नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

विष्णुप्रताप शाह Bishnu Pratap Shah

राजनीतिज्ञ, साहित्यकार, समाजसेवी, वैज्ञानिक, प्राध्यापक, प्रशासक, प्रहरी, सेना आदिले एउटै स्वरमा मन पराएका नेपाली थिए 'विष्णुप्रताप शाह' । असल, निष्पक्ष र पराक्रमी भएर नै उनले नाउँ कमाएका थिए । उनले जति हैसियत कायम गरे नेपाल र नेपालीमा नै समर्पित भएर गरे । वास्तवमा उनको जीवनको सम्पूर्ण योगदान नेपालको राष्ट्रियतामा नै केन्द्रित थियो । उनले यहींका जनता र यही राष्ट्रको भलाईमा नै आफ्नो कपाल फुलाएका थिए ।
नेपालमा शाहका प्रायः बैरी थिएनन् । यदि उनका कोही बैरी थिए भने ती प्रायः भ्रष्ट, अयोग्य, अप्रजातान्त्रिक, ठग र इष्र्या गर्नेहरू नै थिए । तर उनले कहिले कसैसित पनि बैरभाव राखेनन् । अनि उनले खासै फलको आशा पनि नराखी काम गरे ।
शाह २२ वर्षा भएपछि जागीरमा छिरे । त्यस बेला उनी नायव सुब्बामा प्रवेश भए । त्यसपछि क्रमशः अधिकृत हुँदै उनी प्रमुख जिल्ला अधिकारी भए । त्यसपछिको उनको पदको हिसाब राख्ने हो भने उनी विशिष्ट श्रेणीमा पुगेपछि सञ्चार सचिव र गृह सचिव भए । योभन्दा महत्वपूर्णकुरा उनी दुईकार्यकालका लागि प्रमुख निर्वाचन आयुक्त पनि भए । त्यसबेलाको उनको योगदानलाई प्रायः सबैले प्रसंशा गरेका थिए । साथै उनी विभिन्न बैङ्कहरूको सञ्चालक समितिका अध्यक्ष भए । उनी विभिन्न संस्थानको पनि अध्यक्ष भए । उनी विभिन्न क्याम्पस र स्कुलको सञ्चालक समितिको पनि अध्यक्ष भए ।
शाह कडा र योग्य प्रशासकमा दरिएका थिए । उनी जुन ठाउँमा जान्थे सफा काम गर्थे । साथै उनी अञ्चलाधीशमा पनि नामी थिए । उनी बाग्मती अञ्चलाधीश भएर पनि न्याय, निसाफ र इमानमा नै ढल्केका थिए । त्यसबेला उनले बहुदलवादीहरूको पनि खुबै मन जितेका थिए ।
शाहले भूगोलको प्रायः सरोफेरो लगाए र नेपालका पचहत्तरै जिल्ला कुल्चे । एउटा सुसंस्कृत परिवारमा जन्मेका, उच्च शिक्षा ग्रहण गरेका र जागीर खाएर जीवन र जगत् बुझेका कारण उनले सधैं मानवीय सोचाइ राखेर नै काम गरे । उनी सानो पदमा हुँदा जस्तो थिए ठूलो पदमा पुग्दा पनि उनको कुनै धाकधक्कु थिएन । उनी अर्काको रुचि बुझने, अर्काको भाका बुझने र अर्काको भावना बुझने कोटिका प्रशासक थिए । त्यति मात्र होइन उनी पर, पर र निक्कै परको कुरा पनि देख्थे । त्यसैले चाहे राजासँग भेटेका बेला होस् र चाहे प्रधानमन्त्रीसँग भेटेका बेला होस् उनी एउटै प्रकृतिका कुरा गर्थे । अनि आम जनताका अगाडि पनि उनका कुरा त्यस्तै र्छलङ्ग हुन्थ्यो ।
शाहको पुर्ख्यौली घर धादिङको मैदी गाउँ थियो । त्यहाँ यिनीहरूलाई राजा भनिन्थ्यो । त्यसैले यिनको नाउँ ठूल्राजा थियो । यी जति नामी भए तापनि गाउँकाले यिनलाई विष्णुप्रताप शाह भनेर चिन्दैन थिए । त्यस ठाउँमा उनी ठूल्राजाबाटै प्रसिद्ध थिए । वंशावली हेर्दा गोरखाका राजा द्रव्य शाहपछिको सात पुस्तामा पृथ्वीपति शाह पर्थे र त्यसपछिका नौ पुस्तामा विष्णुप्रताप शाहको नाउँ आउँथ्यो ।
शाह बौद्धिकताले सुसज्जित थिए । उनी मानवतावादी थिए । उनीमा प्रचुर प्रजातान्त्रिक आचरण, मर्यादा र भावना भए तापनि उनका लागि काङ्ग्रेस, कम्युनिस्ट र रोयलिस्ट बराबरी थिए । उनी ठूलो पदका मान्छेभन्दा असल मान्छेको कदर गर्थे । उनी नेपालको इतिहास र राजनीतिमा धेरै चासो र चाख राख्थे ।
शाह नेपालको राजसंस्था विरोधी थिएनन् । उनी संवैधानिक राजसंस्थाका पक्षपाति थिए । तर कुरौटेका झोसपोलमा उनी राजदरबारको झन्नैझन्नै आँखाका कसिङ्कर पनि भएका थिए । सकरातमक चेतका धनी उनी बाँचुन्जेल निर्भीक भएर नै हिंडे ।
शाहले जुद्धोदय पब्लिक हाइस्कुलमा पढे । त्यसपछि उनी त्रिचन्द्र कलेज पुगे । अनि अमेरिकाको मिसिगनराज्य विश्वविद्यालयबाट उनले एमए पास गरे ।
शाहले प्रतिभाशाली व्यक्तिहरूलाई सधैं प्रोत्साहन दिन्थे । उनी काममा विश्वास गर्थे । काम गर्ने मान्छेलाई उनी काँधमा बोक्थे । अनि उनी काम पनि योजनाबद्ध तरिकाले गर्थे । छलछाम गर्ने प्रवृत्तिबाट उनी अलग्गै बस्थे । उनी हुने काम हुन्छ भन्थे र नहुने काम हुँदैन भन्थे । तर उनको मन नरम थियो । माया, ममता र करुणाले उनको मन टम्म हुन्थ्यो । उनी सानोठूलो छुटयाउँदैन थिए । उनी नेपाली संस्कृतिका सरल नेपाली पाठ नै थिए । उनी जति असल थिए त्यति नै शालीन, सौम्य र सरल पनि थिए ।
शाहको जन्म १९९३ साल साउन १७ गते काठमाडौंमा भएको थियो । उनी क्याप्टन लालजङ्ग शाह र सुभद्राकुमारी शाहका जेठा छोरा थिए ।
 ईश्वरी शाहसँग २०२८ सालमा विवाह भयो । शाहका हरेक कार्यमा उनकी पत्नीको सघाउ हुन्थ्यो । राजनैतिक सुझबुझ भएकी श्वरी पनि समाजसेवामा आबद्ध भइरहिन् । यसैकारणले पनि शाहको जीवन निक्कै सफल रहृयो । अनि यी दम्पत्तिबाट विमलप्रताप शाह र विनीता शाह खड्काको जन्म भयो ।
शाह सृजनशील व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यसँग पनि नजिक थिए । उनी नेपाली र अङ्ग्रेजी भाषामा बराबरी लेख्थे । त्यही क्रममा उनले इतिहास, राजनीति, प्रशासन, साहित्य, संस्कृति, पर्यटन आदि विषयमा पनि कलम चाले ।
शाहले अनगिन्ति अलङ्कार पाए । विभूषणका हकमा उनले त्रिशक्तिपट्ट दोस्रो र गोरखादक्षिण बाहु दोस्रो पाए । उनले धेरै सम्मान र अभिनन्दन पनि ग्रहण गरे । विदेशतिरबाट पनि उनलाई विभूषित गरिएको थियो ।
शाह काम गरेर थाकेँ भन्दैन थिए । उनी काम प्यारो मान्थे । अवकाश प्राप्त जीवन भोग्दा पनि उनी व्यस्थ थिए । तर काम गर्दागर्दै उनी थलापरे । क्रमशः उनी सुकेर गए । उनी बाइपास सर्जरी गरेर पनि केही वर्षबाँचे । तर दैवले उनलाई जुरुक्कै उचालेर लग्यो । अनि त्यो दिन थियो २०६२ साल वैशाख १६ गते