नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

गोपालराज पन्त

प्रहरी सेवामा आबद्ध भएर पनि एउटा मान्छे कति सरल र कति सरस हुन्छ भन्नेको प्रमाणका रुपमा गोपालराज पन्तको नाउँ अग्रपड्तिमा आउँछ । पन्त नरमका नमूना थिए, शिष्टताका प्रतिमर्ति र कर्तव्यका उदाहरण थिए । त्यसैले उनलाई साहित्यकारले पनि सम्मान गरे, प्रशासकले पनि माया गरे र राजनीतिज्ञले पनि तारिफ गरे ।
नेपाली परिवेशमा पन्त हास्य व्यङ्यका एउटा अर्को श्रृङ्खला थिए । उनी सफल व्यङ्यकार थिए । उनले व्यड्ग्य गर्दा प्रशासन र राजनीतिका मान्छे भुँडी मिचिमिचि हाँस्थे । उनीहरु हाँसिरहेको बेला आफूहरूलाई नै पेच हानेको पनि थाहा पाँउदैन थिए । हाँसो रोकिएपछि मात्र उनीहरु बुझ्थे यो त मलाई पो भनेको रहेछ । वास्तवमा पन्त हास्यको आवरणमा मनको गहिर्राईसम्म दखल पुर्याउन सक्षम थिए । उनी जनमन छुने विचार पस्कने मनोबैज्ञानिक हास्यकलाकार थिए ।
      पन्त नाटक आफैं लेख्थे, आफैं निर्देशन गर्थे र आफैं खेल्थे । उनले जति लेखे त्यतिमा नै सफल भए, जति निर्देर्शन गरे त्यसमा पारड्गत भए र जति खेले दर्शकका हाइहाई नै भए । त्यसैले बालकृष्ण समले उनीबारे लेखे 'पन्त हास्यका सफल अभिनेता हुन् ।' नेपाली भाषासाहित्यको हास्यसाहित्यको श्रीवृद्धिमा पन्तको भूमिका महत्वपूर्ण थियो ।
      पन्तको जन्म १९८८ साल मड्सिर १२ गते काठमाडौंमा भएको थियो । उनका बुवा टड्कराज पन्त सरकारी जागीरे थिए भने आमा कमलकुमारी गृहणी थिइन् ।
      पन्त सानामा उल्का स्वभावका थिए । त्यसबेला उनी आफ्नै मर्जीका राजा थिए । आमाबुबाले जति नै सजाए दिए तापनि उनले आफ्नो स्वभावलाई पनि छाडेनन् । यतिहुँदाहुँदै पनि उनी घरको काम पनि गर्थे र कामका साथसाथै पढ्नमा पनि मन दिन्थे । क्रमशः उनले आफ्नो कर्तव्यलाई जीवनको गीता ठान्न थाले । त्यही गीता पढेर उनी नेपाली भाषासाहित्यका नअस्ताउने तारा बने ।
      पन्त कुनै मान्छेलाई एकपटक देखे भने त्यस्तै अनुकरण गर्न सक्थे । उनी कसैको कुरा सुनेपछि त्यस्तै नक्कल (क्यारीकेचर) गर्न सक्थे । उनी रोएकालाई हँसाउन सक्थे । निरास भएर हिंडेकालनाई उनी उत्साहको बुटी बानी दिन सक्थे । उनी आफू पनि सँधै रमाउँदै हिंड्थे । त्यही क्रममा यिनको जागीर प्रहरीमा आबद्ध भयो ।
पन्तको काठमाडौंका गोविन्दराज पाण्डे र कुसलाराज्यलक्ष्मीकी छोरी सुशीलासँग बिहे भयो । यी दम्पतिबाट दुईछोरी कविता र कल्पना अनि एक जना छोरा वसन्त जन्मे । डा.वसन्त पन्त नेपालको चिकित्सा विज्ञानमा सुपसिद्ध नाँउ भयो । न्यूरो सर्जनका रुपमा डा. पन्त सुविख्यात नै बनेका छन् ।
      गोपालराज पन्त लेखक थिए । लेख्ने क्रममा उनका दुईवटा कृति प्रकाशनमा आए । 'सेतो सालिग्रा' र 'कर्के आँखा' दुवै हास्य नाटक २०२६ सालमा प्रकाशति भए । प्रकाशित मात्र होइन नेपालमा हास्यनाटक मौलाउन नसकेको अवस्थामा यी दुवै कृतिले संजीवनी र्छर्के । त्यही कारणले पन्तसँग नाट्यसम्राट् बालकृष्ण सम लहसिएका थिए र समसँग पन्त पनि टाँस्सिएका थिए । किनभने नाटक लेख्नेक्रममा पन्तले नाटकै मात्रै लेखेनन् नेपाली मौलिक जनजीवन पनि लेखे । उनले नेपाली संस्कृति पनि लेखे । अनि उनले नेपाली आकाश र परिवेश पनि लेखे । उनले आफ्ना नाटकलाई नेपाली भाका, नेपाली शैली र नेपाली थेगोले राम्ररी सिंगारे । हास्यनाटक लेखेर नै यिनले भीमनीधि तिवारीसँग पनि गला जोडे । त्यसैले तिवारीले पनि यिनीबारे मुख फोरे र अक्षर पनि कोरे 'पन्तले हास्यव्यड्ग्य साहित्यको अभावपर्ति गरे ।' त्यतिमात्र होइन तिवारी पन्तका हास्यनाटकको फ्यान नै थिए । हास्यरसमा प्रयोग गरिने खासखास शब्द, वाक्य, घटना, वातावरण, कार्यकलाप पन्तका नाटकमा नीहित भएको बेहोरा तिवारीले बराबर वकालत गरिरहे ।
      पन्तले नेपाल प्रहरीको रेडियो नेपालमा कार्यक्रम चलाए । त्यस कार्यक्रमका उनी उद्घोषक पनि थिए र प्रस्तोता पनि थिए । उनले रेडियोमा बोल्न थालेपछि स्रोताका कान प्रहरी सेवाको रेडियो नेपालतिर तानिन्थ्यो । किनभने उनी एकातिर करुणरसबाट जनजीवनको कान रेडियोतिर खिच्ने प्रयास गर्थे भने अर्कातिर हँसाएर स्रोतालाई आफन्त बनाउँथे । त्यस फाँटमा प्रसिद्धि कमाएका राजपाल हाडा, आनन्द पुरी र जीतेन्द वस्नेत पनि उनकै चेला थिए ।
पन्तले जापानबाट रेडियो तालीम लिएका थिए । उनले रेडियो कार्यक्रम सञ्चालनको शिक्षा पनि जापानबाटै लिए । उनले जति सीप र तालीम लिए त्यो बेहोरा इमान्दारीपर्ूवक मन वचन र कर्मले पस्की रहे ।
      पन्त लेखनका सुपरिचित स्रष्टा थिए । उनी निबन्ध र प्रबन्ध लेखनमा पनि खुबै चर्चित थिए । उनी कविता, गीत र गजल पनि लेख्थे । विभिन्न पत्रपत्रिकामा उनका लेख बराबर प्रकाशित भइरहन्थे । उनैले 'प्रहरी' पत्रिकाको सम्पादन गरे र उनी त्यस पत्रिकाको संस्थापक नै थिए । साथै उनी 'तथ्यकथा'को पनि संस्थापक सम्पादक थिए । उनी प्रहरी नायब उपरीक्षक अर्थात् डीएसपी पनि भए । धेरैका प्रिय भैसकेपछि उनले त्यहाँबाट २०४५ सालमा स्वेच्छिक अवकास लिए ।
      पन्तको अर्को विशेषता पर्वतारोही पनि थियो । उनले नेपालका हिम शिखरहरुमा विदेशीलाई पुर्याउने काम गरे । खास गरेर जापानी टोलीलाई उनले अन्नपूर्ण, मनास्लु र सगरमाथाको आरोहणका लागि हिमश्रृङ्खला पुर्याएका थिए । सगरमाथा आरोही प्रथम जापानी नारी जुन्को ताबइका साथ पनि उनी पर्वतारोहणमा सरिक थिए ।
      पन्तले चलचित्रमा पनि अभिनय गरे । उनले आफूले लेखेका नाटकबाहेक अरूले लेखेका अनेक नाटकमा पनि अभिनय गरे ।
      पन्तले गाइजात्रा महोत्सवदेखि प्रहरी महोत्सवसम्म आफ्नो प्रतिभा देखाएका थिए । उनले जति देखाए सम्मानपत्र, प्रशंसापत्र, पदक र पुरस्कारहरु पनि पाइरहे । उनी नेपाली नाटकविधाको संङ्घर्षकालीन समयका एउटा कुशल यात्री थिए । त्यसैले उनी आधुनिक नेपाली नाटक संसारको निर्माधीन महलको जगमा जोडिएको एउटा बलियो ढुड्गाका रुपमा अविष्मरणीय भए ।
सन्तोष पन्तलाई हास्यव्यड्ग्यमा डोर्याएर शिखर आरोहण गराउने गोपालराज पन्तनै थिए । नेपाली भाषा बोलिने भूगोलको सेरोफेरोमा सुपरिचित हास्यव्याड्ग्य कलाकार सन्तोष पन्त पनि उनैका भाइ हुन् ।
      सुप्रसिद्ध कलाकर सन्तोष पन्तकी छोरी सदीक्षा पन्तको सवारी दुर्घटनामा काठमाडौंमा निधन भयो । त्यसबेला त्यस समाचारसँगै गोपालराज पन्तको शिरमा आकाश बज्रिएको थियो । समाचार पाउनेवित्तिकै आँत्तिएर उनी मोटरसाइकलबाट सदीक्षाको भौतिकचोला रहेको ठाउँमा जाँदै थिए । अनि उनको मोटरसाइकल पनि दर्घटना भयो र उनको त्यहीं अन्त्य भयो । त्यो कालोदिन २०४८ साल साउन २९ गते थियो ।