» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » छिन्नलता Chhinna Lata

नइको चिनारी


छिन्नलता Chhinna Lata

Chhinna Lata (1923-2000), (pen name of Ramola Devi Shah), Works: Four books (lyrical poem), founder of Chhinna LataAward Trust Prize: Maina Award (Sita Ram Academy), Wife of His Highness Basundhara Bir Bikram Shah.

छिन्नलताले २०११ सालमा एक्कैचोटि दुईटा कविता जन्माएकी थिइन् । एउटा कविता प्रकाशन गरेर उनी छिन्नलतामा परिचित भइन् भने अर्को भौतिक कविताका रूपमा यिनले ज्योति शाहलाई जन्माएकी थिइन् ।

संवत् १९८० मा हर्षनारायण तथा हीरामाया मानन्धरकी चौथो सन्तानका रूपमा यी काठमाडौंको बागबजारमा जन्मेकी थिइन् । आषाढ शुक्लपक्ष हरिशयनी एकादशीका दिन जन्मेकाले मानन्धरदम्पतीले यिनको नाउँ तुलसीकुमारी राखेका थिए । तुलसी रोप्ने पर्वमा यी जन्मेकाले भविष्यमा यी प्रसिद्ध हुने कुरामा मानन्धरदम्पतीमा विभिन्न अडकलहरू भएका थिए । मानन्धर दम्पतीको त्यो अडकल त्यतिखेर र्सार्थक भयो जब यिनी राजदरबारमा प्रवेश गरिन् ।

तुलसीकुमारीका आँखा नै चमचम बल्थे । मानूँ उनका आँखा पनि बोल्थे । त्यसैले यिनका आँखालाई दृष्टिगत गरेर राजदरबारमा यिनको नाउँ नेत्रकुमारी रहृयो । त्यहाँ नेत्रकुमारीलाई मन पराउने थुप्रै थिए । तीमध्ये उनलाई श्री ५ अधिराजकुमार वसुन्धराबाट धुमधाम माया बर्सन थाल्यो । त्यसपछि यिनले अधिराजकुमार वसुन्धराबाट गुप्ती नाउँ ‘राधा’ प्राप्त गरेकी थिइन् । आफ्नो वास्तविक नाउँबारे यी भन्थिन्-“नागरिकता बनाउने समयमा श्री ५ त्रिभुवनबाट मैले रमोला नाउँ प्राप्त गरेकी थिएँ ।” तुलसीकुमारी, नेत्रकुमारी, राधा र रमोला हुँदै उनी अन्ततः छिन्नलता भइन् ।

भावविचारको प्रकाशनको माध्यम साहित्य हो भन्ने छिन्नलता नेपाली गीतकारमा चर्चित नाउँ हो । गीत गेय खाले साहित्य हो । त्यसैले उनी खालि गीत लेखेर आफ्नो साहित्यिक व्यक्तित्वलाई नेपाली समाजमा चिनाउन उद्यत भइरहिन् । उनका गीतहरू रेडियो नेपालबाट पनि बजिरहने गर्छन् :

छहराभित्र गाएको गीत गुन्जी नै रहेछ
हृदय साटी लाएको प्रीति सम्झी नै रहेछ ।

छिन्नलताले २०११ सालदेखि एकोहोरो गीत लेखिरहिन् । उनले गीत लेख्नुको तार्त्पर्य गेय रूपमा उनका मनका भावनात्मक विचार अरूका मनसम्म जागृत गराउनु थियो । साथै जीवनप्रति आस्था, यथार्थताप्रति निष्ठा ईश्वरप्रति विश्वास अभिव्यक्त गर्नका निम्ति छिन्नलताको गीतियात्रा अग्रसर भएको थियो ।

