» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गुरुप्रसाद मैनाली Guru Prasad Mainali

नइको चिनारी


गुरुप्रसाद मैनाली Guru Prasad Mainali

गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा ढाके अनि यहाँबाट मेचीपारी भारतका विभिन्न नेपाली बस्तीहरूमा पुगे र त्यसपछि त्यहाँबाट पनि भूगोलको सेरोफेरोमा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ उनको ११ कथाको विटो ‘नासो’ पुग्यो । त्यसैले ईश्वर बरालले लेखे “सामाजिक जीवनसँग सम्बन्धित कथा परिवर्तन गर्नेमध्ये मैनाली प्रथम भए र उनकै परम्पराले दिग्विजय गर्‍यो ।”

गुरुप्रसाद मैनालीका पुर्खा जोशी थिए । उनीहरु भारतको कुमाउक्षेत्र नैनीतालस्थित मैनोरीबाट तेह्रौं शताब्दीतिर नेपाल आएका थिए । उनीहरुको विद्वताको कदरस्वरुप मल्ल राजाबाट उनीहरुले काभ्रेको कानपुरमा विर्ता पाएका थिए । मैनोरीबाट आएका हुँदा सबैले उनीहरुलाई मैनाली भन्न थाले । अन्ततः एउटा अर्को नयाँ थरका रुपमा मैनालीको आविष्कार हुन गयो ।

गुरुप्रसाद मैनालीको जन्म सम्वत् १९५७ सालमा धनकुटामा भएको थियो । त्यस बेला उनका बुबा काशीनाथ मैनाली धनकुटाको बजार अड्डामा खरदार अथवा हाकिम थिए । त्यसै बेला आमा काशीरूपाले गुरुप्रसादलाई अवतरण गराइन् ।

गुरुप्रसादको घरको नाउँ नानी बाबु थियो । उनका बुबा जागिरका सिलसिलामा तर्राई, पहाड जहाँजहाँ जान्थे गुरुप्रसाद पनि त्यहींत्यहीं लगिन्थे । त्यसैले यिनले कहिले नेपाली पढे, कहिले संस्कृत पढे, कहिले मैथिली, भोजपुरी र हिन्दी पनि पढे । आफ्ना बुबाको सरुवा विभिन्न जिल्लामा भइरहने कारण उनले स्कुले शिक्षा निश्चित रूपमा प्राप्त गर्न सकेनन् । तर पनि १७ वर्षो उमेरमा उनले निजामती मध्यमा चाहिं पास गरे ।

मैनालीले नौ वर्षकोउमेरमा बिहे गरे । तर धेरै समयसम्म पत्नी जगतकुमारी मैनालीसँग उनको दाम्पत्यजीवन कायम रहन सकेन । त्यसै ताक उनकी आमाको पनि निधन भयो । बुबाले छोरालाई फेरि बिहे गर भनेर सम्झाए । तर बुबाले नै विहे गर्नु जरुरी छ भनेर उनले अड्डि लिए । बाबुछोराको बिहेको छलफलमा नै आठ वर्षवित्यो । अनि गुरुप्रसादको हार्दिक आग्रहमा उनका बुबा काशीनाथले आफ्नो छोरोभन्दा सात वर्षकान्छी अथवा एघार वर्षीय सत्यभामा उप्रेतीसँग दोस्रो विहे गरे । वास्तवमा त्यस बेला उमेर ढल्केका नारी पाउन गाह्रो पथ्र्यो । अनी काशीनाथकी कान्छी पत्नीवाट पनि चार छोरा र एक छोरी जन्मे ।
बुबाले दोस्रो विहे गरेको अर्को वर्षगुरुप्रसादले पनि बिहे गरे । उनले सत्र वर्षा उमेरमा दशवर्षी यशोदादेवी पाठकसँग बिहे गरेका थिए । अनि यी दम्पत्तिबाट चार छोरा र छवटी छोरी जन्मे ।
युवावस्थामा पुगेपछि मैनाली माहिला गुरुज्यू पं.हेमराज पाण्डेको निजी सहायक भए। पाण्डेका घरमा देशविदेशका साहित्यिक कृतिहरु आइरहन्थे । त्यसैले त्यस बेला यी साहित्यको अध्ययनमा पनि केन्द्रित भए ।
पं.हेमराज पाण्डेकै सिफारिसमा मैनालीले राजा त्रिभुवनकी आमा लक्ष्मीदीव्येश्वरी शाहलाई भारतका प्रसिद्ध हिन्दू तीर्थस्थल यात्रा गराएका थिए । यात्राबाट फर्केपछि उनले हाकिमको परीक्षा दिए र उनी त्यसमा प्रथम भए । अनि उनले सुरुमा वागलुङको डिठ्ठाको कार्यभार सम्हाले । उनी बढुवाहुँदै लप्टन, सुब्बा र न्यायाधीशसम्म पनि भए ।
मैनालीको विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालासँग खुबै मित्रता थियो । यसकारण मैनाली हाकिम भएका बेला कोइराला मित्रहरुका पिताजी कृष्णप्रसाद कोइरालालाई देशद्रोहीको आरोपमा राणाका सेनाले पक्रने बेलामा मैनालीले भगाएका थिए । त्यही कारणले मैनालीले आफ्नो हाकिम पद पनि हिँडाए तर पछि अनेक गरेर उनले आफ्नो जागीर थामेका थिए ।
पं.हेमराज पाण्डेका निजी सचिव भएपछि मैनालीले साहित्य लेख्न थालेका थिए । उनले पहिलोचोटि नियात्रा लेखेका थिए । त्यसपछि उनले कविता लेखे र कथा पनि लेखे। उनको लेखनी समालोचनामा पनि केन्द्रित हुन थाल्यो र उनले दुईवटा एकाङ्की पनि लेखे।
मैनालीले नेपाली साहित्यको बहुचर्चित कथा ‘नासो’ १९८४ सालमा नै लेखेका थिए। अनि यो कथा १९९२ सालको ‘शारदा’मा छापिएको थियो । त्यसपछि नै मैनाली चर्चित हुन थाले । वास्तवमा त्यस बेला यिनको चर्चाले नेपाली साहित्य ढाकेको थियो । लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले समेत यिनको कथा पढेर यीसँग सम्बन्ध बढाएका थिए । यिनको ग्रामीण भाकाको शैली, प्रस्तुति र कथावस्तुका कारण बाबुराम आचार्यदेखि सूर्यविक्रम ज्ञवालीसम्मलाई मैनालीले आत्मीय मित्र बनाइसकेका थिए । त्यही नासोमा उनका अन्य लोकप्रिय कथाहरू समेत समेटेर तानासर्माले २०२० सालमा ‘नासो’ नामक (कथासङ्ग्रह) को सम्पादन गरी प्रकाशन गराएका थिए ।
मैनालीले आफूले भोगेका, देखेका र सुनेका कुराहरुलाई आफ्ना कथाको विषय वस्तु बनाए । उनले जागीरे जीवनको अनुभव पनि कथामा उने । उनले प्रशासनिक र न्यायसेवाको अनुभवलाई समेत आफ्ना कथाहरूको चौतारो बनाए । त्यसैले उनको लेखनीले चाँडै प्रसिद्धिको धुरी चढेको थियो ।
मैनाली नेपाली कथाका समयसापेक्ष नायक बने । यसै परिवेशमा सुशीला भट्टले उनलाई आधुनिक नेपाली कथाको यथार्थवादी धाराका अग्रज कथाकार भनिन् । त्यसै गरी उनको व्यक्तित्व र कर्तृत्वको चारैतिरबाट प्रशंसाका फूलहरूले माला गाँसिएका छन् ।
मैनाली आफू पनि लेख्थे र अरूलाई पनि लेख्ने प्रेरणा दिन्थे । उनले साहित्यसङ्गठनमा पनि आफूलाई क्रियाशील तुल्याएका थिए । खास गरेर २००७ सालपछि नेपाली समाजमा साहित्य, कला, संस्कृति र समाजसेवामा उनको उल्लेखनीय भूमिका थियो।
मैनाली हक्की, निर्भीक र साहसी थिए । उनी न्यायका लागि मरिमेट्थे । उनका लागि घुस भनेको घृणित कुरा थियो । त्यसैले नूनको सोझो चिताएर मात्रै उनले जागीर खाए। वास्तवमा उनी त्यही नैतिकताको सेरोफेरो, त्यही मानवतावादको घेरा र त्यही स्वाभिमानको धारामा मात्रै बाँचे ।
मैनालीले हिन्दी भाषामा पनि केही गीत कविता, निबन्धप्रबन्ध र कथाहरू लेखेका थिए । तर उनले नेपाली भाषाका लेखरचनाहरू मात्र प्रकाशन गरे ।
मैनाली मधुमेह र रक्तचाप रोगको चपेटामा फसे । त्यही कारण पनि जोडिएर उनी २०२८ साल जेठ २५ गते काठमाडौँमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश