नइ प्रकाशन
Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

अम्बालिकादेवी Ambalika Devi

Ambalika Devi (1894-1936)
Work: Rajput Ramani (first novel by woman writer),
early death because of paralysis of her lower parts of the body. Wife of the first Nepalese historian and advocate of Patna High Court, India, Ambika Prashad Upadhyaya.

अम्बालिकादेवी सानैदेखि तीक्ष्ण थिइन् । उनी ज्यादै सुन्दरी पनि थिइन् । उनी तनकी मात्र सुन्दरी थिइनन्, मनकी पनि सुन्दरी थिइन् । वास्तवमा उनी जति राम्री थिइन् त्यति नै राम्रो विचारकी कुबेर थिइन् । यी सबै बेहोरा जोडिएर उनी चर्चित भइन्, प्रसिद्ध भइन् र अन्ततः अमर पनि भइन् । एउटै उपन्यास 'राजपूत रमणी' लेखेर नेपाली भाषासाहित्यमा सबैभन्दा अगाडि उभिने उपन्यासकार नै अम्बालिकादेवी भइन् ।
अम्बालिकाको जन्म संवत् १९५१ साल जेठ ८ गते काठमाडौंको मखनटोलमा भएको थियो । उनी एककृष्ण नेपाल तथा रत्नकुमारीका सात छोरीमध्ये माइली छोरी थिइन् । एककृष्ण नेपाल राणाकालीन सुब्बा थिए । त्यति बेला नेपालपरिवारको सामाजिक मानमर्यादा पनि ठूलै थियो । त्यतिमात्र होइन, नेपालकी सासू अर्थात् रत्नकुमारीकी आमा देवकुमारी कोइराला श्री ५ पृथ्वीवीरविक्रम शाहकी धाईआमा थिइन् । त्यति बेला कोइराल्नी बज्यै भन्नु पनि स्वयम्मा प्रख्यात नाउँ थियो । त्यसैले अम्बालिकाको माइती नेपाली परिवेशमा एउटा सम्पन्न परिवार थियो ।
अम्बालिकादेवीको बाल्यकालको नाउँ पुतली थियो किनभने सानामा उनी बिछट्टै राम्री थिइन् । ती राम्री बालिकाको बिहे सात वर्षो उमेरमा भएको थियो । अर्थात् भारतको विहार रामनगरका अम्बिकाप्रसाद उपाध्याय (पौडेल)सँग यिनको लगनगाँठो कसिएको थियो । त्यसपछि यिनको नाउँ त्यसताकाको प्रचलनअनुरूप आफ्ना पतिको नाउँमा मिलाएर 'अम्बालिका' राखियो ।
अम्बालिकादेवीका पति पण्डित अम्बिकाप्रसाद उपाध्यायले एमए,बीएल पढे । उनी विहार र उडिसाको हाईकोर्टका वकिल थिए । त्यहाँका वकिलहरूमध्ये उनी निक्कै नामी वकिल थिए । भारतमा वकालत गर्ने नेपाली मूलका प्रथम वकिल उनी नै थिए । भारतमा नेपालीको कर्ति राखेका कारण श्री ३ महाराज चन्द्रशमशेरद्वारा अम्बिकाप्रसादलाई बधाईपत्रसमेत प्राप्त भएको थियो । अम्बिकाप्रसाद उपाध्यायले नै 'नेपालको इतिहास' पनि लेखे । 'नेपालको इतिहास' लेख्ने प्रथम नेपाली इतिहासकार पनि उपाध्याय नै हुन् ।  उनी चरित्रवान्, नैतिकशील र पत्नीभक्त थिए । उनी आफूभन्दा ठूलाका आज्ञाकारी थिए र सानालाई अपार माया गर्थे । उनकै मायाको छाता ओढेर अम्बालिका पनि फक्रेकी थिइन् । साँच्चै भन्ने हो भने बिहे भएपछि नै अम्बालिकाको अर्को सुखद संसार परिचालित भएको थियो । अम्बालिकाको विश्व नै उनका पति थिए; किनभने अम्बिकाप्रसाद उपाध्यायले पनि आफ्नो ब्रहमाण्ड नै आफ्नी पत्नीमा केन्द्रित गरेका थिए ।
अम्बालिकादेवीले घरैमा पढिन् । उनलाई सानैदेखि अङ्ग्रेजीको ज्ञान पनि प्रदान गरिएको थियो । पटनामा यिनीहरूको हैसियत पनि ठूलै थियो । त्यसैले यिनलाई विभिन्न विषय पढाउन शिक्षकशिक्षिका यिनका घरैमा आउँथे । त्यस बेला यिनलाई अङ्ग्रेजी पढाउन मिस रोज पनि आउँथिन् । मिस रोज साइकलको घन्टी बजाउँदै अम्बालिका मन्दिरमा पसिनसक्तै अम्बालिकादेवी श्रृङ्गारका साथ सुसज्जित भएर बैठककोठामा बसिसकेकी हुन्थिन् ।
शरीरको ढाँचाको कुरा गर्ने हो भने अम्बालिकाको अनुहार नै धपक्कै बलेको देखिन्थ्यो । लामो कपाल, ठूला आँखा, सुलुक्क परेको नाक, सुन्तले ओठ र स्याउझैँ गाला अम्बालिकाको मुहारको बनोट थियो । उनी खाइलाग्दी र हृष्टपुष्ट देखिन्थिन् । उनी हरेक दिन राजसी ठाँटमा सिँगारिन्थिन् । सिँगारपटारमा पनि उनको विशेष सोख थियो । बाहिरका कुनै मान्छे घरमा आउँदा उनी सिँगारिएर मात्र खोपीबाट निक्लिन्थिन् । शरीरमा गरगहना र पहिरनमा पनि उनको विशेष अभिरुचि थियो । उनको टाउको, घाँटी, नाक, कान, पाखुरा र खुट्टा जतासुकै सुन, चाँदी, हीरा र मोतीका गहनाले नै ढाकिएको हुन्थ्यो । घरबाहिर निस्कँदा उनी सिँगारिएर झनै झकिझकाउ भएर हिँड्थिन् ।
अम्बालिकादेवीका परिवारको स्थायी बसोबास भारतको पटनामा थियो । तर यिनीहरू हरेक वर्ष गर्मी याममा कहिले दार्जिलिङ, कहिले सिमला, कहिले मुसुरी र कहिले नैनीताल पुग्थे । भ्रमण गर्नु पनि अम्बालिकादेवीको विशेष रुचिको विषय थियो ।
अम्बालिकादेवी खानपिनकी पनि सौखिन थिइन् । धनीहरूले खाने हरेक खान्कीलाई उनी कलात्मक रूपमा प्रयोग गर्थिन् । मदिरासेवनमा चाहिँ उनको मन पुगेन । चुरोट खानमा चाहिँ उनी सौखिन नै थिइन् । उनी हात्तीको दाँतबाट बनाइएको पाइपबाट चुरोट तान्थिन् । उनको चुरोट खाने कुल्पीको माथिल्लो भाग पनि सुनले मोरेको हुन्थ्यो । त्यस बेला उनले खाने चुरोट पनि बेलाइती हुन्थ्यो ।
अम्बालिकादेवी सामान्य रूपका लुगाफाटा लाउँदिनथिन् । उनका लुगाफाटा विशेष गरी बर्म्बईबाट नै बनिबनाउ भएर आउँथे । उनको चोलीको नमुना पनि बेग्लै हुन्थ्यो र सारीको फेर पनि बेग्लै पारी गाँसेर बनाइएको हुन्थ्यो । उनी एकपटक लगाएका लुगा एक वर्षअघि दोहोर्याएर लाउँदिनथिन् । उनका लुगाफाटा र जुत्ताचप्पल राख्ने बेग्लाबेग्लै कोठा हुन्थे । यिनका घरमा लुगाफाटाका बेग्लै, जुत्ताचप्पलका बेग्लै र गरगहनाका बेग्लै नोकर हुन्थे । यिनका भान्सामा पनि बेग्लाबेग्लै पाकका प्रखर मान्छे हुन्थे । यिनका घरमा हरेक विषयका बेग्लाबेग्लै कारिन्दा हुन्थे ।
अम्बालिकादेवीका घरका सबै नोकरचाकर र ड्राइभरदेखि रिक्सावालासम्मको एकनासको लुगा (युनिर्फम) हुन्थे । घरमा भएका सबै मान्छे अत्यन्तै अनुशासित हुन्थे । त्यतिखेर यिनका घरमा नोकरमात्रै दस जना थिए ।
अम्बालिकादेवी आफै पनि ऐना हेरेर अघाउँदिनथिन् । आफ्नो अनुहार र शरीरप्रति यिनलाई ठूलो गर्व थियो । यी प्रायः महिना दिनमा एउटा फोटो खिच्ने गर्थिन् । त्यतिखेर भारतमा रङ्गीन फोटो खिच्ने चलन नभएकाले यिनी आफ्नो फोटो धुन फ्रान्स पठाउँथिन् । यिनको अर्को सोख बेलायती कुकुर पाल्ने पनि थियो । यी कुकुरलाई पनि मान्छेलाई जत्तिकै माया गर्थिन् ।
अम्बालिकादेवीको बोलाइमा मीठोपना थियो । उनको स्वर पनि त्यस्तै सुरिलो थियो । उनी घरमा बसेका बेला प्रायः गीत गाउँथिन् । उनी हिन्दी गीत पनि गाउँथिन् र कहिलेकाहीँ नेपाली गीत पनि गाउँथिन् । सालको झन्नै एकपटकचाहिँ यिनले गीत गाउने बेलामा त्यस ठाउँमा बाजागाजा पनि जुट्ने गर्थे । उनी गीतसङ्गीत भनेपछि मरिमेट्थिन् । त्यतिमात्र होइन; उनी नेपाली संस्कृतिका हरेक परम्परालाई आफ्ना घरमा लागू गर्थिन् ।
अम्बालिकादेवीलाई आफ्नो शरीर सजाउने जतिको रहर थियो घर सजाउन पनि उनी त्यत्तिकै दत्तचित्त हुन्थिन् । उनी अङ्ग्रेजी किताब हेरीहेरी बेलायती ढाँचामा आफ्नो घर सजाउने गर्थिन् । यिनको घर विविध सुन्दर सजावटका सामग्रीले भरिएको हुन्थ्यो । घरबाहिरको फूलबारी र घरभित्रको थप साजसज्जाले यिनको घर पटनाका घरहरूमध्ये राम्रो घरमा गणना हुन्थ्यो ।
अम्बालिकादेवी कथा र उपन्यास पढ्न पनि पारङ्गत थिइन् । कम्तीमा पनि यी साप्ताहिक रूपमा प्रायः दुईटासम्म हिन्दी उपन्यास वा कथासङ्ग्रह पढ्ने गर्थिन् । उनी इतिहास पढ्न पनि मन पराउँथिन् । पुस्तक पढ्ने क्रममा अम्बालिका पुराना पुस्तक पढ्दिनथिन् । उनी पुस्तक पसलबाट नयाँनयाँ किताब किनेर ल्याई पढ्ने गर्थिन् । उनकी काहिंली बहिनी सुशीलाकी छोरी बुलु शर्माका अनुसार त्यही क्रमले यिनको उपन्यास र कथाका पुस्तकहरू राख्ने अर्को कोठा बनाइएको थियो । कोठाका दराजमा यिनले प्रायः पढी सिध्याएका उपन्यास र कथासङ्ग्रहमात्रै दुईहजार पुगेका थिए । कथा र उपन्यास पढ्दापढ्दै र सिनेमा हर्दाहर्दै यिनलाई पनि लेख्न मन लाग्न थाल्यो । त्यसैले यिनले कविता, गीत र कथा पनि लेख्न थालिन् । तिनैताका यिनको शरीर अस्वस्थताको चरमचुलीमा पनि पुगेको थियो । आफू अस्वस्थ भए पनि यिनले उपन्यास लेखिन् 'राजपूत रमणी' । त्यस उपन्यासको आवरणपछिको भित्री पृष्ठमा यिनले आफ्नो फोटो राखिन् । वास्तवमा आफ्नो विचार र आफ्नो अनुहार जनसमक्ष पुर्याउने यिनको इच्छा थियो । त्यसैले यिनले सन् १९३२ मई १ तारिक (संवत् १९८९ वैशाख १९)मा भूमिका लेखेर ११५ पृष्ठमा आबद्ध 'राजपूत रमणी' (ऐतिहासिक उपन्यास) नेपाली साहित्यको मन्दिरमा चढाइन् । नेपाली साहित्यमा नारीहरूको औपन्यासिक परम्पराका प्रसङ्गमा भन्ने हो भने अम्बालिका नै प्रथम नेपाली उपन्यास लेखिकामा अभिलिखित भइन् ।
एउटी सुन्दर भावनाकी धनी, सुन्दर तनकी धनी र आर्थिक हिसाबले पनि त्यत्तिकै धनी अम्बालिकादेवी शारीरिक रूपमा क्रमशः अशक्त हुँदै गइन् । वास्तवमा किशोरावस्थाको साँध काटेपछि उनी क्रमशः शारीरिक पीडाले व्यथित हुन थालिन् । बीसवर्षकाटेपछि उनी बिस्तारै कुँजी हुन थालिन् । उनका भान्जा मदनमणि दीक्षितका अनुसार उनका दुवै खुट्टा क्रमशः नचल्ने भए । उनको कम्मरभन्दा मुनिको भाग नै अशक्त हुँदै गयो । राम्री भएर पनि उनी नराम्रो रोगको शिकार भइन् र धनी भएर पनि उनी रोगबाट मुक्त हुन सकिनन् । तर उनी जतिसुकै कुँजी भए तापनि उनका पति भने उनकै वरिपरि घुम्थे, उनकै मनमा थकाइ मार्थे र उनकै मस्तिष्कमा अटल रहन्थे । अनि उनीहरुका सन्तान चाहिं थिएनन्।
अम्बालिकादेवी आफ्ना खुट्टा नचले तापनि आफू कुर्सिमाबसेर टेबुलमा खाना पकाउँथिन् । घरमा जतिसुकै नोकरचाकर भए तापनि उनी आफैले पकाएको परिकार आफ्ना पतिलाई खुवाउँथिन् । खाना पकाउने आफ्नो विशेष रुचिका कारण उनी अशक्त अवस्थामा पनि मीठामीठा परिकार पकाउँथिन् ।
अम्बालिकादेवी किनमेल गर्न आफै बजार जान्थिन् । नोकरचाकरलाई पनि बजार गएको बेला थप खर्चबर्च दिन्थिन् । पछि आफू अपाङ्ग भएपछि हृवील चियरमा भए पनि उनको बजार जाने क्रम रोकिएन । घरघरायसी काममा जेजति खर्च हुन्थ्यो त्यो सबै उनी डायरीमा मितिसहित टिप्ने गर्थिन् । वास्तवमा उनी सानैदेखि दैनिक खर्चको हिसाब लेख्थिन् र यो रीत उनले जीवनभर पालन पनि गरिन् । कतिसम्म भने आफू दिवङ्गत हुने अघिल्लो दिनको डायरीमा पनि उनको खर्चको दैनिकी लेखिएको थियो । त्यसै डायरीको अर्को पानामा भोलिको खर्च लेख्नका लागि मितिसमेत लेखिएको थियो । तर उनको जीवनमा त्यो भोलि आउँदै आएन ।
अम्बालिकादेवी सिनेमा हर्न पनि एउटा सानो बथान लिएर जाने गर्थिन् । प्रायः साप्ताहिक रूपमा फिल्म हर्ने उनको तालिका हुन्थ्यो । मोटरबाट ओर्लेपछि हवीलचेयरमा पर्दा लगाएर उनलाई सिनेमा हलभित्र प्रवेश गराइन्थ्यो । सिनेमा हलमा पनि उनका लागि बेग्लै विशिष्ट कक्ष हुन्थ्यो । उनले सिनेमा हर्ने भनेपछि त्यो कक्ष पनि विशेष रूपले सजाएर राखिएको हुन्थ्यो ।
अम्बालिकादेवीको पूजाआजामा पनि विशेष रुचि थियो । जुनसुकै देवीदेवताका मन्दिर जानुभन्दा अघि यी नुहाएर, चोखा कपडा लगाएर प्रवेश गर्थिन् । उनी जुन काम गर्नु छ त्यसमा सफल हुन्थिन् । साथै मान्छेले जे गर्नु छ त्यो काम मन, वचन र कर्मले गर्नुपर्छ भन्ने धारणा उनी राख्थिन् ।
अम्बालिकादेवीको रोग निदान गर्न अम्बिकाप्रसाद उपाध्यायले हरेक जुक्ति गरे । उनले मुम्बईका एक जना जान्नेमान्छेको नाउँ सुने । त्यसैले पटनाबाट मान्छे खटाएर उनले मुम्बईबाट डाक्टर झिकाए । अब्दुल रहमान नामक डाक्टर मुम्बईबाट पटना आए । उनी तान्त्रिक विधिले उपचार गर्थे । सास भइन्जेल आश हुन्छ भन्ने हिसाबले डा.रहमान पनि अम्बालिकाको जीवनको उद्धार गर्न लागिपरे । उनले अम्बालिकालाई औषधी खुवाउँथे र उनका खुट्टा सोझयाउन खोज्थे । केही दिन उपचार गरेपछि डा.रहमानले पनि हारे । अन्ततः त्यही उपचारका क्रममा अम्बालिकाको चोला उठ्यो । उनी १९९३ सालको पुस १ गते पटनामा स्वर्गीय भइन् । उनको स्वर्गारोहण भएको पाँच वर्षबितेपछि उनका पति पनि उनकै पछि लागे । वास्तवमा अम्बालिकादेवी र अम्बिकाप्रसादबीच अपार प्रेम थियो । अम्बालिका बाँचुन्जेल उनीहरू एक रात पनि छुट्टिएनन् ।