नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

मेलवादेवी गुरुङ Melawa Devi Gurung


सवारी मेरो रेलैमा
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि बरिलै
झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि बरिलै
सवारी मेरो रेलैमा !
(स्वर, सङ्गीत र शब्द : मेलवादेवी)
 
नेपाली आधुनिक गीतको श्रृङ्खलामा मेलवादेवी गुरुङ प्रथम नारी गायिका हुन् । सूबी शाहका अनुसार १९८५ सालमा उनले भारतको कोलकाताको 'हिज मास्टर भ्वाइस कम्पनी'मा 'सवारी मेरो रेलैमा' बोलका गीत रिकर्डिङ गराएकी थिइन् । उनी आफैँ गीत लेख्तै, धून बनाउँदै गाउने प्रथम नेपाली गायिका थिइन् ।
ज्ञानबहादुर लामिछाने गुरुङ र सप्तदेवी गुरुङकी जेठी छोरीका रूपमा मेलवादेवीको जन्म १९५६ सालमा भएको थियो । सिरीमाया गुरुङका अनुसार उनी ओखलढुङ्गास्थित रुम्जाटारको काफलबोट गाउँमा जन्मेकी थिइन् । त्यही ठाउँमा उनको स्मारक पनि रहने कुरा सीताराम गुरुङले जनाएका छन् ।
मेलवादेवीले पाँच वर्षदेखि नै गीत गाएर गाउँलेलाई छक्कै पारेकी थिइन् । त्यसैले उनलाई राणाका दरबारमा गायिकाका रुपमा भर्ना गर्न उनकी आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङ १९६५ सालतिर काठमाडौँ पसेका थिए । चन्द्रशमशेरका दरबारमा दाखिला भएपछि मेलवादेवीको औपचारिक साङ्गीतिक इतिहास आरम्भ भएको थियो ।
मेलवादेवीले श्री ३ चन्द्रशमशेरको दरबारमा गीत गाउन थालिन् । उनी दरबारको रङ्गमञ्च, सभासमारोहका अतिरिक्त चन्द्रशमशेरसँगै सिकारमा जङ्गल पुगेर समेत गीत गाउँथिन् । चन्द्रशमशेर पनि मेलवादेवीको स्वरका भक्त थिए । चन्द्रशमशेरले मात्र होइन उनकी रानी बालकुमारीदेवीबाट पनि सुरुसुरुमा मेलवादेवीले बक्सिस पाइरहिन् ।
मेलवादेवीको कोकिल स्वरलाई विराट् स्वरूप प्रदान गर्न चन्द्रशमशेर मग्न थिए । त्यसैले मेलवादेवीलाई ख्यातिप्रप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्रआदिबाट शास्त्रीय सङ्गीतको गायनमा पनि तालिम दिन थालियो । त्यसपछि उनी झन् उत्कृष्ट स्वरकी कोइलीमा दर्ता हुन थालिन् ।
मेलवादेवीको स्वरले प्रकृतिलाई पनि पगाल्ने गथ्र्यो । उनको स्वरको विषयमा उनकी छोरी विमला दीक्षतिले भनेकी थिइन् ''मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा हिजहाइनेस केशरशमशेर पनि भुतुक्कै हुन्थे । त्यसैले एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने 'अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छयौ -' त्यस बेला आमाको प्रत्युत्तर थियो 'पानी कति मात्रामा पर्छ म त्यो भन्न सक्तिनँ । तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु ।' अनि केशरशमशेरले आमासँग बाजी राख्तै भने 'लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपियाँ दिन्छु ।' आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपियाँ बक्सिस दिए ।''
चन्द्रशमशेरका पाहुनापासा आउँदा पनि सिंहदरबार बेलायती बैठकमा झकिझकाउका साथ मेलवादेवीलाई उपस्थित गराइन्थ्यो । त्यतिखेर मेलवादेवी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोकगीत र नेवारी गीत समेत गाउने गर्थिन् । उनको स्वर सुनेर चन्द्रशमशेरले बराबर उनलाई धाप मार्थे । त्यसैले मेलवादेवीको ईर्ष्यागर्नेहरूको ताँतीले पनि सिंहदरबार बेरिएको थियो । त्यसपछि उनको स्वरलाई विगार्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीका इसारामा मेलावादेवीका शत्रुहरूद्वारा पानमा सिन्दूर राखेर उनलाई खुवाइएको थियो । त्यसपछि उनको स्वर एक्कासि खच्क्यो । त्यस बेहोराले चन्द्रशमशेर अति नै दुखित भए ।
चन्द्रशमशेरले मेलवादेवीको स्वरको उपचार गर्न बेलायतबाट चिकित्सक बोलाए । तर जति नै खर्च गरे तापनि उनको स्वर पहिलाजस्तै हुन सकेन । तर पनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न छाडेनन् । मेलवादेवीको स्वर सुक्न थालेपछि पनि चन्द्रशमशेर भन्ने गर्थे "गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।"
