नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

चित्तधर हृदय Chhita Dhar Ridaya

चित्तधरको जन्म १९६२ साल जेठ ५ गते काठमाडौंको रक्तकालीमा भएको थियो । उनका बुबा द्रव्यधर तुलाधर साहु र आमा ज्ञानलक्ष्मी गृहिणी थिइन् ।
चित्तधरलाई राणा सरकारले मातृविहीन बालक लेख्यो भनेर १९९७ सालमा जेल हुँले । त्यसैबेला अर्थात् २००२ सालमा उनकी पत्नी आफ्नो माइत कालिम्पोङ गइन् । त्यसपछि ज्ञानप्रभा कालिम्पोङबाट कोलकात्ता गइन् । अनि उनी २०१२ सालमा पतिसँग जोडिन काठमाडौं आइपुगिन् ।
चित्तधर २००२ सालमा कालो कोठरीको जेलमुक्ति भए । त्यसैबेलादेखि यिनले दाह्री पाले । अनि यिनको परिचय नै यही दाह्री भयो । तर यिनले राजा त्रिभुवन र महेन्द्रको निधन तथा आफ्नी पत्नीको निधनमा मात्रै कपाल र दाह्रीजुङ्गा काटेका थिए ।
चित्तधरको बिहे भाजुरत्न कन्साकार र ज्ञानमाया कन्साकारकी छोरी ज्ञानप्रभासँग भएको थियो । त्यसबेला यी १४ वर्षर यिनकी पत्नी १२ वर्षी थिइन् । तर यी दम्पत्तिबाट सन्तान भएनन् ।
चित्तधरले व्यापारलाई आफ्नो पेसा बनाए । उनले आफ्ना मामा मानदास तुलाधरसँग मिलेर भोटाहिटीको कमलाछीमा साइकल पसल थापेे । त्यस पसलको नाउँ 'मानदास चित्तधरको साइकल पसल' थियो । यिनले यसै पसलबाट किताबहरू पनि बेच्थे । त्यतिबेला त्यो पसल निक्कै चल्तीको थियो । त्यस पसलमा धेरै साहित्यकारले आफ्नो पत्राचारको ठेगाना पनि दिन्थे । पं.सोमनाथ सिग्देलले पनि आफ्नो पत्राचारको टुङ्गो त्यही दिएका थिए ।
चित्तधरले ३३ वटा पुस्तक लेखे । ती नेपालभाषामा नै आधारित थिए । उनको एकनिष्ट लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा 'कविकेशरी'को उपाधि दिए । फणिन्द्ररत्न बज्राचार्यका अनुसार उनलाई च्वसापासाबाट साहित्य शिरोमणि पनि प्रदान गरिएको थियो ।
चित्तधरले विभिन्न नाउँबाट साहित्य सृजना गरे । कहिले यिनले बुद्धोपासक चित्तधर भएर लेखे र कहिले चित्तधर उपासक भएर पनि लेखे । यिनले चित्त, हृदय, रूपरत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया र बुद्धिबज्र बज्राचार्य भएर पनि लेखे । वास्तवमा यिनैको प्रेरणाले सिद्धिचरण श्रेष्ठदेखि धर्मरत्न यमीसम्मले मातृभाषामा कविता लेख्न थाले । साथै यिनकै प्रेरणाले केदारमान व्यथित पनि कवि भएका थिए ।
चित्तधरले निजी अध्ययनबाट शिक्षा आर्जन गरे । यिनले कन्यामन्दिर हाइस्कुललगायत विभिन्न शिक्षण संस्थामा पढाए । उनी समाजसेवामा समर्पित थिए । तर साहित्य, शिक्षा र भाषासेवामा उनको मन झट्टै फूर्थ्य। त्यही कारणले नेपाल भाषापरिषद्को स्थापनामा उनको गुरुत्तर भूमिका थियो । उनी त्यस संस्थाका सचिव, अध्यक्ष र संरक्षकसम्म भए । साथै उनी त्रिभुवन स्मारक समिति र नेपालचीन साँस्कृति परिषद्को उपाध्यक्ष थिए । उनी 'झी' मासिक पत्रिकाको पनि संरक्षक थिए । साथै कोलकात्ता नेपालभाषा साहित्य गोष्ठीको संस्थापक पनि उनै थिए ।
चित्तधर नेपालभाषाका पहिलो गद्यकवि थिए । उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्धप्रबन्ध, उपन्यास, नाटक, बालसाहित्य, समालोचना र आत्मकथा लेखे । उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे । उनी प्रकाशक र अनुवादक पनि थिए । यसैक्रममा गणेशमानसिंहले लेखे, '२००७ सालपछि नेपालभाषाको आन्दोलनमा तीव्र गति आयो । यो सबै चित्तधरको भाषाप्रतिको अनवरत लगनशीलताको प्रतिफल हो ।'
चित्तधर दान दिने कुरामा पनि अग्रसर थिए । उनले आनन्दकुटी पुस्तकालयलाई उनका सङ्ग्रहमा भएका झन्नै एक सयवटा बहुमूल्य किताब दिए । उनले नेपालभाषा परिषद्लाई आफ्नो जग्गा बेचेर नगद दिए । स्वयम्भू विकास मण्डललाई सुनको देउता चढाउने पनि उनै थिए । साथै नेपालभाषा मङ्का खलःलाई विजेश्वरीको झन्नै एक रोपनी जग्गा पनि उनैले दिए । उनी सानाठूला दान गरेर थाक्तैन थिए । खास गरेर नेवारी साहित्य र बौर्द्धधर्मका लागि उनले तन, मन र धन खर्च गरेको बेहोरा डा.चन्द्रमान बज्राचार्यले पनि वर्णगरे । साथै उनी नेपाली साँस्कृतिक मण्डलको उपनेता भएर भारत, चीन र बर्मा गएका थिए ।
चित्तधरले पन्ध्र वर्षपुग्दानपुग्दै व्यापार गर्न थाले । त्यतिबेला जग्गा धितो राखेर उनले व्यापार सुरु गरे । त्यस पैसाले नपुगेर उनले अरू साहुसँग पनि ऋण काडे । तर उनको व्यापार सफल भएन । ऋण तिर्न नसकेपछि साहुले उनलाई समाते । तर उनकी आमाले चार पट्टिबाट पैसा खोजेर साहुलाई तिरिन् र छोरालाई उकासेर घर ल्याइन् । त्यसपछि यिनीहरूको आर्थिक अवस्थाले ठूलै खाडल खन्यो । तर पनि उनकी पत्नीले बराबर भन्ने गर्थिन्, 'तपाईंले उद्योगधन्दा गर्नुपर्यो ।' अनि चित्तधर जवाफ दिन्थे, 'कविहरू भनेकै गरीब हुन्छन् ।'
चित्तधर गरीब भनेर उनलाई ससुरालीले हेप्थे । त्यही कारणले उनकी श्रीमतीले पनि दाइजो पाइनन् । त्यसैले चित्तधरले पनि श्रीमतीलाई हेप्ने गरे । त्यही परिणतिले पत्नीसँग चित्तधर सुत्दैन थिए । उनकी पत्नीको मुखभरी विफरका खत थिए । साथै उनको खानेमुख पनि ठूलो थियो । त्यसैले पनि उनलाई पत्नी मन पर्दैनथ्यो । वास्तवमा विहे गरेपछि उनी घर बस्न चाहँदैन थिए । उनकी पत्नी हाँस्ता पनि उनलाई राक्षेस हाँसेको जस्तै लाग्थ्यो । अनि बरालिएर उनी चित्र कोर्दै हिँड्थे । उनले जेलमा नै चन्द्रमानसिंह मास्केबाट चित्र बनाउन सिकेका थिए ।
एकदिन आमाले रुँदै चित्तधरलाई भनिन् 'अनुहार मात्र केही होइन छोरा ! तँ तेरी स्वास्नीप्रति अत्याचार नगर । तँ उसलाई माया गर्दैनस भने म केही नखाई भोकै मर्छ' त्यसपछि उनकी आमा भोकभोकै बस्न थालिन् । अनि केही दिनपछि चित्तधर आफ्नी पत्नीसँग सुत्न थाले । त्यतिखेर उनी सत्र वर्षभुक्तान गर्ने क्रममा थिए ।
चित्तधर क्रमशः पत्नीप्रेममा डुब्न थाले । पछि यिनकी पत्नीलाई दमको रोगले आक्रान्त पारेको थियो । त्यतिन्जेलसम्ममा उनको संसार नै उनकी पत्नी भैसकेकी थिइँन् । त्यसैबेलाको कुरा हो, उनकी पत्नीको घाँटीमा खकार अड्केको थियो । उनले बलगरेर त्यस खकारलाई मुखसम्म ल्याएकी थिइँन् । तर थुक्न सकेकी थिइँनन् । अनि चित्तधरले आफ्नी पत्नीको मुखमा आफ्नो मुख गाडेर खकार तानेका थिए ।
उपचारका लागि २०१७ सालमा ज्ञानप्रभालाई कोलकात्ता पुर्याइएको थियो । उपचारकै क्रममां उनी त्यहीं दिवङ्गत भइन् । त्यसपछि नेपाल आएर चित्तधरले र्सवप्रथम आफ्नी पत्नीको प्रतिमा बनाए । अनि सधैंको मिर्मिरेमा उनी आफ्नी पत्नीको प्रतिमाको दर्शन गरेर मात्रै पानी खान्थे ।
२०२८ सालमा काठमाडौंमा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो । त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि अर्थात् २०३९ साल जेठ २६ गते उनलाई हृदयघात भयो ।
चित्तधर दिवङ्गत भएको १० वर्षछि उनको मुहार अङ्कीत हुलाक टिकट निक्ल्यो । उनका नाउँमा विभिन्न गुठी र पुरस्कारका स्थापना पनि भइरहे । उनैको सम्मानमा पाँच सय रूपियाँको चाँदीको सिक्का पनि निक्ल्यो । साथै कालिमाटी काठमाडौंमा उनको सालीक पनि निर्माण भयो । किनभने उनी नेपाली संस्कृतिका धरोहर थिए ।