नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

नारायणप्रसाद पोखरेल Narayan Prasad Pokhrel

कृष्णप्रसाद पोखरेल र लक्ष्मी पोखरेलका दुई जना छोरामध्ये कान्छा छोरा थिए नारायणप्रसाद पोखरेल । उनको जन्म २०११ साल जेठ ३२ गते गोरखाको लामाचौरमा भएको थियो । उनको चिना हर्ने पण्डितले भन्थे 'कृष्णलक्ष्मीका नारायण कुलदीप हुन्छन् ।
नारायणप्रसाद पोखरेल सानैदेखि प्रतिभाशाली थिए । बाल्यकालदेखि नै उनीमा नेतृत्व दिने भूमिका गाँसिएको थियो । उनी सानैदेखि तीक्ष्ण थिए र खासगरेर धार्मिक आस्थाले ओतप्रोत थिए । अनि उनी सानैदेखि समाजसेवी मनोवृत्तिमा नै पनि बाँधिएका थिए ।
पोखरेलले सात वर्षका स्कुल देखे । बाल्यकालमा नै उनी संस्कृतका पनि राम्रो पाठक भइसकेका थिए । १६ वर्षको उमेरमा उनले माध्यामिक विद्यालय छिचोले । स्कुलकै पर्ढाईका क्रममा उनले घरमा परिआएको काम पनि गरे । त्यति बेला उनी बिहान घाँस काटेर दिउँसो स्कुल पढ्थे । स्कुलको छुट्टिको दिन उनी मेलापात गर्थे । त्यसैक्रममा उनले बारी र खेतमा आली लाउने, कान्ला खन्ने, गाईबस्तु चराउने, खेतमा पानी लगाउने काम गरे । उनी त्यसै बेलादेखि स्वावलम्बिका नमुना थिए । साथै उनी जतिजति लाठे हुँदै गए त्यतित्यति रसिक पनि हुन थाले । त्यसैले यी दोहोरी गीत गाउने अनि गीत र भजन लेख्ने पनि गर्थे । पुराणवाचन गर्न सुरु गर्दाचाहिं उनी १९ वर्षका थिए ।
एसएलसी पास गरेपछि पोखरेल भागेर भारतको वृन्दावन पुगे । त्यहाँ पुगेर श्रीनिवास भागवत् विद्यालयमा भर्ना भएको समाचार उनले आफ्ना बुबाआमालाई पठाए । त्यहीँबाट उनले शास्त्रीसम्म पढे । त्यतिखेर उनी चौबीस वर्षका थिए । त्यसपछि उनी नेपाल आएर यहीं आफ्नो सीप पोख्न लागे ।
नेपाल आएपछि पोखरेलले धर्मका आडमा समाजसेवा गर्ने भावना राखे । सोहीअनुरूप २०३८ सालको अन्त्यमा यिनैको सोचले आफ्नै जिल्लाको धर्मावती अर्थात् दरौंदी नदीको तटमा शिवमन्दिर निर्माण हेतु शिवपुराण लगाए । त्यस पुराणका उनी आफैं वाचक थिए । एघार दिनसम्म सम्पन्न सो पुराणबाट उठेको पैसा उनले शिवमन्दिर निर्माण समितिमा नै र्समर्पण गरे । वास्तवमा त्यसपछि नै नेपालमा यस्तो संस्कृतिको राम्ररी पालुवा पलाउन थालेको थियो । यसै गरेर उनले त्यहाँ बसिन्जेल सामाजिक जागरणका लागि पुराण वाचन गरिरहे र त्यहाँबाट प्राप्त धन समाजसेवामा सुम्पिरहे । उनको त्यही भावनाले नेपालका विभिन्न भूभाग रङ्गिएको थियो ।
पोखरेलले सामाजसेवाका विविध कार्यक्रमहरू सञ्चालनका लागि पुराण संस्कृतिको विकास गरिरहे । उनले वाचन गरेका ठाउँमा अर्कै रमिता हुन्थ्यो । उनको बोली सुन्ने मान्छे पुराणस्थलबाट उठ्तैन थिए । वास्तवमा उनी बोलाइका जादु थिए । उनको स्वरमा मान्छे पगाल्ने मन्त्र हुन्थ्यो । उनी बोलेर पनि थाक्तैन थिए र स्रोताहरू सुनेर पनि अघाउँदैन थिए । उनले पुराणवाचन गर्न थालेको सूचना पाएपछि मान्छेहरू त्यतैतिर धुइरो कस्थे । यसको मुख्य कारण के थियो भने उनी पुराणलाई पनि लोकभाकामा गाउँथे । त्यसबेला किशोर, युवा, प्रौढ र वृद्ध कम्मर मर्काईमर्काई नाच्थे । उनको जीवनको लक्ष्य नै धर्मका ठूलाठूला ठेली पनि सहज रूपमा जनस्तरमा पुर्याउने हुन्थ्यो । विश्वमा छरिएर रहेका हिन्दूहरूलाई एक बनाउन उनको एक मात्र ध्येय थियो ।
पोखरेल नरम ढाँचामा महान विचार कुँद्ने गर्थे । उनकै कारण उनले वाचन गर्ने पुराणस्थल प्रायः खचाखच हुन्थ्यो । कति ठाउँमा त बस्ने ठाउँ नभएर बाहिर माइक लगेर पनि उनको वोली सुन्ने गरिन्थ्यो । उनको वाचनमा भाषणको गन्ध हुँदैनथ्यो, उपदेशको छनक पनि पाइँदैनथ्यो र गुनासाका टिप्पणी पनि रहँदैनथ्यो । उनको स्वरमा न गीत हुन्थ्यो न त प्रवचन हुन्थ्यो । तर उनको प्रस्तुतिमा नेपाली भाका हुन्थ्यो, नेपाली संस्कृति हुन्थ्यो र नेपाली जनशैली हुन्थ्यो ।
पोखरेल नेपाली धर्मसंस्कृतिविषयक आस्थाका एउटा अर्को बलियो प्रतीक थिए । उनी अरू धर्मलाई हिर्काउने, नास्ने र होच्याउने पनि गर्दैन थिए तर हिन्दू धर्मसंस्कृतिको व्याख्या गर्दागर्दै पृथ्वीमा यही नै मुक्तिको बाटो हो भन्ने सरल नेपाली पाठ पढाउन पनि उनी चुक्तैन थिए । त्यसैले यिनले आफ्ना भक्तहरूको भावना टिपेर धार्मिक सहिष्णुताका लागि सङ्खघोष गरिरहे । त्यसैले उनलाई नेपाली पुराणको वाचन शिरोमणि भनियो, वाचन शिखर भनियो र कहीं कतै त वाचन महेश्वर नै पनि भनियो । जनताले यिनलाई जतिजति माने यी त्यतित्यति सानो हुन्थे । जनप्रेम पाएर यी कहिले डुक्रेनन् बरु निहुरिएर एकोहोरो जनसेवामा हिँडिरहे ।
पोखरेल समाजसेवाका नम्बरी सुन थिए । नेपाली समाजमा व्याप्त अँध्यारोलाई उज्यालोमा परिवर्तन गर्ने उनको जीवनको लक्ष्य थियो । त्यही क्रममा उनले क्यान्सर रोगको उन्मुलन, वृद्धाश्रमको स्थापना र संरक्षण, असहायलाई छानो मुनी राख्ने उपक्रम, बाटो निर्माण, स्कुल, स्वास्थ्य भवन, खानेपानी लगायत अन्य तमाम काम फत्ते होस् भनेर पुराण वाचन गरिरहे । जहाँजहाँ उनी बोल्थे त्यहाँत्यहाँ लाखौं लाख रुपियाँ उठ्थ्यो । अनि त्यो पैसा उनी ती संस्थामा ठाडै हस्तान्तरण गर्थे । करोडौं रुपियाँ उनीमार्फत समाजसेवामा लागिसकेको थियो । उनको जीवनकालमा ११३६ महायज्ञहरू सम्पन्न भएको बेहोरा लिपीवद्ध छ ।
पोखरेल भन्नु नेपाली परिवेशमा त्यस्ता वाचक थिए जसको जोडा पनि भेटिएन । उनलाई हिन्दूहरूका लागि मात्र होइन समस्त धर्म मान्नेले पनि अतुलनीय प्रतिभा माने ।
पोखरेलले तीन जनासँग विहे गरे । एघार वर्षको उमेरमा उनको पहिलो विहे उमा खनालसँग भएको थियो । घरयसी दबावमा परेर बाईस वर्षको उमेरमा उनको दोस्रो विहे जयलक्ष्मी न्यौपानेसँग भयो र छत्तीस वर्षपुगेपछि कथावाचनकै फेरोमा मालती पोखरेलसँग तेस्रो विवाह भयो । यी तीन पत्नीबाट उनका चार छोरा र दुई छोरी जन्मे । जेठी श्रीमतीबाट जन्मेका वाचन प्रवीण पं.दीनबन्धु पोखरेलले आफ्नो बाबुको सग्लो बिँडो समाएर हिंडे । उनले पनि पुराणवाचन गरेर करोडौं रूपियाँ नेपाली समाजमा सुम्पिसकेका छन् ।
नारायणप्रसाद पोखरेल जस्ता विभूति पनि कसैका आँखाका कसिङ्गर भएछन् । वास्तवमा २०६२ साल वैशाख २३ गते हिन्दू धर्मसंस्कृतिका लागि एउटा अर्को ग्रहण लगेको दिन थियो । त्यसै दिन उनलाई गोलि हानेर ठहरै पारियो । त्यस समाचारले चारैतिर रुवाबासी भयो । नेपालमा हिन्दू धर्मका शिर्षथ पुराणवाचकको हत्या भएकाले जनता उठेर नै उनलाई धार्मिक सहिद भने र सरकारमा बस्नेहरूले पनि उनको नाउँका अघि त्यही भाकामा सम्बोधन गरे । यस क्रमले हिन्दू धर्म मान्ने देशदेशान्तरका व्यक्तिहरूले पनि उनलाई धार्मिक सहिद भन्दै गए ।