नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

मेघराज शर्मा (Megh Raj Sharma)

१९७४ सालको कुरा हो; भारतको दार्जीलिङ सहरमा ठूलो आगोलागी भयो । त्यस अग्निकाण्डमा पं. राजाराम शर्माको कपडाको पसल पनि डढेर सखाप भयो । त्यस घटनापछि पं.शर्मा टाट पल्टे । अनि उनी टेक्ने न समाउनेका भए । दिनचर्याका लागि उनी जागीर खान वाध्य भए । तर उनले पाएको जागीरले उनका स्वास्नी, छोराछोरी पाल्ने अवस्था न्यून भयो । त्यसपछि उनी सानोतिनो भए पनि व्यापार व्यावसाय समाउने हिसावमा मौजुद भए । त्यस अठोटले उनले खुद्रा व्यापार खोले । तत्अनुरूप उनले दार्जिलिङ भेकका गाउँघरमा कपडा लगेर बेच्ने काम समाय । तर त्यसबाट पनि उनको विहानबेलुकाको छाक टरेन । त्यसपछि उनी साझे व्यापारमा लागे र झनै ऋणमा डुबे । अनि उनको त्यो साझे बाझेमा अनुवाद भयो । त्यसपछि भौंतारिएर उनी नेपालको इलाम पसे ।
इलामको फिक्कलमा पं.राजाराम शर्माले कपडा पसल नै थापे । साथै त्यहाँ उनले अर्को खुद्रा पसल पनि थापे । अनि क्रमशः उनले त्यहाँ अलैँची र चिया पसल पनि सञ्चालन गर्न थाले । तर बजार सानो भएकाले त्यसबाट पनि उनको घरधन्दा चलेन । त्यसपछि उनी श्रीमती सरस्वतीदेवी र एउटा छोरा मेघराज शर्मा लिएर कामकै खोजीमा धरानतिर लागे ।
मेघराज शर्माको जन्म १९७९ सालमा इलामको फिक्कलमा भएको थियो । घरको अत्यन्तै अत्यासलाग्दो आर्थिक कारणले उनी आफन्तको घर पञ्जावको लुधियाना पुर्‍याइए । उनले त्यहीं नै प्राथमिक शिक्षा पढे ।
शर्मालाई पुनः नेपाल नै ल्याइयो । अनि उनी आफ्ना बुबालाई सघाउने अभ्रि्रायमा जुटे । परिणमस्वरुप उनले पढ्दै व्यापार गरे । त्यतिन्जेलमा उनले संस्कृत, हिन्दी, अङ्ग्रेजी र नेपाली विषयमा ज्ञान पनि आर्जन गर्दै गए । साथै उनले मन, वचन र कर्मले आफ्ना बुबाको सेवा गरे । त्यति खेर उनले ऋणमा डुबेका आफ्ना बुबालाई भनेका थिए 'बुबा ! नआँत्तनिु होस्, हामी उठ्न सक्छौं ।' आफ्ना छोराले जति नै हौसला दिए तापनि कहिले पनि व्यापार नगर्ने र्सतमा पं.राजाराम शर्मा चाहिं हरिद्वारतिर लागे । त्यसपछि मेघराज शर्माले घरको सारा व्यवहारको नाम्लो भिरे । तर उनले हरेस खाएनन् । क्रमशः आफ्ना बुबाको पेसामा उनले आफूलाई अडिक बनाएर नै छाडे । उनको व्यापार विस्तारै सप्रन पनि थाल्यो । अनि उनले नेपाल तथा भारतको दार्जीलिङमा आफ्ना बुबाले खाएको ऋण तिर्दै हिँडे । उनले आफूलाई सक्षम बनाए पछि उनी समाजसेवामा लागे । त्याहाँ पनि उनी विस्तारै फक्रन थाले ।
हुन त सुरुसुरुमा शर्मालाई गरिखान सारै गारो भयो । त्यस बेला उनले घर व्यवहारलाई जुरुक्कै उचाल्न खोजे तर सकेनन् । किनभने त्यस बेला तिनको घरको आर्थिक अवस्था जर्जर थियो । त्यसैले उनी कहिले शिक्षक बने, कहिले पुरोहित भए र ज्योतिषी भएर पनि हिँडे । विस्तारै यिनको समाजमा हैसियत बढ्दै गयो । अनि यिनी शिक्षा सेवामा अग्रसर हुँदै गए । बाँच्न र शिक्षा प्रदान गर्नेहेतु यिनले किताबको पसल पनि थापे । त्यसै ताका यिनले घरजाम पनि गरे ।
बीस वर्षीय पण्डित शर्माको बिहे पण्डित चिरञ्जीवीलाल शर्माकी छोरी जानकीदेवीसँग भएको थियो । उनीहरूबाट सुरेशकुमारको जन्म भयो ।
पं.शर्माको धरानका कालीप्रसाद श्रेष्ठसँग घनिष्टता थियो । श्रेष्ठ धनी थिए तर मनकारी पनि थिए । त्यसैले श्रेष्ठले पण्डितलाई धरानमा नै एउटा घडेरी दान दिए । पण्डितले त्यहीँ घर बनाए । अनि उनी झनै सहज भएर समाजसेवामा लम्के ।
