नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

रुपनारायण सिंह Rup Narayan Singh

रूपनारायण सिंहको जन्म १९६४ साल माघ २८ गते दार्जीलिङमा भएको थियो । उनी वीरबहादुर सिंह कुँवर खड्का र मायादेवीका माइला छोरा थिए ।
सिंहले कोलकाताबाट बीए र एलएलबी उत्तीर्ण गरे । अनी २६ वर्षो उमेरमा उनले दार्जीलिङमा कचहरी सुरु गरे ।
सिंह कविता लेखेर नेपाली भाषासाहित्यमा प्रवेश भए । उनको लेखन थोरै थियो । तर उनले लेखेपछि त्यो सुन हुन्थ्यो । त्यसैले उनी नेपाली भाषासाहित्यका महारथी भए । उनले आईए पढेदेखि कथा लेखे । तर जीवनभरमा उनले तीनवटा मात्रै किताव लेखे । उनको उपन्यास 'भ्रमर'ले नेपाली साहित्यमा सुकीर्ति कमायो । उनले अर्को उपन्यास 'विजुली' पनि लेखे । त्यसका केही अंश भारतीमा प्रकाशित भयो तर अपूर्णरहृयो । उनले लेखेको कथासङ्ग्रह 'नवरत्न'ले पनि ख्याति नै कमायो ।
सिंहको लेखनका बारे धेरैले लेखे । तर सुरुमा नै रामकृष्ण शर्माले उनलाई राम्ररी काखी च्यापे । त्यसपछि ईश्वर बरालले उनको साहित्य र भोगविलास लेखेर उनलाई कैलाशै पुर्याइ दिए । बरालका अनुसार सिंह सामाजिक छेकथुन मान्दैन थिए र भोगसुखलाई मान्थे ।'
सिंह सुन्दरी भनेपछि मरिमेट्थे । उनी मान्छे पनि राम्रा थिए र राजषी ठाँटमा हिंड्थे । अनि उनी राम्राराम्रा केटीलाई ढोक्सामा थाप्न जुक्ति झिक्थे ।त्यसैले केटीहरूका कारण उनको घरझगडा परिरहन्थ्यो । उनको दाम्पत्य जीवन पनि बराबर भङ्ग भइरहृयो ।उनले घरिघरि सुन्दरीहरूसँग मायाप्रीति गाँसे पनि उनको घर खण्डहरझैँ थियो ।
सिंहकी प्रथम पत्नी सुन्दरी थिइँन् । केही समयपछि क्रिश्चियन धर्म मान्ने अर्की सुन्दरी घरमा हुलेर उनले जेठीलाई लखेटेका थिए । अनि तेस्री नम्बरकी श्रीमती घरमा ल्याउँदा माइलीले पनि उनीसँग छोडपत्र गरिन् । तर कान्छी श्रीमतीले चाहिँ उनका काखमा एउटी छोरी पनि राखिदिइन् । छोरी पन्ध्र महिना पुगेपछि रूपनारायण सिंहले धर्तिबाटै राजीनामा दिए । उनका आधा दर्जन रखौटीहरू भएको बेहोरा उनी दिवङ्गत भएपछि दार्जीलिङका वासिन्दाले चाल पाएका थिए ।
सिंह बाघजस्तै बलिया, तेजिला र आक्रमक थिए । उनी जोरी खोज्नेलाई जोरी नै भिडाउन सक्थे । उनी फलामजस्तै कडा थिए । उनको स्वभाव पनि उग्र थियो । उनी उदण्ड त्यस्तै थिए । युवा अवस्थामा नै उनले जँडयाहामा नाउँ कमाएका थिए । अनि उनको बुद्धिसँग सामना गर्न प्रायः कोही अगि र्सर्दैन थिए । उनी डुक्रिने कलामा पनि नामी थिए । उनी प्रायः अङ्ग्रेजीमै गफ गर्न रुचाउँथे । कसैसँग भनाभन हुँदा पनि उनी अङ्ग्रेजीमा नै प्रस्तुत हुन्थे । घरकी स्वास्नीसँग झगडा गर्दा पनि उनी अङ्ग्रेजीमा नै बाज्थे । केटी फकाउँदा पनि उनी अङ्ग्रेजीभाषा नै प्रयोग गर्थे । उनी अदालतमा पनि अङ्ग्रेजीभाषामा नै वकालत गर्थे । वास्तवमा उनी अङ्ग्रेजी पढ्नलेख्न पारङ्त थिए । तर उनले नेपाली साहित्य लेख्ता त्यहाँ कहिले अङ्ग्रेजी शब्द घुसाएनन् ।
सिंह कसैसँग लत्रेर बोल्दैन थिए । तर केटी भेटेपछि उनी बुहारीझार झैँ फतक्कै गलिदिन्थे । उनी आफूलाई भोगविलास गर्न धर्तिमा जन्मेको ठान्थे । त्यसैले उनी केटीहरूसँग हिंडेर थाक्तैन थिए । उनी होचा थिए तर लामालामा केटीहरूलाई अघिपछि लगाएर हिंड्थे । उनले मन नपराएका केटीले उनलाई बाउन्ने, पुड्के र डल्ले भन्थे ।
सिंह घुँडाटेखि चार इन्ची तलसम्म फ्रक लगाउनेसँग प्रेम गर्दैन थिए । बिहे गरेपछि उनी आफ्नी पत्नीलाई कुरकुच्चाभन्दा मुनीसम्म सारी तान्न लगाउँथे । त्यसो नगर्दा उनले आफ्नी माइली पत्नीलाई सिस्नोपानी लगाएका थिए ।
सिंह वकिल थिए । उनीभन्दा स्पष्ट, निर्भीक र नामी वकिल त्यस भेकमा अरू थिएनन् । उनी साक्षीलाई समेत अनेक प्रश्न गरेर धुरुधुरु रुवाउँथे । उनको बौद्धिक चमत्कार देखेर न्यायाधीशहरू छक्क पर्थे । केटीपक्षको मुद्दा भएमा चाहिँ उनी वकालतको पैसा पनि लिँदैन थिए । साथै केटीपक्षको लिनै नहुने जघन्य अपराधका मुद्दा पनि उनी बोकिदिन्थे र त्यसमा जोडदारको वकालत गरिदिन्थे । अनि उनको तेजस्वी बहसका कारण न्यायाधीशले त्यस्ता मुद्दा पनि जिताइदिन्थे । उनको केटीप्रतिको मोह र वकालत गर्ने शैलीले उनी पचासौं वर्षम्म पनि चर्चाको धुरीमा अडिरहे ।
सिंहले दार्जीलिङका सुन्दरीलाई खुवै घुमाए । त्यस बेला दार्जीलिङका डाँडाकाँडा, पाखापखेरु, बनजङ्गल जताततै उनी आफ्ना केटी साथीसँग प्रायः पालैपालो डुल्थे । होटलहरूमा पनि सकेसम्म दोहोर्याएर उनले केटी लगेनन् । चियाकमानहरूमा पनि उनी नौलानौला केटी नै पुर्याउँथे । चियाकमानमा केटीहरू डुलाउन जाँदा चियाकमानकी म्यानेजरकी छोरी तीष्णासँग उनको एकैवार आँखा जुदेको थियो । तर त्यो घटना दाजीलिङमा खुबै चर्चित बन्यो । सिंहका जीवनीकार दार्जीलिङकै राजनारायण प्रधानका अनुसार सिंह तीष्णासँग रूप प्रणयभिक्षा माग्न बाटामा कुरी बस्थे । तीष्णा घोडा चढेर त्यही बाटोबाट हिँड्थिन् । तीष्णालाई देखेपछि मानिसहरू टुना लागेजस्तो ट्वाल्ल पर्थे । तीष्णा त्यहाँसम्मकी राम्री थिइन् र कुरा गर्राईमा चाम्री त्यस्तै थिइन् । तर उनी आफ्नै बाबुको ड्राइभरसँग लस्किएकी थिइन् । पछि उनी त्यही ड्राइभरसँग आफ्नै मोटरमा सिलिगुडीतिर हान्निइन् । त्यस समाचारले रूपनारायण मर्छा परे । प्रधानका अनुसार कति दिनसम्म सिंहको मुखबाट बोली फुटेन । जब उनी होसमा आउँथे फेरि रुने गर्थे । तीष्णाका कारण धेरै दिनसम्म उनी पागलजस्तै भए । अनि उनले ड्राइभरलाई सराप्तै एउटा कथा लेखे- 'ड्राइभरको पेसा राम्रो होइन' ।
सिंह अङ्ग्रेजका श्रीमती पनि खुवै मन पराउँथे । सेतो छालामा चिप्लिखेल्ने उनको ठूलो रहर थियो । त्यही हिसाव मिलाउन उनले अङ्ग्रेजसँग सङ्गत गरे । मेमसाहेबहरू पनि उनी भनेपछि भुतुक्कै हुन्थे । त्यसैले उनले अङ्ग्रेजहरूसँग बसेर रक्सी खाए र उनीहरूकै श्रीमतीसँग बोल्ड डान्स गरे । सिंह मातेर होस हराउँथे र मेमसाहेबहरूका कम्मरदेखि कुमसम्म आफ्नो टाउको जोड्दै नाच्थे । किनभने उनी होचा थिए ।
बेलायतीहरूको आवासगृहकै दाँजोमा सिंहको घर थियो । उनको घर पनि बेलायतीहरूको झैं सफा सुग्घर हुन्थ्यो । उनका घरका बरण्डामा ढकमक्क फूल फुल्थे । उनी घरमा काम गर्ने पनि केटी नै राख्थे । उनका घरका केटी पनि कति सुन्दरी हुन्थे भने तिनका गालामा हातले छुँदा पनि चक्र लाग्थ्यो ।
सिंहमा राजनैतिक चेतना ओतप्रोत थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । तर उनी आफ्नो घरमा दरो शासन लागु गर्थे । उनी आफ्नी स्वास्नीलाई परपुरुष हर्ेन दिँदैन थिए । उनी आफ्नी श्रीमतीलाई एक्लै बजार जान दिँदैन थिए । अनि उनी आफ्नी गृहिणीलाई नाच्न, गाउन र होटलमा जान दिँदैन थिए । अनि उनी घरमा पुरुष आएका बेला आफ्नी श्रीमतीलाई आवाज निकालेर हाँस्न पनि दिँदैन थिए । घरमा पुरुष आएका बेला एक पटक उनकी जेठी पत्नी खित्का छाडेर हाँसेकी थिइँन । अनि त्यही निहुँमा उनलाई सिंहले सौता हालेका थिए । यस मामलामा उनी भन्थे फलाम काट्न फलामै चाहिन्छ ।
सिंहले ४७ वर्षकटाए । त्यसै बीचमा उनले मानाका माना, पाथीका पाथी र मुरीका मुरी जाँड खाए । त्यसै समयका सर्न्दर्भमा उनले एक जना होइन, दुई जना होइन र तीन जना पनि होइन दर्जनौँलाई अँगालोमा बाँधे । अनि सुरा र सुन्दरी धान्न नसकेर उनी जीर्णहुन थाले । यिनै कारणहरु जोडिनाले पनि उनलाई सुकेनासले छोयो । अन्ततः उनी २०११ साल माघ १३ गते दाजीलिङमा बिते ।