» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » पारसमणि प्रधान Paras Mani Pradhan

पारसमणि प्रधान Paras Mani Pradhan

पारसमणि प्रधानका बाजे चिन्तामणि शाक्य ओखलढुङ्गाबाट कामको खोजीमा ललितपुर आएका थिए । तर यहाँ पनि उनको दिनचर्या राम्रो भएन । त्यसैले उनका छोरा भाग्यमणि भिक्षाचार्यले चौध वर्षको उमेरमै नेपालबाट भारतको काशीतिर फड्का हाने । त्यहाँ उनको सर्म्पर्क पुस्तक प्रकाशक पं.हरिहर शर्मासँग भयो । त्यहाँको प्रेसमा केही समय काम गरेर उनी दार्जीलिङको कालेबुङ पुगे । उनी त्यतै बसे र त्यस ठाउँमा उनी जुल्फे नेवारका नाउँबाट चिनिए ।

भाग्यमणि भिक्षाचार्य अर्थात् जुल्फे नेवार र लक्ष्मीमाया नेवार्नीले त्यही ठाउँमा घरजम गरे र आफ्नो पसिना रोपे । अनि त्यहीँ उनीहरूले पारसमणि जन्माए ।

पारसमणिको जन्म १९५५ साल पुस १८ गते भएको थियो । पारसमणिले चाहिं आफ्नो थर प्रधान लेखे । प्रधानले पनि त्यहीँ ठाउँमा आफ्नो जरा गाढे ।

प्रधान सानैदेखि तीक्ष्ण थिए । उनी पढ्न लेख्न भनेपछि मरिमेट्थे । उनलाई १६ वर्षम्म प्रशमान नाउँमा बोलाइन्थ्यो । सुरुमा उनले प्रशमानका नाउँमा पनि लेखे ।

प्रधानले सानैदेखि आफ्नो घरको काम र शिक्षालाई बराबरि मान्यता दिए । उनी आफ्नो संस्कृतिलाई गोडमेल गर्थे । त्यसैले उनी कालेबुङमा छिटै चर्चित भए । त्यति बेला उनी जती कुरा गर्थे नेपाली भाषा कै कुरामा पूर्ण विराम हाल्थे । 

प्रधान बिहे गर्ने बित्तिकै म्याटि्रकको तयारी गर्नुछ भनेर कालेबुङबाट दार्जीलिङ लागे । सञ्जय विष्टका अनुसार वर्ष दिनसम्म पनि आफ्ना पति घर नआएपछि उनकी पत्नी अन्तै हिँडिन् । त्यसपछि प्रधानले फेरि गोपालसिंह मल्ल र इन्द्रलक्ष्मीकी छोरी जसमायाँ नेवार्नीसँग बाजा बजाए । अनि यिनीहरूका सात जना छोरा र तीन वटी छोरी जन्मे ।

प्रधान स्कुल पढेदेखि नै सङ्गठनमा जागरुक थिए । उनी सानैदेखि साहित्य संस्कृतिको मर्यादा गर्थे । उनी शिष्ट रूपमा साहित्य लेख्थे । यौन साहित्यलाई उनी अशिष्ट मान्थे । त्यसैले उनले रूपनारायण सिंहलाई टाढैबाट नमस्कार गरे । सिंह बाहेक उनले नेपाली स्रष्टाहरू भेला गराउने पनि काम गरे । त्यसै परिवेशमा उनी ‘हिन्दी साहित्य समाजको सचिवमा चुनिए । अनि त्यस संस्थामा उनले नेपाली भाषासाहित्यका किताब पुर्‍याउन थाले । तर त्यस पुस्तकालयबाट नेपाली भाषाका किताब झिकेर मिल्काउन थालेपछि उनले त्यस ठाउँबाट आफ्ना हातमा सावुनपानी लागाए । अनि उनले ‘गोर्खा साहित्य समाज’को स्थापना गरे । त्यहीँ उनले नेपाली भाषाको एउटा राम्रो पुस्तकालय पनि खोले ।

स्कुले शिक्षा सकिएपछि प्रधानले प्रेसमा काम गर्दै पढे । त्यति बेला उनी कम्पोजिटर थिए । त्यही क्रममा उनले स्नातक गरे । अनि उनले प्रेस पनि खोले र त्यसैलाई उनले आफ्नो व्यवसाय बनाए । त्यसै कामबाट उनले घरव्यवहार पनि धाने । त्यस बेला हातले एउटाएउटा अक्षर जोडेर कम्पोज गर्नुपथ्र्यो । उनी आफ्नो प्रेसमा आफैं कम्पोजिटर थिए । त्यस प्रेसमा छापिएका सबै किताबको उनी आफैं बाइन्डिङ गर्थे । त्यस काममा उनी आफ्ना छोराहरूलाई पनि जोत्थे र भन्थे ‘कम्पोजिङ गर्दागर्दै थाकेउ भने तिमीहरूले वैण्डिङ गर्नु ।’ उनको प्रेसको नाउँ मणि प्रिन्टिङ प्रेस थियो । त्यस प्रेसको विशेषता के थियो भने प्रेस मालिकहरूले नै प्रेसको सम्पर्ूण्ा काम गर्थे ।

