» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » चन्द्रकान्तादेवी Chandra Kanta Devi

चन्द्रकान्तादेवी Chandra Kanta Devi

Chandra Kanta Devi (1897-1986)
Works: Three books (first woman autobiographer).
Decoration: Prabal Gorkha Dakshin Bahu.
Revolutionary woman, social reformer and also involved in politics. First women head teacher. Founder of the first girls’ school. Founder of Sahid Shukra High School. Sister of martyr Shukra Raj Shastri.

चन्द्रकान्तादेवी सानैदेखि सुकिली थिइन् । उनको तन जति सुकिलो थियो उनको मन पनि त्यत्तिकै सङ्लो थियो । सौन्दर्यको हिसाबमा भन्ने हो भने उनी टकटकाउँदी थिइन् । उनी जति हेर्‍यो त्यति नै हेरिरहूँजस्ती राम्री, सुन्दरी र हिसी परेकी थिइन् । त्यसैले उनलाई हेरेर क्रूर राणाशासक पनि बुहारीझार हुन्थे । उनको रूप, रङ र पोसाक अनि उनको हाउभाउ चमत्कारी देखिन्थ्यो । त्यसैले एक पटक श्री ३ महाराज जुद्धशमशेरले हजुरिया जर्नेल सिंहशमशेरलाई हुकुम गरे “चन्द्रकान्ता जोशिनीका काम केके छन् गरिदिनू ।”

चन्द्रकान्तादेवीले जुद्धशमशेरलाई रिझाएरकाठमाडौंमा कन्या स्कुलको स्थापना गरिन् । उनको त्यो साहस, त्यो हिम्मत र त्यस करामतबाट धेरै मान्छे चकित परे । चन्द्रकान्ता जोशिनीले स्कुलको स्थापना गरेपछि सो स्कुलको पाठयपुस्तकसमेत लेखिन् ‘गृहलक्ष्मी’ । संवत् १९९२ मा प्रकाशित सो प्रबन्धसङ्ग्रह जुद्धशमशेरलाई समर्पण गर्दै यसमा निज श्री ३ को तस्बिरसमेत राखिएको छ ।

चन्द्रकान्ता जोशिनीका नाउँमा १९९६ सालमा जनमाझ आएको अर्को प्रबन्धसङ्ग्रह हो ‘गृहस्थाश्रम धर्मशिक्षा’ । यस कृतिको आवरणमा नै श्री ३ जुद्धशमशेरको तस्बिर छापिएको छ ।

चन्द्रकान्ताको जिन्दगानीको नालीबेली चाहिँ उनीद्वारा लेखिएको ‘मेरो आत्मकथा’ (२०३६) मासमेटिएको छ । नेपाली साहित्यमा आत्मकथा डेढ दर्जन पनि नपुगेको सन्दर्भमा चन्द्रकान्ता प्रथम नारी आत्मकथाकारका रूपमा प्रस्तुत भएर उनले नेपाली आत्मकथाको इतिहासमा आफूलाई स्थापित गरेकी छिन् । सरल भाषा, मीठो शैली र निर्भीक विचार उनको आत्मकथाको आत्मा हो । त्यसैले उनी चर्चितमाथि थप चर्चित भइन् र प्रसिद्धमाथि सुप्रसिद्ध भइन् ।

