नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

बाबुराम आचार्य Babu Ram Acharya

बाबुराम आचार्य आफू स्वयं स्रष्टा थिए । उनी स्रष्टाको सृष्टिको लेखाजोखा गर्न पनि उत्साही थिए, प्रेरित थिए र जागरुक थिए । आचार्यले नेपाली वाङ्मय संसारमा प्रवेश गरेर नेपाली भाषासाहित्यको अन्वेषण तथा ऐतिहासिक पद्धतिको लेखाजोखामा आफूलाई समर्पित गरे । यिनले समालोचकीय धारामा आफूलाई पूर्ण रूपमा समाहित गरे । खास गरेर यिनले पुरानो नेपाली काव्यधाराको पूर्ण रूपमा अध्ययन, अनुसन्धान र विश्लेषण गरे । आचार्य प्रथम ऐतिहासिक समालोचक मानिन्छन् ।
आचार्यले आफ्नो समीक्षात्मक व्यक्तित्वका साथै इतिहासनिर्माता व्यक्तित्वमा पनि आफूलाई परिचित गराएका छन् । खास गरेर यिनले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीका चार भाग ग्रन्थाकार रूपमा नेपाली भाषाको भण्डारमा समर्पित गरे । इतिहासबारे यिनको गहिरो खोज, अनुसन्धान र योगदानको कदरस्वरूप यी इतिहासशिरोमणि पदवीबाट पनि सम्मानित भए ।
आचार्य लेख्ता छोटा र सरल वाक्यलाई प्रश्रय दिन्थे । उनी आफूले देखेका, भोगेका र सुनेका कुरालाई कलात्मक ढङ्गबाट प्रस्तुत गर्थे । उनी अर्काको भलाइमा आफूलाई समाहित गर्थे । डा. डिल्लीरमण रेग्मीका अनुसार बाबुराम आचार्यको कामकारबाहीमा छलकपट थिएन । आचार्यको उदारता पनि त्यस्तै थियो । आफूसँग भएका, आफूले जानेका र सिकेका कुरा अरूलाई पनि बताइदिने आचार्यको वैयक्तिक चरित्र थियो । थुप्रैले आचार्यबाटै इतिहास लेख्ने प्रेरणा पाए ।
नेपालमा चलेको विक्रम संवत्मा जोडिएको 'विक्रम' शब्दलाई आचार्यले हटाउने काम गरे । उनका अनुसार हाम्रो राष्ट्रिय संवत्मा विशेषणका रूपमा जोडिएको 'विक्रम' शब्द र्सार्थक देखिँदैन । यो संवत् उज्जयिनीका राजा विक्रमादित्यले चलाएका हुन् भन्ने दन्त्यकथा बाह्रसय वर्षपहिलेदेखि भारतमा चल्दै आएको छ र नेपालमा यो दन्त्यकथा र्सर्दै आइपुगेको छ । तर जुन समय अर्थात् इसापूर्व अन्ठाउन्न वर्षा यस संवत्को उठान भएको थियो उस समय अवन्ति देशको राजधानी उज्जयिनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।
आचार्यले एउटा युगलाई नै डोर्याए । उनको चिन्तन विशुद्ध नेपाल र नेपालीमा गाँसिएको थियो, उनको निष्ठा नेपाली माटोमा समर्पित थियो र उनको त्याग नेपालीमा आबद्ध थियो । उनैले माउन्ट एभरेस्टको. नाउँलाई शारदा पत्रिकामार्फ 'सगरमाथा' भन्ने नाम दिएका थिए । वास्तवमा उनी खुबै ठूला राष्ट्रवादी थिए । कहिलेकाहीँ कसैकसैको लहलहैमा लाग्ने, बहकिने र छिट्टै निर्णय दिएर पछुताउने उनको वैयक्तिक विशेषता पनि थियो । कसैको चाकरी र चाप्लुसी नगरेकै. कारणले उनी खरदारमा जागिर खाई धेरै वर्षो सेवापछि खरदारमा नै सेवानिवृत्त भए भन्ने कुरा प्राज्ञ पन्तद्वारा जानकारी दिएको थियो । वास्तवमा राणाकालीन समयमा एउटै पदमा लामो कालसम्म कार्यरत रहेर त्यसैमा अवकाश प्राप्त गर्नेहरूमध्ये आचार्य पनि एक थिए ।
आचार्य सरकारी खरदारमा सेवारत हुनुभन्दा अघि बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको घरायसी पाठशालामा कार्यरत थिए । उनले त्यसबेला आफ्नो जोस, जाँगर र बुद्धिलाई त्यसै पाठशालामा खिपेका थिए । त्यसबेला एक वर्ष जयपृथ्वीबहादुर सिंहसँग बसउठ र हिँडडुल गर्दा आचार्यले. थुप्रै कुरा जाने, थुपै्र कुरा बुझे र थुप्रै कुरा सिके ।
बाबुराम आचार्यको जन्म १९४४ सालमा काठमाडौँमा भएको थियो । उनका बाबु धर्मदत्त उपाध्याय काठमाडौँको संस्कृत पाठशालाका अध्यापक थिए । यता संस्कृतका प्रकाण्ड विद्वान् बाबुको तालिम र उता काशीका प्रसिद्ध विद्वान् शिवकुमार शास्त्री र चन्द्रदेव पाण्डेको प्रशिक्षणमा बाबुराम आचार्यले काशीमा नै व्याकरण, धर्म, विज्ञान, गणित आदिको प्रारम्भिक अध्ययन गरेका थिए । त्यसपछि नेपाल आएर उनले वीरेन्द्रकेशरीसँग नेपाली भाषा, साहित्य र व्याकरणको गहिरो अध्ययन गरे । अध्ययनकै क्रममा उनले नेपाली र संस्कृतका साथसाथै अङ्ग्रेजी, हिन्दी, मराठी र गुजराती भाषाको ज्ञान पनि आर्जन गरे ।
आफ्नो धन, शरीर र समय इतिहासकै खोजखबरमा लगाउने एक साधकका रूपमा आचार्य चिनिन्छन् । उनले नेपाली इतिहासका प्रायः धेरै गौँडा पत्ता लाए, उनले नेपाली भाषाका स्रष्टाहरूको खोजखबर गर्दै यथेष्ट परिचय दिए र उनले नेपाली साहित्यको अनुसन्धान, विश्लेषण र आलोचना गर्दै आफ्ना धेरै अग्रज प्रस्तुत गरे ।
इतिहासका लागि आचार्य एउटा प्रामाणिक व्यक्तित्व हुन् । त्यतिमात्र होइन, इतिहासनिर्माणका लागि उनी एउटा सिङ्गो संस्था नै हुन् । इतिहासनिर्माणका लागि जन्मेका ठूलाठूला संस्थाहरूले पनि बाबुराम आचार्यको आड लिनै पथ्र्यो । बाबुराम आचार्यको र्समर्थनविना जस्तोसुकै इतिहास पनि अधुरो नै रहन्थ्यो ।
बाबुराम आचार्य ऐतिहासिक खोज, अनुसन्धान र सङ्ग्रहमा लागेको पनि एउटा रोचक प्रसङ्ग छ । कुरा के हो भने बाबुराम आचार्यका बुबा धर्मदत्त उपाध्यायले देहत्याग गरेपछि  बाबुराम आचार्य आफ्ना बुबाको अस्तु लिएर बनारस गएका रहेछन् । त्यसैबेला उनको दृष्टि एउटा ग्रन्थमाथि पर्यो; जुन ग्रन्थमा नेपालको शिलापत्र छापिएको रहेछ अनि त्यो ग्रन्थ पनि बम्बैबाट छापिएको रहेछ । त्यस घटनाले आचार्यलाई रन्थन्याएछ । त्यसपछि उनका मनमा एउटा मौलिक भावनाको सृजना भएछ- 'नेपालको शिलापत्र हामीले नै किन नछाप्ने ?'
बाबुराम आचार्य काशीबाट नेपाल आएपछि उनी नेपाली शिलापत्रको. खोजीमेलीमा निर्लिप्त हुन थाले । उनका सपना, विपना र आराधना नै शिलापत्रहरू खोज्ने, गोड्ने र केलाउने काममा नै आबद्ध हुन थाले । ऐतिहासिक कागजात र शिलापत्रको कार्यमा जुट्ताजुट्तै उनको भोकतिर्खा नै त्यसैमा केन्द्रित हुन थाल्यो । खरदार बाबुराम आचार्यको यसै कार्यको प्रशंसा गर्दै. सरदार रुद्रराज पाण्डेले एउटा दस्ताबेज प्रस्तुत गरेका पनि थिए- ''खरदार बाबुरामले पुराना कागजपत्र, वंशावली इत्यादि ऐतिहासिक सामग्रीहरूको सुइँको मात्र पाउनुभए पनि भेटाइछोड्नुहुन्थ्यो, केलाई छोड्नुहुन्थ्यो ।''
आचार्यका आँखा १९९७ सालदेखि क्रमशः सुस्ताउँदै गए । २००८ सालमा उनी पूरै अन्धा भए । तर उनले अरूलाई लेखाएर पनि आफ्नो यात्रा जारी गरे । २००८ सालमा नै राजा त्रिभुवनबाट उनी इतिहासशिरोमणि पदवीबाट सुशोभित पनि भए । त्यसपछि २०२० सालमा आचार्य त्रिभुवन प्रज्ञापुरस्कारबाट सम्मानित भए । उनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आजीवन भत्ता पनि पाए ।
आचार्यले नै नेपाली भाषासाहित्यको कालविभाजनको श्रीगणेश गरे । उनी वैज्ञानिक ढङ्गबाट समीक्षाको स्रोत पनि बढाउँथे । उनी न्यायिक समीक्षक थिए । तर कहिलेकहीं चाहिं इगोका कारण उनी बिम्लाटो पनि र्फकन्थे । यति हुँदाहुँदै पनि उनले आफ्नो लेखकीय मर्यादालाई सदैव सुनको पालिस लगाइरहे । उनको महानताको राजादेखि रङ्कसम्मले प्रशंसा गर्थे । किनभने उनी आफ्नो बम्हलाई साक्षी राखेर मात्र लेख्थे ।
आचार्यले साहित्यका कृति लेखे, इतिहास झनै धेरे ग्रन्थ लेखे अनि ज्योतिष र खगोलका विषयमा पनि लेखे । उनले लेखेका धेरै पाण्डुलिपी वेपत्ता भएका छन् । उनको 'नेपालको प्राचीन इतिहास' नामक कृति हालसम्म पनि प्रकाशित भएको छैन । यस विषयको पाण्डुलिपि कहाँ छ भन्ने कुरा पनि पत्ता लागेको छैन ।
आचार्य र्सवशक्तिशाली इतिहासकार थिए । उनी इतिहासका प्रत्येक बुँदा कण्ठाग्र भन्न सक्थे । सारा तिथिमिति उनलाई कण्ठ थियो । उनी इतिहासका पानापानाका अक्षरलाई निफनेर जनसमक्ष प्रस्तुत गर्ने शिल्पी थिए ।
आफ्नो कार्यमा जुट्ताजुट्तै बाबुराम आचार्य २०२९ सालमा स्वर्गीय भए । नेपाली साहित्य, इतिहास र संस्कृतिका अजस्र मुहान, स्रोत र प्रेरणा आचार्यको निधनले नेपालीहरूलाई एउटा कुशल, महान् र पराक्रमी. व्यक्तित्वको. रिक्तताको महसुस गरायो । तर उनका अमर कृतिहरू मर्यादित भएर नेपाली भाषाको मन्दिरमा सङ्गृहीत छन् ।