नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

शान्ति मास्के Shanti Maskey

बाँचुन्जेल शान्ति मास्केका मनमा सधैं आँधिहुरीले मात्रै डेरा जमाएको थियो । उनको जीवनमा खुसीको दिन पनि बिरलै भेटिन्थ्यो । उनी अरूका अघि हाँसीहाँसी दिन फ्याक्ने गर्थिन् । उनी भन्थिन्, 'म एक्लै जन्मेँ; तर बाँचुन्जेल म एक्लै रहेँ । मेरा लागि जोजो नजिक आए तापनि त्यो सबै नाटक थियो ।' वास्तवमा नाटकबाट नै जनस्तरमा प्रस्तुत भएकी शान्ति नाटकमा नै निदाइन् । अनि २०६७ साल माघ ४ गते उनले चिम्लेका आँखा कहिले उघ्रेनन् ।
खड्गबहादुर श्रेष्ठ र विष्णुमाया श्रेष्ठकी छोरी शान्ति मास्के १९८३ साल माघ ५ गते गोरखामा जन्मेकी थिइन् । शान्तिका बाबुले कान्छी स्वास्नी ल्याएपछि यी आमाछोरीको घरबास उठेको थियो । त्यसैले उनी सानैमा आफ्नी आमाकै औला समाएर चन्द्रशमशेरकी कान्छी श्रीमती बालकुमारीलाई पछयाउँदै बनारस पुगिन् । त्यहाँ नै शान्तिको साँस्कृतिक जीवन सुरु भयो । नाच्न र गाउनमा त्यहीँ उनले आफ्नो हैसियत कायम गरेकी थिइन् ।
शान्ति वनारसमा नै बिमारी परिन् र उनलाई काठमाडौं ल्याइयो । केही आराम भएपछि उनलाई केशरशमशेरकी पत्नी राज्यलक्ष्मीले आफ्नो दरबारमा नाच्ने र गाउने काम दिइन् । तर राणा दरबारको तडकभडक खेप्न उनलाई गाह्रो हुन थाल्यो । त्यहाँबाट फुस्केर आमाछोरी नै कोलकाता लागे । त्यहाँ शान्ति योङ गोर्खा एशोसियनमा पुगिन् । त्यहीँबाट उनी नाटकमा खेल्न थालिन् । अनि ती नाटकमा यी नायिकामा आवद्ध थिइन् ।
शान्तिको स्कुले शिक्षा थिएन । तर परेर नै उनी जान्ने भइसकेकी थिइन् । उनी सानैदेखि क्रान्तिकारी स्वभावकी थिइन् । उनले वीरगञ्ज कब्जा गर्ने विषयको सबै योजनाका खाका पेटिकोटमा घुसारेर कोलकता पुर्याइन् र सुवर्णशमशेरलाई बुझाइँन् । कोलकातामा बसेकै बेला सुवर्णशमशेर र महावीरशमशेरसँग यिनको गाडा सम्पर्क भयो । अनि त्यहीँ बसेताका यिनलाई पनि गोली हान्ने तालीम प्राप्त भएको थियो । त्यही कालखण्डमा उनको विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालासँग पनि बसउठ हुन थाल्यो । उनीहरूकै निर्देशनबाट उनी गोली गठ्ठा बोकेर राणा शासन विरुद्धमा वीरगन्ज पसेकी थिइन् ।
शान्ति लडाकु भएर वीरगञ्जमा राणासेनासँग हनाहानमा थिइन् । त्यतिबेलै राणासेनासँगको लडाइँमा थीरबम मल्ल गोली लागेर ठहरै भए । त्यस दृश्यले शान्तिका हातबाट बन्दुक झरेनन् बरु उनी निक्कैबेरसम्म सेनासँग लडाइँ गरिरहिन् । त्यसैबेलाको उनको दक्षताको सबैले प्रसंशा गरे ।
शान्ति गीतगायनकी पनि सौखिन थिइँन र उनको स्वर पनि राम्रो थियो । विराटनगरमा खोलिएको प्रजातन्त्र रेडियोबाट उनले आफूलाई औपचारिक गायिकाका रूपमा परिचित गराइन् ।
नेपालमा प्रजातन्त्र आएपछि शान्तिलाई नेताहरूले हाम्रो भन्थे । तर उनी कसैप्रति पनि विश्वास गर्दिन थिइन् । किनभने उनका लागि कुनै नेताले एउटा सिन्को पनि भाँची दिएनन् । कतिसम्म भने उनको मुटुको गतिलाई चलाउने पेशमेकर राख्नसमेत राज्यको ढुकुटीको साँचो खुलेको थिएन । यसबारेको पनि एउटा सानो घटना छ- शान्ति 'सन्तान' नामक चलचित्र छायाङ्कनका बेला चितवन गएकी थिइन् । त्यस बेलाको प्रसङ्ग उनले पछिसम्म पनि भनिरहिन्, 'त्यस चलचित्रमा पुलबाट तल मलाई हामफाल्न लगाए । मैले हामफालेँ । त्यसपछि म मर्छा परेछु । अनि मेरो मुटुले पनि त्यसै बेला पेशमेकर खोजेको रहेछ ।
२०४६ सालपछि पनि शान्ति नेताहरूको झनै काउछो बनेका थिइँन् । तर उनको स्वर्गारोहणमा नेताहरूले जनमाझ बचन फालेका थिए, 'शान्ति मास्केको निधन भनेको नेपाली कलाको अपूरणीय क्षति हो । राज्यले उहाँको योगदानको कदर गर्ने छ ।' बोल्दैमा कसको के जान्छ र - त्यसैले धेरै नेताले उनका बारे तँछाड र मछाड गरेर घाँटी सुकाएका थिए ।
राजनितिमा शान्तिले जति गरिन् धेरै गरिन् । तर उनी नेपाली चलचित्र जगतकी एउटा थप मेरुदण्ड पनि थिइन् । उनले खेलेका चलचित्र दर्शकले मौलिक मान्थे । चार दर्जनभन्दा बढी चलचित्रमा भूमिका निभाएकी उनले हिजोआजभोलिदेखि चलचित्रमा अभिनय गर्न थालेकी थिइन् । साथै उनले केही हिन्दी चलचित्रमा पनि भूमिका निभएकी थिइन् ।
शान्ति सशक्त कलाकार थिइन् । उनी मौलिक धारामा प्रस्तुत हुन सिपालु थिइन् । उनी रुँदा उनका आँखामा भिक्स दल्नुपर्दैनथ्यो । एकपटक नाटकमा रुँदारुँदै साँच्चैको धेरै बेरसम्म रोएर उनले दर्शक पनि रुवाएकी थिइन् । अनि नामीनामी सबै नेपाली चलचित्रहरूमा उनको अभिनयले साथ पाएको हुन्थ्यो ।
शान्ति राजनीति र कलामा मात्रै बसिनन् । जीवन बाँच्नका लागि उनी झण्डै दर्ुइ दशक जति नेपाल महिला सङ्गठनको जागीरे पनि भइन् । त्यस बेला महिलाको सीप विकासमा उनको विशेष सक्रियता थियो । तर २०४६ सालको आन्दोलनबाट प्राप्त प्रजातन्त्रले उनको जागीरको कुर्सीकोखुट्टा पनि भाँचिदियो ।
नेपाली चलचित्रमा उत्कृष्ठ अभिनय गरेबापत शान्तिले चार नम्बरको गोरखा दक्षिणबाहुलगायत विजया राणाले स्थापना गरेको हरितारा पुरस्कार पनि पाइन् । साथै उनले भूपाल पुरस्कार, उर्वशी पुरस्कार, चेतनारायण वसुन्धरा पुरस्कार, लाइफटाइम इचिब्मेन्ट, सर्वोत्कृष्ट चलचित्र अभिनेत्री र अमेरिकाको न्यूयोर्क कला इचिब्मेन्ट आदि पनि प्राप्त गरिन् । तर जति नै सम्मान पाए पनि उनले आफ्नो आँतमा कहिले घाम लागेको देखिनन् । त्यसैबारे उनी प्रायः भन्थिन्, 'यस संसारमा यो एउटा टाउको छिराउने मेरो घर पनि छैन ।' उनी घरिघरि सहयोगीहरूलाई फोन गरेर धुरुधुरु रुन्थिन र बिलौना गर्थिन् 'मेरा लागि जीवन बाँच्नु ब्यर्थ छ ।'
२०११ सालमा शान्ति धरानका वीरबहादुर मास्केकी तेस्री पत्नीका रूपमा प्रवेश भएकी थिइन् । त्यसबेला यी दम्पतीको सम्झोता शान्तिकी आमालाई पनि ससम्मान आफैसँग राख्ने थियो । अनि २३ वर्षम्म यी दम्पतीले विष्णुमाया श्रेष्ठको यथोचित सेवा गरे । तर वीरबहादुर मास्केको निधन भएपछि यिनीहरुलाई शान्तिकी सौताले लखेटिन् । त्यसपछि शान्ति आफ्नी बूढी आमालाई डोर्याउँदै काठमाडौंको एउटा डेरामा थन्किन पुगिन् ।
शान्ति जीवनको अन्तिम घडी काठमाडौंको भैंसीपाटीस्थित लतिकाका घरमा थिइन् । लतिकालाई सुरुमा उनले छोरी बनाएर राखेकी थिइँन् । तर तिनै लतिकाले यिनलाई मन, वचन र कर्मले जीवन पर्यान्त सेवा गरिन् । साथै यिनको जीवनमा वसुन्धारा भुसाल, नीर शाह र मोहन निरौलाले पनि आआफ्नो गच्छे अर्पण गरेका थिए ।
शान्ति समाजसेवामा पनि लागि परेकी थिइन् । त्यही भावनाले पे्ररित भएर उनले आफ्ना आँखा पनि मरोणोपरान्त दान गरेकी थिइन् ।