नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

काशीराज उपाध्याय Kashi Raj Upadhaya

डा.काशीराज उपाध्याय बहुआयामिक व्यक्तित्वका धनी थिए । यति हुँदाहुँदै उनलाई नेपालको योग तथा प्राकृतिक चिकित्साका अग्रणीका रूपमा चिनिन्छ ।
उपाध्याय बाँचुन्जेल नेपालको स्वतन्त्रता, अखण्डता र राष्ट्रियताका लागि समर्पित भइरहे । शिक्षा विकासदेखि सनातन हिन्दूधर्म संवर्द्धनसम्मका लागि उनले आफ्नो कम्मरमा पटुका कसिरहे । उनले विराटनगरको आदर्श पुस्तकालय निर्माणदेखि खिदिमको हरिहर पाशालासम्मको संरक्षकत्व ग्रहण गरिरहे ।
उपाध्यायले जनस्वास्थ्यका लागि पनि आफ्नै बुताले पहल गरे । अत्यन्तै थोरै खर्चमा जनताले धेरै स्वास्थ्य लाभ गर्न सकून भन्ने उनको जीवनको अर्को एउटा सपना थियो । उनले त्यही सपनालाई विपनामा स्थापित गरिछाडे । अन्ततः नेपालमा वैज्ञानिक ढङ्गबाट पहिलो योग तथा प्राकृतिक चिकित्साको सेवालाई आधिकारिक रुपमा आरोग्य आश्रमनामक संस्थामार्फ परिचालन गरेर उपाध्यायले अतुलनीय योगदान गरे ।
उपाध्यायले नेपालमा आरोग्य आश्रमलाई राम्रो जग हाले । अनि उनले त्यसलाई गोडमेल गरे । उनको त्यस संस्थाले रात दुईगुना दिन चारगुनाका दरले नाउँ कमाउँन थाल्यो । कतिसम्म भने नबाँच्ने अवस्थामा पुगेका धेरै मान्छे आरोग्य आश्रममा पुगेर सास फेर्थे । वास्तवमा आरोग्य आश्रम उपाध्यायको एउटा क्रान्तिकारी कदम थियो । उनको यही आश्रमबाट देशविदेशका थुप्रै नागरिकले नयाँ चोला फेरे । त्यति मात्र होइन उनकै नेतृत्व, संरक्षकत्व र निर्देशनमा धेरैले प्राकृतिक चिकित्साको तालीम पनि लिए । नेपालको राष्ट्रिय चिकित्साहरुमध्ये उपाध्यायको सृजना अथवा भनौं योग तथा प्राकृतिक चिकित्सा पनि मान्यता प्राप्त भयो ।
उपाध्याय जसरी क्रान्तिकारी भएर नेपालको स्वतन्त्रताका लागि लागे त्यसरी नै राष्ट्र निर्माणमा पनि मन, वचन र कर्मले समर्पित भइरहे । उनको योगदानको कदर स्वरूप उनी टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रित्वकालमा गठित मन्त्री परिषद्मा उद्योग वाणिज्य उपमन्त्री पनि बने । तर राजनीतिको चङ्गुलमा स्वाभिमानी शिरहरु त्यतिसारो फस्टाउन सकेनन् । यतिहुँदाहुँदै पनि उनले पछिसम्म राजनीतिमा आफूलाई उभ्याई राखे ।
उपाध्याय नेपालभारत मैत्री सङ्घदेखि नेपालजापान मैत्री सङ्घसम्मका कुटनीतिक र सामाजिक काममा पनि सक्रियतापर्ूवक लागे । उनीको पहलमा नेपालचीन मैत्री सङ्घ र नेपालसोभियत सङ्घ मैत्री तथा साँस्कृतिक सङ्घ पनि स्थापना भएका थिए । उनकै पहलमा अफ्रो एसियाली समन्वय परिषद्को स्थापना भयो र त्यस संस्थाको सुरुको अध्यक्ष पनि उनै थिए ।
उपाध्यायले नेपालको राजनीति व्यवस्थामा आफूलाई सरिक गर्राई रहे । उनी पञ्चायती व्यवस्थाको जल्दोबल्दो समयमा नेपाल किसान सङ्गठनको केन्द्रीय अध्यक्ष भएका थिए । त्योभन्दाअघि र पछि पनि उनी सामाजिक तथा प्राज्ञिक सङ्घसंस्थामा सक्रियताका साथ आबद्ध भइरहे । उनी जहाँ जाँन्थे त्यहाँ केही न केहीको विजारोपण गर्थे र उनले जुन ठाउँ टेक्थे त्यहाँ नयाँ परिवेश स्थापित गरिहाल्थे । वास्तवमा उनी नेपाली समाजमा सधैँ केही दिनुपर्छ भन्ने धारणा राख्थे ।
उपाध्याय राजा महेन्द्रका पालामा शाही सल्लाहकार परिषद्का सदस्य भएका थिए । उनको सक्रियतालाई ध्यानमा राखेर उनलाई कर आयोग र राजसभाको सदस्य पनि बनाइएको थियो । साथै उनले गण्डकी अञ्चल दौडाहा टोलीको अध्यक्ष भएर पनि नेपाली समाजमा आफ्नो सक्कली योगदान दिए । धेरै कालसम्म उनको सक्रियता राष्ट्र निर्माणको महायज्ञमा परिचालिन भइरहृयो । त्यसै परिणतिले उनी कोसी, बागमती, गण्डकी र सेती अञ्चलको अञ्चलाधीशमा पनि नियुक्ति भए ।
उपाध्यको राजनीतिक जरा राणाकालीन युगमा नै छिप्पिएको थियो । राणाका विरोधमा संस्था स्थापना गर्ने काममा उनको पनि गुरुत्तर भूमिका थियो । उनले निर्भीक भएर नेपाल र नेपालीको स्वतन्त्रताका लागि कर्म गरे । त्यही परिवेशमा नेपाली राष्ट्रिय काङ्ग्रेस पनि स्थापना भयो । उनी त्यस संस्थाको संस्थापकमध्ये एक जना थिए । उनैको नेतृत्वमा बनारस हिन्दू विश्वविद्यालयमा नेपाली विद्यार्थी सङ्गठनको पनि स्थापना भएको थियो । त्यस संस्थामा उनले महामन्त्री भएर गरेको कार्य सदैव स्तुत्य भइरहृयो ।
उपाध्यायले विराटनगर मजदूर आन्दोलनको सत्याग्रहीमा पनि नेतृत्वपक्षको भूमिका निर्वाह गरेका थिए । त्यसको लगत्तै उनी २००७ सालको क्रान्तिको बेला दाङको कमाण्डर भए । त्यति बेला राष्ट्रको स्वतन्त्रताका लागि उनले ज्यानको बाजी लगाएर आफ्नो कर्तव्य निर्वाह गरेका थिए ।
उपाध्याय नेपाल प्रजापरिषद्को पनि उपाध्यक्ष थिए । उनैको सक्रियतामा विश्वहिन्दू सङ्घको स्थापना भएको थियो । त्यस संस्थामा उनी महामन्त्री पनि बने ।
उपाध्याय लेखक पनि थिए । उनले सानाठूला तहका कृतिहरू लेखेका थिए । साथै राष्ट्रिय र अन्तर्राष्ट्रय पत्रपत्रिकामा उनका अनगिन्ति लेखहरू प्रकाशित भइरहन्थे ।
खिमानन्द उपाध्याय तथा सरस्वती उपाध्यायका जेठा छोराका रूपमा उपाध्यायको जन्म १९८४ साल असोज २९ गते भारतको कासीमा भएको थियो ।
उपाध्यायको विवाह गुल्मी निवासी क्षमादेवीसँग भएको थियो । उनीहरुबाट तीन जान छोरा विनोद, प्रमोद, रमेश र एउटी छोरी नीता जन्मे ।
अर्घखाँचीको खिदिम निवासी उपाध्याय २०२८ सालसम्म राजनीतिमा पूर्णरुपमा समर्पित थिए । अनि त्यसपछि उनी अविछिन्न रूपमा योग तथा पा्रकृतिक चिकित्साको सर्म्बर्द्धन र विकासमा नै लागिरहे ।
उपाध्याय समाजसेवाका एउटा नमूना थिए । त्यसैले उनले आफ्ना उज्याला आँखा दान दिने घोषणा गरे । उनी २०६२ साल जेठ १९ गते स्वर्गीय भए । उनको निधन चाहिं कसैले देख्न पाएनन् । वास्तवमा उनैको इच्छाले उनले समाधी प्राप्त गरेका थिए । अनि त्यसको लगत्तै तीलगङ्गा आँखा अस्पतालका प्रविधिकद्वारा उनका आँखाको नानी र्सलक्कै निकालिएको थियो ।