नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

केशरशमशेर जबरा Keshar S. J. B. Rana

 २००७ सालपछिको कुरा हो, भारतका प्रधानमन्त्री पं.जवहारलाल नेहरु प्रथमपटक नेपाल आँउदा उनले केशरशमशेर जबराको मोटर चढेका थिए । त्यसबेला राणाको भन्दा राम्रो, दामी र आकर्षमोटर राजा त्रिभुवनसँग पनि थिएन । तर पनि त्यस मोटरमा कहिले महाकवि लक्ष्मीप्रसाद देवकोटा चढे, कहिले कविशिरोमणि लेखनाथ पौड्याल चढे र कहिले प्रथम नारी गायिका मेलवादेवी गुरूङ पनि चढिन । राणा धनी भइकन मनकारी थिए । उनको मन जनउत्थानमा केन्द्रित थियो । उनी एउटा निरङ्कुस शाषककै विउ थिए तर पक्का प्रजातन्त्रवादी थिए । उनी श्री ३ चन्द्रशमशेर तथा लोकभक्तलक्ष्मीका साइँलो छोरा थिए । राणाको जन्म १९४८ साल पुस २३ गते काठमाडौंमा भएको थियो ।
राणा नेपाली राष्ट्रियताका हिमायती थिए । त्यसैले उनलाई मातृकाप्रसाद कोइरालादेखि विश्वेश्वरप्रसाद कोइरालासम्मले श्रद्धा गर्थे । राणाले प्रजातान्त्रिक राजनीतिज्ञहरूको रक्षाका लागि आफ्नो बुता प्रयोग गरेका थिए । त्यतिमात्र होइन श्री ३ भीमशमशेरले लाइब्रेरीपर्वमा महाकवि देवकोटा लगायत पैंतालीस जना जागरुक योद्धाहरूलाई कठोर जेल सजाए दिन लागेको बेला पनि यिनैले उनीहरूलाई जोगाएका थिए ।
राणा राम्रा मान्छेलाई काखी च्याप्थे । उनीभित्र राजनैतिक विचार मात्र थिएन साँस्कृतिक अवधारणा पनि थियो । उनैले लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, धर्मराज थापा, मेलवादेवी गुरुङ, चन्द्रमानसिंह मास्केआदिलाई संरक्षण दिए । उनैको कृपाले लैनसिंह वाङ्देल फ्रान्समा पढ्न अडिए । उनी खोजीखोजी स्रष्टाको पीरमर्का बुझ्थे र सहयोग पनि गर्थे । नेपाली शिक्षा, संस्कृति, कला, साहित्यको उन्नयनका लागि उनले अविरल भूमिका खेलेका थिए ।
राणा नेपालीसंस्कृति र अड्गे्रजीका विद्वान थिए । उनले कालिदासकृत विक्रमोर्वशी संस्कृतभाषाबाट नेपालीमा अनुवाद गरे । उनी सदैव नेपालको संस्कृतिमा आफ्नो चिन्तन रोप्थे । उनी कलेज पुगेनन् तर विश्वविद्यालयका विद्यार्थीले उनलाई गुरू थापे । उनी बौद्धिक चेतका नेपाली जगतगुरु थिए ।
२००७ सालमा उनैले नेपाल साँस्कृतिक परिषद्को स्थापना गरे र त्यहाँ एउटा गह्रौं थैली पनि राखिदिए । तर त्यो सबै धन साहित्यकारहरूले नै नासिदिए ।
राणाले राजनीतिज्ञ, वैज्ञानिक, अर्थशास्त्री र प्राध्यापकलाई पनि सकिञ्जेल आफ्नो अँगालोमा बाँधेे । उनी अयोग्य, भ्रष्ट र जनमारालाई पाखा लगाउँथे र इमान्दार मान्छेलाई काखमा राख्थे । उनीबारर्ेर् इश्वर बराल भन्थे 'केशरशमशेर ठूलो मन, मुटु र विवेक भएका राणा थिए । उनीमा राजा, महाराजा हुने गुण थियो ।'
चन्द्रशमशेर बेलायतको राजकीय भ्रमणमा जाँदा केशरशमशेर पनि सँगै थिए । त्यतिबेला उनले पुस्तकालय र सङ्ग्रालय खोजीखोजी हेरे । उनले त्यहाँबाट पनि केही किताब ल्याए । अनि त्यसै प्रभावबाट उनले नेपालमा किताबकै सङ्कलनमा दिन फ्याँक्न थाले । त्यही सङ्कलनको निष्कर्षहो केशर पुस्तकालय ।
राणाले विवाहिता र अविवाहिता गरेर चार जनासँग घरजम गरे । उनको पहिलो विहे १३ वर्षा भयो । यिनकी पहिलो पत्नी श्री ५ पृथ्वीविक्रम शाहकी जेठीछोरी थिइन् । यिनीहरूबाट सन्तान जन्मे तर लोग्ने स्वास्नीको मन नमिलेपछि यिनीहरुले सम्बन्ध विच्छेद गरे । त्यसपछि उनको विहे बाजुराका वीरविक्रम सिंह र शारदादेवीकी छोरी कृष्णचन्द्रदेवीसँग भयो । अनि यिनका पत्नीउपपत्नीबाट पाँच छोरा र छ छोरी जन्मे ।
तत्कालीन रीति अनुसार राणा सोह्र वर्षा नेपाली सेनाको जनरल भए । यी आफ्नो कार्यमा नै सदा दत्तचित्त हुन्थे । राणाशासन पतन भएपछि पनि उनी नेपाल मै बसे । केही राणा भागारेभाग हुँदा उनले र्सार्वजनिक घोषणा गरे 'बाँचे पनि म नेपाल मैं बाँच्छु र मरे पनि नेपालमै मर्छ' त्यसपछि नचट्पर्टाई उनले नेपालमै पुरुषार्थ गरे । त्यही परिवेशमा उनी २००८ सालमा प्रधान सेनापति भए ।
राणाको झुकाव जनराजनीतिमा नै केन्द्रित थियो । त्यसैले उनी प्रधानसेनापति भएको सात महिनामा मात्रृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रक्षामन्त्री भए । अनि २००९ साल साउन ३० गते उनी प्रधान परामर्शदाता अथवा भनौं मन्त्री परिषद्का अध्यक्षमा नियुक्त भए । उनले एक वर्षजति नेपालको शासनको बागडोर समाए । उनले आफ्नो कार्यकालमा जति गरे नेपालको हीतका लागि गरे । उनी नेपाली भावनाका सिङ्गो प्रतिनिधि हुन चाहन्थे । त्यसैले उनी स्वयम्ले जति बिहे गरे नेपालीलाई नै गरे । उनले अरु राणाले झैं आफ्ना घरमा एकजना बुहारी पनि विदेशी हुलेनन् र एक जना छोरी पनि विदेशीलाई कन्यादान गरेनन् ।
राणा २०१३ सालमा फिल्ड मार्सलमा नियुक्त भए । उनी काठमाडौं नगरपालिकाको मेयर पनि भए । उनी विभिन्न मुलुकको राजदूत पनि भए । उनी जहाँजहाँ पुग्थे सिङ्गो नेपाली परिवेशको आकृति बोकेर जान्थे । उनी हरेक दफामा नेपालकै मौलिक बोली बोल्थे । उनको सम्पर्ूण्ा जीवनको योगदानबाट प्रभावित भएर राजा महेन्द्रले उनलाई हिजहाइनेसको उपाधि दिए । साथै उनी नेपाल तारा प्रथम, गोरखा दक्षिणबाहु प्रथम, त्रिशक्तिपट्ट प्रथम अनि विभिन्न्ा मित्र राष्ट्रहरुका विभूषणबाट विभूषित भए । उनी विश्वभ्रमण गर्ने पहिलो नेपाली पनि थिए ।
राणा समाजसेवाका नमुना थिए । १९९० सालको भूकम्पपीडितका लागि उनले कोषमा आफ्ना गोजीबाट झिकेर एक लाख रूपियाँ चन्दा दिए । त्यसपछि अरुले पनि चन्दा दिन थाले । पछि उनले सेन्ट जेभियर्स स्कूलको छात्रावासका लागि गोदावरीमा भएको आफ्नो घरजग्गा पनि दान दिए ।
राणाले आफ्नै घरमा केशर पुस्तकालय खोले । त्यस पुस्तकालयमा स्वदेशी र विदेशी प्राज्ञहरुले ज्ञान आर्जन गरे । त्यहाँ बहुमूल्य ताडपत्रहरु पनि रहे । बाँचुञ्जेल उनले आफैं लाइब्रेरियनको काम पनि गरे । पुस्तकालयमा कुन किताब कुन र्याकमा छ उनलाई कण्ठै हु्न्थ्यो । त्यसैले ईश्वर बरालले उनलाई हिंड्ने विश्वकोश भन्थे । त्यहाँ ठूलाठूला र महत्वपूर्ण तैलचित्रहरु पनि झुण्डिए । उनी उज्यालो भएदेखि रात नपरिन्जेल त्यही पुस्तकालय रुङ्थे । वास्तवमा संसारमा सबैभन्दा प्यारो उनको त्यही पुस्तकालय थियो । त्यतिबेला नै राणाले त्यस पुस्तकालयमा सत्ताइस हजार पुस्तक दर्ता गरेको बेहोरा उनकी छोरी  इन्दिरा मल्लले लेखिन् ।
केशर महलभित्र स्वप्न बगैंचा पनि पर्छ । स्वप्न बगैंचा हरेक ऋतुमा फुल्ने फूलहरुले ढाक्ने गर्थे । राणाले प्रत्येक फूलका बोटमा नेपाली, अड्ग्रेजी र ल्याटिनमा नाउँ लेख्थे । उनका छोरा लोकभक्त शमशेरका अनुसार उनी पृथ्वीलाई स्वर्गजस्तो हेर्न चाहन्थे त्यसैले उक्त बगैंचाको नाउँ उनले स्वप्न बगैंचा राखे।
राणालाई केशर पुस्तकालय नेपाली जनताको साझा बनाउने ईच्छा थियो । त्यसैबारे उनले आफ्नो डायरीमा लेखेका थिए 'मेरो शेषपछि केशरमहल जनताका नाउँमा सारिदिनु ।' उनी परलोक भएपछि उनकी पत्नी हरहाइनेस कृष्णचन्द्रदेवी राणाले एउटा विशेष समारोहमा ३२ रोपनी जग्गा सहित् केशरमहल सरकारलाई दान गरिन् । नेपाली समाजमा सबैभन्दा धेरै मूल्यको दान दिने उनी नै एक जना थिए ।
नेपाली समाजका प्रेरक व्यक्तित्व कर्मवीर र दानवीर हिजहाइनेस केशरशमशेर २०२१ जेठ २५ गते काठमाडौंमा स्वर्गीय भएका थिए ।