चन्द्रकान्तादेवीका बुबा माधवराज जोशी नामी ज्योतिषी थिए र आमा रत्नकुमारी गृहिणी थिइन् । चन्द्रकान्ताको जन्म संवत् १९५५ पौषशुक्ल पञ्चमीका दिन पाटनको बकुंबहालमा भएको थियो । त्यसै वर्षनै उनका बुबाले पाटनमा ‘आर्यसमाज’ को स्थापना गरेका थिए । त्यस संस्थाको स्थापना नै जोशीपरिवारको नाशको बाटो पनि बन्न पुग्यो । त्यही डोरी बाटिँदै जाँदा जोशीलाई राणासरकारले रक्ताम्मे पार्‍यो, मानसिक यातना दियो र नेलसहित जेल हाल्यो ।त्यसपछि जोशीपरिवार एक्कासि आर्थिक सङ्कटमा भास्सियो । त्यतिमात्र होइन माधवराज जोशीका परिवारलाई पानी काड्नेदेखि समाज बहिष्कार गर्नेसमेत काम भयो । साथै उनका छोराहरू अमरराज, शुक्रराज र वाक्पतिराज पढ्दै गरेका दरबार स्कुलबाट निकालिए । त्यसपछि चन्द्रकान्ता पनि आमा र दाजुहरूसँग तत्कालै काठमाडौं उपत्यकाबाहिर लागिन् ।
१९६४ सालको आखिरीतिर चन्द्रकान्ताहरू वीरगन्ज पुगे । त्यहाँ उनीहरूसँग सामान्य किसिमका लाउने र सुत्ने कपडाबाहेक सम्पत्तिका नाउँमा फुटीकौडी थिएन । त्यसै बेलाको प्रसङ्गमा उनले भनेकी छिन् “बाँच्नका निम्ति रछ्यान चाट्नर्ुपर्छ भने पनि हामी बाध्य थियौँ ।” बलियी र मोटी भएका कारण त्यस बेला यिनकी आमाले ढिकीमा धान कुटेर पनि छोराछोरीको प्राणरक्षा गरिन् ।
चन्द्रकान्ताका परिवार जीवन र मृत्युसँग जुधेर आत्तिरहेका बेला यिनका बुबा आफ्ना सन्तान खोज्दै वीरगन्ज पुगे । त्यस समय उनी जेलबाट भागेर डाँडा काटेका थिए । त्यसैले रातारात उनीहरू नेपालको सिमाना नाघेर भारतस्थित रक्सौलमा पुगे । त्यस घडी उनीहरूसँग खान र बस्नका लागि धनका नाउँमा मन मात्र थियो । त्यस बेलाको स्थितिका बारे चन्द्रकान्तादेवीले आफ्नै आत्मकहानीमा लेखिन् “…हामीहरू गोरखपुर, लखनउ, देहरादून, मुसुरी, गढवालजस्ता ठाउँमा भतुवा लाग्दै हिँड्न थाल्यौँ ।”
माधवराज जोशी सपरिवार देहरादून पुगे । त्यहाँ उनका छोराहरू क्रमशः अमरराज मेरठस्थित स्वामी तुलसीदासकहाँ पढ्नका निम्ति गए, शुक्रराज स्वामी अच्युतानन्दको शरणमा देहरादूनमा नै बसे अनि वाक्पतिराजचाहिँ सिकन्दरवादमा रहेको गुरुकुल शिक्षा ग्रहण गर्न हानिए । चन्द्रकान्ताचाहिँ मेरठस्थित डा. रामचन्द्रकन्या पाठशालामा भर्ना भइन् ।उनी स्कुलमा भर्ना हुँदा नौ वर्षकी थिइन् । यी चारैवटा गुरुकुलमा खान, बस्न र पढ्न पैसा लाग्दैनथ्यो । त्यसैले जोशीपरिवारको जीवन धान्न ती स्कुलहरूले राहत दिएका थिए ।
डा. रामचन्द्र भन्नु चन्द्रकान्ताका धर्मपिता झैँ प्रिय थिए । उनले पनि आफ्नी धर्मपुत्री र चन्द्रकान्तालाई बराबरी माया गरे । स्कुल छुट्नेबित्तिकै उनले ती दुवै केटीलाई प्रायः बग्गी चढाएर सहर घुमाउँथे । रामचन्द्रको पितृवत् स्नेहका कारण चन्द्रकान्ताको मन क्रमशः स्कुलमा गाँसिँदै थियो । तर उनी स्कुलमा भर्ना भएको केही वर्ष डा.रामचन्द्रको चोला उठ्यो । अनि उनले आफ्ना बुबालाई पत्र लेखिन् “त्यहाँबाट पिण्ड छुटाउनु नै एक मात्र ओखती मैले पाएँ । मलाई लिन पठाउनुहोस्।”
चन्द्रकान्ताको चिठी पढेर माधवराज जोशीले आफ्नी छोरी लिन पठाए । त्यस बेला जोशीचाहिँ दार्जिलिङको आर्यसमाजको अध्यक्ष थिए । दार्जिलिङ पुगेपछि चन्द्रकान्ताको पढाइका लागि जोशीको दौडधूप सुरु भयो । कुचविहारकी रानीद्वारा खोलिएको स्कुलमा बङ्गाली केटीहरूले मात्र पढ्न पाउने भए तापनि जोशीको अनुनयविनयका कारण चन्द्रकान्ताले सोही स्कुलमा भर्ना पाइन् ।
नेपाल छाडेको सात वर्षपछि माधवराज जोशीका परिवार पुनः नेपाल फर्किए । त्यस घडी जोशीलाई वीरगन्जमै छाडेर अरू सबै काठमाडौं उक्ले । चन्द्रकान्ताचाहिँ काठमाडौं आइपुगेर सर्वप्रथम आफ्ना बुबाका निम्ति माफी माग्न श्री ३ चन्द्रशमशेरका ढोकामा पुगिन् । दार्जिलिङको रहनसहनमा सिँगारिएकी सोह्र वर्षीय किशोरी गगल्स, हिलजुत्ता र नयाँ पहिरनका साथ राणाका दरबारमा पुग्दा राणाका कारिन्दादेखि मालिकसम्म मन्त्रमुग्ध भइसकेका थिए । त्यसैले माधवराज जोशीले १९७२ सालको आगमनसँगै सम्पूर्ण माफी पाए ।
चन्द्रकान्ताले चन्द्रशमशेरसमक्ष कन्या स्कुल खोल्न पाउँभनी फेरि बिन्ती गरिन् । तर चन्द्रशमशेरले उनको त्यस बिन्तीलाई जवाफ दिए “स्वास्नीमानिसहरूको स्कुल हुँदैन ।” राणाको मन दुख्ने वचन सुनेर चन्द्रकान्ता पनि उनको छायाबाट अलग्ग हुन चाहिन् ।
चन्द्रकान्ता चन्द्रशमशेरको शेषपछि श्री ३ भीमनजिक पनि पुगिन् । तर काम पट्याउने बेलामा भीमशमशेरले प्राणत्याग गरे । त्यसपछि जुद्धशमशेर श्री ३ भए । अनि अनेक जुक्ति खियाएर उनी श्री ३ जुद्धलाई भेट्न नागार्जुन दरबार पुगिन् । चन्द्रकान्तालाई देख्नेबित्तिकै नागार्जुनको वन थर्काएर जुद्धशमशेर गर्जे “कन्या स्कुल खोल्छु भन्ने तिमी नै होइन त?” चन्द्रकान्ताले जुद्धशमशेरसमक्ष झनै विनम्रता जाहेर गरिन् । अन्ततः श्री ३ जुद्धको निगाहले चन्द्रकान्ताले १९९० सालमा काठमाडौंमा कन्या स्कुल खोलिन् । त्यसपछि उनी जुद्धशमशेरकी झनै भक्त भइन् ।
काठमाडौं सहरमा चन्द्रकान्ताका व्यक्तित्वको रौनक नै बेग्लै हुन गयो । राणाहरूसँग पनि खुलस्त बोल्न सक्ने क्षमता भएकी र प्रमुख गुरुमासमेत हुँदा उनी झनै चमत्कारी देखिइन् । त्यस घडीको वस्तुस्थितिलाई उनले आफ्नो डायरीमा पनि कोरेकी थिइन् “स्कुल जाँदा र फर्किंदा बाटामा मानिसहरू मलाई यस्तरी हेरिरहेका हुन्थे, मानौँ म पनि कुनै एउटी महारानी हुँ ।” त्यति बेला घरबाट बाहिर निस्कँदा उनी दसहाते सारी लगाएर हिँड्ने गर्थिन् ।
कन्या स्कुलमा नारीलाई आदर्श ज्ञान सिकाउने शिक्षा त छँदै थियो । त्यसका साथै काट्ने, बुन्ने, बेलबुट्टा भर्न सिकाउने स्कुलको प्रमुख कार्य थियो । सुरुमै त्यस स्कुलमा सय विद्यार्थी पुगेका थिए । त्यस घडी त्यो स्कुल दिन दुई गुना र रात चौगुनाको हिसाबले प्रचारमा आयो । हुँदाहुँदै नेपालमा पहिलो उद्योग प्रदर्शनी भएका बेला त्यस स्कुलको पनि प्रमुख सहभागिता रहेको थियो । सो उद्योग प्रदर्शनीको श्री ३ जुद्धले नै उद्घाटन गरेका थिए र कन्या स्कुलका केटीहरूले उनको स्वागतमा स्वागतगान गाएका थिए । अनि गीतचाहिँ शुक्रराज शास्त्रीले लेखेका थिए :
जुद्ध ज्योतिको प्रकाश
स्वतन्त्र देशको विकास ।
जुद्धशमशेरको स्तुति गरेर गीत रचेको चार वर्षनपुग्दै श्री ३ जुद्धले शुक्रराज शास्त्रीलाई झुन्ड्याउने हुकुम दिए । आफ्ना दाजु सहिद भएको घटनाले चन्द्रकान्ताको छाती काँक्राको चिराझैँ भयो । त्यस बेला उनी राणालाई सराप्तै र धिक्कार्दै डाँको छाडेर रोइन् ।
