नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

टीकाराम चन्द्रकला Tika Ram - Chandra Kala

नेपाली भाषासाहित्यका प्रखर प्रतिभा टीकाराम धनञ्जय भौतिक रुपमा २६ वर्षमात्र बाँचे । उनको भौतिक चोला १९६६ सालमा अर्घाखाँचीको खिदिममा झुल्केको थियो भने १९९३ सालमा त्यही अस्ताएको थियो । पं.एकदेव मरासिनी र नारायणी मरासिनीका छजना छोरा र दुईजना छोरीपछि जन्मेका यी कान्छो सन्तान थिए ।
      टीकाराम धनञ्जयले आफ्नो मरासिनी थरको सट्टा आफ्नो गोत्र अथवा धनञ्जय लेखे । उनको व्यक्तित्व र कृतित्वको व्याख्या विश्लेषण डा.मोदनाथ प्रश्रतिबाट जति भयो अन्यत्रबाट भएको नै छैन । वास्तवमा त्यस भेगका साहित्यका विभूति नै टीकाराम धनञ्जय थिए । उनको त्याग, आराधना र मर्पण त्यस ठाउँमा विर्सिनसक्नु मानिन्थ्यो । यी समाजका चिन्तक थिए र यिनको चिन्तन विशेष गरेर साहित्य र शिक्षासेवामा टड्कारो देखिन्थ्यो । साथै उनी गुणको कदर गर्ने एउटा जागरुक पनि थिए । दर्गम गाँउमा जन्मे र त्यही निधन भएका कारण एउटा संस्था सरहका व्यक्तित्वको चर्चाले ठाँउ नपाएको मानिन्छ ।
      टीकाराम नेपाली र संस्कृतमा बराबरी लेख्थे, बराबरी बोल्थे र बराबरी भाषण गर्थे । उनी अन्वेषक थिए र विज्ञानप्रति पनि गहिरो चासो राख्थे । उनले लिपीको पनि आविष्कार गरेका थिए । अनि धार्मिक भैकन उनी अन्धविश्वासका विरोधी थिए ।
      टीकारामको विवाह चौध वर्षो उमेरमा हिमलाल पौडेल र कुन्ता पौडेलकी छ वर्षी छोरी चन्द्रकलादेवीसँग भएको थियो । विवाहपछि चन्द्रकलाले आफ्ना पतिसँग लेखपढ गर्न थालेकी थिइन । टीकारामले निर्माण गरेको लिपी त्यति बेला उनीहरुको एकअर्कामा चिठी लेखालेख गर्ने माध्यम बनेको थियो । चिठी लेख्तालेख्ते चन्द्रकलाले गीत, कविता र नीतिशास्त्र पनि लेख्न थालिन् । उनले आफ्ना पतिसँगै लहसिएर क्रमशः साहित्य लेखनमा नै पनि आफूलाई उभ्याएकी थिइँन् लेख्तालेख्तै उनले 'उपदेश चन्द्रकला' र 'शिशुबोध तरङ्गिणी' नामक कृति पनि लेखिन् । तत्कालीन समाजमा पतिको निधन भएपछि नारी जातिले पढ्नु, लेख्नु, गाँउनु, नाच्नु, भाषणगर्नु, समाजसेवा गर्नु भनेको अनर्थ नै ठानिन्थ्यो । त्यतिमात्र होइन त्यस बेला जागरुक नारीलाई समाजद्वारा लान्छना लगाएर समाजबाटै तिरष्कृत, बहिस्कृत र अपमानित गरिन्थ्यो । त्यसैले पतिको निधनसँगै चन्द्रकलाले भनिन्, 'यी किताब मैले लेखेका थिएनन् । यी किताव मेरा पतिद्वारा लेखिएका थिए ।'
      चन्द्रकलाको जन्म १९७२ सालमा अर्घाखाँचीको मन्द्रेमा भएको थियो । उनी बीस बर्षी भएपछि उनका पति टीकारामले ज्रि्रो टोकेका थिए । त्यस पछि चन्द्रकलाले नावालक छोराको मायाको आडमा नेपाली समाजमाझ विविध सङ‌घर्षको सामना गरिन् । अनि चौरासी वर्षपुगेपछि उनले पनि आफ्नो चोला फ्याँकिन् । त्यतिञ्जेलसम्म पनि आफूले केही रचना नगरेको बेहोरा उनले समाजसामु बक्त्याई रहिन् । यसै परिवेशमा धनञ्जय दम्पतिका चेला ओवनाथ गौतमले (डा.मोदनाथ प्रश्रित र नरेन्द्रराज प्रसाईलाई) भनेका थिए, ''मेरी गुरुमा चन्द्रकला नेपाली र संस्कृत भाषामा लेखपढ गर्थिन् । उनी आँसु कवयित्री थिइँन् । पुराना शास्त्र र कथाहरु प्रायः उनलाई मुखाग्र थियो । उनी मान्छेसँग बोल्दा पनि श्लोकमै जवाफ दिन्थिन् । उनले दुई वटा किताबहरु पनि लेखेकी थिइँन् ।''
      चन्द्रकलाले लेखेको 'उपदेश चन्द्रकला'नामक नीतिकथा १९९१ सालमा प्रकाशित भएपछिचाहिं नेपाली समाजमा उनको धेरै महिमा बढेको थियो । तर किताब छापिएको अर्को वर्षछि नै उनका पतिको निधन भएपछि हठात रुपमा उनले मेरा नाउँमा छापिएका कुनै पनि कृति मैले लेखेका होइनन् भन्ने समाजसमु जानकारी दिइन् । किनभने त्यस बेलाको समाजले यो पोइ टोकर्ुइले बोक्सी विद्या जानेकी रैछे र पो किताब लेखी भन्छन् भन्ने डरका कारण चन्द्रकलादेवीले आफ्नो प्राज्ञिकयात्रालाई लुकाउनु परेको थियो ।
      आफ्ना काका पं.दधिराम मरासिनीको गुरुकुलमा टीकारामले शिक्षाको आरम्भ गरेका थिए । बिहे गरेको अर्को वर्षउनी बाँके बर्दियाका प्रख्यात समाजसेवी हरिहर गौतमको छात्रवृत्ति लिएर बनारस गएका थिए । त्यसैताका उनले त्यहाँ ज्योतिष र आयर्ुर्वेदको अध्ययन गरेका थिए । अनि आईए सरहको परीक्षा दिएर उनी नेपाल फर्के । त्यसपछि उनी पात्रो बनाउने काममा पनि लागे । उनको ज्योतिषी र आयर्ुर्वेदको कलाले उनी अर्घाखाँचीको खिदिममा चर्चित बने । त्यहाँ 'काले ज्योतिषी' भनेपछि उनलाई नचिन्ने प्रायः कोही थिएनन् ।
      टीकारामले हरिहर संस्कृत पाठशालामा शिक्षकको काम गरे । उनी त्यहाँ नियुक्ति भएपछि गणित र ज्योतिषको समेत पर्ढाई हुन थाल्यो । त्यसपछि त्यस स्कूलको नाउँ पनि चल्न थाल्यो । परिणामस्वरुप अन्यत्र ठाँउबाट पनि त्यस स्कूलमा पढ्न विद्यार्थीहरु आउन थाले । त्यो हल्ला त्यहाँबाट बर्दियासम्म फिंजियो । अनि केही समयपछि बर्दियाका समजसेवी र धनाढ्य हरिहर गौतमले आफ्ना छोरा विष्णुहरि गौतम र भाञ्जा कृष्णप्रसाद ज्ञवालीलाई पढाउनका लागि टीकारामलाई बोलाए ।
      टीकारामको पढाउने शैली राम्रो भएका कारण उनी बर्दिया गएको अर्को वर्षजाजरकोटका राजा उपेन्द्रविक्रम शाहले समेत आफ्ना छोरा स्वंयप्रकाशको शिक्षाका लागि उनलाई र छोरी राज्यलक्ष्मीको शिक्षाका लागि उनकी पत्नी चन्द्रकलालाई पत्र लेखी बोलाएका थिए । अनि त्यस पत्रको प्रत्यूत्तरमा टीकारामले लेखेका थिए, ''म अल्पायु छु । मेरो चाँडै मृत्युको सम्भावना छ, म बाँचें भने आँउला ।'' वास्तवमा टीकारामको उक्त प्रतिउत्तर पत्र जाजरकोटका राजाका हातमा पर्दानपर्दै टीकारामको भौतिक चोलाको विर्सजन भएको थियो । तर आफ्नै घरमा पाइला टेकेपछि मात्र उनी दिवङ्गत भएका थिए ।
      टीकारामको देहावसान हुँदा त्यस्तो विकट गाउँमा पनि दुई सयभन्दा बढी मलामीले त्यसबेला रिडीको काली गण्डकी ढाकेको थियो । एउटा प्रतिभाको अन्त्य भएको समाचार विस्तारै नेपाल र भारतका तर्ीथाटनहरुमा फैलिएको थियो । खास गरेर एउटा प्रखर प्रतिभाको असामयिक निधनप्रति जान्ने बुझ्ने सबै चुक्चुकाएका थिए ।
      टीकारामले नेपाली भाषासाहित्यमा एकदर्जन कृतिको निर्माण गरे । उनले कविता, निबन्ध, प्रबन्ध र नाटक लेखे । उनले अनुवाद र भाष्यकारमा पनि नाउँ चलाए । साथै टीकाराम र चन्द्रकलाका अप्रकाशित कृतिहरु अझै खोजीको विषय भएको बेहोरा उनीहरुका छोरा माधव मरासिनीले बताएका छन् ।
      डा.प्रश्रितका अनुसार टीकारामले जीवनमा जम्मा आठ वर्षमात्र शिक्षा, समाजसेवा र नेपाली वाङ्मयको सेवा गर्ने अवसर पाएका थिए।