नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

यज्ञविक्रम राणा Yagya Bikram Rana

सूर्यविक्रम ज्ञवालीले भनेका थिए, "यज्ञविक्रम राणाको नेपाली भाषासाहित्यको प्रचार र प्रसार गर्ने उदाहरणअनुसार काम गर्न हामी अघि र्नुपर्छ ।" वास्तवमा राणा त्यस्तै उदाहरणीय थिए । उनको सबैभन्दा ठूलो खुवी के थियो भने उनले बोलेपछि त्यो कुरा ढुङ्गाको अक्षर हुन्थ्यो । किनभने उनी नपुग्ने कुरा नै बोल्दैन थिए । उनी थोरै बोल्थे र धेरै गर्थे । उनी स्पष्ट बोल्थे तर नरम बोल्थे । उनी कडाकडा काम गर्थे तर सरल थिए । उनी ठूलाठूला कुरा आँक्थे तर सोझो थिए । सहृदयताले नै एउटा भद्र पुरुषका रुपमा उनले नेपाली समाजमा आफ्नो सरल नाउँ लेखाएका थिए । त्यसैले उनीसँग एकपटक बोलेको मान्छे उनको पछि लाग्थे ।
राणाले आफ्ना बुबा झपटबहादुर राणालाई प्रकाशमा ल्याउन रातोदिन कसरत गरेउनका बुबा नेपाली साहित्यका महारथी थिए, तर उनका कृति सहज रुपमा प्रकाशनमा आइरहेका थिएनन् । यिनै राणाले आफ्ना बुबाका झन्नै एक दर्जन कृति प्रकाशनमा ल्याइदिए । यसैबारे प्राध्यापक डा.वासुदेव त्रिपाठीले लेखे- "यज्ञविक्रम राणाले आफ्ना स्वर्गीय पिता झपटबहादुर राणाका असङ्ख्य साहित्यिक रचनाहरूलाई बटुलबाटुल गरी पुस्तकाकारमा प्रकाशित गरे ।"
यज्ञविक्रम शारदाकालीन साहित्यकार थिए । उनी बुबाको प्रेरणाले नै साहित्यमा लागेका थिए । साहित्यमा मात्र होइन यी क्रमशः ज्ञानविज्ञानकै दोभानमा उभिन पनि थाले । यिनले आफ्नो पेसाका रूपमा विज्ञानलाई समाते र साहित्यमा पनि त्यतिकै रुचि राखे । यिनले इन्जिनीयरिङ पढे तर पनि यी सृजनामा समर्पित भैरहे । विद्याथी जीवनदेखि नै यी आफ्नो गच्छे अनुसारको लेखनका धनी थिए । लेख्तादेख्तै यिनले नेपाली, अङ्ग्रेजी, हिन्दी, चिनीया र संस्कृत भाषामा पनि लेखे ।अनि नेपाली र अङ्ग्रेजीभाषा चाहिं यिनको पेवाजस्तै भयो । यिनको अङ्ग्रेजीभाषाको लेखनले नेपाली साहित्यकारहरू चकित खान्थे । त्यसैले राष्ट्रकवि माधव घिमिरेले एकपटक लेखेका थिए- "यज्ञविक्रम राणा अङ्ग्रेजी साहित्यको अध्येता मात्र नभएर अङ्ग्रेजीका प्राचीन छन्दमा पनि कविता रचना गर्थे ।" तर यिनले अङ्ग्रेजीभाषाको सिङ्गो किताव प्रकाशनमा ल्याएनन् । उनले जति लेखे फूटकरै लेखे । ग्रन्थका रूपमा उनको एउटा मात्रै कृति २०४६ सालमा प्रकाशित भयो 'यज्ञ रचनावली' । वास्तवमा घटराज भट्टराईकै हुटहुटीले मात्र त्यस कृतिलाई प्रकाशनमा ल्याइएको थियो । साथै त्यस कृतिका सम्पादक पनि भट्टराई नै थिए ।
राणाको सबैभन्दा ठूलो परिचय उनी मेहनती थिए । उनी शुद्ध पसिनाको कमाईमा विश्वास राख्थे । समाजमा सधैँ असल कर्म गर्नुपर्छ भन्ने उनको जीवनको नैर्सर्गिक मान्यता थियो । बाँचुन्जेल उनले आफ्नो नैतिकतालाई भूइँमा खस्नै दिएनन् । त्यसैले उनको जीवनमा मानवतावाद फक्रिरहृयो ।
जीवनको उत्तर्रार्धमा राणा साहित्य, धर्म र सामाजिक काममा नै बढी लहसिए । उनको त्यस बारेको विजारोपण २०१२ सालमा नै भएको थियो । त्यसै बेला उनले आफ्ना घरमा यज्ञ पुस्तकालयको स्थापना गरेका थिए । उनी बाँचुनजेल त्यस पुस्तकालयबाट पनि धेरै अनुसन्धाताले ज्ञान आर्जन गर्ने मौका पाएका थिए ।
पत्रसङ्ग्रह राणाको विशेष सोखको विषय थियो । त्यसैले उनले स्कुले जीवनदेखि नै पत्रहरूको सङ्कलन गर्दै आए । उनले अरूलाई लेखेका पत्र र उनलाई अरूले लेखेका पत्रहरू सदैव उनका सङ्ग्रहमा रहे । उनी पत्र लेख्ता गद्य र पद्य दुवैमा लेख्थे ।
राणा नेपाली संस्कृति भनेपछि हुरुक्कै हुन्थे । आफ्नो देश नेपाल र नेपालीको उनी आदर गर्थे । नेपाली भाषा उनको जीवनको प्राण थियो । साहित्यकारलाई घरमा लगेर भोज खुवाउने पनि उनको विशेष सौख थियो । त्यसैले उनले हरेक वर्षसाहित्यिक समारोहहरू आफ्नै घरमा आयोजना गर्थे र त्यति बेला निम्तारुलाई मन खोलेर भोज खुवाउँथे ।
राणा जुनसुकै साहित्यिक कार्यक्रममा पनि पुग्थे । उनी भाषण पनि गर्थे तर उनले पाँच मिनेट बोलेको कसैले सुनेनन् उनी भन्थे, "संविधान नपढ्ने देशका मान्छेलाई भाषण रटाउने काम छैन । भाषणलाई समारोहको औपचारिकताका लागि मात्र प्रयोग गर्नु पर्छ ।" 
राणाले आफ्ना बुबाका नाउँमा २०३७ सालमा झपट पुरस्कार गुठीको स्थापना गरेका थिए । त्यसै वर्षउनैको पहलमा उनका सासु ससुराका नाउँमा सैनध्वज-नन्दकुमारी गुठीको पनि स्थापना भएको थियो । त्यस बेलादेखि यो गुठीले हरेक वर्षनेपाली भाषामा विद्यावारिधि गर्ने एक जना प्राज्ञलाई पुरस्कृत गर्दै आयो । साथै झपट पुरस्कारबाट पनि झन्नै तीन दर्जन स्रष्टाहरू पुरस्कृत भइसके ।
राणा त्रिमर्ति निकेतन, बालकृष्ण सम फान्डेशन, मदन पुरस्कार गुठी, दीपस्मृति गुठी आदि साहित्यिक संस्थाहरूमा सदस्य थिए । साथै उनी धार्मिक र शैक्षिक संस्थामा पनि आबद्ध थिए । उनी सर्वसम्मतले काठमाडौं बानेश्वरको रत्नपुस्तकालयको अध्यक्ष भए । साथै उनी त्यहींको श्री ५ रत्नराज्यलक्ष्मी माद्यामिक विद्यालयको पनि अध्यक्ष थिए । अनि त्यस स्कुलमा यिनले अवैतानिक रूपमा अध्यापन पनि गरे ।
झपटबहादुर राणा बडाहाकिम भएर काठमाडौँबाट स्याङ्जाजाँदा उनकी पत्नी तोरणकुमारी राणा पनि उनीसँगै गएकी थिइन् । त्यही फेरोमा झपटबहादुरको साइँला छोराका रूपमा यज्ञविक्रमको जन्म १९८० साल चैत १५ गते स्याङ्जामा भएको थियो ।
यज्ञविक्रमले दरबार स्कुलमा पढे । उनले त्रिचन्द्र कलेजमा पनि पढे । साथै उनी भारतको पूनाबाट सिभिल इन्जिनीयर भए । अनि उनी २००७ सालमा नेपाली सेनाको सहायक सेनानीमा प्रवेश भए । पढाइको हिसाब गर्ने हो भने यिनले अर्थशास्त्र र राजनीति शास्त्रमा एम्ए र फेरी एमकम गरे । साथै यिनले वीएल पनि पास गरे । अनि यिनले चिनीया भाषामा डिप्लोमा गरे ।
सेनाको बृगेडियर जनरल पदबाट राणाले २०४६ सालमा अवकास लिए । सेनामा हुँदा उनी नेपालका पचहत्तर जिल्ला तथा भारत, चीन थाइल्यान्ड, इजरायल र अमेरिका पुगे । इजरायलमा यिनले प्यारा जम्पिङ पनि गरे । त्यसभन्दा अघि कुनै नेपालीले प्यारा जम्पिङ गरेका थिएनन् । अनि त्यसपछि नै नेपाली सेनामा प्यारा जम्पिङ पनि भित्रियो ।
राणाले असल काम गरेर राज्यबाट सुप्रबल गोरखादक्षिणबाहु र सुविख्यात त्रिशक्तिपट्ट पाए । साथै उनले थुप्रै अलङ्कार पदकहरू पनि प्राप्त गरेका थिए ।
राणाको बिहे सैनध्वज खड्का र नन्दकुमारी खड्काकी छ छोरीमध्ये ठाइँली छोरी केशरकुमारीसँग २००७ साल फागुन ४ गते भएको थियो । यी दम्पतिबाट पाँचजना छोरी गीता, रीता, नीता, अनीता र वनीता र एक जना छोरा अरुण राणा जन्मे । यी सबैले उच्च शिक्षा ग्रहण गरे ।
राणाको जीवन निरोगी भएर नै वित्यो । २०६८ साल साउन ५ गते राति बाह्र बजे उनले आफ्नो छोरा अरुणलाई बोलाएर भने, "बाबु अब म सुत्छु; मलाई नउठाउनु है !" अनि त्यसको लगत्तै उनी चीर निद्रामा रुपान्तरित भए ।