चन्द्रकान्ताको जीवन आरम्भदेखि नै घातैघातको श्रृङ्खला बन्दै आयो । बिहे गर्न नचाहँदानचाहँदै उनी उमेश्वरलाल मल्लसँगको मायाजालमा फसिन्।उमेश्वरले चन्द्रकान्तालाई टुना गरे, मुना गरे, गीत लेखे, चिठी लेखे । उनले हरेक कसरत गरेर चन्द्रकान्तालाई आफ्नो प्रेमको माखेसाङ्लोले बाँधे । त्यसैले उनी अठार वर्षको उमेरमा मल्लकी उपपत्नी भइन् । तर बिहेको भोलिपल्टै उनका पति घरबाट भागे र बेपत्ता भए । त्यसपछि चन्द्रकान्ता केशरमहल पसिन् ।त्यहाँको रहनसहनमा भिज्न नसकेपछि उनी केशरमहलबाट बाहिर निस्किन् ।
दाजुहरूको लहैलहैमा लागेर चन्द्रकान्ता फेरि पतिविहीन घर पुगिन् । सुरुमा त्यहाँ उनलाई हरेक यातना दिँदा पनि उनले सहिन् । त्यस घडी उनलाई त्यहाँ कसैले बेस्या भने, कसैले उनको करङ खुस्काउने धम्की दिए र घरपरिवार मिलेर उनको जात पनि काढे । तर उनी रगतका आँसु पिएरै भए पनि त्यही घरमै बसिन् । चन्द्रकान्ता अनेक अपमान र तिरस्कार सहेर बस्ता पनि सौतालगायतको सानो जुलुसले उनलाई घोक्य्राएर घरबाटै निकाल्यो । त्यसपछि उनी फेरि माइतमै बस्न थालिन् ।
१९९६ सालमा उमेश्वरलाल मल्ल नायबसुब्बा भए । त्यस बेला एकातिर उनकी जेठी स्वास्नी बिरामी भइन् । अर्कातिर कान्छी स्वास्नी गुरुमाका रूपमा प्रसिद्ध भएकी थिइन् । साथै आफ्नी कान्छी पत्नीसँग श्री ३ जुद्धको न्यानो सम्बन्धको हल्लाखल्ला पनि उनका कानमा आइपुग्यो । त्यसैले बिहे गरेको चौबीस वर्षछि उनले आफ्नी कान्छी पत्नीलाई कन्या स्कुल छाड्ने र्सतमा घरमा हुले । चन्द्रकान्ता पनि पतिको इच्छाबमोजिम आफ्नो प्राणप्रिय स्कुल छाडेर पतिका पछि लागिन् । तर घरमा प्रवेश गरेपछि उनलाई सबैले पुनः घृणा गरे, फेरि अपमान गरे र अछूतै राखे । उनकी सौता मरेपछि मात्र त्यस घरमा उनको हैसियत बढ्यो । उमेर छिप्पिएपछिको पतिसँगको सम्बन्धले गर्दा चन्द्रकान्ताका सन्तानचाहिँ भएनन् ।
चन्द्रकान्तादेवीको सामाजिक व्यक्तित्व उच्चकोटिको थियो । त्यसैले उनी २०११ सालमा राजा त्रिभुवनबाट सल्लाहकार सभामा मनोनीत भइन् । त्यसपछि उनी २०१३ सालमा सोभियत रुसमा अन्तर्राष्ट्रिय युवा भेलामा सहभागी भइन् । साथै २०१५ सालमा उनी राजा महेन्द्रबाट राजनीतिक पीडित सहायता समितिको सदस्यमा मनोनीत भइन् । चन्द्रकान्तादेवीले काठमाडौंमा आफ्ना दाजु शुक्रराज शास्त्रीका नाउँमा २०१८ सालमा स्कुल खोलिन् । उनी शहिद शुक्र विद्यालयमा २०२२ सालदेखि आठ वर्षम्म प्रधानाध्यापिका भइन् । क्रमशः सो स्कुल भौतिक रूपले पनि सुसज्जित बन्यो । उनले आफ्ना गरगहना र सारा सम्पत्ति त्यही स्कुलमा लगेर खन्याइन् ।
चन्द्रकान्ताका पति २०३५ सालमा स्वर्गीय भए । पतिको निधनसँगै उनको जीवनको एउटा पट्यारलाग्दो नाटकले पनि विश्राम लियो । त्यसपछिका दिनमा पनि सौताका छोरा परमेश्वरले उनलाई रुवाउनु रुवाए, दुक्ख दिनु दिए र सताउनु सताए ।
समाजसेवामा जुट्ताजुट्तै २०४३ साल असार ३१ गते चन्द्रकान्तामल्ल स्वर्गीय भइन् । उनलाई मर्ने बेलामा चौथो श्रेणीको गोरखादक्षिणबाहु पनि भिराइयो । उनले विभिन्न सामाजिक सङ्घ संस्थाहरूबाट थुप्रै अभिनन्दनहरू पाइसकेकी थिइन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी