![]() |
![]() |
हाम्रोबारे - About us
Literature
नेपाली साहित्यका विभूति
केही कृतिका पूर्णपाठ
सूचना र समाचारनिबन्ध, कथा र कविता |
विन्द्या सुब्बाको निबन्ध![]() प्रिय नरेन्द्रजी ! अहिले मेरो हातमा २०६३ साल अर्थात् सन् २००६ मा प्रकाशित तपाईंको कृति 'पारिजातको जीवनकथा'को दोस्रो संस्करण छ । सादर, सस्नेह यो प्रति तपाईंले मलाई उपहारस्वरूप पठाइदिनुभएको हो । यसमा २५-१२-२००६ मिति लेखिएको छ । तर यसभन्दा अघि नै २०५७ सालमा प्रकाशित 'पारिजातको जीवनकथा'को प्रथम संस्करण काठमाडौंबाट झिकाएर मैले पढिसकेकी थिएँ । त्यतिखेर नै पारिजातबारे एउटा ठोस र महत्त्वपूर्ण कृतिका रूपमा यस पुस्तकको मूल्याङ्कन हुनेछ भन्ने मैले ठानेकी थिएँ र त्यस्तै भयो पनि !
नरेन्द्रजी ! पारिजात एउटी चर्चित लेखक भनेर मात्र होइन, स्वास्नीमान्छेका रूपमा असाध्य साहसी, पुरुषप्रधान समाजका रूढिवादी परम्पराविरुद्ध आन्दोलनकी अग्रदूत तथा एक अत्यन्त सक्रिय महिला हस्तीका रूपमा पनि उनलाई औधी श्रद्धा गर्दछु । यसर्थ म पारिजातकी प्रशंसक हुनुका साथै कृतिगत, व्यक्तिगत र मनोगत सबै पक्षहरूबाट उनको पाठक पनि हुँ । भारतीय सशक्त महिला लेखक, शताब्दी नारी अमृता प्रीतमकी पनि उत्तिकै प्रशंसक हुँ म, तर उनीसँग मेरो त्यस्तो खास सम्बन्ध थिएन । उनको जीवन, लेखकीय ऐश्वर्य र दुख्दो अन्तरकुन्तर पुस्तकहरूमा पढेर महसुस गरेँ मैले, तर उनलाई हातले सुमसुम्याउन पाइनँ ।जीवनको अन्तिम समयमा दिल्लीमा उनैको निवासमा दर्शन गर्ने सौभाग्य पाएँ, तर एक प्रकारले मृत्युशैयामा थिइन् उनी त्यस बेला । त्यो हेरी उस्तै उचाइकी पारिजातलाई मैले धेरै पक्षहरूबाट नगिच पाएकी थिएँ । उनी मेरी साहित्यिक आदर्श, अनुकरणीय अग्रज मात्र नभएर साथी पनि भइदिइन्, जसको छातीमा शिर राखेर मैले उनको हृदयको अन्तरतम कुरा सुनेँ; उनको सपनाको इन्द्रेनीलाई हत्केलामा राखेर सुमसुम्याएँ । यतिसम्म कि हामीले आफ्ना दृष्टिहरूसमेत एकअर्कासँग साटयौ।
नरेन्द्रजी ! 'पारिजातको जीवनकथा'को दोस्रो संस्करण अरू परिष्कृत, अरू पूर्णतासाथ प्रकाशित भएको छ । पारिजातका समस्त गुण, महत्ता, प्रतिभा तथा सम्पूर्ण दुर्वलता, पीडा र भोगाइहरूलाई समेटेर हामीसमक्ष झर्झराउँदी पारिजातलाई उभ्याइदिनुभएको छ तपाईंले । पारिजातका पाठकहरू, शोधकर्ता र विद्यार्थीहरूलाई यस पुस्तकले ठूलो सहायता पुर्याउँछ भन्ने मेरो विश्वास छ ।
त्यसो त तपाईंले अरू पनि हाम्रा धेरै गौरवमय व्यक्तित्वहरूको जीवनी र जीवनकथा लेखेर नेपाली वाङ्मयलाई महत्त्वपूर्ण योगदान दिनुभयो । नेपाली नारी साहित्यकारहरूको इतिहास र परम्परामा 'प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी' को जीवनी मलाई हुनसम्मको उपयोगी कृति लाग्छ । तपाईंद्वारा लिखित यस जीवनी कृतिले नारी हस्ताक्षरहरूको पूर्वपरम्पराबारे कति ठूलो उज्यालो पारिदियो ! साथै तपाईंले 'देवकोटाको जीवनशैली' लेखेर आफ्नो गम्भीर अध्ययन, स्रष्टाप्रतिको भक्तिभाव र अनुसन्धानात्मक दक्षताको परिचय दिनुभयो । 'नारीचुली' जस्तो अभूतपूर्व एवं साधनासाध्य ग्रन्थ प्रकाशित गरेर नेपाली जीवनी साहित्यमा आफै चुलिनुभयो । 'पारिजातको जीवनकथा' मार्फत तपाईंसँग स्रष्टालाई हेर्ने सूक्ष्म दृष्टिकोण, अनुभूत गर्ने संवेदनशील मन र विश्लेषण गर्ने बौद्धिक उचाइ छ भन्ने प्र्रमाण दिनुभयो । तसर्थ कति दिनदेखि तपाईंप्रति मेरो मनमा साँचेर राखेको सम्मानभाव आज मात्र नरेन्द्रजी ! यसरी पत्रमा पोखिरहिछु म । तपाईं मेरो हार्दिक सराहना र अनन्त शुभकामना ग्रहण गर्नुहोस् ।
'पारिजातको जीवनकथा'मा तपाईंले जम्मा २२ वटा परिच्छेदहरूमा उनलाई प्रस्तुत गर्नुभएको छ । उनको जीवनका एकएकवटा पक्षहरूलाई तपाईंले राम्ररी केलाउनुभएको छ । पारिजातको आर्थिक स्थिति, उनको जीवनमा सुकन्या, प्रेम र यौनका प्रसङ्गहरू, उनलाई मन पर्ने र नपर्ने स्रष्टाहरू, पारिजातको आलोचना र सम्मान... आदिआदि पुस्तकका र्सवाधिक संवेदनशील पक्षहरू हुन् भन्ने लागेको छ मलाई । ती परिच्छेदहरूमा अरू धेरै धेरैहरूमाझ म पनि छु कतैकतै । पारिजातको प्रसङ्गमा यसरी आफू पनि कतै जोडिनु कत्रो सौभाग्यको कुरो हो मेरा निम्ति पनि !
'पारिजातको जीवनकथा'ले पारिजातको जीवनका बाहृय र आन्तरिक पक्षको सौन्दर्य बोधलाई जति मुखरित गरिदिएको छ, त्यतिको सायद अन्य कुनै कृतिले गरेको छैन । पारिजातका गोपनीय कतिपय सन्दर्भलाई सार्वजनिक गरिदिनुमा पनि सायद यही कुरा लागु हुन्छ । यसको प्रथम संस्करण पढेर नै एकएक परिच्छेदबारे आफ्ना टिप्पणी लेखिदिनुभएको छ वरिष्ठ समालोचक प्राध्यापक राजेन्द्र सुवेदीजीले । साथै 'पहेंलो गुलाफ'की चर्चित स्रष्टा प्रेमा शाहको यस कृतिमा प्रकाशित पत्र साह्रै मीठो छ, झन्डै उनीद्वारा लेखिने एउटा छोटो कथाजस्तो नै । यस कृतिको दोस्रो संस्करणको एउटा थप आकर्षण प्रेमाको यो पत्र पनि भएको मैले महसुस गरेकी छु ।
नरेन्द्रजी ! जीवनमा धेरै स्थितिहरू आउँछन्, धोकाहरू हुन्छन् कति हो कति । स्टेसनको प्लेटफार्ममा आइपुगिसकेर हेर्दाहेर्दै रेलगाडी छुटिदिन्छ । छुनछुनै लागेको थोक एकै क्षणमा आँखाअघिबाट हराइदिन्छ । पारिजात पनि सत्तरीको दशकमा दुईतीनचोटि दार्जिलिङ आइन्, उनीसँग मेरो भेट हुनु जुरेन । सन् १९७८ तिर त उनी मेरो माइती गाउँ तीनधारे पनि गइन्, बास बसिन् तर म दार्जीलिङमा थिएँ । सन् १९८३ सालको दशकछेक काठमाडौं घुम्न गएँ म, तर प्रबल इच्छा हुँदाहुँदै पनि भयवश, सञ्कोचवश या समयको अभाववश पारिजातकहाँ नगई दार्जीलिङ फर्कें । यतिका प्रतिकूलताका विपरीत मेरा निम्ति पारिजात हातबाट फुस्कन लागेको स्थितिमा पनि स्पर्श गर्न पाएकी, अँगालो हाल्न सकेकी एउटा बत्ती थिइन् । म काठमाडौं गए लगत्तै चार महिनापछि पारिजात दार्जीलिङ आइन् । तर विधाताले यसचोटि भेट निश्चित गरिदिएको थियो । हरिजी (डा. हरिप्रसाद श्रेष्ठ) र पारिजात मिलेर बनाएको जुक्तिअनुसार मलाई आफ्नो नाम नबताईकन होटलमा बोलाई पठाइन् र त्यस समय अचानक मेरो सपनाकी रानी पारिजात मेरै आँखाअघि थिइन् । उनी मसँग हाँसेर कुरा गर्दै थिइन् । त्यस बेला पारिजातसँग मेरो भेटघाट र कुराकानी मात्र होइन, एउटा गहिरो मित्रता पनि भयो ।
सन् १९८४ को त्यो भ्रमण पारिजातको जीवनको अन्तिम दार्जिलिङ भ्रमण पनि थियो । त्यसपछि बाँचेको नौ वर्षो लामो अन्तरालमा पलपल दार्जिलिङलाई याद गर्दै बाँचिन् उनी । त्यस बेला भेट नभएको भए सायदै जीवनमा मैले पारिजातलाई भेट्न पाउने थिएँ । मेरो जानकारीमा भएअनुसार उनी दुईचार वर्षको अन्तरालमा विभिन्न उद्देश्य लिएर दार्जिलिङ आउँथिन् । सत्तरीकै दशकतिर नै राल्फाली समूहसँग 'सिम्मा' नाटक लिएर पनि उनी आइन् । तर जुनै उद्देश्य लिएर पनि दार्जिलिङ आए पनि, आफू बसेको होटलको एउटा कोठामा आँखा बिछयाएर गुराँसको बोट (यो कोड भाषा पारिजात र मबीच) को बाटो हेरेर उनी बस्थिन् । सन् १९८४ मा आउँदा हप्ता दिन जति नै बसिन् उनी; म प्रत्येक दिन होटलमा गएर उनीसँग समय बिताउँथेँ । गम्भीर साहित्यिक चर्चादेखि लिएर गफ, ख्यालठट्टा, पीडा र सपनाका कुरा, गीत गायन आदि अनेक रमाइलाहरू हामीले गर्र्यौ। त्यस अवधिमा सायद पारिजातको आगमनको खबर गुराँसको बोटसम्म पुगेन । यत्तिकैमा पारिजातको फर्कने समय भइसकेथ्यो, त्यसैले खबर भनिदिन म उनको गाउँसम्म गएँ, तर भेट भएन । त्यसै गाउँमा आदरणीय उपन्यासकार प्रकाश 'कोविद' दाइलाई खबर छोडेर आएकी थिएँ, भोलिपल्ट नै आएछन् क्यार ! काठमाडौं पुगेर पारिजातले पत्रमा लेखेकी थिइन् मलाई- "आउने बेलामा एकै क्षण मात्र गुराँसको बोटलाई हेर्न पाएँ । मेरो तकियामुनि अझै पनि छुर्पीका दुईवटा टुक्रा छन्, फोरेर खान आँट आउँदैन ।" वास्तवमा पारिजात गुराँसकै बोटको निम्ति पनि दार्जिलिङ आउँथिन् । दुईचार दिन बसेपछि मनप्राण दार्जिलिङमा नै छोडेर काठमाडौं फर्कन्थिन् । त्यस्ती साहसी, मेधावी र प्रचण्ड व्यक्तित्वशाली नारी पारिजातलाई झुकाइदिने, भिजाइदिने र गलाइदिने उनी भित्रको त्यो अनुराग । प्रतिभाकी खानी पारिजातको यो अधुरो प्रेम साँच्चिकै अनौठो छ !