चन्द्रशमशेरकी मन पर्ने गायिका भएका कारण सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षाचाहिँ देखिन्थ्यो । त्यस बेला उनलाई खास गरेर पुरुषवर्गले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह मानिन्थ्यो । यति हुँदाहुँदै पनि चन्द्रशमशेरका छोरा बबरशमशेरचाहिँ मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे । साथै तबलावादक भक्तकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र धनसम्पत्रि्रति त्यति नै आसक्त थिए ।
मेलवादेवी र चन्द्रशमशेर एकअर्कामा समर्पित भएको दृश्य हर्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीलाई अति नै सकस पर्न थालेको थियो । त्यही परिवेशमा दरबारबाट मेलवादेवीको टिकट काटिन गयो । त्यसै सर्न्दर्भमा चन्द्रशमशेरले उनलाई काठमाडौँको विजयेश्वरीमा एउटा घर किनिदिए । त्यसपछि चौबीस वर्षभुक्तान भएको उमेर बोकेर उनी सिंहदरबारबाट निस्केकी थिइन् । यस घटनाले भक्तकृष्ण मानन्धरलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भएको थियो । त्यसैले त्यतिखेर उनका पछिपछि उस्ताद मानन्धर लागेका थिए । मानन्धरले कैयौँ सपनाविपना देखाएर मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगेर सिन्दूरपोते र चुरा धागोले सजाएका थिए ।
भक्तकृष्णले पहिला पनि दुई जनासँग बिहे गरेर सन्तान जन्माएका थिए । साथै मेलवादेवीतर्फाट पनि दुईटी छोरी विमला र शान्ति जन्मेका थिए ।
मेलवादेवीसँगको बिहेपछि भक्तकृष्णलाई सिंहदरबार छिर्न बन्देज लगाइयो।साथै गुरुङसँगको बैबाहिक जीवन गाँसेको कसुरमा त्यस बेला उनी आफ्नो जातीय समाजबाट पनि बहिष्कृत भएका थिए ।
भक्तकृष्णसँग बिहे गरेको केही वर्षा मेलवादेवीको दाम्पत्य जीवन भङ्ग भयो । अनि उनले आफ्नो घरबार सस्तैमा बेचिन् र शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णगरिन् । सुत्केरी भएकै महिनादिनपछि उनी आफ्ना दुईनावालक छोरी विमला र शान्ति चेपेर रेलमार्गद्वारा कोलकाता लागिन् । कोलकाता पुगेपछि यात्राको अनुभव सँगालेर उनले 'सवारी मेरो रेलैमा' बोलको गीत गाइन् । त्यस बेलासम्म नेपालीभाषामा नेपाली नारीको स्वर रिकर्डिङ भएको थिएन ।
मेलवादेवीको कोलकातामा स्वच्छन्दतावादी यात्रा थियो । त्यतिखेर उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए न उनका हात बाँध्ने नै कुनै बाईं थिए । त्यसैले उनी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश गरिरहन्थिन् । उनी घरी इलाहाबाद सङ्गीत सम्मेलनमा पुगिरहन्थिन् र घरी रामगढ सङ्गीत सम्मेलनमा भाग लिइरहन्थिन् । उनी जहाँजहाँ गएर आफ्नो गलाको कौशल देखाउँथिन् त्यहाँत्यहाँबाट उनले सुनका तक्मा पनि प्राप्त गर्थिन् । त्यति मात्र होइन इलाहाबाद सङ्गीत सम्मेलनले त उनलाई 'ठुमरीकी रानी'को दर्जा पनि अर्पित गरेको थियो ।
मेलवादेवीले जीवनको उत्तर्रार्धमा आफ्नो नाउँ सुलभा राखिन् । खासमा त्यतिखेर आर्थिक रूपमा उनी निम्नस्तरमा नै बामे र्सर्दै थिइन् । आफ्नो जीविकोपार्जनका साथै छोरीहरूको पालनपोषणका निम्ति कोलकाताकै मारवाडी बालिका विद्यालयमा उनी सङ्गीतकी गुरुमा बनिन् । साथै त्यहीं स्कुलमा उनका छोरीहरु पनि भर्ना गरिए । त्यस घडी त्यहाँको मात्र आयस्ताले उपलब्धि हुन नसक्ता उनले आफ्ना कोठामा सङ्गीतको कक्षा पनि सञ्चालन गरिन् । आफ्ना शिष्यहरूलाई अध्यापन गराउन नेपाली, हिन्दी र बङ्गाली भाषामा उनी बराबरी नै गीत गाइरहन्थिन् । दुक्खसुक्ख जीवन भुक्तान गर्दै उनले दुवै छोरीहरूको विवाह पनि गरिदिइन् ।
छोरीहरुको बिहे गरेपछि मेलवादेवी डेरामा एक्लै बसिन् । उनले पहिलेझै एउटै कोठामा खाने र सुत्ने गरिन् । त्यतिखेर उनी विक्षिप्त मानसिक अवस्थामा नै घस्रँदै जीवन चलाउने गर्थिन् । २०१२ साल मङ्सिर महिनाको कुरा हो- खाना पकाइरहेका बेला स्टोभ पड्केर उनको शरीरमा आगो लाग्यो । त्यसको भोलिपल्ट छिमेकीले कोठाभित्रै उनको डढेको शरीर फेला पारे । अनि कोलकाता मेडिकल कलेजमा उनको लासको पोस्टमार्टम भयो । त्यसको केही दिनपछि उनका धर्मपुत्र रामचन्द्र गुप्ताले त्यो लास बुझे । यो दुःखद घटनाको विवरण उनका छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले पनि पछि मात्र थाहा पाए ।