नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

रमेश विकल Ramesh Bikal

रमेश विकल वाङ्मयका तपस्वी थिए । उनी साहित्यलाई आफ्नो प्राण ठान्थे । त्यसैले उनी यस फाँटमा श्रद्धेय भए । वास्तवमा उनी साहित्यकार मात्र थिएनन् । उनी चित्रकार र मर्तिकार थिए, त्यस विधामा उनले आफ्नो नाउँ रवि चालिसे लेखे । उनले कविता पनि लेखे र काव्यमा आफ्नो नाउँ इन्दुशेखर लेखे । उनका गाउँठाउँकाले उनलाई रामबाबू भनेर बोलाउँथे । उनका शैक्षिक प्रमाणपत्रहरुमा रामेश्वर शर्मा चालिसे लेखिएको थियो । तर उनले रमेश विकलबाट ख्याति कमाए । यसका अतिरिक्त उनी हार्मोनियम, तबला, भ्वाइलिन र बाँसुरी बजाउन सिपालु थिए । अनि उनी गायकमा पनि दरिएका थिए।
लप्टन चन्द्रशेखर उपाध्याय र छायादेवीका जेठा छोराका रुपमा विकलको जन्म १९८५ साल कात्तिक २९ गते काठमाडौंमा भएको थियो । लप्टन परिवार भन्नु काठमाडौंका जमिन्दारका रूपमा पनि चिनिन्थ्यो ।
विकल सङ्गतका कारण सानैमा व्रि्रन थाले । त्यस बेला उनी एकोहोरो, हठी, लहडी र रिसाहा थिए । उनी किशोरावस्थाको चुलीमा पुग्दा मैहुँ सर्वथोक भन्ने घमण्डमा थिए । त्यति बेला यिनलाई सम्झाउनु भनेको बाघसँग कुस्ती खेल्नु सरह मानिन्थ्यो । उरन्ठेउलो स्वभावका कारण त्यस घडी यिनले आफ्ना लागि धेरैजना बैरीहरुको पनि सङ्कलन गरे । त्यहीताक उनी भागेर कोलकाता गए । अनि त्यहाँ खान नपाएपछि उनी घर फर्के । वास्तवमा त्यस समय उनी सारै फटाहा थिए । कति सम्मभने उनी मध्यरातमा गुम्लुङ्ग कम्बल ओडेर छिमेकीका घरघरमा तर्साउनपनि पुग्थे । अनि त्यसैताका उनी श्यामप्रसाद शर्माको कब्जामा पुगे । शर्माका कारण उनले आफ्नो जीवन चढ्ने सही लिस्नो टेके ।
विकल साहित्य तथा राजनीतिमा पनि लागे । उनले आफू २१ वर्षको भएपछि एउटा कथा लेखे 'गरीव' । त्यही नै उनको साहित्यिक यात्राको आरम्भ थियो । त्यो कथा त्यसैबखतको 'शारदा'मा छापिएको थियो ।
पद्मशमशेरले राजिनामा दिएपछि मोहनशमशेर प्रधानमन्त्री भए र त्यस अवसरको सिन्दुरजात्रा हर्न विकल पनि टुडिखेल जाँदै थिए । तर बाटामा उनले राणाराणाको भिडन्त देखेपछि त्यही रमीतामा उनी भुल्लिए । अनि उनलाई इन्द्रचोकबाटै राणाका सेनाले पक्रेर दस दिन जेलमा राखे । प्रजातन्त्र प्राप्तिपछि न्यून वैतनिक कर्मचारीको जुलुसमा प्रवेश हुँदा पनि उनलाई मरणासन्न हुनेगरी कुटियो र दुई दिन जेलमै कोचियो । त्यसपछि उनले श्यामप्रसाद शर्माको साथमा हस्तलिखित मासिक 'सन्देश'को सम्पादन गरे । त्यसैबेला शर्माको नेतृत्वमा राणा विरोधका लागि स्थापित 'पाँचभाइ' संस्थामा विकल पनि सदस्य थिए । अनि फेरि यी पक्राउ परे । यिनलाई २०११ सालमा आनन्ददेव भट्टले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए । त्यसैसाल पनि यी पक्राउ परे र यिनलाई नक्खुमा पुर्याइएको थियो ।
१३ वर्षटेकेपछि विकलको उनका बुवाले काभ्रे मण्डनकी सात वर्षी सुशीला नेपालसँग जोडी बाँधिदिए । उनी सुन्दरी पत्नीको चाहनामा भएकाले उनले सुशीलालाई मन पराएनन् । त्यसैले धेरै वर्षम्म उनले पत्नीसँग झगडा गरिरहे । पत्नीसँगको झगडाका कारण यी पटकपटक एक्लै पनि बसे र सम्बन्ध विच्छेदका प्रकृयाहरु पनि अघि सरे । पतिपत्नीको सङ्घर्षौका माझ पनि सन्तान जन्माउन सकिंदो रहेछ भन्ने प्रमाण प्रस्तुत गर्न यो जोडी सफल रहृयो । यी दम्पतीबाट तीन छोरा र सात छोरी जन्मे । अन्ततः उनी पत्नीसँगै जीवन भूक्तान गर्ने कसरतमा लागे । वास्तवमा बाबुबाजेको झैं सामन्ती प्रथाको जरा उनको मनको अन्तरकुन्तरमा भएका कारण उनी पत्नीप्रति हैकमी शैलीमा प्रस्तुत हुन्थे । उनको त्यो रीत छोराछोरीप्रति पनि लागु भैरहृयो । त्यसैले पनि यिनका सन्तान फस्टाए । उनका जेठा छोरा विजय चालिसे नेपाली साहित्य र पत्रकारिताकाक्षेत्रमाप्रसिद्धनाउँबन्यो।विजयचिलसेगोरखापत्रदैनिककाप्रधानसम्पादकगोरखापत्रसंस्थानकाकार्यकारीअध्यक्षपनिभए
विकल रसिक पनि थिए । उनले कतिजनासँग प्रीति गाँसे त्यसको लेखाजोखा छैन, तर उनले एउटी होटल गर्ने केटीसँग प्रीति गाँसेर बिहे पनि गरे । चन्द्रमाया श्रेष्ठसँगको उनको दाम्पत्य जीवन धेरै टिकेन । साथै उनकी जेठी पत्नी सुशीला चालिसेको निधन भएपछि उनी झस्के र रोए । २०५७ सालमा पत्नीको निधन भएपछि यिनले प्रायश्चित्तका धेरै आँसु झारे र त्यो बेहोरा लेख्तै पनि गए ।
नेपाली साहित्यमा विकलले अग्रस्थान सुरक्षित गरे । उनी कथा र उपन्यास जगतका महारथी भए । गोविन्द भट्टको भाकामा भन्नुपर्दा 'रमेश विकल एक अद्वितीय आख्यानकार थिए ।' उनले कथा, उपन्यास, नाटकएकाङकी, निबन्ध बालसाहित्य लेखे । साथै उनले सात वटा कृतिको अनुवाद पनि गरे । यी सबै जोड्दा यिनका एकाउन्न वटा कृति प्रकाशित भए । उनका कृति स्कूलदेखि विश्वविद्यालयस्तरसम्मका पाठ्यपुस्तकमा पनि लागु भए ।
विकल प्रगतीवादी थिए, तर राम्रो सृजनाकार जुन वादको भए पनि त्योसँग उनी अँगालो हाल्थे । उनी साहित्यमा भ्रष्टाचारको विरोधी थिए । उनी आफ्नी श्रीमती र छोराछोरीलाई कज्याउने बाहेक समाजका लागि न्याय निसाफ दिलाउनमा आफ्नो दिनचर्या धान्थे ।
विकलले २० वर्षको उमेरमा जागीर खाए । त्यसबेला उनी ११ रुपियाँ तलब खाने नौसिन्दा थिए । पाँचभाइ काण्डमा यी श्यामप्रसाद शर्मासँगै गिरफ्तार भएपछि यिनको जागीर पनि उड्यो । त्यस काण्डबाट उम्केपछि यिनले घरैमा विद्यार्थी जम्मा गरी निश्शुल्क पढाए । विस्तारै स्कूलमै पढाउने उनमा इच्छा जागृत भयो ।त्यसैले उनले आरुबारी क्षेत्रमा आफ्नै अगुवाइमा स्कुलहरूको स्थापना गरे । अनि यिनले पनि विभिन्न स्कुलमा पढाउन थाले । त्यसैवीच अर्थात २०१६ सालमा उनले वीएड पास गरे र उनी सूचना विभागको सहायक सम्पादकमा झुण्डिए । त्यसपछि उनी नेपाल लेखक सङ्घको सचिवमा तानिए । साथै उनी जनक शिक्षा सामग्री केन्द्रको अधिकृतमा प्रवेश भए र १३ वर्षम्म त्यहीं बसे । त्यसपछि उनी परीक्षा नियन्त्रण कार्यालयमा सरुवा भए । जागीर कै सिलसिलामा उनी अमेरिका पनि पुगेका थिए । त्यतिञ्जेल उनको शाखा अधिकृतको पद बढेन र २०३६ सालमा उनले सरकारी स्थायी जागीरबाट हात धोए । पाँच वर्षम्म घाम तापेपछि उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापनमा लागे । त्यसै बेला उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनीत भए ।
विकलले सदैव जनसम्मान पाइरहे । उनले चार दर्जन जति अभिनन्दन तथा सम्मान प्राप्त गरे । पुरस्कारका हकमा उनले महेन्द्र प्रज्ञापुरस्कार, मदन पुरस्कार, साझा पुरस्कार लगायत अन्य आधा दर्जन पुरस्कार पाए ।
विकल बाँचुन्जेल साहित्यिक, सामाजिक र शैक्षिक संस्थाहरुमा आबद्ध भैरहे । उनैले भैरव पुरस्कार गुठीको स्थापना गरेका थिए । उनले स्थापना गरेका संस्था र काम गरेका ठाँउ दर्जनौं थिए । उनी काम गरेर थाक्तैन थिए र लेखनमा चाहिं एडिक्टेड नै थिए । उनी भन्थे 'म लेख्तालेख्तै मर्छु र मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ ।' वास्तवमा अस्पतालको बेडमा जानुअघि पनि उनका हातमा कलमकापी नै थियो ।
विकल नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा जुट्ने विशिष्ट स्रष्टा र महान् योद्धा थिए । उनी आफ्ना काममा खट्ताखट्तै थला परे । सुरुमा उनका नाकबाट प्रायः रगत बग्ने गथ्र्यो । मधुमेह, उच्च रक्तचाप, वाथ, क्रोनिक ब्रोङ्क्राइटिस र निमोनियाले थला पारेपछि एउटा निर्भीक र स्वाभिमानले भरिएको घडा पनि क्रमशः चुहिन थालेको थियो । अन्ततः २०६५ साल पुस २ गते विकलको जनप्रेमले भरिएको त्यो भौतिक चोला उठ्यो ।