» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गणेश भण्डारी Ganesh Bhandari

गणेश भण्डारी Ganesh Bhandari

गणेश भण्डारीको जन्म १९८९ साल कात्तिक २१ गते भोजपुरको माङदिङमा भएको थियो । उनका बुबा पुष्पलाल भण्डारी र आमा रत्नकुमारीका ८ सन्तानमध्ये उनी जेठा थिए । सानामा भण्डारीले आफ्नै गाउँबेसीमा लुकामारी खेले । त्यसै परिवेशमा उनले रघुवंशदेखि अमरकोशसम्मका कृतिलाई सुम्सुम्याउन पाए । त्यसैघडी उनले पूराण भन्ने कला पनि ग्रहण गरेका थिए । उनी प्रष्ट बोलीचाली भएका कारण उनको वाकशैलीलाई धेरैले मन पराएका थिए । तर त्यसैबखत उनका बुबा भोजपुरबाट आफ्ना सन्तान र झिटीगुन्टा कसेर शङ्खुवासभातिर सरे । त्यसैले त्यही ठाउँमा उनको प्रारम्भिक पठनपाठन भयो । त्यसपछि उनका बुबा चाहिं फेरि धरानतिर ओर्ले । त्यसैबखत उनले भने काठमाडौंतिर फड्का मारेका थिए ।

भण्डारी १२ वर्षको उमेरमा रानीपोखरीको संस्कृत पाठशालामा भर्ना भए । केही वर्षभित्रै उनले त्यस पाठशालामा आफ्नो नाउँलाई प्रज्ज्वलित गरेका थिए । २००४ सालको ‘जयतु संस्कृतम’मा पनि उनले आफ्नो प्रष्ट उपस्थिति जनाएका थिए । उनले त्यही ठाउँबाट मध्यमासम्मको शिक्षा ग्रहण गरे । त्यसपछि उनी बनारसतिर लम्के । उनले बनारसबाटै साहित्यशास्त्री पास गरे ।
भण्डारी केही वर्षमा बनारसबाट नेपाल फर्के । नेपालमा आएपछि उनले बीए पास गरे । साथै केही वर्षको मिहिनेतले उनले त्रिभुवन विश्वविद्यालयबाटै नेपालीमा एमए पनि पास गरे । त्यसपछि उनी प्राध्यापन पेशामा लागे । प्राध्यापनकै क्रममा उनले बिहारको भगध विश्वविद्यालयबाट पीएचडी गरेका थिए ।

भण्डारीले भोजपुर र संखुवासभाका स्कुलमा पढाएका थिए । त्यसबेला उनी नाटक लेख्थे र आपैंm निर्देशन गरेर आफ्ना विद्यार्थीसँगै खेल्थे । केही वर्षपछि स्कुलका केटाकेटीलाई पढाउने कामबाट फेरि उनी अलग्गै भए । त्यसपछि उनी गोरखापत्र संस्थानमा छिरे । उनी त्यहाँ २०१९ सालदेखि २०२३ सालसम्म उपसम्पादक थिए । त्यसैबीच उनले रत्नराज्य गल्र्स कलेजमा पनि पढाएका थिए । अनि यो दुवै जागीर छाडेर उनी २०२३ सालमा भूमिसुधार अधिकारी भएर ताप्लेजुङमा बसेका थिए ।

भण्डारीलाई भूमिसुधार अधिकारीको पद पनि अपच भयो । अनि उनी फेरि प्राध्यापन सेवामा नै फर्के । रत्नराज्य गल्र्स कलेजमा पुनः उनले नियुक्ति लिए र त्यही कलेजमा उनी स्थायी पनि भए । त्यसैताक उनी त्रिचन्द्र कलेजमा पनि पढाउँथे ।

भण्डारीको प्राध्यापन लैबरीमा नै तानिएको थियो । उनले त्यति राम्रो पेसालाई थाँती राखेर २०२७ सालदेखि उनी जुट विकास तथा व्यापार संस्थानको सहप्रबन्धक भएर काजमा विराटनगर पुगे । त्यसपछि उनी ससुरालीको आडमा विराटनगरमा बस्न थाले । त्यसताक उनका ससुरा गेरुप्रसाद कोइरालाले पनि भण्डारीकै आड लिएका थिए । वास्तवमा त्यसबेला ससुरा र ज्वाइँ भनेको माटोका भर ढूङ्गा र ढुङ्गोको भर माटो जस्ता थिए ।

भण्डारी २०३६ सालसम्म जुट विकासमा नै कार्यरत थिए । उनी फेरि त्रिभुवन विश्वविद्यालयमा नै फर्केर विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पुगे । अनि २०५४ सालपछिचाहिँ उनले प्राध्यापन पेसा पनि छाडिदिए ।

भण्डारी सानैदेखि साहित्यिक लेखनमा आवद्ध थिए । उनको औपचारिक साहित्यिक यात्रा चाहिं २०१० सालदेखि थालनी भएको थियो । त्यसपछि क्रमशः उनका लेखरचना प्रकाशित भइरहे । उनले कविता, कथा, निबन्ध, समालोचनामा आफ्नो हस्ताक्षरलाई अघि सारिरहे । यतिहुँदाहुँदै पनि सग्लो रूपमा चाहिँ उनी समालोचक र अन्वेषकका रूपमा स्थापित भए । उनले ‘मकैपर्व’ नामक समीक्षा, धर्मकुमारी शिक्षा’को सम्पादन गरेर पनि ख्याति आर्जन गरेका थिए । साथै उनका ‘पट्याँस ट्यास’ नामक बालकथा र ‘व्यक्ति अभिव्यक्ति’ नाउँको समालोचनासङ्ग्रह पनि प्रकाशनमा आएको थियो ।

भण्डारी झर्राेवादी लेखक थिए । उनकोे संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषामा पनि लेख्ने खुवी थियो । साथै उनी मैथली भाषामा पनि लेख्नेपढ्ने गर्थे । उनले हिन्दी साहित्यका केही लेख नेपालीभाषामा अनुवाद गरेका थिए । साथै उनले २०१५ सालमा नै ‘छहारी’ र ‘सोझो बाटो’ नामक पत्रिकाको सम्पादन गरेका थिए ।

२०१४ सालमा नेपालको राष्ट्रभाषा हिन्दी हुनुपर्छ भन्ने एउटा आन्दोलन चर्केको थियो । त्यसबेला त्यस बेहोरालाई चुनौति दिएर भण्डारीले छाती खोले । अनि उनले नेपाली भाषा बचाउन अभियान चलाएका थिए । त्यही रनाहामा उनले विराटनगरमा नेपाली साहित्य समितिको स्थापना पनि गरेका थिए । त्यसै समितिले २०५१ सालमा त्यही ठाउँमा बृहत साहित्यिक सम्मेलन गरेको थियो ।

भण्डारी विराटनगरका विभिन्न सामाजिक, धार्मिक र प्राज्ञिक संस्थाहरूमा आवद्ध थिए । उनैको गुरुत्तर भूमिकाले विराटनगरमा स्नातकोत्तर क्याम्पसको पनि स्थापना भएको थियो । उनी समाजिक जागरणका लागि क्रियाशील थिए । उनको पहलमा धेरै प्राज्ञिक र साँस्कृतिक संस्थाहरूको निर्माण भएको थियो । उनी प्रेस काउन्सिलका संस्थापक सदस्य थिए । उनैले वाणि प्रकाशनको नामाकरण गरेका थिए । उनकै अध्यक्षतामा सो संस्था विराटनगरमा स्थापित भएको थियो ।

भण्डारी रसिक थिए । उनी भन्थे मेरो मन सधैं तन्नेरी छ । वास्तवमा उनी बाँचुन्जेल उनीमा बूढ्यौलीले छाएको थिएन । उनी तन र मनका धनी थिए । साथै हरेक विषयमा उनी पुरुषभन्दा नारीलाई प्राथमिकता दिन्थे । उनी प्रकृतिप्रेमी थिए । उनी सदैव जागृतिमा समय कटाउँथे । साथै उनी विमारी भएर पनि कहिले सुतेका थिएनन् । स्वभावैले उनी पौरखी पनि थिए । उनले भोकै बसेका बेला पनि कहिले हार खाएनन् । उनी सधैं शिर ठाडो पारेर ठाँटिएर नै हिँड्थे ।

९ वर्षको उमेरमा भण्डारीले शङ्खुवासभाकी १६ वर्षकी मित्रकुमारी घिमिरेसँग पहिलो विबाह गरेका थिए । उनी छिप्पिएपछि ती दम्पतिबाट दुई छोरा र एक छोरी जन्मे । त्यसपछि उनीहरूमाझ कटाक्ष भयो । परिणामस्वरुप गेरुप्रसाद कोइराला र अम्बिकादेवी कोइरालाकी छोरी सुशीला कोइरालासँग उनले प्रेम गरे । अनि २०१८ साल फागुन २८ गते वनारसको विन्दवासिनी मन्दिरमा सुशीलासँगै उनले दोस्रो विवाह गरेका थिए । यी दम्पतिबाट आलोक र अन्नाश्री जन्मे ।

भण्डारीले धेरै अप्रकाशित सष्टालाई प्रकाशनमा ल्याए । पण्डित साम्भभक्त सुवेदीका कृतिलाई यिनैले जनमाझ ल्याउने काम गरे । साथै मकैपर्वका नायक कृष्णलाल अधिकारीलाई पहिलोचोटि जनसमक्ष ल्याउने काम पनि यिनैले गरेका थिए । उनी जनसाहित्यकार थिए । उनीभित्र जनमन बुझ्ने व्यवहारिक ज्ञान थियो । त्यसैले उनीबाट धेरैले आड पनि पाएका थिए ।

भण्डारीले सङ्घर्ष गरेर जीवन भूक्तान गरे । उनको मरण पनि एउटा कठिन सङ्घर्षमा भएको थियो । २०५५ साल पुस १६ गते राति ८.३० बजे विराटनगरको कुरा हो । त्यसैबेल उनले चढेको मोटरसाइकलमा एउटा ट्रकले ठाडो आक्रमण गरेको थियो । त्यो कहाली लाग्दो कालरात्रिमा पनि ‘मलाई अस्पताल पु¥याईदेउ’ भनेर उनी बाटोमा माझ चिच्याइरहेका थिए । अनि केहीबेरमा नै उनले मृत्युवरण गर्नुपरेको थियोे ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी