नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

तुलसीमेहर श्रेष्ठ Tulasi Mehar Shrestha

तुलसीमेहर श्रेष्ठ नेपालमा सामाजिक सेवाको बलिया खम्बा थिए । साथै उनी नेपालका एउटा चमत्कारी व्यक्तित्व पनि थिए । उनको योगदान महात्मा गान्धीको व्यक्तित्वमा टड्कारै जोडिएको थियो । त्यही सीप उनले जनहीतमा रोपे । गर्दागर्दै उनी नेपाली परिवेशमा एउटा नमूनाका रूपमा नै गणना भए । अन्ततः आधुनिक युगका उनी समाजसेवाको धुरीका रूपमा देखिए ।
तुलसीमेहरको जन्म १९५३ साल पुस २१ गते ललितपुरको भेलाछेँमा भएको थियो । उनका बुबा कैलाशमेहर श्रेष्ठ जागीरे र आमा योगमाया गृहिणी थिइन् ।
तुलसीमेहर किशोरावस्थामा नै हिंसादेखि अलग रहे । सानैदेखि उनले मासु खाएनन् र जाँडरक्सी पनि खाएनन् । विभिन्न चार्डपर्व र भोजभतेरमा उनकी आमाले उनलाई मासु र रक्सी खान जोड गर्थिन् । तर पनि त्यसबारे उनले आफ्नी आमाका कुरा पनि खाएनन् । साथै उनकी आमाले सधैं उनलाई बिहे गर भन्थिन् । आमाको कचकचसमेत सुन्न नसकेपछि उनी बिहान झसिमिसैमा घर छाड्थे र राति अबेर घर आइपुग्थे । यस्त रीतले धेरै वर्षम्म आमा छोराको भेट पनि भएन ।
तुलसीमेहर राणाविरोधी आन्दोलनमा भित्रभित्रै छिरेका थिए । त्यति बेला उनी अमरराज जोशीको अध्यक्षतामा गठित सत्याचरण मलामी गुठीका सहायक मन्त्री थिए । यस बेहोरालाई कुरौटेद्वारा महाराज चन्द्रशमशेरको कानको जालीसम्म टाँसियो । दुईहजार रुपियाँ जरिमाना गरेर उनलाई डाँडा कटाउने राणाबाट हुकुम प्रमाङ्गी भयो । अनि उनले चन्द्रशमशेरलाई जाहेर गरे, 'महाराज ! म टुहुरो हुँ, त्यति पैसा तिर्न सक्तिन । अब आइन्दा यस्तो काममा पनि लाग्दिन । बरू म सीप सिक्न बाहिर जान पाउँ।' त्यसपछि उनले माफ पाए र १०० रुपियाँ बाटो खर्च पनि पाए । उनी राणाकै हुकुम सिरोपर गरेर गुजरातको गान्धी आश्रमतर्फ लागे र उनको भाग्यले पनि बलियो साथ दियो ।
तुलसीमेहरले गान्धीलाई भेटे । त्यसपछि उनी गान्धीको ठाडो न्रि्रानीमा परे । अनि उनको सरल जीवन र कठोर कामबाट गान्धी पनि प्रभावित भए । त्यसपछि गान्धीले उनलाई आफ्नै घरमा लगेर राखे ।
तुलसीमेहर गान्धीकै घरमा बसेर गान्धीको धेरै सेवा गरे । त्यतिन्जेलसम्म गान्धीले उनको झैं सेवा कहीँबाट पनि पाउन सकेका थिएनन् । त्यति मात्र होइन उनी पनि गान्धीकै सिद्धान्तको लुगा लगाउँथे, त्यस्तै खान्थे र त्यतिकै परिश्रम गर्थे । साथै गान्धीकै भक्तिभावनामा डुबेर उनले बिहे पनि गरेनन् ।
तुलसीमेहर गान्धीसँग अहमदावादको सावरमती आश्रममा चार वर्षमात्र बसे । तर त्यहाँ उनले चालीस वर्षो अनुभव बटुले । त्यसबेला यी कपासबाट कपडा बुन्ने, धुने, काट्ने र बनाउने सबै इलममा पारङ्गत भए । त्यसैले उनलाई गान्धीले सन् १९२५ दिसम्बर २९ मा एउटा प्रमाणपत्ररुपी चिठी दिए । जुन चिठीमा मोहनदास गान्धीका नाउँमा महात्मा गान्धीले हस्ताक्षर गरेका थिए ।
तुलसीमेहरले चार वर्षभारत बस्ता धेरै नेता पनि चिने । नेताहरुका पनि नेता महात्मा गान्धीको महानताबाट उनी बुहारी झर झै गले । अनि फेरि गान्धीकै साथले उनले घरेलु लुगाबारे धेरै नै कुरा जाने । त्यसैबखत गान्धीले उनलाई आफ्नै मातृभूमिमा गएर सेवा गर भने । साथै गान्धीले दर्ुइ वण्डल कपास, केही थान चर्खा र आठ सय रुपियाँ दिएर उनलाई काठमाडौं पठाए । त्यसैबेला उनले गान्धीसँग एक जोर खराउ मागे । गान्धीले आफूले लगाएको नै खराउ तुलसीमेहरलाई दिए । उनले त्यही खराउको जीवनभर पूजा पनि गरे ।
तुलसीमेहरले गान्धी, चर्खा र नेपाली जीवनशैलीबारे प्रधानमन्त्री चन्द्रशमशेर राणालाई जाहेर गरे । आफूले सही ठाउँमा सही मान्छे पठाएछु भन्ने राणामा आत्मगौरव बढ्यो । अनि राणाले तुलसीमेहरलाई काखी चेपे । साथै उनैको सल्लाहमा राणाले 'श्री चन्द्रकामधेनु चर्खा पचारक महागुठी' को स्थापना गरे । राणाले त्यस महागुठीको हर्ताकर्ता तुलसीमेहरलाई नै बनाए ।
तुलसीमेहरले महागुठीमा चर्खा सिकाउन विधुवा र दलितलाई प्रश्रय दिए । साथै तिनीहरूको सहयोगका लागि उनले मुठ्ठीदानको पनि अभियान चलाए । ग्रहणदान लिने पनि उनैले सुरुवात गरे । उनले चन्द्रशमशेरको कार्यकालभरि नेपालीलाई खादीको लुगामा प्रोत्साहन गरे । तर भीमशमशेर प्रधानमन्त्री भएपछि यस्तो काम राम्रो होइन भन्ने आरोपमा उनलाई जेलमा कोचियो । भीमशमशेर मरेपछि उनले जुद्धशमशेरबाट चर्खाको काम गर्ने अनुमति पाए । त्यसपछि नेपाली महिलाले भारतका विभिन्न प्रान्तमा गएर चर्खाबारे तालीम लिन जान पनि थाले ।
तुलसीमेहरबाट २००८ सालमा 'नेपाल गान्धी स्मारक निधि' को स्थापना भयो । त्यसको उद्घाटन राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवहारलाल नेहरूले गरे । त्यो भव्य समारोहमा प्रधानमन्त्री मोहनशमशेर, वीपी कोइराला र इन्दिरा गान्धीको उपस्थिति थियो ।
तुलसीमेहरले काठमाडौंको गोठाटारमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारकका लागि जग्गा पाए । त्यहीं नै यिनकै इच्छाले गान्धी आदर्श हाइस्कुल पनि खुल्यो । चर्खा प्रचारक महागुठी चाहिं उनले मुलुकका विभिन्न ठाउँमा खोले । यसका लागि उनले ठाउँठाउँमा जग्गा पनि जोडे । साथै उनको प्राकृतिक चिकित्सामा पनि रुचि थियो । उनले प्रकृति चिकित्सा केन्द्रको पनि स्थापना गरेका थिए ।
तुलसीमेहरको जीवनको सेरोफेरो भन्नु- एउटा गान्धी र अर्को चर्खा थियो। यी दुईटा विषयको ज्ञान आर्जन गर्न र काम गर्न उनी आफू जन्मेको ठान्थे । उनका लागि भूगोलभरिमा सबैभन्दा ठूलो कुरा पनि यी दुईटा विषय मात्र थियो । उनी आफैंचर्खा चलाउँथे । उनीसँगै अरूले पनि तान चलाउँथे । उनी प्रायः सधैं रातिराति काम गर्थे ।
तुलसीमेहरलाई साहित्यमा पनि रुचि थियो । उनले राणाकालीन समयमा नै 'विनय पत्रिका' छपाएका थिए । यस पत्रिकामा नेपाली, संस्कृत, हिन्दी र नेवारी भाषामा लेखरचना प्रकाशित हुन्थे । उनी कवि पनि थिए ।
तुलसीमेहरले झिनामसिना धेरै सम्मान र पुरस्कार पाए । उनलाई कुस्लेहरूले पनि सम्मान गरे । साथै उनले जवहारलाल नेहरू पुरस्कार पनि पाए । सरकारले उनका नाउँमा टिकट प्रकाशित गर्यो । साथै तुलसीमेहर समाजसेवा पुरस्कारको पनि आविष्कार भयो । उनका नाउँबाट सङ्घसंस्थाको पनि स्थापना भयो ।
तुलसीमेहरले आफ्नो जीवनको अन्त्यमा आफूले स्थापना गरेका सबै संस्था एउटै धागोमा उने । अनि उनले त्यस संस्थाको नाउँ 'नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी' राखे । तर उनको शेषपछि त्यस संस्थाको नाउँ नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी राखियो । २०३५ साल असोज १० गते उनको निधन भएको थियो ।