यो । त्यस रौनकले राजधानी नै उचालिएको थियो । एउटा सत्तलमा बस्ने टुहुरो र अनाथ मान्छेको राजा त्रिभुवनको दवावमा पृथ्वीनारायण शाहको वंशमा जन्मिएकी नारीसँग बिहे भयो । त्यो बेहोराले ठूलो हलचल ल्याएको थियो । खड्गमान सिंहलाई नजान्ने र नचिन्नेले पनि प्रजाराज्यलक्ष्मीको सिन्दुर पोतेले चिनाउन थप मद्धत गरेको थियो । पछि यी दम्पत्तिले एक जना छोरा जन्माए— सुमनसिंह बस्नेत ।

तत्कालीन समयमा साहेबज्यूका छोरीचेलीले स्कुल गएर पढ्ने चलन थिएन । त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रजाराज्यलक्ष्मीदेवीलाई घरमा गएर पढाउँथे । त्यसै परिवेशमा उनले नेपालबाट म्याट्रिक पास गरिन् र भारतको इलाहावादबाट आइए पास गरेकी थिइन् ।

प्रजाराज्यको वैवाहिक जीवन कायम भएपछि उनी राजनीति र समाजसेवामा कस्सेर लागेकी थिइन् । आफ्ना पतिको रायसल्लाह स्वीकारेर उनी त्रिभुवन स्मारक समिति र तुलसीमेहर गान्धी स्मारक समितिमा पनि सक्रिय थिइन् ।

प्रजाराज्य सानैदेखि जनमनमा भिज्न खोज्थिन् । त्यसैले विहेपछि उनी समाजसेवा र राजनीतिमा बराबरी सकृय थिइन् । उनी नेपाल महिला सङ्गठनमार्फत राष्ट्रको विधायक राष्ट्रिय पञ्चायतको सदस्य भइन् । त्यसैताक उनले उपाध्यक्षमा उमेद्द्वारी दिइन् । त्यतिबेला अरू पाँच जनाले पनि उमेद्द्वारी दिएका थिए । २०२५ साल असार १४ गते उनले त्यस पदको सिंहासन भेटेक िथिइँन् र उनी प्रथम राष्ट्रिय पञ्चायत उपाध्यक्षमा अभिलेखित नारी थिइन् ।

प्रजाराज्यले नेपाल महिला सङ्गठनको सचिव भएर पनि धेरै काम गरिन् । उनी चाहे मेचीमा पुग्थिन् र चाहे महाकाली अञ्चल पुग्थिन् सबै ठाउँमा नारीहीतका लागि घूँडो र मुन्टो गर्थिन् । एउटा सम्पन्न परिवारमा जन्मिहुर्केकी भए तापनि उनी जनहृदयमा गाँसिएकी समाजसेवी थिइन् । उनी शिक्षणसेवालाई पनि अपरिहार्य मान्थिन् । त्यसैले उनले काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा पनि निश्ुल्क रूपमा पढाएकी थिइँन् ।

खड्गमान सिंह पञ्चायती अञ्चलाधीशमा पनि नियुक्त भए । नेपालका विभिन्न डाँडाकाँडामा आफ्ना पति जहाँजहाँ जान्थे प्रजाराज्य पनि त्यहीँत्यही पुग्थिन् । वास्तवमा त्यसै परिवेशमा उनले पनि नेपालका विभिन्न भूभाग कुल्चने मौका पाइन् । त्यति खेर उनले नारीहीत, नारीजागरण र नारी प्रौढशिक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनैले प्रौढ नारी शिक्षाका लागि नन्दी रात्री विद्यालयको स्थापना गरिन् र नन्दी विद्यालय खोल्नका निम्ति पनि गुरुत्तर भूमिका निभाइँन् । उनीसँगै नारीजागरणमा हिंड्ने कमल राणाका अनुसार ‘प्रजाराज्यले राष्ट्रहीतका लागि जुन काम गरिन् मन, वचन र कर्मले नै गरिन् ।’

प्रजाराज्य आफ्ना पति राजदूत भएपछि सँगसँगै नारिएर होस् या आफ्नै नेतृत्वमा होस् आयरल्यान्ड, जर्मनी, बेलायत, इजरायल, पाकिस्तान, इरान र टर्की पनि पुगिन् । यी जहाँजहाँ जान्थिन् नेपाली महिलाको हक, हीत र मर्यादाको विषयमा नै केन्द्रित हुन्थिन् । भद्रकुमारी घलेका अनुसार ‘आफ्नो समयमा प्रजाराज्यलक्ष्मीको जनस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको आफ्नै परिवेशको पहुच थियो । यतिहुँदाहुँदै पनि उनी सादा जीवन र उच्च विचारले कुँदिएकी विरङ्गना थिइँन् ।’

प्रजाराज्य नेपाली जनताको व्यथालाई पढेकी थिइन् । त्यसैले आफ्नो चेतनाको विकास हुन थालेपछि उनी राणाको अन्त्यका लागि प्रार्थना गर्थिन् । उनी हक्की पनि थिइन् । उनीमा दया, करुणा र स्नेह भरिएकी थिइन् । उनी सानैदेखि तीक्ष्ण स्वभावले कुँदिएकी थिइन् । उनी सिलाइबुनाइमा आफ्नो सीप पोख्थिन् । साथै उनी व्याडमिन्टन र बुद्धिचाल खेलमा खुबै रुचि राख्थिन् ।

प्रजाराज्य सादा थिइन् । खड्गमानसँग बिहे गरेपछि उनी झनै सादामा रूपान्तरित भइन् । किनभने उनका पति सादा जीवन र उच्च विचारका सग्लो नमुना थिए । त्यसैले उनी झनै नरम बोलीचालीमा अनुवाद हुन थालिन् । साथै दान, धर्म र त्याग उनको जीवनको नैसर्गिक विशेषता थियो ।

रणविक्रम शाह र रणराज्यलक्ष्मी शाहकी एउटै छोरी प्रजाराज्यलक्ष्मी १९८० सालमा काठमाडौंमा जन्मेकी थिइन् । अनि उनले आधा शताब्दीजति मात्र पृथ्वीमा जीवनभोग गरिन् । घाँटीमा क्यान्सर उब्जेका कारणले उनले आफ्नो रचनात्मक कार्य धेरै गर्न भ्याइनन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी