नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

दिलकुमारी श्रेष्ठ Dil Kumari Shrestha

कुनैबेला यस्तो युग पनि थियो, जुनबेला महिला जान्ने भए भने समाजिक रुपमा नै उनीहरू बहिष्कृत हुने सम्भावना थियो । तर त्यसबेला पनि मेची अञ्चलका पीढित नारीहरूकी एउटा पहरा थिइन् दिलकुमारी श्रेष्ठ, मेची अञ्चलकै अवला स्वास्नीमान्छेहरूकी एउटा छहरा थिइन् दिलकुमारी श्रेष्ठ र मेची अञ्चलकै दुखी नारीहरूकी एउटा सहारा थिइन् दिलकुमारी श्रेष्ठ । मेची अञ्चलमा नारीउपर जति थिचोमिचो हुन्थ्यो त्यसका विरोधमा बोल्ने श्रेष्ठ नै हुन्थिन्; त्यस ठाउँमा जति नारीको अपमान हुन्थ्यो त्यसका विरोधमा उफ्रनेनै श्रेष्ठ हुन्थिन् अनि त्यहाँ जति अत्याचार, अन्याय र भ्रष्टाचार हुन्थ्यो त्यसको विरोधमा बाह्रहाते पटुका कसेर पाखुरा र्सर्ुकने नै श्रेष्ठ हुन्थिन् । त्यसैले उनलाई मेची अञ्चलवासीले आफ्नै आमा स्वीकारेका थिए । अनि त्यो लहरको सन्देशले मेचीकाली छोएको थियो । अन्ततः उनी मेचीआमामा नै स्थापित भइन् । कसैले उनलाई दिलकुमारी भन्दा उनको ठाडो परिचय पाउँदैनथ्यो । तर मेचीआमा भनेपछि उनलाई सबैले जान्दथे ।
मेचीआमाका बारे धेरैले धेरै बोले र धेरै लेखेका पनि थिए । त्यही क्रममा एकपटक सिंहदरबारबाट प्रधानमन्त्री कर्ीर्तिनिधि विष्ट बोलेका थिए, 'मेचीआमाले आफ्नो र्सार्वजनिक जीवनको लामो समयसम्म नेपालहीतका लागि नै पसिना चुहाएकी थिइन् ।'
मणिप्रसाद सैंजु र ललितकुमारी सैंजुकी छोरी मेचीआमाको जन्म १९७० साल कात्तिक २५ गते भोजपुरमा भएको थियो । उनको बिहे बाल्यकालमा नै कृष्णप्रसाद श्रेष्ठसँग भयो । उनी वैवाहिक जीवनमा बाँधिएपछि सङ्खुवासभा आइन् । अनि यी दम्पतिले ४ छोरा र ६ छोरी जन्माए ।
चैनपुरमा मेचीआमाको किरानापसल थियो । उनी ढुक्कै त्यही पसलमा बस्थिन् । उनका पति कृष्णप्रसाद श्रेष्ठ २००१ सालतिर झापा ओर्लिए । अनि त्यहाँ उनले मुखियाको पद पाए । आफ्ना पतिको दौराको फेर समाएर उनी पनि पछिपछि आइन् ।
मेचीआमाका छोरा डा.आनन्दप्रसाद श्रेष्ठको विवाह सूर्यकुमारी श्रेष्ठसँग भएपछि सासूबुहारी नै समाजसेवामा नारिएर लागेका थिए । यी सासूबुहारी ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा थिए । साथै मेचीआमाकी छोरी सरस्वती श्रेष्ठले पनि नेपाल टेलिभिजनमार्फ नेपालका वृद्ध, दीनदुखी र असहायहरुको नालीबेली प्रस्तुत गरेर नाउँ कमाएकी थिइन् । वास्तवमा त्यसबेला समाजसेवामा समर्पित एउटा अनुकरणीय घर नै मेचीआमाको थियो ।
मेचीआमाको देन मुलतः राजनीति र समाजसेवामा नै केन्द्रित थियो । २००७ सालको क्रान्तिमा उनले आफ्नै युवा जीवन होमेकी थिइन् । त्यसैबेला उनी भन्थिन्, 'जनउत्थान भएमा नै राष्ट्रको र्सवाङ्गीण विकास हुन्छ ।' त्यसैले उनी घुँडो र मुन्टो जोडेर कहिले ताप्लेजुङ पुग्थिन्, कहिले पाँचथर पुग्थिन् र कहिले इलाम पुग्थिन् । उनी जहाँजहाँ जान्थिन् त्यहाँत्यहाँ एउटा न एउटा काम गर्थिन् । त्यसैले उनको छेउमा पुगेर गाउँठाउँका विकासप्रेमीहरू गुहार माग्थे, 'यस ठाउँमा स्कुल चाहिएको छ, यस ठाउँमा स्वास्थ्य चौकी चाहिएको छ अनि यस ठाउँमा बाटोपुल र धारा चाहिएको छ ।' ती सबै बेहोरा लिएर उनी सरासर अञ्चल प्रशासककोमा पुग्थिन्, त्यहाँबाट पार लागेन भने उनी सिंहदरबार पुग्थिन् र त्यहाँबाट पनि काम भएन भने उनी राजाका कानमा पुग्थिन् ।