गीतलेखनका लागि स्रष्टाका आआफ्नै विशेषता, शैली र गुणहरू हुन्छन् । यस पर्रि्रेक्ष्यमा छिन्नलताचाहिँ सरलता, स्पष्टता र सङ्क्षिप्ततालाई राम्रा गीतका लागि प्रमुख तत्त्व मान्ने गर्थिन् । यस्ता गुणपछि गीतमा भाव तथा विचार पनि उत्कृष्ट खालको भयो भने सो गीतमा झन् सुनमा सुगन्ध भएझैं हुन्छ भन्ने छिन्नलताको राय भेटिन्छ । उनका गीत पढ्दा गायनको अनुभूति पाइन्छ भने सुन्दा साहित्यको छाप पाइन्छ । उनी गीत लेख्ता आफ्ना हृदयका सम्पूर्ण पत्रहरू खोलेर लेख्ने गर्थिन् । त्यसैले उनका रचनामा गीतमा पाइनुपर्ने विभिन्न गुणहरू भेटिने गर्छन् । उनका सबैजसो गीत सुनिरहूँजस्तै, पढिरहूँजस्तै र मनमा राखिरहूँजस्तै छन् :
फूल है टिपी तिमीलाई माला गा“स्न सकिनँ
जीवनभरमा एउटा धोको पुर्‍याउन सकिनँ।
छिन्नलताले आफू बत्तीस वर्षकीहुँदा गीत लेख्न थालेकी थिइन् र त्यसै बेला उनले आफ्नो साहित्यिक नाउँ ‘छिन्नलता’ राखेकी थिइन् । उनले छिन्नलताभित्रै जीवन भेटिन्, उनले त्यही नाउँ नै सृजनामा बढी बाँच्ने परिकल्पना गरिन् र त्यसै नाउँको सार्थकतामा आफूलाई राख्तै गइन् । आफ्नो जीवनको लामो समयसम्म साहित्यिक आराधनामा रहेकी छिन्नलतामा चौध वर्षपुग्दानपुग्दै प्रेमको जागरण भएको थियो । राजदरबारमा राम्रो गीत गाउने, राम्रो नाच्ने र राम्ररी बोल्न जान्ने भएकाले छिन्नलताप्रतिको प्रेमीको दृष्टिकोण क्रमशः फराकिलो भएको थियो । वास्तवमा आफ्नो प्रेमको मिठासका बेला यिनले आफ्ना प्रेमीलाई त्यतिसारो गीत सुनाउन पाएकी थिइनन्; किनभने त्यस बेला यिनलाई ‘डिप्थेरिया’ भन्ने रोगले गाँजिसकेको थियो । यति हुँदाहुँदै पनि छिन्नलतासँग राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराको प्रेम बस्यो । परिणामस्वरूप अधिराजकुमार वसुन्धरासँग छिन्नलता पन्ध्र वर्षकोकिशोरी वयमै प्रणयसूत्रमा बाँधिएकी थिइन् ।
राजदरबारभित्र पसेर दरबारकै प्रतिष्ठित सदस्यसँगको प्रेममा चुर्लुम्मै डुब्दा छिन्नलता गदगद्थिइन् । त्यस बेला उनको विश्व, ब्रहृमाण्ड र जगत् नै वसुन्धरासँग गाँसिएको थियो । त्यही रापिलो मोहनीभित्र बसेर उनले आफूभित्र काव्यसंसार स्थापित गरेकी थिइन् । हुन त त्यसै बेला उनी आफ्ना अक्षरहरू पोख्न अनभिज्ञ थिइन् तर जब उनी सजिलो नेपाली वर्णमालामा पास भइन् तब उनी कलम कागजको प्रस्तुतिमा आइन् । त्यसपछि उनी त्यही मायाको गीत लेख्न र गाउन थालिन् :
तिमी नै मेरो लक्ष्य तिमी नै मेरो कामना
तिमी नै मेरो प्रारम्भ तिमी नै मेरो चाहना ।
छिन्नलताकी फुपू पर्ने कुनै एउटी महिला राजदरबारकी जागिरे थिइन् । ती फुपू सुनैसुनले ढकमक्क ढाकिएका दृश्यहरू छिन्नलताका हृदयमा र विवेकमा छलफलका केन्द्र हुन्थे । वास्तवमा उनले ती फुपूले लगाएजस्ता राम्रा लुगा र सुनचाँदीका गहनाहरू अरूले लगाएको प्रायः त्यति देख्तिनथिन् । त्यसैले त्यस्तै पहिरनमा गुँथिन उनी आफ्नो ढिपी, करबल र रोइकराइका साथ नौ वर्षका उमेरमा राजदरबार प्रवेश गरेकी थिइन् । तर दरबार पसेर केही समयसम्म बसेपछि उनी आफ्नी आमाको न्यास्रोले रुन थालिन् । उनको न्यास्रो, रुवाइ र चञ्चलेपनको हेरचाह गर्ने त्यहाँ कुनै ईश्वर थिएन । यस्तै परिवेशमा क्रमशः उनी दरबारियामा अनुवाद हुन थालिन् । आफ्नो त्याग, तपस्या र प्रेमको प्रतीकका रूपमा उनी ‘शाह’ मा रूपान्तर भइन् । यस प्रसङ्गलाई लिएर उनी भन्थिन्( “मेरो जीवनको त्यो एउटा अर्को अविस्मरणीय सुखद क्षण थियो ।”
छिन्नलताले त्यस बेलाका विभिन्न पत्रपत्रिकाहरूमा आफ्ना रचनाहरू प्रदान गरिन् । ‘गोरखापत्र’, ‘मधर्ुपर्क’, ‘रत्नश्री’, ‘रूपरेखा’, ‘कविता’, ‘नवकविता’, ‘योषा’, ‘कामना’ आदिमा उनका गीतहरू छापिएका थिए । साथै उनका चारवटा गीतसङ्ग्रह पनि प्रकाशित छन् ‘अन्तर्भावना’ (२०२८), ‘अन्तरङ्ग’ (२०३०), ‘अन्तः स्पन्दन’ (२०४३) र ‘अन्तर्वेदना’ (२०५१) । साथै उनका गीतहरू अङ्ग्रेजीमा ँत्जभ जभबचत चष्लन’, हिन्दीमा ‘बिरह के काँटे प्यार के फूल’, उर्दूभाषामा ‘सोजए दिल’ अनुवाद भएका छन् । आफ्नो सृजनायात्राको सत्र वर्षछि पुस्तकाकार कृति प्रस्तुत गरेर नेपाली साहित्यमा उनले आफ्नो नाउँलाई झनै चम्काएकी थिइन् ।
छिन्नलताको गीतियात्राका विषयमा नेपालका धेरै जना साहित्यकारले कलम चलाएका छन् । यस प्रसङ्गमा राष्ट्रकवि माधवप्रसाद घिमिरे लेख्छन्( “छिन्नलताले आफ्ना विरहवेदना र आत्मनिवेदनलाई आफ्ना गीतमा जताततै सरलतासाथ पोख्नुभएको छ ।” वास्तवमा छिन्नलताका भावना यथार्थ जीवनमा प्रत्यक्ष गाँसिएका देखिन्छन्:
आकाशका तारा गन्दा र गन्दै उज्यालो भैसक्यो
लाउँला माया भन्दा र भन्दै जिन्दगी गैसक्यो ।
छिन्नलता आफ्नो साहित्यिक जीवनमा समर्पित हुँदै जाँदा उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेकी छन् । यिनले सबैभन्दा पहिला प्राप्त गरेको सम्मानको नाउँ हो ‘रत्नश्री स्वर्ण पदक’ (२०३२) । त्यसै गरी यिनले २०४५ मा ‘लोकप्रियादेवी पुरस्कार’ र २०५४ मा ‘मैना पुरस्कार’ प्राप्त गरेकी थिइन् । सीताराम प्रज्ञाप्रतिष्ठानद्वारा अनुष्ठित एक लाख रुपियाँ राशिको ‘मैना पुरस्कार’ यिनले तत्कालै नेपाल अन्ध कल्याण सङ्घलाई हस्तान्तरण गरेकी थिइन् । त्यस सङ्घमा यिनले छिन्नलता छात्रवृत्तिकै स्थापना गरेकी थिइन् । साथै यिनले नेपाल अपाङ्ग सङ्घमार्फ अपाङ्गहरूको औषधोपचारका निम्ति पनि अक्षयकोषको स्थापना गरेकी थिइन् । वास्तवमा छिन्नलता एउटी दानवीर नारी पनि हुन् ।
२०३९ सालमा छिन्नलता गुठी स्थापनार्थ यिनले जम्मा पचास हजार रुपियाँको अक्षयकोष राखेकी थिइन् । त्यसलाई बिस्तारै बढाउँदै लगिएको छ र अहिले उक्त अक्षयकोषको राशि छब्बीस लाख पुगेको छ । साथै सो गुठीका लागि यिनले जग्गा र त्यसमा एउटा घरको निर्माण पनि गरिदिएकी थिइन् ।
छिन्नलता गीतको रचना गर्नाका साथै अरूले लेखेका दुखात्मक गीतहरू सुन्ने इच्छा राख्थिन् । उनी आफ्नो घरको बगैँचामा जति रुचि राख्थिन् त्यति नै घरायसी खानपिनमा सम्बन्ध गाँस्थिन् । उनी जति मीठो पाराले गीत लेख्थिन् त्यस्तै स्नेही व्यवहारले मान्छेसँग शिष्टाचार र मित्रता राख्थिन् । गीतलेखनका विषयमा छिन्नलता फेरि भन्थिन् -“मेरा गीतहरू प्रेम, प्रकृति र भक्तिमा आधारित छन् । म जति लेख्छु सृष्टिकै कथा लेख्छु ।”
छिन्नलता एउटी भद्र नारीसाहित्यकारको नाउँ हो । उनलाई मन पर्ने साहित्यकार बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित थिए । उनी आफूलाई मन पर्ने साहित्यकारको व्यक्तित्वको प्रशंसामा समय दिने गर्थिन् ।
छिन्नलताले नेपाल अधिराज्यका मुख्यमुख्य भूभागको भ्रमण गरेकी थिइन् भने एसिया, युरोप र अमेरिकाको समेत भ्रमण गरी थुप्रै अनुभव सँगालेकी थिइन् । यी जहाँजहाँ जान्थिन् त्यहाँत्यहाँ गीत र कविता लेख्ने गर्थिन् ।
नेपाली समाजमा र्सजक, सङ्गठनकर्ता, दाताका रूपमा परिचित छिन्नलताको स्वास्थ्य २०५६ सालको आरम्भदेखि खच्केको थियो । त्यस बेला मुटु र मधुमेहको उपचार्रार्थ उनी बेलायत गएकी थिइन् । त्यहीँ उनलाई पिसाबसम्बन्धी रोगले आक्रान्त पारेको थियो । केही महिनापछि उनलाई आराम भयो र नेपाल आइन् । तर त्यसको केही समयपछि मस्तिष्कको आघात भएर उनी थला परिन् । २०५६ सालको चैतपछिचाहिँ उनी बेहोस भई ओछयानमा नै लडेर सास फेरिरहेकी थिइन् । नेपाली साहित्यको गीतिफाँटमा एउटा स्थायी प्रतिमा राखेर छिन्नलता बाँचिन्; तर भौतिक रूपमा चाहिँ उनी २०५७ मङ्सिर १९ गते यस संसारबाट बिदा भइन् ।
सानै तहबाट, सानै हिसाबबाट र सानै हैसियतबाट ठूलो तहमा पुगेकी छिन्नलताको सादापन, निर्मलता र नरम धारणा नेपाली बौद्धिक समाजमा सम्झनलायक छ । उनी आफ्नो सोझोपनबाट जसरी चर्चित भइन् लेखनीबाट पनि त्यत्तिकै अमर बनिन् । उनका काव्यसृजना नेपाली साहित्यमन्दिरका सङ्ग्रहणीय सम्पत्ति मानिन्छन् । उनको यही योगदानको कदर गर्दै छिन्नलता गुठीले पनि गुठीभवनको छतको बरन्डामा उनको पूर्ण कदको ढलोटको प्रतिमा स्थापित गरेको छ ।
छिन्नलताको राजदरबार प्रवेशपछिको इतिहासलाई कोट्टयाउँदा के देखिन्छ भने उनले ब्रह्रमानन्दको भजन गाउँदागाउँदै आफ्नैगीत गाउन थालिन् । तिनै भजनका कारणले छिन्नलताले नाच्न, गाउन र क्रमशः लेख्न पनि जानिन् । डा. स्वामी प्रपन्नाचार्यले ३१ वर्षो उमेरमा कखरा पढेका थिए भने छिन्नलताले त्यही उमेरमा पहिलोपल्ट गीत लेख्न थालेकी थिइन् । लेख्तालेख्तै अन्ततः यी नेपाली गीतमा सुपरिचित र स्थापित पनि भइन् :
वारि र पारि आँसुको भेल म आफै बीचमा
लहरी उर्ली जीवन सारा भिजेछ शीतमा ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश