नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

हृदयचन्द्रसिंह प्रधान Ridhaya Chandra Singh Pradhan

नेपाली साहित्याकाशमा थोरै समय बाँचेर धेरै सफल हुने व्यक्ति हुन्- हृदयचन्द्रसिंह प्रधान । १९७२ साल माघ १२ गते काठमाडौँमा जन्मेका प्रधानको सक्कली नाउँचाहिँ चन्द्रप्रसाद प्रधान थियो । उनी आफ्नो यात्राका विघ्नवाधाहरूलाई पनि पन्साउने कुशल योद्धा थिए । चाँडोचाँडै उनले थुप्रै कुरा लेख्न भ्याए । करिब दुई दर्जनजति पुस्तकहरू नेपाली माटोमा समर्पण गरेर उनी २०१६ साल माघ १० गते दिवङ्गत भए ।
प्रधान जन्मदै रोगी थिए । पाँच वर्षकोहुँदा यिनलाई दमको रोग लाग्यो । त्यसपछि झन् यी आफ्ना कार्ययोजनामा असफल भए । यी बाल्यकालमा नै पढ्नबाट पनि वञ्चित भए ।
नेवारी भाषा बोलिने आफ्नो घरको वातावरणलाई फट्का हानेर उनी नेपाली भाषाको संसारमा जसरी जुटे त्यो जुटाइ प्रधानका लागि दैवको एउटा उपहार थियो । आफ्नो मातृभाषासँग नेपाली भाषाको हल बाँधेर लाने उनी एउटा सिपालु शिल्पी थिए । त्यसैले उनी सानैदेखि नेवारी भाषामा जुन कविता लेख्थे नेपाली भाषामा पनि त्यही कविता अनुवाद गर्थे र नेपाली भाषामा जुन कथा लेख्थे त्यसलाई नेवारी भाषामा रूपान्तर गर्थे । 
प्रधानले ४५ वर्षलाग्दानलाग्दै देहत्याग गरे । प्रधानले. त्यस उमेरमा जति प्रौढताको नमुना देखाए त्यो नै उच्चकोटिको छ । साँच्चै भन्ने हो भने प्रधानभन्दा उनको लेखनीको प्रौढता माथिल्लो छ ।
हृदयचन्द्रसिंह प्रधान एकातिर रोगी थिए र अर्कातिर गरिब पनि थिए । घरको दुःखद आर्थिक स्थितिबाट एक इन्च भए पनि मुक्त हुन यिनले व्याकरणसम्बन्धी केही पाठयपुस्तक पनि लेखे । राम्ररी खान र लाउनबाट वञ्चित भएर पनि नेपाली भाषासाहित्यका लागि प्रधानले अकल्पनीय काम गरे ।
प्रधानले विविध विषयमा कलम चाले । उनले कविता लेखे, कथा लेखे, उपन्यास लेखे, निबन्ध लेखे, समालोचना लेखे, एकाङ्की लेखे, व्याकरण लेखे । उनले जति लेखे प्रगतिवादी सिद्धान्तअर्न्तर्गत बसेर लेखे र समाजका विकृतिहरूलाई अघि सारेर लेखे । उनले आफ्नो मातृभूमिको गरिबी देखेर पनि लेखे, आफ्नो घरको दुःखात्मक घटना पनि लेखे । वास्तवमा यिनले जति लेखे ठोस लेखे, पक्का लेखे र सत्य लेखे । उनले बेलाबखत राणाहरूको स्तुति पनि लेखे तर यिनले जीवनप्रतिको आस्थाका कारणले मात्रै लेखे ।
प्रधानले केही पत्रिकाको सम्पादन पनि गरे । उनीद्वारा सम्पादित पत्रिकाहरू थिए- 'साहित्यस्रोत', 'जागरण' र 'जनचेतना' । रोग, भोक र शोकमा डुबेर पनि यिनले साहित्यिक पत्रकारिताको संस्थागत विकासका लागि कम्मरमा पटुका कसे । टीबी लागेर टोखा अस्पताल बस्ता पनि प्रधान साहित्यसृजना र संस्थागत विकासका लागि दत्तचित्त थिए । क्षयरोगका. कारणबाट भारतको भोपालमा गएर छातीका छछवटा करङ काटिँदा पनि उनी लेखनकार्यमा नै उत्साहित थिए । जेल-यात्रामा पनि उनी सृजनात्मक धन्दामा नै अग्रसर थिए । उनी जेल पर्ने मुख्य कारण पनि स्वतन्त्रताकै विषय थियो । २००७ सालको क्रान्तिमा सञ्चालित जनक्रान्तिमा उनी खुबै सक्रिय थिए । त्यस काण्डमा समातिएपछि उनी साडेदुई महिना जेलमा नै बसे ।
नेपाली साहित्यकारहरूमध्ये प्रधानले अति नै दुक्ख, कष्ट र सङ्घर्ष खेपेर जीवनवृत्ति चलाएका थिए । आफ्नो जीवनवृत्तिका लागि उनले आफू २३ वर्षभएदेखि नोकरी गर्न थाले । त्यही क्रममा उनले दरबार हाइस्कूलमा पनि अध्यापन गरे । उनले स्रेस्ता पाठशालामा पनि पढाए । औपचारिक शैक्षिक योग्यता हासिल गर्न नसके तापनि स्वअध्ययन र अनुभवका आधारमा उनले शैक्षिक कार्यमा आफूलाई सशक्त बनाएका थिए । त्यतिमात्र होइन उनी नेपाली भाषानुवाद परिषद्मा पनि नियुक्त भए । त्यहाँ उनले ग्रन्थकारको पद प्राप्त गरे ।
प्रधान सङ्गठनात्मक कलामा पनि निपुण थिए । काठमाडौँका युवाहरूलाई राणाशाहीका विरुद्धमा एकजुट गराउने नेतृत्व उनैले. लिएका थिए । उनैको सत्प्रयासमा २००४ सालमा नेपाली साहित्य सम्मेलन भएको थियो । सो संस्थामार्फ नेपाली साहित्यकारका हित, मर्यादा र हकका लागि केही गर्ने प्रयास गरिए तापनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले राणा विरोधी नेताहरूको लहलहैमा लागेर डाँडा काटेपछि संस्थाको स्थायित्वमा धमिरा लाग्न पुग्यो ।
प्रधानको प्रमुख लेखन विषय निबन्ध हो । उनका निबन्ध अत्यन्तै मर्मान्तकारी हुन्थे । निबन्धहरूमा उनले प्रायः आफ्नै जीवनकहानी प्रस्तुत गरेका हुन्थे । त्यसैले उनका निबन्धमा वेदना, कष्ट र दुःखको त्रिवेणी पाइन्छ । २००४ सालमा सम्पन्न प्रतियोगितात्मक साहित्यसम्मेलनमा पनि उनले. 'जुँगा' भन्ने निबन्ध प्रस्तुत गरेका थिए । परिणामस्वरूप उनी त्यस सम्मेलनमा प्रथम घोषित भई पुरस्कृत भए ।
प्रधानले आफ्नो कृतित्वलाई निष्पक्ष, निडर र प्रस्ट रूपमा जनसमक्ष राखे । राणाकालीन समयमा उनले बालकृष्ण समको विषयमा लेख्ता 'बक्सेको', 'मौसूफ' आदि शब्दहरूलाई आड बनाए तापनि उनी प्रगतिशील लेखक थिए ।
सत्र वर्षम्म त प्रधानले शरीरैभरि रोग पालेर, दयनीय आर्थिक अवस्था खेपेर र टोलछिमेकका आबाराहरूसँग हल्लेर नै बिताए । जब १८ वर्षा यिनले. टेके 'शारदा'मा एउटा निबन्ध छपाए जसको शिर्षक थियो- 'मातृस्नेह ।'
२००८ सालतिरको कुरा हो । त्यसताका भारतको दार्जिजिङको 'भारती'का लागि प्रधानसँग लेख मागिएको थियो । त्यसबेला प्रधानले 'भारती'का सम्पादकलाई प्रत्युत्तर लेखेका थिए- ''म बिमारी भएँ, जेल पनि परेँ । जेलबाट निस्केपछि टीबी भई अहिले म टोखा स्नानेटोरियम अस्पतालको शैयामा सुतेर मरिरहेको छु । अफसोच, लेख पठाउन अहिले म बिलकुल अर्समर्थ छु ।'' प्रधानले नेपाली आँगनमा २७ वर्षकलम चलाए । मृत्युसँग जुधेर उनले साहित्यप्रति ठूलो निष्ठा देखाए ।
प्रधानले लेखनका क्रममा समालोचनाका चारवटा कृतिहरू लेखेका थिए । उनको पहिलो समीक्षात्मक ग्रन्थ 'केही नेपाली नाटक' २००२ सालमा प्रकाशित भएको थियो ।
प्रधानको समालोचनामा व्यावहारिक अध्ययन गरी त्यसमा ठोस प्रमाण प्रस्तुत गरी आफ्ना निक्र्यौलहरू व्यक्त गर्न सक्ने खुबी थियो । सैद्धान्तिक हिसाबमा पनि उनी अग्रपङ्क्तिका समीक्षक मानिन्छन् । त्यस बेला उनको समीक्षात्मक धारा त्यति फराकिलो थिएन भनिए तापनि त्यस कालमा आफ्ना जीवनका विभिन्न सङ्र्घष्ासँग सामना गरेर उनले जेजति काम गरे अति नै धेरै. गरे ।
प्रधानको लेखनको अर्को प्रमुख विशेषता हो- निबन्धकारिता । उनका चारवटा निबन्धसङ्ग्रह प्रकाशित छन् ।
नेपाली आधुनिक निबन्धकारमा देवकोटापछि आउने नाउँ हो- हृदयचन्द्रसिंह प्रधान । प्रधानले आफ्ना निबन्धहरूमा नेपालको परिवेश लेखे, आफ्नो समाजको स्थिति लेखे र आफ्नो जिन्दगानी पनि लेखे । उनले प्रगतिशीलताको फेटा गुथेर निबन्धहरूको निर्माण गरे । सामन्ती प्रथालाई निचोरेर उनले जनजनका क्रन्दनका बेहोरालाई आफ्ना कृतिहरूमा अङ्कित गराए ।
प्रधानको व्यक्तित्वको अर्को विशेषता हो- औपन्यासिक व्यक्तित्व । दुईवटा मात्र उपन्यास लेखे तापनि उनी त्यस विधामा अमर छन् । उनका उपन्यासहरू प्रगतिशील धारामा बगेका छन् ।
प्रधान एकाङ्की नाटककार पनि हुन् । उनका एकाङ्की नाटकहरू सामाजिक जीवनमा आधारित हुन्छन् । उनका चारवटा एङ्काकी नाटकहरू छन् ।
 प्रधानले कथा र कविता पनि लेखे । उनका कविता र कथाहरूले प्रकृति, नारी र रुढिवाढीको विरोधमा कर्लने गरेका छन् । प्रधानका कविताका पुस्तक प्रकाशित नभए तापनि ती फुटकर रूपमा प्रकाशित छन् । कथासङ्ग्रहका हकमा प्रधानका दुईवटा कथासङ्ग्रह प्रकाशित भए ।
प्रधानले जिन्दगीमा आफूले सोचेकोभन्दा बेग्लै काम गरे । यिनले आँसु पिएर भए पनि नेपाली धर्तीमा आफ्नो सम्पूर्ण. जीवन अर्पण गरे । यी हाम्रो साहित्यका एउटा महत्त्वपूर्ण प्रतिभा हुन् । यिनको त्याग, तपस्या र आराधनाले यी यस माटोमा चिरञ्जीवी छन् ।