मेचीआमा सुरुमा झापाबाटै समाजसेवामा प्रवेश भइन् । उनैले झापामा नारीशिक्षालाई पनि अघि बढाइन् । त्यति बेला महिलाहरूलाई पढाउने चलन थिएन तर यिनले घरघरमा गएर आमाबुबा, सासूससुरालाई सम्र्झाईबुर्झाई महिलाहरू सिला खोजेर स्कुल ल्याउने गर्थिन् । त्यसपछि उनैले झापामा प्रौढ नारी शिक्षाको पनि व्यवस्था गरिन् । वास्तवमा उनले चाहिं स्कुल पढेकी थिइनन् । त्यसैले उनले पनि आफैलेखोलेको प्रौढ स्कुलमा पढिन् ।
मेचीआमाले झापामा नारी शिल्पकलाको आवश्यकता पनि देखिन् । अनि उनैको गुरुत्तर भूमिकाले त्यहाँ नारीहीतका लागि व्यवहारिक ज्ञानको पनि सुरुवात हुन थाल्यो । त्यसपछि उनी क्रमशः नेपाल महिला सङ्गठनमा प्रवेश भइन् र झापा जिल्लाको सभापति बनिन् । त्यसपछि उनी त्यसै सङ्गठनको मेची अञ्चल सभापति पनि भइन् । वास्तवमा उनी राजनीति सङ्गठनमा लागे तापनि कुर्सी तान्ने दाउमा कहिले लागिनन् । उनी जति लागिन् नारीउत्थानमा नै लागिन्। त्यसैले उनी त्यस सङ्गठनको केन्द्रीय अध्यक्षको कुर्सीमापनि बसिन् । उनको योगदानको सर्वत्र चर्चापरिचर्चा हुन थाल्यो । त्यस चर्चाले राजदरबार पनि रङ्गिएको थियो । त्यसैले उनी राजसभाको सम्माननीय सदस्यमा पनि मनोनीत भइन् । अनि उनले आफ्नो व्यक्तित्वलाई झन मज्जाले पालिस लगाउने मौका पाइन् ।
मेचीआमाको मेचीप्रवाह सहज, सरल र सौम्य रूपमा राजधानीसम्म आएको थियो । राजधानीमा पनि उनी चुप लागेर बसिनन् । उनी कहिले नेपाल रेडक्रस सोसाइटी पुगिन्, कहिले नेपाल अर्बुद्ध रोग निवारण संस्थामा पुगिन् र कहिले नेपाल अन्धाअपाङ्ग सङ्घमा पनि पुगिन् । उनी जहाँजहाँ जान्थिन् त्यस ठाउँको वस्तुस्थिति हर्थिन् । अनि ठोस कामका लागि अग्रसर हुन्थिन् । त्यसैले उनलाई आमा मिलन केन्द्रले पनि तान्यो, नेपाल परिवार नियोजन सङ्घले पनि आफ्नो बनायो र नेपाल क्षयरोग निवारण संस्थाले पनि छेउमै लगेर राख्यो । त्यति मात्र होइन उनी विश्रान्ति मन्दिरसँग पनि आवद्ध भएकी थिइन् ।
मेची आमाले नेपाली माटोमा जति सेवा गरिन् यिनको त्यति नै कदर भयो । राजा महेन्द्र र रानी रत्नले यिनलाई धेरै माया गरेका थिए । अनि राजा वीरेन्द्र र रानी ऐर्श्वर्यले पनि यिनलाई मायाको छाता आर्ढाई राखे । त्यसैले उनले सुप्रसिद्ध गोर्खादक्षिणबाहुदेखि अनेकौं अलङ्कारहरू पाइरहिन् । त्यति मात्र होइन उनले जनमान, जनसम्मान र जनअभिनन्दनहरू पनि डङ्गुर पाएकी थिइन् ।
मेचीआमाले १४ अञ्चलका विभिन्न जिल्लाको भ्रमण गरिन् । अनि उनी नेपाली गुन्यूचोली लगाएर चीन, उत्तर कोरिया, सोभियत रुस, बर्मा, हङ्कङ्ग, थाइल्यान्ड र चेकोस्लोभाकियासम्म पुगिन् । उनी जहाँजहाँ जान्थिन् नेपाली भाषा बोकेर नै जान्थिन् ।
मेचीआमा बाँचुन्जेल झोपडीदेखि दरबारसम्म उत्तिक्कै सर्म्पर्कमा रहेकी थिइन् । नेपाली समाजमा तनमन र धनले होमिदाहोमिदै उनी २०६८ भदौ ८ गते काठमाडौंमा स्वर्गीय भइन् ।