नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

पुष्करशमशेर जबरा Pushkar S Rana

            नेपाली भाषामा एउटा त्यस्तो युग पनि थियो, जुन युगमा पुष्करशमशेर राणाले एक छत्र शासन गरे । त्यसबेला नेपालीभाषामा उनकै हुकुम चल्थ्यो । भाषाबारे उनले बोलेपछि सबै स्रष्टाले बूढी औँठो थिच्थे । नेपालीभाषा परिमार्जन गर्ने काममा पनि उनैले गुरुत्तर भूमिका खेले । उनैले आजको वृहद् नेपाली शब्दकोशको समेत आरम्भ गरेका थिए ।
राणाले त्रिचन्द्र कलेजमा आईए पढे तर पास गरेनन् । यसबारे ईश्वर बरालले लेखे- 'पुष्करशमशेर सानैदेखि मेधावी थिए । आईए परिक्षाका निम्ति छानिने कलेजी जाँचमा पहिला हुँदा पनि मिर्गौलाका शूलले अस्वस्थ हुँदा तिनले परीक्षा दिन पाएनन् ।' तर पनि उनी त्रिचन्द्र कलेजमा भाषा र व्याकरणका प्रोफेसर भए । उनी नेपाली, संस्कृत, नेवारी, हिन्दी, बङ्गाली, अङ्ग्रेजीभाषा राम्रो बोल्थे र त्यस्तै लेख्थे । अङ्ग्रेजीकै कुरा गर्ने हो भने वेलायती अङ्ग्रेजी कोशमा रहेका केही अशुद्धि उनैले पत्ता लगाए र सच्याउन सुझाव पनि दिए । त्यही कारण उनले बेलायत पनि टेक्न पाए ।
जनरल समरशमशेर र कर्तिराज्यलक्ष्मीबाट १९५८ साल पुस १८ गते पुष्करशमशेरको जन्म ज्ञानेश्वर काठमाडौँमा भएको थियो । त्यसको ठीक एक वर्ष एक महिना र छ दिनमा यी दम्पतीले सोही ठाउँमा बालकृष्ण समलाई जन्माएका थिए ।
जन्मदैै पुष्करशमशेरको दाहिने हात र दाहिने खुट्टोमा पक्षघात थियो । उनी जन्मेदेखि नै लिखुरे पनि थिए । त्यसैले उनी सानैदेखि दौडधुप गर्न पनि सक्तैन थिए । शारीरिक दुक्खकष्टले नै उनको जीवन बितेको थियो ।
पुष्करशमशेर र बालकृष्ण समलाई नेपाली र संस्कृत पढाउने काम पं.तिलमाधव देवकोटाले गरे । तिलमाधवका छोरा र लक्ष्मीप्रसाद देवकोटाका जेठा दाजु लेखनाथ देवकोटाले उनीहरूलाई स्कुल भर्ना गर्न बग्गीमा चढाएर लगेका थिए । त्यसबेला यिनीहरु क्रमशः ११ र १२ वर्षा थिए ।
पुष्करशमशेरको १६ वर्षो उमेरमा गुल्मीकी ठकुरी यूँकुमारीसँग विहे भयो । त्यतिबेला यिनको बिहे रमझम र तडकभडकका साथ भएको थियो । त्यस बिहेमा यिनका बुबाको चालीस हजार रुपियाँ खर्च भएको थियो । तर बिहे गर्ने बितिक्कै पतिपत्नीको झगडा हुन थाल्यो । अनि उनीहरू अलगअलग बस्न थाले । त्यसपछि राणा आफ्नी सुसारे बैजनीसँग सल्के र उनैसँग पल्के । विवाहपर्ूव नै उनीहरूले फट्टाफट छोराछोरी पनि जन्माए ।
             बैजनीले छोराछोरी पाउन थालेपछि यूँकुमारी पनि राणासँग मिस्सिन थालिन् । त्यसपछि यिनीहरूले पनि छोराछोरी जन्माउन थाले । अन्ततः दर्ुइ गुणबाट राणाका तीन भाइ छोरा र दुईबहिनी छोरी भए ।
चलनचल्ती अनुसार राणाको जागिरको सुरुवात सेनाको मेजरबाट भयो । पछि उनी मेजर कर्र्णोलसम्म पनि भए । उनी भारदारी सभाका सदस्यमा पनि मनोनीत भए । त्यहाँ उनलाई न्यायाधीशको पगरी दिइएको थियो । राणाशासनको समाप्तिपछि राणालाई सेनाको तालिममा पठाइयो । तर शारीरिक दर्ुबलताले उनले तालीम लिन सकेनन् र स्वेच्छिक अवकास लिए । त्यसपछि उनी प्राज्ञिक काममा लागे ।
नेपालभाषाको शोध गर्न नेपाल आएका बेलायती प्रो.टीडब्लुका प्रमुख सहयोगीका रुपमा राणाले काम गरेका थिए । उनको कामबाट वेलायती विद्वान दङ्ग परेका थिए । अनि उनी स्वदेश पुगेर उनले रााणालाई बेलायतै बोलाएका थिए ।
वेलायतमा राणाले प्रो.टीडब्लुलाई नेवारी पढाए । साथै उनले त्यहाँ अङ्ग्रेजीभाषा पनि पढे । उनले अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापन गरे । आफ्नो मात्रृभाषाको कोश सच्याउने भन्ने कारण पनि थपिदा राणाप्रति बेलायती प्राज्ञहरको झुकाव थियो । मीठो बोल्ने, आफ्ना धारणा प्रस्ट राख्ने र आफ्नो गाम्भर्ीयलाई तलमाथि नपारी काम सक्ने खुवी यिनमा थियो । त्यसैले उनको शालीन स्वभावबाट त्यहाँका प्राध्यापकहरू पनि उनी अगाडी निहुरिन्थे । तर उनको हातचाहिँ कुँजो थियो । त्यसैले उनी प्रायः दाहिने हातमा पञ्जा लगाएर पढाउने गर्थे । अनि सकिनसकी देब्रेहातले लेख्ने गर्थे । १३ महिनासम्म उनले त्यहाँका शिक्षक र विद्यार्थीलाई नेपालीभाषाको गतिलो प्रचार गरेका थिए ।
       रााणाले हिन्दूधर्म, संस्कृति र परम्पराको महिमा गाए । साथै दर्शन, समाजशास्त्र र कानुनका विषयमा जान्न पनि उनीमा उत्सुकता थियो । अनि यसबारेका छलफल, कचहरी र विचारविमर्शमा पनि सामेल भइरहन्थे । यस्ता छलफलहरूमा उनले बोलेपछि त्यसबारेको निष्कर्षत्यहीँ टुङ्गिन्थ्यो । उनी थोरै बोल्थे र बेजोडको बोली बोल्थे ।
राणा नेपाली भाषानुवाद परिषद्का संस्थापक अध्यक्ष थिए । उनकै अध्यक्षतामा अग्रगामी साहित्य मण्डल पनि स्थापना भएको थियो । गोपाल पाण्डे असीमको नेपाली शिक्षा परिषद्मा पनि उनको लगानी थियो । नेपालीभाषा प्रकाशनी समितिका अध्यक्ष भएर पनि उनले दस वर्षकाम गरे । उनी जे काम गर्थे मन, वचन र कर्मलाई साक्षी राखेर गर्थे । त्यसैले सरकारद्वारा गठन हुने विभिन्न प्राज्ञिक आयोगहरूमा उनलाई प्रायः सदस्य राखिन्थ्यो ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि राणा समर्पित थिए । लेखन र सम्पादनमा पनि उनको खुबी माथिल्लो कोटिको थियो । उनी कोशकार, व्याकरणकार, कथाकार, नाटककार, उपन्यासकार, उखानटुक्काकार तथा अनुवादकबाट सुपरिचित थिए । नेपाली पटभूमीमा उनी यसबारेका तपस्वी नै थिए । उनले नेपाली भाषासाहित्यमा अति थोरै लेखे तर अति स्तरीय लेखे । खास गरेर कथा लेखनमा उनले जनमन जितेका थिए । उनलाई आधुनिक गद्यका निर्माता पनि भनिन्थ्यो । त्यतिमात्र होइन, उनी नेपालीभाषाका स्वयम् एक संस्था भएको बेहोर ईश्वर बरालले बराबर लेखे ।
राणा घरमा नोकरचाकर राख्न सौखिन थिए । तर उनको जीवनको उत्तर्रार्धमा घरमा आर्थिक भ्वाङ परिरहेको थियो । त्यसैले उनीमा मानसिक तनाव पनि बढ्दै जान थाल्यो । अनि उनी दिनप्रतिदिन सिथिल बन्दै गए । तर सास भइन्जेल उनीमा आशा पनि पलाईरहृयो । केही राहत पाइएला कि भनेर उनले आफ्नो गरिवी खुलाएर राजा महेन्द्रलाई बिन्तीपत्र दिए तर त्यस विन्तीपत्रबाट उनको एउटै माखो मरेन ।
राणा साइकल र घोडाका सौखिन थिए । उनीमा यो सौख युवाकालदेखि नै गाँसिएको थियो । तर एक दिन साइकलमा हिँडिरहेका बेला उनी बाटैमै लडे । त्यसपछि उनको शरिरको देब्रे भाग पनि पक्षघातले समायो । अनि उनी घरबाट निस्कन नसक्ने अवस्थामा रहेे । दुखाईका कारण उनी रातभरि प्रायः निदाउन सक्तैन थिए । त्यसबेला कोही साहित्यकार या माया गर्ने मान्छे भेटे भने उनी मन खोल्थे र धुरुधुरु रुन्थे ।
रुग्ण अवस्थामा पुगेपछि राणालाई काठमाडौँबासीसमक्ष मुख देखाउन पनि मन लागेन । त्यसपछि उनी धनुषामा आफ्नै घर जग्गा भएको ठाउँ गए । त्यहाँ झन्डै अर्ढाई वर्षविक्षिप्त भएर नै उनले दिनचर्या काटे । अनि उनले २०१८ साल वैशाख १० गते त्यहीं प्राण त्यागे ।