नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

हरिचरण सिटौला Hari Charan Sitaula

दार्जिलिङको सेन्टजोसेफ कलेजका प्राध्यापक राजनारायण प्रधानलाई तेह्रथुमस्थित आठराईका कुमाईहरूले हरेक जुक्ति गरेर चुहानडाँडाको वीरेन्द्र इन्टर कलेज पुर्‍याएका थिए । अनि त्यस कलेजका उनी संस्थापक प्रिन्सिपल भए । नेपाली भाषासाहित्यका महारथी प्रधानले त्यसै बेला लेखका थिए- '२०१७ सालमा म त्यहाँ पुगेँ, त्यहाँ स्कुल पनि थियो । त्यस्तो विकट ठाउँमा त्यति ठूलाठूला स्कुल भवन र कलेज भवन देख्ता म छक्क परेको थिएँ । त्यहाँ कहीँको अनुदान र दान थिएन । त्यहीँका मान्छेले आफूले अर्जेको धन खर्चेर शैक्षिक भवनहरू बनाएका थिए । हरिचरण सिटौला, पद्मप्रसाद उप्रेतीजस्ता समर्पित व्यक्तिहरूको त्याग र सेवाले चुहानडाँडाको नाउँ चमचम चम्केको थियो । तीमध्ये हरिचरण सिटौलासँग मेरो घनिष्टता थियो । उनी मेरा भर थिए, भरोसा थिए र संरक्षक नै थिए । मलाई दुक्ख पर्दा म उनैलाई सुनाउँथेँ । उनी थोरै बोल्थे तर बोलेपछि गरिछाड्थे । उनी महान् थिए । तिनै महान् मान्छेको काखमा म पाँच वर्ष घुस्रेको थिएँ ।'
त्यस ठाउँमा बस्ने धेरैले हरिचरणको गुन गाए । किनभने उनी शिक्षाको ज्योति बाल्ने योद्धा थिए । उनी आफ्नो गोजीमा ठूलाठूला योजना बोकेर हिंड्थे । त्यसैले धेरैले उनको महानताको अर्चना गरे । वास्तवमै उनी सादा खान्थे, सादा लाउँथे र सादा बोल्थे । उनी नरम कति थिए भने अति नरम थिए । उनीसँग मान्छेहरू वादविवाद गर्दैन थिए । जोसुकै पनि उनका छेउमा जाँदा कि त लिन्थे कि त दिन्थे । उनी कसैको दान आफ्ना हातमा थाप्तैन थिए । कसैलाई दिन मन छ भने शारदा स्कुल र वीरेन्द्र इन्टर कलेजमा पुर्‍याइदिन आग्रह गर्थे । तर उनको आग्रह कस्तो हुन्थ्यो भने उनले बोलेपछि त्यहाँ ढुङ्गाको अक्षर हुन्थ्यो ।
पूर्वी पहाडी भेगको समकालीन पुस्तामा पद्मलाल थपलिया, देवीप्रसाद उप्रेती, पद्मप्रसाद उप्रेती र हरिचरण सिटौलाको नाउँ समाजसेवाको विम्ब थियो । पूर्वाञ्चलभरि कुमाईको नाउँ लिँदा पनि यिनीहरूकै नाउँको एउटा बलियो छाता हुन्थ्यो । यतिहुदाहुँदै पनि त्यस्ता मान्छेका छातीले नत गोरखादक्षिणबाहु भिर्‍यो, तिनीहरूका नाउँमा नत हुलाक टिकट नै छापियो । उनीहरू आडम्बरभन्दा कोसौंकोस टाडा थिए । वास्तवमा उनीहरूलाई दरबारको चाकरी र तरबार धारले भन्दा सेवाभावले लुटुपुटु पारेको थियो ।
हरिचरण सिटौलाको जन्म १९७८ साल असार २४ गते चुहानडाँडामै भएको थियो । उनका बुबा द्रोर्णाचार्य सिटौला र आमा वत्सला किसान र घरगृहस्थीमा आवद्ध थिए । यिनीहरूका चार छोरा आठ छोरीमध्ये हरिचरण माइला थिए । हरिचरणले चाहिं लक्ष्मी पाठक र मनमाया मैनालीसँग विहे गरे । अनि यिनीहरूबाट सात छोरा र तीन छोरी जन्मे ।
हरिचरणले निजामति पास गरे । त्यस बेला गाउँका मान्छेहरू काठमाडौं आएर राणाको चाकरी गरेर जागीर खान्थे । अनि उनी पनि जागिर खान काठमाडौं आए । काठमाडौं टेकेपछि उनका दौंतरीले 'पाउको सेवक चाकर गर्न पाउँ' भन्ने उनलाई विन्तीपत्र लेख्न सिकाए । अनि उनले भने 'म यस्तो कठोर चाकर गर्न सक्तिन, बरु घरै र्फकन्छु ।' त्यसपछि उनी स्कुल खोल्ने राणाको हुकुम लिएर गाउँमै फर्के । जागीर खान गएको छोरालाई एक्कैचोटि आँगनमा देखेपछि उनका बुबाले भने, 'काजीको छोरो काजी हुन्छ, पाजीको छोरो पाजी ! म गोठालाको छोराले केको जागीर ! गोठालाको गोठालै !'
पहाड पुगेर पनि हरिचरणले हात बाँधेनन् । उनले लप्टन हरिलाल थपलियादेखि मेदनीप्रसाद उप्रेतीसम्मलाई हात लिएर २००२ सालमा स्कुल खोले । स्कुल बन्द गर्न राणाको सेनाको घरिघरि आदेश पनि आइरहन्थ्यो । तर उनले येनकेन गरी स्कुल चलाइरहे । अनि २००७ सालपछि उनले त्यस स्कुललाई शारदा मिडिल स्कुलको नाउँमा स्वीकृति लिए । सुरुमा त्यो स्कुल हरिचरणकै घरमा सञ्चालित थियो । उनको वफादारी र विद्यार्थीको घुइँचोका कारण पाँच वर्षमै त्यो स्कुल हाइस्कुल भयो । अनि जनसहभागिताले त्यहाँ स्कुल भवन पनि भव्य बन्यो । स्कुल प्रभावशाली भएपछि त्यहाँ कलेज खोल्न पनि हरिचरण नै अग्रसर भए र स्कुल भवनमा नै कलेज पनि सुरु भयो । साथै कलेज भवनका लागि नगद र जिन्सी जम्मा हुन पनि थाल्यो ।
हरिचरणका बुबा द्रोर्णाचार्य सिटौलाले कलेज भवनको सिलान्यास गरे । अनि त्यस भव्य समारोहमा उनले भाषण गरे, 'मेरो छोरालाई काठमाडौं जागीर खान पठाएथेँ । त्यति बेला उसले जागीर नखाँदा मलाई सारै दुक्ख लागेको थियो । तर ऊ यस क्षेत्रको शिक्षाको ज्योति बनेर फर्केर आएछ । उसले धेरैलाई जागीरे मात्र बनाए, वैज्ञानिक, राजनीतिज्ञ, साहित्यकार, कलाकार र प्राध्यापक पनि बनायो ।'
स्कुल र कलेज ठडिएपछि त्यो ठाउँ नै बुट्टेदार भयो । भनौं त्यो नाङ्गो डाँडा नै पूर्वाञ्चलकै एउटा आकषर्ण बन्यो । कतिसम्म भने एक वर्षलाई दार्जिलिङबाट आएका राजनारायण प्रधानले पनि पाँच वर्षसम्म त्यहीँ जरा हाले ।
चुहान्डाडा अत्यन्तै सुन्दर तर बिकट ठाउँ थियो  । झापा र धरानबाट हिंडेर त्यहाँ पुग्न चार दिन लाग्थ्यो । उनले हात हाल्नुभन्दा अघि त्यहाँ धारापानी, स्वास्थ्यचौकी, फराकिलो बाटो र हाटबजार केही पनि थिएन । त्यस्तो ठाउँमा उनी रातोदिन पसिना काडेर खट्थे । त्यसपछि अरु धनीहरहरूले पनि सेवाका लागि पसिना बगाउने सजिलो नेपाली पाठ उनैबाट पनि सिके ।
घरघरका महिलाहरू बिहान पाँच बजे ठाडो ओरालो झर्थे र आठ बजे एक गाग्री पानी लिएर पसिनाले भिज्दै घर आउँथे । किनभने त्यस गाउँमा पानीको मुहान थिएन । अनि यिनैले हरेक गरेर गाउँमा नै पानीको धारा ल्याए । त्यसपछि त्यहाँका महिलाहरूले गाग्री भर्नुअघि 'एक अँजुली पानी सूर्येलाई, अर्को अँजुली पानी हरिचरणलाई' भन्न थाले । वास्तवमा सिटौलाको परिचय जनबोलीमा यसरी नै बाँधिएको थियो ।    
सिटौला काम गर्थे तर फलको आशा गर्दैन थिए । जनहित नै उनको आत्मसन्तुष्टिको मुलबाटो थियो । त्यसैले त्यहाँ साराले उनकै आदर गर्थे र उनी भनेपछि श्रद्धाले शिर निहुराउँथे । वास्तवमा उनी यसैमा एडिक्टेड थिए । अनि समाजसेवाको नै भारी बोक्ताबोक्तै उनी थला पनि परे । सरस्वतीका सेवक उनी २०४९ माघ १४ गते सरस्वतीपूजाकै दिन स्वर्गीय भए ।