पं.शर्मा समाजसेवाका भीम थिए । उनी काम गरेर थाक्तैन थिए । उनको योजना पनि व्यवहारिक हुन्थ्यो । उनी कुराभन्दा काममा विश्वास गर्थे । उनको जाँगर प्रायः शिक्षा विकासमा केन्द्रित हुन्थ्यो । त्यसैले धरानको पब्लिक हाइस्कुल, शिक्षा निकेतन, पिण्डेश्वर संस्कृत विद्यालय, शारदा बालिका विद्यालय, महेन्द्र क्याम्पसआदिको स्थापना र सञ्चालनका लागि पनि उनको योगदान स्तुत्य रहृयो । त्यस भेकको धार्मिक कार्यमा पनि उनको बिर्सिनसक्नुको भूमिका रहृयो । साथै उनी सुनसरी उद्योग वाणिज्य सङ्घ व्यापार प्रवन्ध समितिको अध्यक्ष पनि भए ।
शर्माले धरानमा विविध समाजसेवा गरे । त्यहाँबाट फट्का हानेर उनी विराटनगर पनि पुगे । त्यहाँ पनि उनले मुलरुपमा धर्म, शिक्षा र समाजसेवा नै समाए ।
शर्माले विराटनगरमा सत्यनारायणको मन्दिर बनाए । त्यस मन्दिरको उनी आफै पूजारी भए । उनले विराटनगरमा स्कुल, कलेजको स्थापनामा भूमिका खेले । विराटनगरमा श्रीकृष्ण गोसेवा सदनको गौशाला स्थापना गरेर उनले अर्को ऐतिहासिक काम गरे । साथै उनले यहाँ गुरुकुल बनाए । उनको योगदानले उनी धेरैका प्रिय भए । उनी शिष्ट रुपमा व्यापार व्यावसायमा पनि लम्कदै गए । उनको महानताको त्यहाँ धेरैले जय मनाउन थाले । त्यसैले उनी पूर्वाञ्चलका विभिन्न व्यापार वाणिज्यको प्रमुख भएर पनि बसे । साथै शिक्षणसंस्था र धार्मिकसंस्थाहरुमा पनि उनी र्सवसम्मतिबाट प्रमुखमा छानिइरहे ।
सुरुमा नै पं.शर्माले नेपाली साहित्य भण्डार स्थापन गरेका थिए । उनी आफै पनि लेख्थे र अरुलाई पनि लेख्न प्रेरणा दिन्थे । उनी नेपाली साहित्यमा लेखनाथ पौड्यालप्रति विशेष वफादार थिए । त्यसैले उनले 'तरुणतपसी'को भावनुवाद गरेर २२३ पृष्ठको ठेली हिन्दी भाषासाहित्यको क्षेत्रमा पनि पुर्‍याए । उनले अनेकौँ लेखरचनाको आविष्कार गरे । उनका लेखन र सम्पादन गरेर एक दर्जन कृति प्रकाशनमा आए ।
पं.शर्मा नेपाली साहित्यका निष्ठावान स्रष्टा थिए । त्यसैले उनकै अध्यक्षतामा २०५१ सालमा विराटनगरमा वृहत् नेपाली साहित्य सम्मेलन सम्पन्न भएको थियो ।
साहित्यकार पं.शर्मा पूर्वाञ्जलका समाजसेवाका एउटा बलियो हस्ती थिए । उनी कट्टर राष्ट्रवादी पनि थिए । उनको राष्ट्रियता नेपालप्रति केन्द्रित थियो । त्यसैबारे जनरल मातृकाप्रसाद कोइरालाले लेखेका थिए "पं.शर्मामा राष्ट्रप्रति सच्चा प्रेम छ ।" कोइरालासँग मात्र होइन पं.शर्मा सूर्यबहादुर थापाका बुबाकै पालदेखि थापा परिवारका निकटवर्ती थिए । सूर्यबहादुर थापाले पनि उनको राष्ट्रवादी दृष्टिकोणको मर्यादा गरिरहे । त्यसै गरी उनी कीर्तिनिधि विष्टका पनि अति मनपरेका व्यक्ति थिए । मनमोहन अघिकारीले त उनका बारे लेखेकै थिए" समाजसेवी पं.शर्मा वैदिक सनातन धर्मालम्वी पण्डित भएर पनि कट्टर पन्थी नभई उदारवादी समाजसेवी हुनुहुन्छ ।" त्यसै गरी गिरिजाप्रसाद कोइरालाले विराटनगर थर्काएर एकपल्ट भाषण गरेका थिए "समाजसेवी शर्मा देशभक्त नागरिकका प्रथम पङ्क्तिमा उभिन सफल हुनुहुन्छ ।" वास्तवमा पं.शर्माको छोटो परिचय यति नै थियो । किनभने उनलाई सम्मान नगर्ने, उनको अर्चना नगर्ने र उनको वन्दना नगर्ने पूर्वाञ्चलमा प्रायः कोही पनि थिएनन् । उनको योगदानको कदरस्वरुप राज्यबाट पनि उनी सम्माननीयको पद्वीका साथै सुप्रसिद्ध गोरखा दक्षिणबाहुबाट विभूषित भएका थिए ।
पं.शर्मा नेपाली साहित्य, समाजसेवा र राष्ट्रिय चिन्तनमा डुब्दाडुबदै थला परे । उच्च रक्तचापका कारण उनको हृदयगती बन्द भयो । अन्ततः २०६० साल पुस २८ गते उनी विराटनगरमा स्वर्गीय भए ।