नरेन्द्रजी ! पारिजातबारे चर्चा गरेर कहिले नसकिने कुराहरू छन् । गुराँसको बोटसँग मेरो प्रसङ्ग मात्र त्यति नै । सन् १९९३ मा पारिजात बितेपछि अब गुराँसको बोटसँग कुनै दिन भेट होला भन्ने सम्भावना वा भेट्नुपर्ने कारण नै पनि निःशेष भएर गयो । एक दिन म नभएका बेला मेरो थलोमा आएर मलाई सोध्दै थिए अरे ! खबर छोड्नुहोस् भन्दा पनि "होइन भेट्नु छ" भने अरे ! सुनेर त्यो साँझ थाहा छैन कस्तो प्रकारको भावावेशमा आएँ म - सोचेँ- "उनी किन भेट्न चाहन्छन् मलाई - पारिजातले सायद उनीसँग कुरा गरेकी यो विन्द्या सुब्बालाई एकचोटि हेर्ने इच्छा उनले राखेका थिए कि - अथवा के मसम्मुख पारिजातको याद रुन चाहन्छन् उनी - के जीवनका धोकाहरू, अफसोसहरू के शेयर गर्न चाहन्छन् उनी - त्यसै पनि पारिजातले भनेकी छन्- "यो दुख एकतर्फी छैन, उहाँ पनि म जतिकै दुखी र विचलित भएर बाँच्नुभएको छ ।"
फेरि पनि हराए उनी, पर्खें कुनै दिन आउलान् कि - तर एकैचोटि मैले उनको मृत्युको खबर सुनेँ । उनी मलाई खोज्दै आउनु र यो अवसानबीच धेरै समयको फरक छैन । तर गुराँसको बोटसँग मेरो भेट हुनु जुरेकै थिएन, भएन । चाहेको भए हात लम्क्याउँदा पनि भेट्न सकिने दूरीमा रह्यौहामी, तर साँच्चै भेट भएन । यस प्रसङ्गलाई मैले आफ्नो एउटा लेख- "मेरो आँखामा पारिजातको दृष्टि छ गुराँसको बोट हेर्नलाई" मा अलिकति उल्लेख गरेकी छु । ![]() नरेन्द्रजी ! धेरै गफ गरेँ तपाईंसँग । आज वसन्त पञ्चमीको पावन दिन पनि हो । कहिले महिनौं कलम समाउन नपाउँला जस्तो पनि हुन्छ । तर एउटा चेष्टा सदैव रहन्छ, यस दिनमा म कागतमा केही न केही भए पनि अक्षरहरू पोख्ने गर्दछु यसचोटि २०६७ सालको वसन्त पञ्चमी काठमाडौंका एक उद्यमी साहित्यकर्मी, आफ्ना अग्रज विभूतिहरूप्रति औधी श्रद्धावान्, मेरा समवयसी साहित्यकार नरेन्द्रराज प्रसाईलाई पत्र लेखेर मनाइरहेकी छु म । म सम्झन्छु एउटा सही दिनमा, सही ठाउँमा, सही कुरा पोखिरहेछु आज । त्यसैले मेरो एकान्त वसन्त उत्सव सार्थक छ यस वर्ष। शुभाकाङ्क्षी
(विन्द्या सुब्बा) कालेबुङ, दार्जीलिङ 08-02-2011
|
नेपाली साहित्यका विभूति |
© २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल nai.com.np@gmail.com designed by: Lakeside Techies
|