प्रधान बाहिरबाहिर भूइँमा सुत र भित्रभित्रै नैनासुत थिए । साहित्यका उनी तपस्वी थिए । सूधपा अर्थात र्सर्ूयविक्रम ज्ञवाली, धरणीधर शर्मा र पासमणि प्रधान भन्नु नेपाली भाषासाहित्यको एउटा विशाल बटवृक्ष नै थिए । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट्  बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई २००९ सालमा त्रिमूर्तिको दर्जा पनि यिनै सूधपाले दिएका थिए ।

प्रधान नेपाली जाति, नेपाली भाषा र नेपाली भेष भनेपछि हुरुक्कै हुन्थे । उनी भारतमै पनि दौरा, सुरुवाल, कोट र टोपी लगाएर हिँड्थे । त्यतिमात्र होइन कलकत्ता विश्वविद्यालयमा नेपाली भाषाको पाठयपुस्तक भित्र्याउन पनि उनी मरिमेटेका थिए । उनकै नेतृत्वमा त्यस विश्वविद्यालयले नेपाली भाषालाई मान्यता प्रदान गर्‍यो । त्यही लहरो तानिएर पछि भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता प्राप्त भएको थियो ।

प्रधानकै पहलमा त्यस भेकका स्कुल तथा कलेजमा नेपाली भाषाका किताब लागु भए । अनि उनी नै पनि पाठयपुस्तक लेख्थे । पाठयपुस्तकसमेत गरेर उनका दुई दर्जन पुस्तक प्रकाशित भए । कुनै बेला उनी स्कुलका शिक्षक पनि भए । उनी आफूले लेखेका किताव आफै पढाउथे ।

प्रधानले चन्द्रिका र भारतीको पनि सम्पादन गरे । त्यति बेला उनी आफैं प्रुफ हर्ेर्थे, आफैं लेख्थे । लेखेरै उनी चर्चित भए । उनले नेपाली भाषामा प्रसिद्धि कमाउँदा कमाउँदै सुप्रसिद्ध भए । त्यही परिवेशले उनलाई मदन पुरस्कार पनि प्रदान गरियो । साथै उनले त्रिभुवन प्रज्ञापुरस्कार पनि पाए । त्यसपछि उनलाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि पनि प्रदान गर्‍यो । अनि उनले आफ्नो नाउँका अघि डाक्टर लेख्न थाले ।

प्रधानका लागि चौबीस घन्टा थोरै हुन्थ्यो । उनी १८ घन्टा काममा नै जोतिने गर्थे । उनैका विद्यार्थी राजनारायण प्रधानका अनुसार ‘उनी मौरीजस्तै खट्थे ।’ उनको खर्टाईले उनी स्वयम् नै एउटा संस्था बने ।

प्रधानको सोख भोजन थियो । कसैले खाना बोलाए भने उनी तीन घन्टाको बाटो हिँडेर पनि पुग्थे । साथै मनले खाएको मान्छे घरमा पाहुना लागे भने उनी दालभात खुवाउँथे र आफ्नो प्रशंसामा समय खर्च गर्थे । कुरा गरेर उनी थाक्तैन थिए र उनका कुरा सुनेर सुन्ने मान्छे पनि मक्ख पर्थे । किनभने उनी ज्रि्रो महमा जोडेर गुलीयो कुरा गर्थे ।

प्रधान बोल्दाबोल्दै बिज्ने कुरा पनि बोल्थे । कहिलेकाहीं छेउकै मान्छेलाई गाली गर्थे अर्थात् आफ्नो मनका कुरा सबै निचोरेर निकाल्थे । अनि गाली खाने मान्छेलाई भन्थे ‘मेरो मुख मात्रै छुचो हो; तर मेरो पेटमा हरि छन् । म कसैको कुभलो चिताउँदिन । म मुखमा रामराम भनेर खल्तीमा छुरी पनि राख्तिन । नरिसाउनु होस् है !’

प्रधान साहित्यकार भनेपछि हुरुक्कै हुन्थे । एकपल्ट नेपालबाट उनलाई भेट्न गएको एक जना कविले गफ गरेर नै बिहानको तीन बजाए छन् । त्यतिन्जेलसम्ममा प्रधानले ती कवि समक्ष म यो खान्छु, म यहाँ सुत्छु र मेरो सम्पत्ति यहाँ राख्छु भनेर आफ्नो सबै विवरण पेश गरिसकेका थिए । किनभने यति कुरा भन्नु उनको बानी नै थियो । कविलाई आफ्नो वृतान्त सुनाएर उनी सुत्न गए र एकै छिनमा घुर्न थाले । त्यसै बेला पाहुना कविले आफूले ओछयाएको तन्नामा प्रधानका झिटीगुठी सबै बाँधे र राति नै चम्पट कसे । तर पनि उनले आफ्नो आनीबानी सपारेनन् ।

प्रधानले नेपाली भाषाका लागि जति गरे धेरै गरे । नेपाली भाषासाहित्यमा एउटा कम्पोजिटर पनि एक दिन विभूति भए भने पारसमणि प्रधान नै भए । तर उनी कहिले हौसिएनन् । अनि बूढो भइन्जेल उनी आफ्नो काममा नै जोत्तिइरहे ।

प्रधान २०४२ साल माघ २० गते दार्जीलिङको कालेबुङमा स्वर्गीय भए । त्यस दिन विश्वभरीका नेपाली साहित्यकारले आआफ्नो शिरबाट टोपी झिकेका थिए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी