» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » घनश्याम खनाल Ghanashayam Khanal

घनश्याम खनाल Ghanashayam Khanal

घनश्याम खनालले पूर्वी नेपालमा महत्वपूर्ण भूमिका निभाएका थिए । त्यस भेकका उनी एउटा सरल नेपाली पाठ थिए । खासगरेर त्यहाँ उनी शिक्षासेवामा भिजे र त्यस काममा एडिक्टेड भएरै लागेका थिए । साथै उनी समाजसेवामा पनि स्वच्छ, सादा र सरल रुपमा प्रस्तुत भएका थिए । त्यसैले उनका नाउँमा नकुलकाजीले आफ्नो बूढी औंठा थिचेका थिए, ‘घनश्याम खनाल आफूले आँकेको वृत्त अन्तर्गत भरिएका थिए, उनी सम्पूर्ण उच्चताका साथ उभिएका थिए र उनी महत्वपूर्ण रुपमा गनिएका थिए । त्यही नै उनको जीवनको सफलता थियो र उनी यसरी नै महान भएका थिए ।’

खनालको जन्म १९८९ साल फागुन २४ गते भारतको असममा भएको थियो । उनका बुबा जगन्नाथ खनाल र आमा हरिमाया खनाल घनश्याम जन्मनु भन्दा पाँच वर्ष पहिला तेह«थुमको सोल्माबाट त्यहाँ पुगेका थिए । त्यस ठाँउमा गाईभैंसी पालन व्यवसायमा खनाल परिवारले आफ्नो पेटको सोझो गरेका थिए । त्यसै हिसाबमा घनश्याम खनालको पनि वाल्यकाल बितेको थियो ।

खनालले स्थानीय स्कूलमा मुलतः संस्कृत पढे । त्यहाँ उनले असमी शिक्षा लिएका थिए । त्यसबेला उनले साँस्कृतिक कृत्यमा आफूलाई सरिक गराएका थिए । खासगरेर नाटक खेल्नमा उनले त्यहाँ नाउँ चलाएका थिए । उनले त्यसैबेलादेखि साहित्यप्रति रुचि पनि राखे । साथै उनले आफ्नो गच्छे अनुसारको समाजसेवा पनि गरेका थिए ।

खनालले बनारसबाट म्याट्रिक पास गरे । उनले बनारस हिन्दू विश्वविद्यालयबाट एमए पनि पास गरे । पढेकैताक उनी त्यहाँको संस्कृत छात्र परिषद्को महामन्त्री पनि भएका थिए । त्यसैबेलादेखि शिक्षासेवामा आफ्नो जीवन समर्पण गर्ने उनले भीष्म प्रतीज्ञा गरेका थिए । पण्डित मदनमोहन मालवीय उनको जीवनको आदर्श बाटो थिए । साथै उनलाई यस भूगोलमा कार्लमाक्र्सको आर्थिक सिद्धान्त मन परेको थियो ।

खनालको राजनीतिमा गहिरो रुचि थियो । उनी प्रत्यक्ष रुपमा राजनीतिमा कहिले प्रस्तुतचाहिं भएनन् । तर चिन्नेहरुले उनलाई कम्युनिष्ठ भन्थे । अनि मान्छेको उनीप्रतिको सैद्धान्तिक अवधारणामा नै यी रमाउने गर्थे ।

खनाल साहित्यकार थिए । वनारसकै बसाईमा उनी साहित्य लेखनमा आकृष्ठ थिए । उनले जति लेखे फुटकर लेखे । उनले कविता लेखे, निबन्ध लेखे, कथा लेखे । साथै उनले संस्कृति र इतिहास विषय र अनेक प्रबन्धहरु पनि लेखे ।
खनालको बिहे २७ वर्षको उमेरमा असमका लक्ष्मीकान्त खतिवडा र कुमारी खतिवडाकी छोरी नवकुमारीसँग भएको थियो । यी दम्पतिका एक छोरी र दुई छोरा जन्मे ।

खनाल २५ वर्षको उमेरका भएपछि शिक्षक पेसामा संलग्न भए । असम कै प्रजापति उच्चतर माध्यामिक विद्यालयमा यिनले नौ वर्ष पढाएका थिए । त्यसै घडी उनले दरड्ग नेपाली छात्रसंघको स्थापना पनि गरेका थिए । उनले त्यही संस्थाको मुखपत्र ‘प्रभात’को सम्पादन पनि गरे । साथै ‘ब्रम्हपुत्र’नामक नेपाली त्रैमासिकको सम्पादक भएर उनले नेपाली भाषाको प्रचार गरेका थिए ।

असममा शिक्षाकै क्षेत्रमा कार्यरत हुँदा पनि खनाललाई नेपालको मायाँले तान्यो । त्यसैले उनी ३६ वर्षको उमेरमा नेपाल प्रवेश भए । त्यतिबेला उनी मेची महाविद्यालयमा पुगे । त्यहाँ उनलाई मर्यादापूर्ण ढङ्गले समावेश गराइएको थियो । अनि त्यसै दिनदेखि उनी त्यस महाविद्यालयप्रति तनमनल समर्पित हुन थाले । उनी त्यसै ठाँउमा छिटै लोकप्रिय पनि भए । पछि त्यही महाविद्यालय मेची क्याम्पसमा रुपान्तरित भयो । त्यसपछि उनी त्यसैमा झनै निर्लिप्त भएर लागे । उनको लगन, निष्ठा र समर्पणका कारण जनआवाज त्रिभुवन विश्वविद्यालयसम्म आइपुग्यो । त्यसैको परिणामले २०३६ सालमा उनी उक्त क्याम्पसका प्रमुख भएका थिए ।

क्याम्पस प्रमुख भएपछि खनालको काम विद्यार्थी र क्याम्पसको संरक्षणमा आबद्ध हुन थाल्यो । उनैले त्यहाँ कलेज भवनलाई विस्तार गरे, प्राध्यापक आवास निर्माण गरे, छात्रावास भवन बनाए, बनबाटिकाको निर्माण गरे । त्यतिमात्र होइन उनले विज्ञान विषयक कक्षको पनि स्थापना गरे । उनैले विज्ञान विभागका लागि अर्को विल्डिङ पनि बनाए । उनैको जाँगरले त्यस त्यो बहुमुखी क्याम्पसमा परिणत भयो । पूर्वाञ्चलका कलेजहरुमा विराटनगरको महेन्द्र मोरड आदर्श बहुमुखी क्याम्पस पछाडि यसले उच्च स्थान हासिल पनि ग¥यो । उनको सम्पूर्ण योगदान जोडिन पुग्दा त्यसबेला उनी त्यस भेककै नमुना गुरुबाबुमा स्थापित भए । कतिसम्म भने मेची कलेज र घनश्याम खनाल भन्नु झन्नै एउटै कुरा बुझिन्थ्यो । वास्तवमा बिहानीको लालीदेखि बेलुकीको गोधुलीसम्म उनी त्यसै क्याम्पसमा हराउँथे । साथै उनी घरमा पनि कहिले खाली बस्तैन थिए । उनी प्रायः घरमा आफै भैंसी पनि दुन्थे ।

झापा जिल्लाको साहित्यिक र सामाजिक कार्यमा खनालको नाउँ प्रत्यक्ष जोडिने गथ्र्यो । झापामा स्थापित महानन्द पुरस्कार समितिको संस्थापकमध्ये उनी पनि एक थिए । चन्द्रगढीमा कविशिरोमणि लेखनाथ पौड्यालको सालिक स्थापनामा पनि उनको भूमिका जोडिएको थियो । त्यसैगरी झापाका सामाजिक, साँस्कृतिक र साहित्यिक कामहरुमा उनी पनि अघि सर्ने गर्थे । त्यतिमात्र होइन झापाका पिछडिएको मेचे जातिको आर्थिक, सामाजिक र राजनैतिक जागरणका लागि पनि उनले आफ्नो बुता रोपेका थिए । उनले त्यसबारे एउटा प्रतिवेदन नै तयार गरेर त्रिभुवन विश्वविद्यालयमा प्रकाशनार्थ प्रस्तुत गरेका थिए ।

मेची बहुमुखी क्याम्पसमा अहोरात्र समर्पित खनाललाई त्रिभुवन विश्वविद्यालयको केन्द्रमा नै सरुवा गरिएको थियो । त्यसैले आफुले गोडमेल गरेको मेची बहुमुखी क्याम्पसलाई छाडेर २०४७ सालमा उनी काठमाडौं भित्रिएका थिए ।

खनाल काठमाडौं आएको पाँच वर्षमा हठात विरामी परे । त्यही कारणले नै उनी २०५२ साल माघ ८ गते वीर अस्पतालमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी