नइ प्रकाशन
Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

नइबारे वैरागी काइँलाकाे मत

 

बलियो र भरपर्दो प्राज्ञिक संस्था : नइ प्रकाशन

वैरागी काइँला
 

नेपाली वाङ्मयको विविध क्षेत्रमा क्रियाशील भई उच्च योगदान गर्ने नइ प्रकाशनले गौरवशाली महिमा र इतिहास बोकेको छ । स्थापनाकालदेखि नै यो प्राज्ञिक संस्था वाङ्मयका प्रायः हरेक फाँटमा समर्पित भएर निष्पक्ष र जागरूक रूपमा अग्रसर भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच पुर्याएर नइ प्रकाशनले नेपाल राष्ट्रकै प्रतिष्ठा बढाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेको छ । 

नइ प्रकाशनले नेपाली धरामा आफ्नो गतिलो पहिचान निर्माण गरिसकेको छ । सत्य बाटोमा हिँडेर दिगो इतिहास बनाउन सक्नु चानचुने कामले हुँदैन । भाषा, साहित्य, कला, शिक्षा, संस्कृति, सङ्गीत तथा सामाजिक क्षेत्रमा नइदम्पतीको निरन्तरको क्रियाशीलताले नइ प्रकाशनले नेपाली समाजमा राम्रो छाप बसाएको हो । नइ प्रकाशनको नियमित कार्य सञ्चालन, विवादरहित निर्णयहरूका साथै संस्थापक द्वय नइको इमानपूर्ण शैलीका कारणले चाँडोभन्दा चाँडो यो संस्था नेपाली साहित्य लेखिने र बोलिने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि लोकप्रिय भएको हो । यो कुरा हामी नेपालवासीले गौरव मान्नुपर्ने पक्ष नै हो ।

नइ प्रकाशनका एउटा हस्ती नरेन्द्रराज प्रसाईसँग मेरो गाउँले साइनो पनि छ । मलाई थाहा छ— नरेन्द्र भाइ झापाविद्रोहको सुरुकै योद्धा पनि हुन् । त्यस बखतदेखि नै उनलाई म चिन्थेँ र सानैदेखि उनी लडाकु स्वभावका थिए । उनी कसैसँग डराएको मलाई थाहा छैन र उनी जिब्रो चपाएर बोल्न पनि जान्दैनन् । जे देखिन्छ र सुनिन्छ त्यही कुरा फ्याट्ट भनिदिने उनको जन्मजात स्वभाव हो भन्ने मलाई लाग्दछ । खुकुरीको धारभन्दा उनको बोली र लेखाइ त्यतिसारो कमजोर पनि देखिँदैन । त्यसैले उनका वचनैबाट कति जना घाइते पनि भएका होलान् । तर चिनेपछि ती घाइतेले पनि नरेन्द्र भाइसँग सम्बन्ध बढाउन चाहन्छन् । नरेन्द्र भाइसँग जति नजिक पुग्यो उनी त्यति नै नरम र मिलनसार रहेको पाइन्छ, अलिक पर बसेर हेर्दा र सुन्दा भने नरेन्द्र भाइ डरलाग्दै देखिन्छन् । उनी धेरै प्रस्ट बोल्ने स्रष्टामा नामाङ्कित छन् र एउटा योद्धा अथवा लडाकुले यसरी प्रस्ट बोल्नु र सत्य निष्ठालाई अँगाल्नु भनेको राम्रो कुरा पनि हो । उनको धर्म र निष्ठा साहित्यमा गाँसियो र हातहतियार चलाउनुभन्दा उनले कलम चलाउन मन पराए । त्यसैले नेपाली साहित्यमा उनको सहभागिता हाम्रा लागि अझ खुसीको कुरा हो भन्नुपर्छ । कुनै बेलाको झापाविद्रोहको सुरुको एउटा झिल्को पछिल्लो चरणमा नेपाली साहित्यकै स्थापित लेखक हुन पुग्नु हाम्रा लागि कम उपलब्धिको कुरा होइन । नेपाली साहित्यका विविध पक्षमा निरन्तर साधना गर्ने र खास गरेर खोज या अनुसन्धानमा बेसी लागिपर्ने भएका कारणले नरेन्द्र भाइप्रति मेरो विशेष स्नेह र सद्भावना बढेको हो । 

नेपाली वाङ्मयमा समर्पित नरेन्द्रराज प्रसाई र घामपानी नभनी त्यही मार्गमा अहोरात्र लागिपरेकी प्रवीण साहित्यकार इन्दिरा प्रसाईबीचको मिलनबाट नै नइ प्रकाशनले आफ्नो सग्लो अस्तित्व स्थापित गरेको हो । लेखनमा पनि यी जोडी कम छैनन् र काम गराइमा पनि दुवै उस्तै दरा र खरा छन् । यिनकै शक्तिका कारण नइ प्रकाशन नेपाली साहित्यमा एउटा शक्तिशाली प्राज्ञिक संस्थाका रूपमा उभिएको हो । नरेन्द्र इन्दिरा काम गरेर थाकेका देखिँदैनन् भने कसैले कल्पना नगरेको कुरा पनि अघि नै उनीहरूले कार्यसम्पादन गरिसकेका हुन्छन् । यिनीहरूकै जाँगर र इमानदारीले नइ प्रकाशन, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनको जग बलियो भएको हो । 

नइले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यमा ठूलठूला सम्मेलन गरेको तथ्यको म पनि एक जना साक्षी हुँ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय विस्तारका लागि नइले गरेको प्रयास स्तुत्य छ । नइकै पहल र इमानका कारण त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनसमेतको निर्माण भएको कुरालाई मामुली ठान्नु हुँदैन । डा.वानीरा गिरीको स्मृतिमा उनका पति इन्जिनियर शङ्कर गिरीले संस्था मात्र स्थापना गरेनन्, नइहरूलाई पनि अगाडि राखेर वानीरा फाउन्डेसनको भवन नै उठाइदिए । नेपाल प्रज्ञाप्रतिष्ठान पछाडि कुनै गरिमाशाली संस्थाको आफ्नै घरजग्गा छ भने त्यो वानीरा फाउन्डेसन पनि हो भन्न पाइएको छ । नइले साहित्य जगत्मा कमाएको विश्वासले गर्दा वानीरा गिरीलाई पनि अमर राख्ने काम भएको हो । वानीरा गिरी स्वयम् अन्तर्राष्ट्रिय रूपमा नै स्थापित साहित्यकारको नाम हुँदै हो । आफ्नै कला र शैलीले उनी स्वयम् नै एउटा उच्चस्तरीय संस्था मानिन्थिन् । उनलाई म ‘बघेनी’ पनि भनिदिन्थेँ । वानीरा बहिनी पनि नरेन्द्र भाइजस्तै कडा थिइन् । बहिनी कहिले कसैसँग लत्रेको मैले थाहा पाइनँ । नइ र त्रिमूर्तिजस्तै वानीरा फाउन्डेसन पनि कतै नलत्री आफ्नो अभियानमा सुचारु रूपमा अघि बढ्छ भन्ने मैले विश्वास लिएको छु किनभने यस संस्थाको पनि नइले नै बागडोर समाएका छन् । 

कहिले कतै नढाँट्ने र कर्ममा विश्वास राख्ने झापा जिल्लाकै धनाढ्य खनुप्रुदे ‘रामबाबू’ प्रसाई जस्ता केन्द्रीय स्तरका राजनीतिज्ञ र धेरै पटक प्रधानमन्त्री भएर पनि स्वच्छ छविमा नाम कमाएका कीर्तिनिधि विष्टसमेतको विश्वास पाएर नइ प्रकाशनको अक्षयकोषमा चमत्कारिक वृद्धि भएको हो । त्यो कुरा पनि नइप्रतिको उच्च मूल्याङ्कन हो भन्ने मलाई लाग्दछ । 

सीताराम साहित्यिक प्रतिष्ठान र भूपालमानसिंह कार्की प्रज्ञापरिषद् जस्ता संस्था स्थापित गरेर साहित्यकार, कलाकारहरूको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कृत गर्दै लाने ऐतिहासिक कार्य नइ जोडीबाट नै भइआएको थियो । यी संस्थाको निरन्तरता किन कायम भएन त्यो मलाई थाहा नभएको प्रसङ्ग हो र त्यसलाई खोतलखातल पार्ने मेरो काम पनि होइन । तर नइ जोडीले ती संस्था चलाएर थप अनुभव ग्रहण गरेको चाहिँ पक्कै हो भन्न सकिन्छ । उनीहरूले यतिविधि कार्य गरेर नै नेपाली समाजमा आपूmहरूलाई चिनाउँदै आएका छन् । नइ प्रकाशनमा राम्रो अक्षयकोष हुनु र दुवै जनालगायत संस्था परिचालन गर्न घरपरिवारै लागेका कारण नइ प्रकाशनको निरन्तरतामा कुनै अवरोध आएको छैन र नै अविरल ढङ्गबाट सुमार्गमा यो संस्था हिँडिरहेको छ । नइ प्रकाशनको उद्देश्यअनुरूपको गठन र नइ तथा तिनका सहयोगीहरूको सकारात्मक दृष्टिकोणबाट नइ प्रकाशन बलियो र भरपर्दो प्राज्ञिक संस्था बनेको हो ।

भाषा, साहित्य, कला र सङ्गीत तथा समाजको विविध क्षेत्रमा बहुआयामिक प्रवर्द्धन आवश्यकता हुन्छ नै । स्रष्टा, साधक र अनुसन्धानकर्ताहरूलाई पुरस्कार र सम्मान गर्दैमा मात्र सबै सेवा नपुग्न सक्छ । नइ प्रकाशनले स्रष्टा, साधक र अनुसन्धानकर्ताका कृतिहरूको प्रकाशन पनि गरिरहेकै छ । त्यसरी नै भाषा, साहित्य, कला र सङ्गीत तथा शिक्षा र समाजसेवाका क्षेत्रमा अनुसन्धान गराउने, विद्वद्वृत्ति प्रदान गर्नेजस्ता अनुकरणीय कार्यहरू समेत नइबाट भइरहेकै देखिन्छ ।

हुन पनि नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई दुवै जना स्रष्टा पनि हुन् र द्रष्टा पनि हुन् । उनीहरू नेपाली माटाका अर्ग्यानिक  (मौलिक) उब्जनी हुन् । उनीहरूको दृष्टिकोण पनि उदार र फराकिलो छ । नइ जोडी जुन सिद्धान्तका भए तापनि नइ प्रकाशनभित्र उनीहरूले राजनीतिको राप त के छाया पनि छिर्न दिएका छैनन् र नै यो विशुद्ध प्राज्ञिक संस्था भएको हो । त्यसैले अरूहरूले भनेकैमा सार मिलाउँदै म पनि भन्छु— ‘नइको कुशल नेतृत्वमा सञ्चालित नइ प्रकाशन र यसका क्रियाकलाप नेपाली वाङ्मयको इतिहासमा कोसे ढुङ्गा मानिन्छन् ।’